१३ तस्बिरमा हेरौं, हुस्सुमा उपत्यकावासी

तस्बिर: अंगद ढकाल, हेमन्त श्रेष्ठ, दीपक केसी

काठमाडौँ — उपत्यकासहित मुलुकका विभिन्न भागमा आज (शनिबार) भने मौसमम सुधार देखिएको छ । केही स्थानमा छिटफुट वर्षा र हिमपातबाहेक मौसम सुधार हुँदै गइरहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान शाखाले जनाएको छ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशैभर बिहीबार साँझदेखि र शुक्रबार साँझसम्म वर्षा भएको थियो । पानी रोकिए पनि काठमाडौंसहित पूर्वी तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । वर्षा र हुस्सुमा नागरिक आ-आफ्ना पेसा-व्यवसायमा खटिरहेका देखिन्छन् । हुस्सुमा काठमाडौं, भक्तपुरको जनजीवन कस्तो छ त ? तस्बिरहरु

प्रकाशित : माघ ४, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्

दिव्योपदेश : प्रामाणिक कि अप्रामाणिक ?

सुजित मैनाली

एकगत शनिबार कान्तिपुर ‘कोसेली’ ले पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ को (अ) प्रामाणिकताबारे चर्चा गरेका तीनवटा सामग्री प्रकाशन गर्‍यो । तीमध्ये ‘अप्रमाणित ‘दिव्योपदेश’ !’ शीर्षकमा पत्रकार सङ्गीतको लेख केही वर्ष हतार गरेर लेखिएको देखिएकाले र यो प्रमाणबिनाका ठूल्ठूला दाबीले भरिएकाले यसबारे टिप्पणी गर्न आवश्यक ठानिएन ।

कोसेलीमै ‘९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ कहाँ थियो ?’ शीर्षकमा छापिएको इतिहासकार प्रत्यूष वन्तको र ‘शंका गर्नु नै अप्रामाणिक हो’ शीर्षकमा छापिएको अर्का इतिहासकार दिनेशराज पन्तको अन्तर्वार्तामाथि चाहिँ विमर्श आवश्यक छ ।

दुई
वन्तले अन्तर्वार्ताकारबाट ‘दिव्योपदेश’ को प्रामाणिकतामाथि प्रश्न उठाइएपछि भनेका छन्, ‘१९९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ लाई रिफर गर्दै लेखिएको कुनै पनि अर्को चीज खासै देखा पर्दैन... पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’ एकै स्थानमा बसेर भनेनन् । यो पनि मानौं, विभिन्न कालमा उनले भनेका कुरालाई कसैले लिखित सामग्रीको रूपमा राख्यो । तर, ९० सालको भुइँचालोसम्म किन यो कतै उल्लेख भएन वा प्रकाशमा आएन ? ...विसं १९९० मा भुइँचालो जान्छ, त्यसपछि बाबुराम आचार्यले... लेख्नुहुन्छ— फलानो–फलानो बस्नेतको भुइँचालोले भत्काएको घरमा ‘दिव्योपदेश’ भेटियो । र, त्यो टेक्स्ट सूर्यविक्रम ज्ञवालीलाई १९३५ को पृथ्वीनारायण शाहबारे जीवनी... लेख्न उहाँले उपलब्ध गराउनुहुन्छ... त्यो टेक्स्टमा पृथ्वीनारायण शाहलाई शंका नगरौं तर यति लामो समयसम्म हराएर १९३४/३५ तिरै किन निस्कियो ?’

