कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु [तस्बिरहरू]

तस्बिर : केशव थापा, तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा मंगलबारदेखि ज्येष्ठ नागरिकलाई लगाउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ । 

काठमाडौं जिल्लामा ३२ सहित उपत्यकामा ४७ खोपकेन्द्र छन् । खोप बिहान १० देखि अपरान्ह ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिने छ । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले करिब पाँच लाख जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न थालिएको जानकारी दिए ।

खोप अभियान असार २४ गतेसम्म सञ्चालन हुने छ । उनका अनुसार गत जेठ २५ देखि २९ गतेसम्म लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरोसेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइने छ । 

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कागज अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ५९ हजार ९५४  ले दोस्रो  र २६ लाख ११ हजार ८०७  जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् । 

प्रकाशित : असार २२, २०७८ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्