लुक्लामा हेलिकप्टरलाई भ्याइनभ्याइ [फोटोफिचर]

मनोज पौडेल

सोलुखुम्बु — पर्यटकीय स्थल लुक्लामा हेलिकप्टरलाई भ्याइनभ्याइ छ । पर्यटकीय मौसम सकिन लागेपछि लुक्ला विमानस्थलको हेलिप्याडमा हेलिकप्टरको आवतजावत निक्कै बाक्लिएको छ । 

अहिले लुक्लामा एकै पटक ५/६ वटासम्म हेलिकप्टर ल्यान्ड गर्ने गरेका छन् । पर्यटक पनि गन्तव्यमा पुग्नका लागि लाम लागेर प्रतीक्षा गरिरहेका देखिन्छन् । 

विशेषतः पर्यटकलाई सगरमाथा बेस क्याम्प, नाम्चेबजार, खुम्जुङ, लुबुचे र दिङबुचेलगायत ठाउँमा ल्याउने लैजानका लागि हेलिकप्टरलाई दिनभरि भ्याइनभ्याइ हुने एयर डाइनेस्टीका लुक्ला स्टेसन म्यानेजर राम लामाले बताए । कतिपयले माउन्टेन फ्लाइट गर्ने गरेका छन् । मंगलबार मौसम सफा भएपछि बिहान ७ बजेदेखि १० बजेसम्म २० भन्दा बढी फ्लाइट भएको उनले बताए । 

अहिले सगरमाथा आरोहण गरेर फर्किने आरोहीले गर्दा पनि फ्लाइट ह्वात्तै बढेको छ । कतिपय हेलिकप्टर पर्यटकलाई काठमाडौंसम्म ल्याउने-लैजाने गरेका छन् । मौसम सफा भए दिनभरमा ८० वटासम्म उडान हुने गरेको उनले बताए । मार्च, अप्रिल र मे महिना यहाँको पर्यटकीय मौसम हो । लुक्लाको हेलिप्याड हेलिकप्टरले भरिभराउ बनेको छ ।


प्रकाशित : जेष्ठ १३, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेश सभामा पाँच अध्यादेश पेस

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभा बैठकमा ५ वटा अध्यादेश पेस भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको वर्षे अधिवेशनको पहिलो बैठकमा सरकारले अध्यादेश पेस गरेको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा तय भएको कार्यसूची अनुसार प्रदेश सभामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गरेका छन् ।

यस्तै युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद्‍ ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्ने भएका छन् । प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ मुख्यमन्त्री राजेन्द्र पाण्डेले पेस गरेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७९ १३:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×