वन्तले ‘खासै’ प्रयोग गर्न आवश्यक छैन । किनकि बख्शी अभिमानसिंह बस्नेतका सन्तति बखतमानसिंहको घरमा फेला परेको ‘दिव्योपदेश’ को लिखत उतार गरी बाबुराम आचार्यले सूर्यविक्रम ज्ञवालीलाई दार्जिलिङ पठाउँदै गर्दा र त्यसअघि लेखेका एकाध पत्र र ज्ञवालीले त्यसको उपयोग गरेर लेखेको सामग्री (१९९२) नै ‘दिव्योपदेश’ उद्धृत गरिएका हालसम्म ज्ञात भएमध्येका पहिला सामग्री हुन् । त्यसपछिका दिनमा नयराज पन्तले बखतमानसिंहकै घरमा फेला परेको सामग्रीमा आधारित रहेर १९९६ मा काव्य तयार गरेका थिए । तर, नेपाली भाषा प्रकाशिनी समितिको अनिच्छाले गर्दा त्यसले पुस्ताकाकार रूप लिन सकेन । पन्तकै सहलेखनमा २००४ मा छापिएको ‘नेपालको संक्षिप्त इतिहास’ मा चाहिँ त्यसको प्रयोग भयो (नयराज पन्त आदि, श्री ५ पृथ्वीनारायण शाहको उपदेश, २०२५, पृ. ५) ।

२००७ सालपछि पृथ्वीनारायणको व्यक्तित्वमाथि प्रकाश पार्ने क्रम तीव्र भयो । यही मेसोमा योगी नरहरिनाथले बखतमानसिंहकै घरमा पाइएको सामग्रीको उतार ‘श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश’ शीर्षकमा २००९ मा प्रकाशन गरे । त्यसलगत्तै २०१० मा त्यही सामग्री बाबुराम आचार्य र योगी नरहरिनाथको संयुक्त सम्पादनमा पृथ्वीनारायणको जन्मदिन पारेर ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’ शीर्षकमा प्रकाशन भयो । त्यसपछिका दिनमा सो लिखत ‘दिव्योपदेश’ का नामले चर्चित हुन पुग्यो । उपदेशअगाडि ‘दिव्य’ जोड्नुलाई अनुपयुक्त ठहर गर्दै नयराजले संशोधन मण्डलमा आबद्ध आफ्ना तीन जना बटुक देवीप्रसाद भण्डारी, गौतमवज्र बज्राचार्य र दिनेशराज पन्तलाई साथ लिएर २०२५ सालमा ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ नामको ग्रन्थ प्रकाशन गरे । संशोधन मण्डलले गरेको पृथ्वीनारायणको उपदेशको व्याख्या बढी गहकिलो भए पनि महिमामण्डनको नियतसहितको ‘दिव्य’ शब्दलाई यसले जनजिब्रोबाट विस्थापित गर्न सकेन ।

तीन
‘दिव्योपदेश’ को प्रामाणिकतामाथि प्रश्न उठाइएको यो पहिलो सन्दर्भ होइन । कमलप्रकाश मल्लले पहिलोपटक २०४० पुसमा मेरी सेफर्ड स्लसरको किताबबारे समीक्षा लेख्दा ‘दिव्योपदेश’ लाई ‘अ लेट म्यानुस्क्रिप्ट’ अर्थात् ‘पछि तयार पारिएको लेखोट’ भनेका थिए (कन्ट्रिब्युसन्स टु नेपलिज स्टडिज, ११(१), पृ. १२५–१३३) । तर, यसबारे व्याख्या गर्नु त परै जाओस्, थप एक शब्द पनि उच्चारण गरेका थिएनन् । त्यसको ३६ वर्षपछि जोन ह्वेल्पटनको एउटा किताबको समीक्षा गर्ने क्रममा मल्लले ‘दिव्योपदेश’ सम्बन्धी आफ्नो दाबी पुष्टि गर्न दुईवटा तर्क अघि सारे । पहिलो, पृथ्वीनारायणले पठाएका चिठी र ‘दिव्योपदेश’ को शैली र अन्तरवस्तु पृथक् छन् । दोस्रो, गोरखाको ग्रामीण परिवेशमा हुर्किएका पृथ्वीनारायणले ‘दिव्योपदेश’ मा उल्लिखित अर्थतन्त्र र व्यापारसम्बन्धी धारणा राख्नु अमिल्दो छ (युरोपियन बुलेटिन अफ हिमालयन रिसर्च २९–३०, सन् २००६, पृ. १७८–१८३) । समीक्षा प्रकाशन भएपछि ह्वेल्पटनसँगको एउटा पत्रचारमा मल्लले सूर्यविक्रम ज्ञवाली र बाबुराम आचार्यले जोडजाड गरेर ‘दिव्योपदेश’ तयार गरिदिएको बताएका रहेछन्, जसको खुलासा मल्ललाई लेखेको सार्वजनिक जवाफमा ह्वेल्पटनले गरिदिएका छन् (युरोपियन बुलेटिन अफ हिमालयन रिसर्च ३१, सन् २००७, पृ. १७८–१८३) ।

