मोफसलमै परामर्श- फड्को - कान्तिपुर समाचार

मोफसलमै परामर्श

कान्तिपुर संवाददाता

काठमाडौँ — इक्यान अध्ययनका लागि बिदेसिने युवाहरुलाई गन्तव्य मुलुकको शैक्षिक नियम, कानुन, व्यवस्था, आवश्यक योग्यता, पूर्वतयारी, आर्थिकलगायत पक्षमा परामर्श दिने संस्था हो । विगतमा विदेश अध्ययनका लागि पूर्वतयारीमा जुट्न काठमाडौं धाउनुपर्थ्यो । अहिले त्यो बाध्यता हटेको छ । मुलुकको प्रमुख सहरमा परामर्श सेवा दिइँदै आएको छ । 

फाइल तस्बिर

‘पोखरामा अध्ययनका लागि विदेश जान चाहनेको चाप छ’

भुवन क्षेत्री, अध्यक्ष, इक्यान कास्की तथा प्रबन्ध निर्देशक, टार्गेट इन्टरनेसनल एजुकेसन

संघीय राजधानी काठमाडौंपछि दोस्रो सहर भनेकै पोखरा हो । अहिले गण्डकी प्रदेशको राजधानी भएको छ । हरेक दृष्टिकोणबाट आकर्षक रहेको पोखरामा विदेश अध्ययन गर्न चाहने विद्यार्थीको चाप नहुने कुरै रहेन । यहाँ शिक्षा मन्त्रालयमा दर्ताप्राप्त शैक्षिक परामर्श दिने संस्था १ सय ९ वटा छन् । दर्ता नभएका समेत गरेर २ सयभन्दा बढी संस्था होलान् । दर्ता प्राप्तमध्ये ५० भन्दा बढी संस्था इक्यानका सदस्य छन् । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी लक्षित शैक्षिक परामर्श मेला हरेक वर्ष आयोजना गर्दै आएका थियौं ।

गत वर्ष कोभिड–१९ ले सम्भव भएन । व्यवसाय तहसनहस बन्यो । अब परिस्थिति बिस्तारै सहज बन्दै छ । हामीले गण्डकी प्रदेश केन्द्रित सेवालाई प्रभावकारी ढंगले अघि बढाउन तयारीमा छौं । पोखरा आसपासमा कक्षा १२ सम्म पढाउने धेरै विद्यालय र स्नातक पढाउँदै आएका शिक्षालयहरू छन् । यहीं उत्पादित विद्यार्थी जो विदेश अध्ययन गर्न जान चाहन्छन्, उनीहरूलाई परामर्शका सम्पूर्ण सेवा दिन्छौं । यहाँबाट वार्षिक ४ हजार जनाभन्दा बढीले अंग्रेजी, जापानीलगायत भाषाको जाँच दिने तथा परामर्श सेवा लिने गरेका छन् । विदेशका विश्वविद्यालय र कलेजहरूसित हाम्रो सिधै सम्पर्क रहेकोले पनि विद्यार्थीले हाम्रो सेवाबारे प्रस्टसँग जानकारी पाउँछन् ।


‘तिहारपछि स्थिति सहज बनेको छ’ 

सुरेन्द्र पोखरेल, अध्यक्ष, इक्यान ललितपुर तथा प्रबन्ध निर्देशक, ओपन वर्ल्ड एजुकेसन

काठमाडौं उपत्यकाको सबैभन्दा धेरै शैक्षिक संस्थाहरू भएको जिल्ला ललितपुर हो । विद्यार्थी संख्या धेरै छ । यहाँ पढेका विद्यार्थीलाई उच्च शिक्षाका निम्ति विदेश अध्ययन गर्न चाहनेका निम्ति इक्यानले विश्वसनीय परामर्श सेवा दिने गरेको छ । राजधानीमै भएर पनि शिक्षा मन्त्रालय र इक्यानले निर्माण गरेको कोड अफ कन्डक्टलाई प्रभावकारी ढंगले लागू गर्ने हाम्रो प्रतिबद्धता रहेको छ । विद्यार्थीको हकमा ललितपुरका मात्र नभई सबैलाई समान ढंगले परामर्श सेवा प्रदान गरिन्छ ।

कोभिडले गर्दा परामर्श व्यवसाय बन्द थियो । तिहारपछि स्थिति सहज बनेको छ । सम्बन्धित मुलुकहरूले क्रमशः कोभिडपछिका नीतिहरू सार्वजनिक गर्दै छन् । त्यसैअनुसार हामीले सेवा पुनः सुचारु गर्दै छौं । इक्यानले कम्तीमा भर्चुअल परामर्श सेवा गर्न सक्नु र त्यसबाट लाभ लिन पाउनु सेवा प्रदायक र सेवाग्राहीका निम्ति सुनौलो अवसर ठानेका छौं ।


