कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगरमा नाचगानसहित होली [तस्बिरहरू]

देवनारायण साह

मोरङ — तराईका जिल्लाहरूमा आज रंगहरूको पर्व होली मनाइँदै छ । विराटनगरमा टोलटोलमा मानिसहरू भेला भएर होली मनाउँदै छन् । उनीहरू नाचगानसहित एकअर्कालाई रंग लगाइदिँदै शुभकामना आदानप्रदान गरिरहेका छन् ।सरकारले कोरोनाका कारण यसपालिको होली घरभित्रै मनाउन आग्रह गरे पनि पालना भएको छैन ।

मधेसी समुदायले घर–घरमा कुल देउताको पूजा गरेपछि रंग अबिर लगाएर होली पर्व मनाउने चलन छ । विराटनगरका राधेश्याम मण्डलका अनुसार महिलाहरूले बिहानै गाईको गोबरले आँगन लिपपोत गरेर स्नान गरी चोखो भएपछि मालपुवा, खिर पकाउँछन् । मालपुवा, खिर, लड्डु, पान, सुपारी, फूल चढाएर कुल र ग्रामदेवताको पूजा गरिन्छ ।

पूजाको प्रसाद ग्रहण गरेपछि मधेसी समुदायमा फागु पर्व अर्थात् होली मनाउने चलन छ । तर अहिलेको पछिल्लो पुस्ताले प्रसाद ग्रहण गरेपछि मासु र रक्सी खाने चलन बढ्दै गएकाले विकृति निम्तिएको मण्डलको भनाइ छ ।

‘प्रसाद ग्रहणपछि ठूलाले सानाको निधारमा सात किसिमको रंग र अबिरको टीका लगाइदिन्छन् भने सानाले ठूलाको खुट्टामा रंग अबिर राखेर आशीर्वाद लिन्छन्,’ विराटनगरका रामकृष्ण साहले भने, ‘गाउँ टोलका अग्रज बूढापाका, वृद्धवृद्धाले घरघरमा गएर रंग लगाइदिई आशीर्वाद दिने परम्परा छ ।’

विराटनगर–१४ का प्रभुलाल अरगरियाका अनुसार आशीर्वाद आदानप्रदानपछि युवादेखि वृद्धसम्मले भाङको लड्डु तथा दूधमा सखर, काजु, किसमिस, पिस्ता, बदाम, अलैंची र भाङ मिलाएर बनाएको लस्सी खाने चल्न छ । ‘त्यसपछि युवादेखि वृद्ध पुरुषहरूले गाउँमा विभिन्न समूहमा हार्मोनियम, ढोलक, झाली, झम्टा, डम्फा बजाएर होलीको गीत गाउने परम्परा छ,’ उनले भने ।

प्रत्येक समूहले घरघरमा नाच्दै होली गीत सुनाएपछि घरमूलीले सामथ्र्यअनुसारको पैसा, धान, चामल उपहार दिने चलन रहेको अरगरियाले बताए । उक्त धान, चाम र पैसाले पछि भगवानको पूजा गरी प्रत्येक घरमा लड्डु बाँड्ने परम्परा छ ।

होलीको अवसरमा एकअर्कालाई रंग वर्षौंदेखिका भेदभाव र दुस्मनी समाप्त हुने मान्यता रहेको कटहरीका सञ्जय कामतले बताए । ‘समाजका सबै वर्गको शरीर र अनुहारमा रंग लागेपछि समान देखिने भएकाले यसलाई समानता र सद्भावको पर्वसमेत भनिन्छ,’ उनले भने, ‘यस पर्वले सबैको मनमा उमंग एवं उत्साहको सञ्चार गराउँदै एकताको सन्देशसमेत दिन्छ ।’


प्रकाशित : चैत्र १६, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्