कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

मह सिकार : सिजनको सुरुआतमै कोसेली माग

गोरखा — भीर मौरीको मह काढ्ने सिजन सुरु हुनु अगावै अजिरकोट गाउँपालिका–२ ओलाङकी सुनमाया गुरुङलाई महको अडर आइसक्यो । काठमाडौं, भारत र बेलायतमा रहेका आफन्तले समेत भीर मौरीको मह पठाइदिन आग्रह गरेका छन् ।

मह सिकार : सिजनको सुरुआतमै कोसेली माग

‘पोहोर पनि युकेमा मामालाई दुई माना मह पठाएँ, यसपाली पनि बेलायतबाट मामाले दुई जम्बो बोतल पठाइदिन फोन गर्नुभएको छ,’ उनले भनिन् ।

ओलाङ क्षेत्रमा भीर मौरीको मह काढ्ने सिजन सुरु भएसँगै स्थानीयलाई आफन्त र चिनेजानेकाले टेलिफोन गरी महको जोहो गरिदिन आग्रह गर्न थालेका छन् । बुधबारबाट ओलाङमा मह सिकार सुरु भएको छ । ओलाङस्थित खस्रे भीरको पहरोमा मौरी खोज्दै स्थानीयले सिकार सुरु गरेका हुन् ।

दुई महिनादेखि नै खस्रे भीरको पहराका अक्करमा रहेको गोला खोजीमा स्थानीय जुटेका थिए । गाउँभेला गरी आवश्यक सामग्री जुटाएर मह काढ्न सुरु गरिएको स्थानीय गंगा गुरुङले बताए । उनी मह सिकारका लागि गाउँमा कहिलएका व्यक्ति हुन् ।

‘घास/दाउरा गर्न वनमा जाँदा कहाँ/कहाँ मौरीको गोला छ, खोजी गर्‍यौं, डोरीको भर्‍याङ, कोक्रे तयार पारेर मह निकाल्न थालेका छौँ,’ उनले भने । ओलाङमा पहिलेको तुलनामा मह उत्पादन कम हुने गरेको इन्द्रले बताए । ‘पहिले त ४/५ सय लिटर पनि उत्पादन हुन्थ्यो, ड्रममा राख्थ्यौं, अहिले एक सय लिटर पुग्न पनि मुस्किल पर्छ,’ उनले भने ।

अजिरकोट सँगै धार्चे गाउँपालिका–३ निम्रुङ खोला, धार्चेकै उहिया, खोर्ला, लाप्राक, हुल्चोकलगायतको गाउँमा मह सिकार सुरु भएको छ । सिजन सुरु भएसँगै स्थानीय मह काढ्ने तयारीका लागि मौरीका गोला खोज्दै जंगल पुग्ने गरेका छन् । यस क्षेत्रमा भीर मौरीको मह काढ्ने सिजनलाई स्थानीयले उत्सवको रुपमा लिन्छन् । मह काढिसकेपछि दामासाही रुपमा मह भाग लगाउने चलन छ ।

६५ वर्षीय गंगाले मह सिकार थालेको चार दशक भयो । बुधबार डोरीको भर्‍याङमा झुण्डिएर मह काढ्दै गरेका गंगालाई १० जना भन्दा बढी स्थानीयले सघाइरहेका थिए । ‘यो जोखिमको काम हो, विधि जानिएन भने मौरीले टोक्छ, भर्‍याङमा अडिन सकिएन भने पनि ज्यान नै धरापमा पर्छ,’ उनले भने ।

केही वर्ष अघिसम्म स्थानीय निगालेको चोयाबाट डोरी बनाएर भर्‍याङ बनाउँथे । अहिले भने नाइनलको डोरीमा अगेरीको काठ प्रयोग गरेर भर्‍याङ बनाउने गरेको उनले सुनाए । ओलाङ क्षेत्रमा मह सिकारमा गगा सँगै इन्द्र गुरुङ पनि कहिलिएका छन् । बाबुबाजेको सिको पछ्याउँदै मह सिकार गरेका गंगा र इन्द्र नयाँ पुस्तालाई पनि सीप हस्तान्तरणमा लागेका छन् । ओलाङ क्षेत्रको भीरमा वैशाख र कात्तिक गरी वर्षको दुई पटक मह निकाल्ने गरिएको इन्द्रले बताए ।

‘बाबुबाजेसँग मह काढ्न जाँदाजाँदै सिकारी बन्यौ,’ प्रेम भन्छन्,‘पहिलेको तुलनामा अहिले मह उत्पादन घटेको छ ।’ जंगल बीचमा रहेको पहरो नजिकै धुप बालेर देवीदेवता पुज्दै यस वर्षको मह सिकार सुरु भएको उनले सुनाए ।

मह सिकारका लागि यहाँका स्थानीयले कामको बाँडफाँड पनि गरेका छन् । डोरी तान्ने, धुँवा उडाउने कामका लागि छुट्टा/छुट्टै समूहमा स्थानीयलाई काम बाडेका छन् । ‘धुवाँ लगाउने, डोरी तान्ने, कोक्रेको मह झिक्ने काममा युवालाई खटाएका छौं,’ प्रेमले भने,‘उनीहरुलाई काम सिकाउन पनि सँगै लैजान्छौं ।’

३२ वर्षीय प्रेम गुरुङ पाका पुस्ताले गरेको मह सिकारबारे नजिकबाट नियाल्दै छन् । चार वर्षयता सहयोगीको भूमिकामा रहेका प्रेम आफै भीर मौरीको गोला छेउ पुगेर सिकारका लागि यसको विधि सिक्न लागेका हुन् । भन्छन्,‘यत्रो भिर छ, सुरुमा त रिंगटा नै चल्छ ।’

पहरोसहितको भीरमा रहेको मौरीको गोलामा डोरीमा झुण्डिएका सिकारीले धुवाँ लगाएर मौरी भगाएर मह निकालेका हुन् । जुम्ले खोलानजिकैको खस्रे भीर आसपास दर्जन बढी महुरीका गोला छन् । बुधबारबाट सिकार सुरु गरेर क्रमश मह निकाल्दै जाने उनीहरुले बताएका छन् ।

भीरमा मह काढ्ने परम्परालाई उत्सवको रुपमा मनाउन ‘हनि हन्टीङ’ कार्यक्रमको रुपमा प्रोत्साहन गरेको गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले बताइन् । ‘यो कार्यक्रमले पर्यटन प्रवर्द्धन पनि गर्न सकिन्छ,’ उनले भनिन् । हन्टिङका लागि मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम मार्फत पनि प्रोत्साहन गरिएको उनले बताइन् ।

प्रकाशित : वैशाख २२, २०८१ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?