२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

स्याउ फुलेर सेताम्मे मुस्ताङ

वसन्तप्रताप सिंह

जोमसोम,मुस्ताङ — चर्चित पर्यटकीय गन्तव्य मुस्ताङ यतिबेला स्याउ फुलेर सेताम्मे भएको छ । पयर्टकहरू यतिबेला हिमशृंखला र मुस्ताङको भूदृश्यका साथै स्याउ–बगैंचा हेरेर रमाइरहेका छन् ।

मुक्तिनाथ जाने बाटोमा पर्ने मार्फा, जोमसोम, कागबेनी, झारकोटगाउँलगायतका ठाउँमा किसानका बारीमा ढकमक्क स्याउ फुलेका छन् । पृष्ठभूमिमा देखिने सेताम्मे धौलागिरि र निलगिरि हिमालसँगै स्याउ फुलेका बारी मनमोहक देखिएका छन् ।

मुस्ताङमा वार्षिक करिब ६ हजार ५ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ । रोयल, जोनाथान, गोल्डेन, रेड, म्याकन्जलगायत जातका स्याउ फल्छन् । यो वर्ष समयमै ढकमक्क स्याउ फुलेपछि किसान दंग छन् । ‘गत वर्ष स्याउ राम्रोसाग फुलेको पनि थिएन । त्यसैमा तुसारोले फूल झरेकोले भनेजस्तो उत्पादन लिन पाइएन,’ व्यावसायिक स्याउ खेती गरिरहेका कर्मा गुरुङले भने, ‘यो वर्ष राम्रो फुलेको छ । असिना परेन भने गतबर्षको भन्दा राम्रो उत्पादन हुन्छ भन्ने आशा छ ।’

मुस्ताङमा १ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । ९४ जना किसानले व्यावसायिक रूपमा स्याउ खेती गरिरहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । यो वर्ष स्याउ उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निसान खड्का मगरले बताए ।

प्रकाशित : वैशाख १३, २०८१ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्