बुद्ध जयन्ती मनाउन बजेट अभाव
लुम्बिनी — बजेट अभावले २५६८ औं बुद्ध जयन्तीको तयारी हुन सकेको छैन् । बुद्ध जन्मस्थल लुम्बिनीमा विगतमा भब्य रुपमा मनाइदै आएको बुद्धजयन्ती यो वर्ष औपचारिकतामा सीमित हुने देखिएको छ ।
यस वर्ष बौद्धिष्ट मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई बोलाएर प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने योजना बनाइएकामा बजेट अभाव उक्त कार्यक्रम पनि रद्द गरिएको लुम्बिनी विकास कोष सदस्य सचिव सानुराजा शाक्यले बताए ।
अर्थमन्त्रालयसँग कोषले समयमै बजेट माग गरे पनि रातो किताबमा विनियोजन हुन नसक्दा समस्या भएको उनले बताए । ‘के गर्ने कसो गर्ने अन्यौल छ । सक्दो राम्रो गर्ने प्रयास गरेका छौं,’ उनले भने ।
यसअघि संघीय सरकारले बुद्धजयन्तीका लागि वार्षिक रूपमा ५० लाखदेखि डेढ करोडसम्म बजेट विनियोजन गर्दै आएको थियो । यसअघि कोभिड महामारीपछि ०७९ मा २५६६ औं बुद्ध जयन्ती मनाउदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा सरकारले करिब ३ करोड बजेट विनियोजन गरेको थियो ।
बजेट नहुँदा आगामी जेठ १० गते परेको २५६८ औं बुद्ध जयन्तीको कुनै तयारी गरिएको छैन् । कोषको बोर्ड बैठकले संस्कृति मन्त्री हितमान तामाङको अध्यक्षतामा ५६८ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । त्यसबाहेक कुनै पनि बैठक, छलफल तथा तयारी गरिएको छैन् । ‘अघिल्ला वर्षमा एक महिनाअघिबाटै तयारी हुन्थ्यो,’ कोषका एक अधिकृतले भने, ‘तनि साता पनि समय भैन, अहिलेसम्म तयारी शून्य जस्तै छ ।’ बजेटको जोहो गर्न उपाध्यक्ष ल्याहारल्याक लामा, योजना प्रबन्धक स्मिता भट्ट र बोर्ड सदस्य मन्त्रालय र प्रधानमन्त्री कार्यालय धाइरहेका छन् । उनीहरु साता बढी समयदेखि संघीय राजधानी काठमाडौंमा छन् ।
बुद्ध जन्मस्थलमा राम्ररी कार्यक्रम गरेर विश्वलाई नै शान्ति र भातृत्वको सन्देश दिनुपर्ने बेला बजेट नहुनु दुखदः भएको कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले बताए । बुद्धजयन्ती एउटा उत्सव सँगै स्वदेश तथा विदेशमा लुम्बिनी एक भ्रमणीय स्थल हो भने सन्देश लैजानु पर्ने बेला बजेट खोज्दै हिड्नु लाजको अवस्था भएको सदस्य शर्माले बताए ।
लुम्बिनीमा २०५५ मा सम्पन्न ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलनले बुद्ध जयन्तीलाई लुम्बिनी दिवस पनि मनाउने निर्णय गरेको थियो । विभिन्न बौद्ध मुलुकको पहलमा सन् १९९९ देखि संयुक्त राष्ट्रसंघले समेत अन्तर्राष्ट्रिय रुपमै बुद्ध जयन्तीलाई बैशाख डेका रुपमा मान्यता प्रदान गरी उक्त दिनमा विश्वभर रहेका आफ्ना सबै कार्यालयमा बिदा दिने गरेको छ ।
संयुक्त राष्ट्र संघले समेत बुद्ध जयन्तीलाई उच्चस्तरको महत्व दिँदा उनको जन्मस्थलमा बिरोनो बनेको स्थानीयको गुनासो छ । कोषका कोषाध्यक्ष ढुण्डीराज भटराईले बजेटका लागि संघीय र प्रदेश सरकारबाट सकारात्म आश्वासन पाएको बताए ।
यहाँ साताब्यापी कार्यक्रम गरेर बुद्ध जयन्ती मनाइन्थ्यो । लुम्बिनीसँगै प्राचीन कपिलवस्तु तिलौराकोट, रामग्राममा बनाइने कार्यक्रम पनि अन्यौलमा परेको छ । कोषको आफ्नै स्रोत नहुँदा अन्यसँग भर पर्नु परिरहेको हो । कोषको मुख्य स्रोत मन्दिर प्रवेश शुल्क र दानभेटी हो । यसबाटै कोषका कर्मचारी र प्रशासनिक खर्च चल्ने गरेको छ ।
प्रकाशित : वैशाख २२, २०८१ १८:४९