कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिसडोलको बिजोग, बन्चरेडाँडा अलपत्र

तस्बिर : दीपक केसी, सीमा तामाङ

काठमाडौँ — काठमाडौंदेखि झन्डै १७ किलोमिटर टाढा । करिब ४ सय रोपनीभन्दा बढी जग्गामा फैलिएको सिसडोल ल्यान्डफिल साइट । तारकेश्वरस्थित मुड्खु हुँदै सिसडोलस्थित औखरपौवाको ल्यान्डफिल साइट अवलोकन गर्न आइतबार दिउँसो पुग्दा एक सय मिटर अगाडि नै गाडीबाट ओर्लिनुपर्‍यो । कतै पक्की सडक त कतै खाल्डाखुल्डी हुँदै ल्यान्डफिल साइट पुग्दाको अनुभव भने बयान गरिसाध्य रहेन । कोल्खु खोलादेखि बन्चरेडाँडा जाने झन्डै २ सय मिटर मुख्य सडक बिग्रिएको छ । 

फोहोरमाथि नै अस्थायी सडक बनाइएकाले गाडी फस्ने समस्या नौलो रहेन । मुख्य सडकको तलतिर खोला छेउमा ल्यान्डफिल साइटको भ्याली १ र २ छ । मुख्य सडकबाट ८० देखि सय मिटरको उचाइमा फोहोर फालिन्छ । त्यहाँसम्म पुग्न करिब ४ सय मिटर पार गर्नुपर्छ । फोहोरमाथि खनिएको सडक हुँदै साइटको उचाइमा पुगेर फोहोर फाल्ने गरिन्छ ) । फोहोरमाथि नै सडक बनाइएकाले गाडी माथिसम्म जान समस्या छ । आइतबार दिउँसो त्यहाँ पुग्दा १५ वटा फोहोरका गाडी लामबद्ध थिए । घाम लागेपछि मात्र फोहोर माथि लैजाने गरिन्छ । काठमाडौं महानगरले कहिलेकाहीं क्रेनको सहयोगमा फोहोरका गाडी तानेर माथिसम्म पुर्‍याउने गरेको भए पनि शनिबार राति फोहोर सडकमै खन्याइएको थियो ।

उपत्यकामा थुप्रिएको फोहोरले महामारीको रूप लिन सक्ने देखिएको भए पनि काठमाडौं महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बन्चरेडाँडा ल्यान्डफिल साइटका रूपमा प्रयोगमा नआएसम्म फोहोर नउठ्ने समस्या दोहोरिरहने बताउँछन् । ‘फोहोर उठिरहेको छ, तर उठ्नुपर्ने जति उठाउन र विसर्जन गर्न सकिएको छैन,’ उनले भने, ‘अन्य बेला जति व्यवस्थापन गरिन्थ्यो । त्यति गर्न नसकिएको हो ।’

दैनिक १ सय ५० वटा ट्रकले फोहोर ल्याउने गरेको ठाउँमा अहिले एकतिहाइ मात्र विसर्जन भइरहेको छ । सिसडोलदेखि बन्चरेडाँडासम्म पुग्ने २ किलोमिटर सडक निर्माणको जिम्मेवारी सडक विभागको थियो । करिब १८ सय मिटर सडक कालोपत्र गरिसकिएको भए पनि २ सय मिटर सडक बनाउने टुंगो छैन । बन्चरेडाँडाको ल्यान्डफिल साइट निर्माण सम्पन्न भएको खण्डमा महानगर आफैंले सडक बनाएर पनि लैजाने सिसडोल ल्यान्डफिल साइटका इन्चार्ज सरकारद्वीप श्रेष्ठले बताए । ‘व्यवस्थापन गर्न नसकिने भएपछि हामीले नै महानगरवासीलाई कम फोहोर उत्पादन गर्नु तथा सम्भव हुने फोहोर घरमै व्यवस्थापन गर्नु भनेका हौं,’ उनले भने ।

सरकारले समयमै बन्चरेडाँडा तयार गरेर हस्तान्तरण गरेको भए यस्तो समस्या नहुने उनको दाबी छ । ‘सहरी मन्त्रालयले वर्षायाम सुरु हुनुअगावै ल्यान्डफिल साइट हस्तान्तरण गर्न सक्दैनौं भनेको भए वैकल्पिक व्यवस्थापन गर्न सकिन्थ्यो,’ विभाग प्रमुख श्रेष्ठले भने । तर सम्झौता गरेकोभन्दा लामो समयसम्म फोहोर व्यवस्थापन भइरहेको साइट इन्चार्ज श्रेष्ठ बताउँछन् ।

‘दुई वर्षका लागि सम्झौता गरेको सिसडोलमा झन्डै १५ वर्षदेखि फोहोर फालिरहेका छौं । चार वर्षदेखि कुनै समस्या थिएन, यही वर्ष धेरै समस्या भयो,’ उनले भने । पानी पर्ने मौसममा फोहोर व्यवस्थापन गर्न समस्या हुने उनको भनाइ छ । ‘वर्षायामपछि फोहोर मज्जाले उठ्छ, कुनै समस्या हुँदैन । बन्चरेडाँडा नै वैकल्पिक ठाउँ हो,’ उनले भने ।

सडकको समस्या त छँदै थियो, स्थानीयको विरोधका कारण पनि फोहोर विसर्जन अवरुद्ध भएको छ । भदौ ६ मा नुवाकोटस्थित ककनी गाउँपालिका–१ की ७० वर्षीया पुतली बलामीको हैजाका कारण मृत्यु भएपछि भदौ १० देखि सिसडोलका स्थानीयले फोहोर फाल्न अवरोध गर्दै आएका हुन् । गाउँपालिका वडा–१ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीका अनुसार चिकित्सकले हैजाकै कारण पुतली बलामीको मृत्यु भएको पुष्टि गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । ‘सिसडोल ल्यान्डफिल साइटको फोहोरबाट निस्केको लिचेड (पानी) बगेर पानीको मुहानमा गएर मिसिएको छ,’ उनले भने, ‘झाडापखाला लागेपछि उपचार गर्न लैजाँदा २४ घण्टामै बलामीको मृत्यु भयो ।’

सरकारले क्षतिपूर्ति दिनुपर्ने तथा फोहोर विसर्जन व्यवस्थित गर्नुपर्ने स्थानीयको माग छ । तर इन्चार्ज श्रेष्ठ भने स्थानीयले चलाउने गाडीलाई मात्र फोहोर फाल्न दिइएको दाबी गर्छन् । ‘महानगरका र अन्य चालकलाई फोहोर फाल्न दिइएको छैन,’ उनले भने । वडाध्यक्ष बलामीले भने कसैलाई पनि फोहोर फाल्न नदिइएको दाबी गरे । ‘स्थानीयको आँखा छलेर फोहोर फाल्न गएका हुन्,’ उनले भने । लुकीछिपी फोहोर फालेकै कारण स्थानीयले आइतबार साँझ केही गाडीमा तोडफोड गरेको उनले जनाए । विभाग प्रमुख श्रेष्ठले भदौ ११ मा स्थानीयले प्रयोग गर्ने पानी, स्थानीयको दिसा र माटो परीक्षणका लागि पठाइएको बताए । रिपोर्ट आएपछि मात्र स्थानीयको आरोपबारे भन्न सकिने उनको भनाइ छ । ‘स्थानीयको क्षतिपूर्तिबाहेकका अन्य माग पूरा गर्न महानगर तयार छ,’ उनले भने ।


प्रकाशित : भाद्र १४, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्