सोही प्रसंगमा ह्वेल्पटनले भक्तपुरमा केही समय बसिसकेका पृथ्वीनारायणलाई चन्द्रागिरि डाँडाबाट कसैले ‘त्यो काठमाडौं, त्यो पाटन र त्योचाहिँ भादगाउँ हो’ भनी देखाउनु अमिल्दो रहेको भनी डच मानवशास्त्री बर्ट फन डेन हकले ‘दिव्योपदेश’ को अप्रामाणिकताबारे चर्चा गर्ने सन्दर्भमा उठाएको मौखिक प्रश्नबारे पनि उल्लेख गरेका छन् । तर, मल्ल र हक दुवैको दाबी चित्तबुझ्दो नरहेको ह्वेल्पटनको जिकिर छ । नेपाल महात्म्य नवौं शताब्दीको दस्तावेज हो भनी गरिएको दाबीको खण्डनमा विस्तृत लेखेका मल्लले ‘दिव्योपदेश’ को अप्रामाणिकताबारे ठोस प्रमाण र तर्क अघि सार्न नसकेको उनले लेखेका छन् । साथै २०४० सालमा स्लसरको किताबको समीक्षा गर्ने क्रममा मल्लले संशोधन मण्डलको माथि उल्लिखित ग्रन्थको आलोचना गर्ने क्रममा ‘दिव्योपदेश’ को प्रामाणिकतामाथि प्रश्न नउठाइएको लुड्विग स्टिलरको ‘पृथ्वीनारायण साह इन द लाइट अफ दिव्योपदेश’ लाई राम्रो ठहर गरेर परस्परविरोधी दृष्टिकोण राखेकोतर्फ पनि औंल्याएका छन् । वन्तभन्दा अगावै ह्वेल्पटनले ‘दिव्योपदेश’ त्यति लामो समयसम्म फेला नपर्नुको कारणबारे अनुसन्धान हुनुपर्नेतर्फ औल्याउँदै गर्दा यत्तिकै आधारमा ‘दिव्योपदेश’ लाई अप्रामाणिक भनि पन्छाउनचाहिँ नमिल्ने निष्कर्ष निकालेका थिए ।

चार
‘दिव्योपदेश’ को प्रामाणिकतालाई लिएर उठाइने प्रश्नलाई दुई श्रेणीमा राखेर हेर्नु उपयुक्त हुन्छ । पहिलो हो, सत्यलाई अझ परिशुद्ध गर्ने प्राज्ञिक प्रयत्न । ह्वेल्पटन र वन्तले गरेका प्रयत्नलाई यही श्रेणीमा राख्नु उपयुक्त हुन्छ । दोस्रो हो, राजनीतिक अभिष्टमुखी प्रयत्न । यस्तो प्रयत्न कमलप्रकाश मल्लबाट सुरु भएर आजका मितिसम्म छिटफुट रूपमा जारी रहेकाले यसबारे संक्षेपमा टिप्पणी गर्नु सामयिक हुन्छ ।

