कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानका मुद्दामा बेवास्ता, हिलोमा रमिता

राजु चौधरी

काठमाडौँ — विगतका वर्षझैं रोपाइँको मुखमा यसपालि पनि मल अभाव देखिएको छ । अभावकै कारण दाङमा मासु भाग लगाएझैं मल वितरण गरिएको फोटो सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो । किसानले मल अभावको समस्या झेलिरहँदा विभिन्न राजनीतिक दलका नेताहरु भने गत शुक्रबार धान दिवसको अवसर पारेर रोपेजस्तो गर्नमा व्यस्त रहे । असार १५ को छेको पारेर अधिकांश राजनीतिक दलका नेताहरु जिल्ला पुगेर हिलाम्मे खेतमा पसेरै धान रोप्न व्यस्त देखिए । फगत चर्चा बटुल्नकै लागि धान रोपाइँ गर्न पुगेका नेताहरु किसानको खास दुःखमा भने एकाकार भएको देखिएन ।

नेताहरु रोपाइँ गर्दै हिलो खेल्नमा उत्सव मनाइरहँदा किसानहरु भने मध्य असार लागिसक्दा पनि रोपाइँ गर्न नपाएकामा चिन्तित छन् । तथ्यांकमा यसपालि रासायनिक मल पर्याप्त भए पनि किसानको खेत भने बाँझै छ । कृषि मन्त्रालयका अनुसार २०७९/८० को असार १० सम्म २ लाख ८७ हजार ४ सय ७० टन मल वितरण भइसकेको छ । यही अवधिमा ३ लाख ५१ हजार टन मल आयात भएको मन्त्रालयले जनाएको छ । तर, किसानको पहुँचमा भने अझै पुगेको छैन । 

सरकारी तथ्यांक केवल देखाउनका लागि मात्रै भएको कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले बताए । ‘सरकारले पर्याप्त मल भएको बताए पनि किसानसाग मल छैन, केही पहुँचवालाकै मात्र हालीमुहाली छ,’ बस्नेतले थपे, ‘किसानमा देखिएको समस्या समाधान हुनै सकेन ।’ देखाउनकै लागि एक–दुई घण्टा किसानसँग बिताएका नेताहरु मलको समस्या समाधान गर्न जोड दिएका छैनन् । मलबाहेक अर्को प्रमुख समस्या सिँचाइको पनि हो । मुलुकको प्रायः रोपाइँ मनसुनमा आधारित छ । मनसुन सक्रिय नहुँदा अधिकांश ठाउँमा रोपाइँ हुन सकेको छैन । पानी अभावकै कारण कतिपय ठाउँमा रोपाइँ नै सुरू हुन सकेको छैन । 

एमाले अध्यक्ष केपी ओली

मुलुकभर करिब ३९ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये १५ लाख ३१ हजार हेक्टरमा मात्र सिँचाइ पुगेको सरकारी तथ्यांकमा छ । आर्थिक वर्ष २०७९/८० मा थप २२ सय हेक्टरमा सिँचाइ सुविधा विस्तार भए पनि रोपाइँका लागि पर्याप्त छैन ।

रास्वपा सभापति रवि लामिछाने

सिँचाइ अभावकै कारण गत वर्षभन्दा कम रोपाइँ भएको सरकारी तथ्यांकमा उल्लेख छ । यस वर्ष असार १३ सम्म मुलुकभर धान रोपाइँ हुने क्षेत्रफलमध्ये ११.१४ प्रतिशतमा मात्रै भएको छ । २०८०/८१ मा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने प्रक्षेपण गरिएको छ । ती क्षेत्रफलमध्ये असार १३ सम्म १ लाख ६६ हजार ६ हेक्टर २३ हेक्टरमा मात्रै रोपाइँ भएको छ । गत वर्ष कुल १४ लाख ४७ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । असार १० सम्म १७ प्रतिशत अर्थात् २ लाख ४६ हजार १ सय २४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । तर, यसपालि रोपाइँ कम भइरहँदा पनि नेताहरुले भने किसानका समस्याप्रति चासो र चिन्ता राखेको देखिँदैन । 

पछिल्लो समय लम्पी स्किन रोग चौपायामा महामारीकै रुपमा फैलिएको छ । यो रोगकै कारण पनि रोपाइँमा प्रत्यक्ष असर पारेको छ । लम्पी रोगको संक्रमण मनाङबाहेक देशका सबै जिल्लामा फैलिइसकेको छ । साढे २५ हजार पशु मरिसकेका छन् । पशु मरेपछि प्रविधि नपुगेका पहाडी भेगमा खेत जोत्न र हिल्याउन सकिएको छैन । नेपाल पशु चिकित्सा परिषद्कै तथ्यांकअनुसार लम्पी रोगले साढे ३ महिनामा साढे ३३ अर्बको नोक्सानी भएको छ । तर, किसानले पाउने राहत, क्षतिपूर्तिमा कुनै नेताले हालसम्म सम्बोधन गरेका छैनन् । मल, सिँचाइ, बीउ अभावदेखि लम्पी रोगका पीडित आफूहरुको पक्षमा बोल्ने कोही नेता नभएको किसान गुनासो गर्छन् । ‘रोगकै कारण किसानहरु डुब्ने अवस्थामा पुगे । नेताले त्यतातिर ध्यान नै दिएनन्,’ अध्यक्ष बस्नेतले भने, ‘एकछिन रमाइलोका लागि रोपेजस्तो गरेर फोटो खिचाए, तर किसानका दुःखमा भने साथ दिएनन् ।’

भरतपुर महानगर प्रमुख रेनु दाहाल

रास्वपा सांसदहरू विनीता कठायत, सोबिता गौतम, निशा डाागी र तोसिमा कार्की 

नेसपा अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमी


प्रकाशित : असार १७, २०८० ११:४६
प्रतिक्रिया
पठाउनुहोस्