साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता ईकान्तिपुरमा जातव्यवस्थाविरुद्ध काठमाडौंमा मनाइएको प्रतिरोध दिवस, आइतबार पनि सार्वजनिक बिदा भएपछि वीर अस्पतालको ओपीडीमा लागेको सर्वसाधारणको भीडदेखि चितवनमा ड्रोनबाटै विषादी छर्न लागिएका तस्बिरहरुले प्राथमिकता पाए । यसका साथै विभिन्न दैनन्दिनीका विविध तस्बिहरु पनि प्रकाशित भए । यो साता हामीलाई मन परेका ७ तस्बिर । जातव्यवस्था विरुद्धको दिवस, २०७९ र रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा सांकेतिक नाटक प्रस्तुत गर्दै कलाकारहरू । तस्बिर : दिप्रेन्द्र रोक्का

जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय पछिको पहिलो हप्ता वीर अस्पतालको ओपिडीमा टिकट लिनेको भीड। तस्बिर : दिपक केसी

हिमाली जिल्ला मनाङको चामेमा आयोजित आँखा शिविरमा शल्यक्रिया पछि देख्ने भएपछि आँखा खोलेर आफ्नो छोराको नाक समाउँदै मनाङ ङिस्याङ गाउँपालिका १, पिसाङकी ६९ वर्षीया तेन्जिङ छेते गुरुङ । तस्बिर: आश गुरुङ

चितवनको खैरहनी गवैका सूर्यबहादुर बोगटीको धानखेतमा विषादी छर्न उडेको ड्रोन ।तस्बिर : रमेशकुमार पौडेल

सर्लाहीको हरिवन नगरपालिका–१ कोठीखोलाका अशक्त इन्द्रबहादुर घिसिङ आफ्ना ६ वर्षीय छोरा बिरुका सहारामा जीवन काट्दै गरेको देखाउँदै वडाध्यक्ष टमबहादुर घिसिङ । तस्बिर : ओमप्रकाश ठाकुर

काठमाडौंको कुलेश्वर पुलछेउमा फ्याँकिएका फलफूल संकलन गर्दै महिला तथा बालबालिका । तस्बिर : सुजन गोपाली

ललितपुरको मंगलबजारमा रातो मच्छिन्द्रनाथको रथको 'डमी'सँग खेल्दै बालबालिका । तस्बिर : इलिट जोशी


प्रकाशित : जेष्ठ १४, २०७९ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्

पेट्रोलियम पदार्थमा लगाएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्‍यो : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने बताए । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि अगाडि बढ्नुपर्ने बताएका हुन् । 'अहिले देश सहज परिस्थितिमा पक्कै पनि छैन । कोभिडको कारणले त्यसबाट सिर्जित परिस्थिति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको पोलराइजेसनको नयाँ परिस्थितिका कारण विभिन्न ठाउँका युद्धहरूका कारण विभिन्न शक्ति केन्द्रहरूको स्थितिमा आएको फेरबदलको कारण पनि त्यसको असर दुनियाँभरि परेको छ र त्यसबाट नेपाल पनि अछुतो छैन,' उनले भने, 'यसको सामना एउटा राजनीतिक दल विशेषले या सरकार एक्लैले मात्रै गर्न सक्ने स्थिति पनि छैन । तर, मुख्य दायित्व सरकारकै हुन्छ ।'

महँगीको मारमा जनता परेको र त्यसले झन् समस्या पार्ने हो कि भन्ने दाहालको आशंका थियो । उनले त्यसलाई रोक्नका निम्ति सरकारले समयमै कदम चाल्नुपर्ने बताए । 'महँगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ । प्रत्येक भान्साबाट विद्रोह हुने हो किन भन्ने परिस्थित बन्दैछ । दिन प्रतिदिन बढेको महँगीका कारण जनता आजित हुने परिस्थिति बनेको छ । यसको सामना हामीले गर्नु छ,' उनले सुझाव दिए, 'पेट्रोलियम पदार्थको मूल्यवृद्धि जसरी भएको छ; हाम्रा छिमेकीहरूले यो मूल्यवृद्धिको मारबाट जनतालाई जोगाउनका लागि पहिला उठाउने भनेको कर छुट दिएर त्यसबाट मूल्य समायोजन गर्ने कोसिस भएको छ । हाम्रो पनि यसअगाडि पेट्रोलियम पदार्थमा जुन कर लगाउने गरिएको छ; त्यो कर घटाएर र हटाएर जसरी भए पनि जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् ।'

दाहालले सरकारलाई त्यसलाई गम्भीर बन्न आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीसँग पनि त्यसबारे छलफल भएको जानकारी दिए । 'प्रधानमन्त्रीलाई अस्तिमात्रै पनि भनेको छु कर घटाएर भएपनि मूल्यवृद्धि रोक्नुपर्‍यो । हामीले यसलाई गम्भीर रूले लिन सकेनौं भने जनतामा असन्तुष्टि र आक्रोश बढ्छ र त्यसले संकट झन् गम्भीर हुने खतरा छ,' उनले भने । प्रधानमन्त्रीले मूल्यवृद्धि नियन्त्रणबारे कदम चाल्ने बताएको पनि दाहालको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १४, २०७९ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×