पृथ्वीनारायणको दृष्टिकोणलाई समग्रमा होइन, खण्ड–खण्डमा बुझ्नु बढी वैज्ञानिक हुन्छ । ससुराली राज्य मकवानपुर र जेठानसँग बदला लिने विशुद्ध व्यक्तिकेन्द्रित मनोभावबाट पृथ्वीनारायणको राज्यविस्तार अभियान सुरु हुन्छ । अभियान सफल हुँदै जाँदा आधुनिक राजनीतिक चेतको पुट पाएर त्यो परिवक्व बन्दै जान्छ । जीवनको उत्तरार्द्धतिर पृथ्वीनारायणमा विस्तारित राज्य अखण्ड, दीर्घजीवी रहनुपर्छ भन्ने भाव प्रबल रहेको पाइन्छ । यसका लागि राज्यले लिनुपर्ने विदेशनीति, सैन्य नीति, सामाजिक नीति, आर्थिक नीति आदिसम्बन्धी उनको दृष्टिकोण ‘दिव्योपदेश’ मा समाविष्ट छन् । तत्कालीन परिवेश झल्किने सन्दर्भहरूलाई बिर्सिदिने हो भने ‘दिव्योपदेश’ का कतिपय अंश आज पनि सामयिक छन् । ‘यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ’, ‘यक दिन त्यो बल (तत्कालीन इस्ट इन्डिया कम्पनी अर्थात् अहिलेको भारत) आउन्या छ...चुरेघाटिमा षुपै काटिन्या छ’ आदि केही उदाहरण हुन् ।

सत्ता परिवर्तनसँगै पुराना सत्ताका जह्राहरूको समग्र मूलच्छेद गरिनुपर्छ, यसका लागि इतिहासका नराम्रा पाटोको भण्डाफोर गर्ने होइन अपितु पुरानो सत्ताले टेकेको इतिहासको समग्र आधार नै ध्वस्त गरिदिनुपर्छ भन्ने ‘क्रान्तिकारिता’ को मिति गुज्रिएको रूढ मान्यताले दोस्रो जनआन्दोलनपछि प्राज्ञिक, राजनीतिक र सामाजिक/संस्कृतिक क्षेत्रमा प्रश्रय पायो । यही प्रयोजनका लागि पृथ्वीनारायणलाई सुनियोजित रूपमा तारो बनाइयो । उनको दानवीकरणको शृंखलालाई गति दिइयो । नयाँ परिवेशमा तिखारिनुपर्ने थियो, इतिहासलाई हेर्ने आलोचनात्मक चेत । परन्तु यावत् ऊर्जा पृथ्वीनारायण र उनले आरम्भ गरेको इतिहासको धारलाई गलत देखाउनमा खर्च गरियो ।

तमाम प्रयत्न गर्दा पनि यस्तो अभियानमा लागेकाहरूले ‘दिव्योपदेश’ का अन्तरवस्तुलाई गलत करार गर्न सकेका छैनन् । त्यसैले समग्र ‘दिव्योपदेश’ लाई अप्रामाणिक घोषणा गरेर लक्ष्य फत्ते गर्ने जमर्को गरिरहेका छन् । तर, यसो गर्दैगर्दा एउटै प्रमाण पनि पेस गर्न सकेका छैनन् । उदाहरणका लागि राजेन्द्र महर्जनले २०७० पुस २५ को कान्तिपुरमा लेखेको ‘दिव्योपदेश र हेगियोग्राफी’ शीर्षकको लेखलाई लिन सकिन्छ, जहाँ ‘दिव्योपदेश’ लाई ठाडै अप्रामाणिक नभनिए पनि त्यस्तै भाव प्रसारित हुनेगरी लेखको ढाँचा तय गरिएको छ (पृ. ७) । ‘दिव्योपदेश’ को प्रामाणिकताबारे सन्देह जगाउन लेखमा योगेश राजले ‘द जर्नल अफ क्याप्टेन किनलक’ (सन् २०१२) किताबको एउटा पादटिप्पणी (पृ. १९) मा ‘दिव्योपदेश’ का लेखक र कालनिर्णय विवादास्पद रहेको भनी उल्लेख गरेको प्रसंग उद्धृत गरिएको छ । ‘दिव्योपदेश’ को कालनिर्णयको प्रसंग योगेश राजले महेशराज पन्तको पुस्तिका ‘इनेप्ट स्पेसिमेन ?’ (सन् १९८४) बाट लिएका हुन् । महेशराज पन्तदेखि योगेश राज र प्रत्यूष वन्तसम्मले ‘दिव्योपदेश’ को विवरण पृथ्वीनारायणको अभिव्यक्ति होइन भनि निर्क्योल नगरेको, यसका लेखनदास र लामो समयसम्म यो सार्वजनिक नहुनुको कारणप्रति मात्र जिज्ञासा व्यक्त गरेको तथ्यतर्फ ध्यान दिनु वाञ्छनीय हुन्छ ।

