कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानलाई असारे चटारो [फोटोफिचर]

हरिराम उप्रेती

गोरखा — सिरानचोक गाउँपालिका–४ चोरकोटेका धननारायण कुमाल यतिखेर खेतमै व्यस्त छन् । दुई साताअघिमात्र चैते धान भित्र्याएका कुमाल अब बर्खे धान रोपाइँको तयारीमा छन् । आली ताछ्ने, आली लगाउने, कुलो मर्मतमै उनको दिन बित्ने गरेको छ । ‘आली तास्ने, आली लगाउने जस्ता मान्छेले गर्ने काम सकियो, अब गोरुको काम बाँकी छ,’ उनले भने ।

रोपाइँ गर्दा सजिलो र छिटो हुने भएपछि अधिकांश कृषक गोरु पाल्न छाडेर ट्र्याक्टरप्रति आकर्षण बढेको कुमालले बताए । असारे चटारोमा रहेका भसुन्डे र दरौदी फाँटका किसान यतिखेर ट्र्याक्टर खोज्दै रोपाइँ गर्न व्यस्त छन् । अर्मपर्म गरेर खेत रोपाइँ गरेको उनले बताए । ट्र्याक्टरलाई प्रतिघण्टाको तीन हजार दिएर रोपाइँ गर्ने गरेको पालुङटार नगरपालिका–१ की चमेली कुमालले बताइन् । भुसुन्डे फाँट क्षेत्रमा ज्यालास्वरुप रोपारलाई ६ सय र वाउसेलाई एक हजार दररेट चलेको छ । खेतलाभन्दा अर्मपर्म गरेर नै रोपाइँ गर्ने प्रचलन पनि रहेको उनले बताइन् । ‘सबैको रोपाइँ छ, खेताला पनि भनेको दिन पाइँदैन,’ उनले भनिन्, ‘अर्मपर्म गरेर खेत रोपाइँ गर्ने गरेका छौं ।’

पालुङटार नगरपालिका–१ स्थित भुसुन्डे र दरौदी फाँट तथा सिरानचोक गाउँपालिका–४ को दरौदी फाँटमा रोपाइँको चटारो सुरु भएको छ । जेठ अन्तिम साताबाटै यस क्षेत्रमा रोपाइँ सुरु भएको सिरानचोक–४कि लक्ष्मि कुमालले बताइन् । ‘असारे धान काटेपछि रोपाइँको तयारी सुरु गरेका हौं, गोरु खोज्न नपर्ने ट्र्याक्टरले जोत्दा छिटो हुने भएपछि ब्याडको बिउ हेरेर रोपाइँ सुरु गरेका हौँ,’ उनले भनिन् ।

टारी खेतमा मकै थन्काएर रोपाइँको तयारी किसान जुटेका छन् । धान खेतीको पकेट क्षेत्र मानिने दरौदी, भुसुन्डे, जरेवर, चेफे फाँटका किसानहरु बिउ काड्न, रोप्न र जुडी (चैते) धान झाट्न व्यस्त छन् । मकै र जुडी भित्र्याएपछि केही खेतमा भने असार २० पछि रोपाइँको सुरु हुन्छ । यहाँको सात सय २५ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ ।

पछिल्लो समय यान्त्रिकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले पनि बताए । ‘यान्त्रिकीकरण धेरैजसोले प्रयोग गर्न थालेका छन्, ठूलासम्म गरा भएका खेतमा ठूला ट्र्याक्टरको प्रयोग हुन्छ, हाते ट्र्याक्टरको प्रयोगबाट पनि रोपाइँ भइरहेका छन्,’ उनले भने । साना गरा र सुर्कामा भने गोरुको प्रयोगबाटै खेत रोपाइँ हुने गरेको उनले बताए ।

अधिकारीका अनुसार जिल्लाको १२ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुँदै आएको छ । हालसम्म करिव १० प्रतिशत खेतमा धान रोपाइँ सकिएको उनले बताए । ‘मनसुन ढिला भित्रँदा पनि रोपाइँलाई असर गरेको छ,’ उनले भने । जिल्लाका किसानले सावित्री, मकवानपुर १, रामधान, महाराजा, हर्विनाथ १, सुख्खा ३, नेपाली हाइब्रिट जातका धान लगाउने गर्छन् ।


प्रकाशित : असार १४, २०८० १८:५२
प्रतिक्रिया
पठाउनुहोस्