कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानलाई सास्ती, नेतालाई रमाइलो

कान्तिपुर संवाददाता

काठमाडौँ — धान खेतीका लागि चितवन प्रसिद्ध जिल्ला हो । केही वर्षअघिसम्म धान खेती यहाँका अधिकांश किसानको मुख्य पेशा हुने गरेको थियो । पछिल्लो समय भने अव्यवस्थित भवन निर्माण र बजारिकरणले गर्दा खेतीयोग्य जमिनको आकार तीव्र रुपमा घट्दो छ ।

यद्यपि असार १५ अर्थात् धान दिवसमा यहाँ रोपाइँका औपचारिक कार्यक्रम भव्य रुपमा मनाउने गरिएको छ । यसपटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रोपाइँ कार्यक्रमका लागि अघिल्लो दिन नै चितवन पुगेका थिए ।

चितवन मात्रै हैन, अधिकांश जिल्लाहरूमा मन्त्रीहरूसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू आफ्ना संगठनका ब्यानरसहित खेतमा उपस्थित हुने गरेका छन् । वास्तविक किसान भने कहिले मल अभावमा त कहिले बाढीपहिरोले बाली बगाइदिँदा समस्यामा पर्ने गरेका छन् । यसपटक त लम्पी स्किन संक्रमणले गोरु थलिएर रोपाइँका लागि तयार नहुँदा ठूलो संख्यामा किसानको रोपाइँ नै प्रभावित बन्न पुगेको छ ।

मन्त्री, सांसद तथा दलका नेताहरू खेतमा पुगेर धान रोपेका तस्बिर त खिचाए । तर हरेक वर्ष किसानलाई चिन्तित बनाइरहेको मल अभाव र लम्पी स्किनको समाधान भने नेताहरूले पनि दिन सकेनन् ।

यस्तैमा पर्साका किसानले भने रोपाइँ कार्यक्रम गर्न खेतमा पुगेका जनप्रतिनिधिलाई सहजै मल नपाएको गुनासो गरेका छन् । रोपाइँको मौसम सुरु भए पनि सरकारले सर्वसुलभ रुपमा रासायनिक मल उपलब्ध नगराउँदा रोपाइँ नै प्रभावित भएको उनीहरूको गुनासो छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, परियोजना कार्यान्वयन इकाइ पर्साले ठोरी गाउँपालिका–३ बुद्धनगरमा आयोजना गरेको २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा किसानहरूले जनप्रतिनिधि समक्ष यस्तो गुनासो गरेका हुन् ।


प्रकाशित : असार १५, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्