पाँच
अन्तर्वार्तामा प्रत्यूष वन्तले ‘९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ कहाँ थियो ?’ भनी गरेको प्रश्नको जवाफमा केही प्रतिप्रश्न तेर्स्याउन सकिन्छ । सेसिल बेन्डलले वीर पुस्तकालयमा गोपालराज वंशावली फेला पार्नुअघि त्यो कहाँ थियो ? भगवानलाल इन्द्रजीले मानदेवको चाँगु अभिलेख छाप्नुअघि त्यतिका वर्षसम्म त्यसमाथि कसैको नजर पर्न किन सकेन ? कौटिल्य अर्थशास्त्रको पाण्डुलिपि २० औं शताब्दीको आरम्भतिर फेला पर्नुअघि सयौं वर्षसम्म त्यो कहाँ थियो ? यस्ता प्रश्नले ऐतिहासिक सामग्री गर्तमै रहिरहनुका कारणबारे उत्खनन गर्न प्रेरेणा देलान्, तर तिनले उत्खनन भएका सामग्रीको प्रामाणिकताबारे मत जाहेर गर्न सक्दैनन् ।


‘दिव्योपदेश’ फेला परेको बेला नेपालमा राणाशाही थियो । त्यतिबेला शाह राजाका पुर्खाको होइन, राणाका पुर्खाको महिमामण्डन गरिन्थ्यो । पृथ्वीनारायणबारे खोजबिन गरेर छापिएका सामग्रीलाई तत्कालिन सत्ताले प्रवर्द्धन गर्नु त परै जाओस्, रुचाएको पनि थिएन भन्ने कुरा गोरखापत्र (३ जेठ १९९३) मा छापिएको पृथ्वीनारायणको जीवनसम्बन्धी सूर्यविक्रम ज्ञवालीको किताबको समीक्षा पढ्दा पनि महसुस हुन्छ ।


विभिन्न इतिहासकारले ‘दिव्योपदेश’ को लिखतको कालनिर्णय गर्ने जमर्को गरेका छन् । ती प्रयासबाट बखतमानसिंहको घरमा पाइएको लिखत पृथ्वीनारायणको निधन भएको वर्षौंपछि उतारिएको हो भन्ने स्पष्ट हुन्छ । तर, यत्तिकै भरमा त्यसलाई अप्रामाणिक ठहर गर्नु हतारो हुन्छ ।

यसका केही कारण छन् । पहिलो, मूलप्रति फेला नपर्दैमा त्यसको उतार गरिएकोप्रति अप्रामाणिक ठहरिँदैन । होइन भने वेद, उपनिषद्देखि रामायण र महाभारतसम्मलाई अप्रामाणिक मान्नुपर्ने हुन्छ । संस्थागत स्मृति सबल राख्ने सवालमा नेपालसहित भारतीय उपमहाद्वीपको समग्र समाज पश्चिमी मुलुकभन्दा निकै पछाडि छ । महाभारतको पुने संस्करणका अनुसार, महाभारतको सबैभन्दा पुरानो प्रति सन् १५११ मा तयार गरिएको थियो र त्यो प्रति नेपालमा पाइएको थियो । पछिका उतारमा प्रक्षिप्त अंश परेको चाहिँ हुन सक्छ । सूक्ष्म अध्ययनबाट त्यसको निरुपण गर्न सकिन्छ ।

