कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

भारतबाट सस्तोमा भेली ल्याएर गुल्मेली गुड भन्दै बिक्री

कपिल, आशा, भावना, दुर्गाविष्णु, शिव, केशव, गाउँले र नवीनजस्ता नाम राखेर प्याकेजिङ र लेबलिङ गरी गुणस्तरहीन गुड बेचिंदै

गुल्मी — गुल्मेली खुदोबाट बनेको गुडले बजार पाइरहेका बेला यहाँका केही व्यापारीले भारतबाट भेली ल्याएर कमसल किसिमको गुड उत्पादन गरी बिक्री गर्न थालेको फेला परेको छ । छत्रकोट गाउँपालिका–४, अगाहमा दर्जन बढी व्यापारीले भारतबाट कम गुणस्तरको भेली ल्याएर गुड बनाइ आकर्षक प्याकेजिङ गरी बिक्री गरिरहेको फेला परेको हो । 

भारतबाट सस्तोमा भेली ल्याएर गुल्मेली गुड भन्दै बिक्री

जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको थोर्गा र छत्रकोट गाउँपालिकाको दिगामका किसानले वर्षौंदेखि आफैंले खेती गरेको उखु प्रशोधन गरी शुद्ध गुड उत्पादन गर्दै आएका छन् । उखुको खुदोबाट बनाएको गुडले राम्रो बजार पाइरहेकाले त्यसको ब्रान्ड दुरुपयोग गर्दै अगाह बजारका केही व्यापारीले अवैध धन्दा चलाएर आफ्नो बदनाम गर्न थालेको भन्दै यहाँका गुड उत्पादक किसानले गुनासो गर्न थालेका छन् ।

उनीहरूको गुनासोका आधारमा अगाह बजारमा अनुगमन गर्दा त्यहाँका व्यापारीले नक्कली उद्योगको नाम राखी लेबलिङ गरेर रिडी बजारका पसलमा गुड बिक्री गर्ने गरेको फेला परेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताए ।

भारतबाट ल्याएको भेली फोहर स्थानमा पगाल्ने र प्याकिङ गर्ने गरेका कारण खानलायक नभएको उनको भनाइ छ । ‘अवैध काम भएकाले शौचालय, कुखुराको खोर, गाईबस्तुको गोठमा लुकाएर भेली पगाल्ने, कुँडो र भेली सँगसँगै पकाउने, ट्वाइलेटको फोहोर पानीले पखाल्ने गरेको समेत भेटियो,’ उनले भने, ‘कुखुराको खोरवरिपरि फोहरमा खसेको उठाएर पनि बेच्ने गरेकाले खानयोग्यसमेत देखिँदैन ।’

अगाहका व्यापारीले कपिल, आशा, भावना, दुर्गाविष्णु, शिव, केशव, गाउँले र नवीनजस्ता नाम राखेर प्याकेजिङ र लेबलिङ गरेर कमसल किसिमको गुड बिक्री गर्दै आएका छन् । कतिपयले रूपन्देहीको बुटवलका फार्महरूको समेत लेबल लगाएर बेच्ने गरेको पाइएको छ ।

भारतको भेलीबाट गुड उत्पादन गर्नेहरूले दर्ता प्रक्रियासमेत पूरा नगरेकाले उक्त व्यवसाय अवैध समेत रहेको घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले बताए । ‘गुड उत्पादन गर्ने व्यवसाय न उद्योगका रूपमा दर्ता छ, न खाद्य अनुज्ञापत्र नै लिइएको छ,’ उनले भने, ‘हामीले अनुगमनका क्रममा गुड उत्पादन बन्द गर्न निर्देशन दिएका छौं, प्रमुख जिल्ला अधिकारीसँगको छलफलपछि थप कारबाही प्रक्रिया अगाडि बढाउाछौं ।’ खाद्य पदार्थ उत्पादन गर्ने उद्योगलाई स्थानीय तहले हचुवाका भरतमा दर्ता गरेर सञ्चालन गर्न दिएका कारण पनि समस्या हुने गरेको उनको भनाइ छ ।

थोर्गा र दिगाममा उत्पादन भएको गुल्मीको शुद्ध गुड प्रायः प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । अवैध रूपमा भेलीको गुड बेच्नेहरूले प्याकेटमा सोही मूल्यसूची राख्ने तर बार्गेनिङ गरेपछि डेढ/दुई सय रुपैयाँमै दिने गरेकाले सोही आधारमा खुदोको शुद्ध गुड र भारतीय भेलीको गुड छुट्याउन सकिने भएको घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका प्रमुख भण्डारीले बताए । उनले थोर्गा र दिगाम क्षेत्रमा पाइने गुड प्रायः शुद्ध खुदोको हुने गरेको र रिडी बजारमा भेलीको हुने गरेकाले सचेत रहन उपभोक्तालाई आग्रह गरे । ‘अगाह क्षेत्रका केही व्यापारीले भेलीको गुड बनाए पनि गुल्मीको थोर्गा, दिगाम क्षेत्रको गुड राम्रो छ,’ उनले भने, ‘अब भेलीको गुड बनाउनेहरूले भेली नै भनेर प्याकेजिङ गर्ने वातावरण बनाउने हो भने उपभोक्ता झुक्किने अवस्था रहँदैन ।’

दिगाम र थोर्गामा उत्पादन हुने खुदोको गुड उत्पादन गर्नेहरूले पनि खाद्य अनुज्ञापत्र लिने र दर्ताका सबै प्रक्रिया पूरा नगरेकाले उद्योगका मापदण्ड पूरा गर्न निर्देशन दिइएको भण्डारीको भनाइ छ । छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले आफूहरूले अनुगमन गरेर खाद्य पदार्थमा लापरबाही नगर्न निर्देशन दिए पनि अटेरी गरेको बताए । ‘अब हामीले गुणस्तर तथा नापतौल कार्यालयसँग समन्वय गरेर परीक्षण गरी कैफियत देखिए कारबाही गर्छौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ ४, २०८१ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x