कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले डुबे मोरङका बस्ती

जितेन्द्र साह, देवनारायण साह

अविरल वर्षापछि स्थानीय खोलाहरूको बाढी बस्ती पस्दा बुधबार बिहानदेखि विराटनगरको जनजीवन अस्तव्यस्त बनेको छ । खोलाछेउका बस्ती मात्र नभएर वरपरका क्षेत्रसमेत डुबानमा परेका छन् । स्थानीयका अनुसार मंगलबार राति ९ बजेदेखि नै खोलामा बहाव बढ्दै गएको थियो ।

विद्युत्को सबस्टेसन डुबानमा पर्दा मंगलबार साँझदेखि यहाँ बत्ती छैन । बिहान तीन नबज्दै घरघरै पानी छिरेपछि अँध्यारोमा धनमालसमेत जोगाउन नसकिएको स्थानीयले बताएका छन् । यसपालिको बाढी २०७४ यताकै ठूलो रहेको उनीहरूको भनाइ छ ।

प्रहरीका अनुसार तटबन्ध नभएको स्थानमा बढी क्षति भएको छ । २०७४ को बाढीले कटान गरेको अधिकांश क्षेत्रमा अझै तटबन्ध बनाइएको छैन । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीका अनुसार ठूलो मानवीय क्षति नभए पनि मोरङका विराटनगर, कटहरी, धनपालथान र रतुवामाई क्षेत्रका बस्तीमा बाढी पसेको छ ।

विराटनगर–कटहरी जोड्ने सिंघिया खोलाबाट छेउछाउका बस्ती र बजार, सुनसरी–मोरङ सीमास्थित केसलिया खोलाको बाढीले विराटनगरका बखरी, रानी, विमानस्थल क्षेत्र र घरहरू डुबानमा परेका छन् । क्षतिको विवरण संकलन भइरहेको एसपी जीसीले बताए ।

खास गरी भारतीय सीमावर्ती पालिकाहरूको अधिकांश क्षेत्र डुबानमा परेको छ । केसलिया, धुधुवा, बस्ता र सिंघिया खोलाको बाढी तथा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आएको पानीले विराटनगरमा एक हजारभन्दा बढी घर डुबानमा परेको एसपी जीसीको भनाइ छ । उनका अनुसार जहदा, धनपालथान गाउँपालिका, रंगेली, सुनवर्षी र रतुवामाई नगरपालिका पनि डुबानमा छन् । मिक्लाजुङ गाउँपालिकामा दुईवटा घर बाढीले बगाएको छ ।

जिल्लास्थित लोहन्द्रा, चिसाङ, डाँस, जुरी, रतुवामाई खोलामा आएको बाढीले जताततै डुबान भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित चिसाङ खोला र जहदा गाउँपालिकास्थित लोहन्द्रा खोलाको पुलसमेत जोखिममा रहेको जीसीले बताए ।


प्रकाशित : कार्तिक ३, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्