दोस्रो, पृथ्वीनारायणले ‘थरघर’ समक्ष दिएको उपदेश ‘थरघर’ का भारदारहरूले लिपिबद्ध गरेर राखेका थिए भनी अनुमान गर्न सकिने आधार बलियो छ । पृथ्वीनारायणको उपदेश उनको ‘अन्तिम इच्छा’ प्रतीत हुन्छ जसमा बस्नेत, पाँडे, मगर, गुरुङ, खस, ठकुरी, बाहुन भारदार तथा सैनिकलाई राज्यले कस्तो जिम्मेवारी दिने भनी किटान गरिएको छ । तत्तत् परिवारका भारदारले पृथ्वीनारायणको उपदेश उतारेर सुरक्षित राख्नु र ‘थरघर’ का अन्य सदस्यले त्यसको उतार आफ्नो संग्रहमा राख्ने क्रमलाई निरन्तर्ता दिँदै जानु धेरै सम्भव छ ।

तेस्रो, पृथ्वीनारायणसम्बन्धी फेला परेका आरम्भका दस्तावेजहरूमा ‘दिव्योपदेश’ पनि पर्छ । त्यसपछिका दिनमा फेला परेका पृथ्वीनारायणको जीवन र विचारमाथि प्रकाश पार्ने संस्कृत र नेपाली भाषाका तत्कालीन साहित्यिक रचना, पत्राचार, वंशावली, अभिलेख आदिले ‘दिव्योपदेश’ को वर्णनलाई खारेज होइन, पुष्टि गर्छन् । त्यसैले कमलप्रकाश मल्ल र उनका अनुयायीले आचार्य, ज्ञवालीलगायतमाथि लगाएको आक्षेप अप्रामाणिक ठहर्छ ।
चौथो, बखतमानसिंहको घरमा पाइएको उतार पृथ्वीनारायणको निधन भएको वर्षौंपछि तयार गरिएको हो भनी पुष्टि गर्ने एक मात्र आधार त्यसको प्रशश्ती हो, जसमा पृथ्वीनारायणलाई ‘श्री ५’ र ‘बुढा महाराजा’ भनिएको छ । त्यस्तो प्रशस्ती लेख्ने चलन पृथ्वीनारायणपछि सुरु भएको हो ।

‘दिव्योपदेश’ को उतार गर्दा प्रशस्तीलाई समयानुकूल बनाउन खोजिएको देखिन्छ । उतारको मूलखण्ड हुबहु साभार गरिएको हो/होइन भनी निरुपण गर्नु प्रमुख चुनौती हो । यसका लागि ‘टेक्स्चुअल क्रिटिसिजम्’ को साहारा लिनुपर्ने हुन्छ, जुन त्यतिबेला प्रयोग हुने भाषा र तत्कालीन अभिलेख्य प्रमाणहरूमा बलियो पकड भएको व्यक्तिले मात्र गर्न सक्छ । पृथ्वीनारायणसम्बन्धी अभिलेख्य प्रमाणबारे सबैभन्दा बढ्ता काम गर्ने इतिहासकारमा दिनेशराज पन्त पर्छन्, जुन कुरा वन्तले पनि अन्तर्वार्तामा स्विकारेका छन् । कान्तिपुर ‘कोसेली’ कै अन्तर्वार्तामा दिनेशराजले ‘दिव्योपदेश’ को प्रामाणिकताबारे गरिएका आशंकालाई ‘अप्रामाणित शंका’ को दर्जा दिएकाले तथा नेपाली इतिहास लेखनका दुवै मुख्य धार (पाश्चात्य र नेपाली) ले ‘दिव्योपदेश’ को प्रामाणिकतालाई स्विकारेकाले थप अनुसन्धानबिनै यसमाथि उठाइने फ्रश्न कमजोर ठहर्छ ।
@sujitmainali

प्रकाशित : माघ ४, २०७६ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×