कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनि रिन्जिङको अनुहारमा उज्यालो फर्कियो

तस्बिर: अंगद ढकाल

मुस्ताङ — मुस्ताङ कागबेनीकी ६० वर्षीया रिन्जिङ ग्याम्बो गुरुङ जन्मैदेखि बोल्न र सुन्न सक्दिनन् । केही वर्षअघि घाँसदाउरा गर्ने क्रममा दाहिने आँखामा चोट लागेर नदेख्ने पनि भएकी थिइन् । दाइको घरमा बसेर जसोतसो गुजारा चलाउँदै आएकी उनको अर्को आँखा पनि मोतिबिन्दु भएर नदेख्ने भएपछि थप पीडा थपियो ।

यही शुक्रबार र शनिबार डा. सन्दुक रुइतको टोलीले मुस्ताङको जोमसोममा आँखा शिविर गर्ने भएपछि गुरुङ पनि दाइकी छोरीको साथमा शिविरसम्म आइपुगेकी थिइन् ।

बोल्न र सुन्न नसक्ने उनी आँखा पनि देख्न छाडेपछि निराश र थकित देखिन्थिन् । कसैले हातले कोट्याएर बोलाउँदा मात्रै उनी प्रतिक्रिया जनाउँथिन् । नत्र चुपचाप एकै ठाउँमा बसिरहन्थिन् । उस्तो अवस्थाले उनलाई मात्र हैन, उनको परिवारलाई पनि चिन्तित बनाएको थियो ।'यस्तो अवस्थाले हामीलाई भन्दा पनि फुपुलाई गाह्रो बनाएको छ । शिविरमा आएपछि फुपुले फेरि आँखा देख्नुहुन्छ भन्ने आसा छ,' गुरुङको उपचार गर्नुअघि उनकी दाइकी छोरीले भनिन् ।

उनीहरूले आसा गरे झैं अपरेसन गरेको भोलिपल्ट आँखाको पट्टी खोल्दा रिन्जिङ फेरि आँखा देख्ने भइसकेकी छन् । डा. रुइतले आँखाको पट्टी खोलिदिँदा उनको अनुहारमा उज्यालो प्रस्ट देखिन्थ्यो । डा. रुइतले हातको इशारा गर्दै देखाउँदा उनले पनि पछ्याइरहेकी थिइन् ।उपचारपछि गुरुङ डा. रुइतलाई धेरै बेरसम्म गाला सुम्सुम्याएर र अंगालो हालेर आफ्नो खुसी व्यक्त गरिन् । सँगै रहेका अरु बिरामीहरुसँग पनि उनी आफ्नै भाषामा कुरा गर्दै थिइन् ।

तिलगंगा आँखा प्रतिष्ठान र हिमालयन क्याटाराक्ट प्रोजेक्टको सहकार्यमा आयोजित यस शिविरमा डा. रुइतको टोलीले गुरुङसहित १ हजार २ सय ३४ जनाको आँखा जाँच गरेको थियो । तीमध्ये ४ सय ३५ जनाको ओपीडी जाँच गर्नुका साथै ७८ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ ।

प्रकाशित : असार १६, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्