‘विश्वसनीय सेवाका निम्ति हामी जुट्दै आएका छौं ’

रोशन निरौला, अध्यक्ष, इक्यान मोरङ तथा प्रबन्ध निर्देशक, गुरुकुल एजुकेसन फाउन्डेसन

विदेश उच्च अध्ययन गर्न जाने नेपाली विद्यार्थीको रहर र बाध्यता दुवै हो । यसअघि परामर्श तथा अध्ययनको अवसर लिन काठमाडौं जानुपर्थ्यो । अब त्यस्तो बाध्यता हटेको छ । वार्षिक रूपमा ५ हजारभन्दा बढी विद्यार्थीले विदेश जान्छन् । उनीहरू पूर्वतयारीका निम्ति काठमाडौं जान परेको छैन । तयारी पूरा गरेर एनओसी लिन मात्र गए पुग्छ । यहाँ करिब पाँच दर्जन परामर्श संस्था छन् ।

तीमध्ये डेढ दर्जन संस्था इक्यानका सदस्य छन् । विश्वसनीय सेवाका निम्ति हामी जुट्दै आएका छौं । कोभिडले विश्वव्यापी रूपमा प्रभावित तुल्याएको छ । अब क्रमशः खुकुलो हुँदै छ । त्रास बाँकी नै रहेकाले भर्चुअल परामर्श आयोजना गर्दै छौं । विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थी र अभिभावकले लाभ लिन सक्नुहुनेछ भन्ने ठानेका छौं ।


‘अन्तर्राष्ट्रिय शिक्षा लिन चाहने विद्यार्थीका निम्ति पुलको काम गर्छौं’

सुमन शर्मा जमरकट्टेल, अध्यक्ष, इक्यान झापा तथा प्रबन्ध निर्देशक, बोस्टन एजुकेसन सेन्टर

कक्षा १२ को नतिजाको पर्खाइमा रहेका विद्यार्थीको सुनौलो भविष्य निर्माणमा सहयोग गर्नु हाम्रो उद्देश्य हो । विश्वसनीय सेवाका निम्ति इक्यानले खेल्दै आएको भूमिकालाई थप विस्तार गर्न योपटक भर्चुअल माध्यमबाट शैक्षिक मेला हुँदै छ । नेपालको पूर्वी भेगका विद्यार्थीले यसबाट भरपुर लाभ लिनेछन् ।

परामर्श सेवाका निम्ति झापामा ४ दर्जनभन्दा बढी कन्सल्टेन्सी छन् । त्यसमा डेढ दर्जन इक्यान सदस्य छन् । कतिपय शाखा कार्यालय छन् । हामी अन्तर्राष्ट्रिय शिक्षा लिन चाहने विद्यार्थीका निम्ति पुलको काम गर्छौं । विद्यार्थीको गन्तव्य मुलुकका युनिभर्सिटी, कलेजहरूसँग प्रत्यक्ष सम्पर्क गराउँछौं । कोभिडपछि खुलेका मुलुकका निम्ति पूर्वतयारी सेवाबारे जानकारी दिलाउँछौं ।


‘वैदेशिक अध्ययनमा जान काठमाडौं धाउनुपर्ने बाध्यता अहिले छैन’

देव कुँवर, अध्यक्ष, इक्यान रुपन्देही तथा प्रबन्ध निर्देशक, स्टडी वर्ल्ड एजुकेसन

लुम्बिनी प्रदेश शैक्षिक गन्तव्यका रूपमा विकास भइरहेको छ । यो प्रदेश धनी छ । औद्योगिक क्षेत्र र अन्य व्यवसायका अब्बल थलोहरू छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयलगायत विभिन्न क्याम्पस र कलेजहरूले आफ्ना आकर्षक कार्यक्रमले गर्दा यो सम्भव भएको हो । यिनै शिक्षालयबाट उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी छन् ।

यद्यपि उच्च शिक्षा हासिल गर्न विदेश जान चाहने विद्यार्थी उत्तिकै छन् । केही वर्षअघिसम्म विदेश अध्ययन गर्न चाहनेहरू काठमाडौं जानुपर्ने बाध्यता थियो । अहिले त्यो परिस्थिति छैन । त्यसका निम्ति बुटवलमा ८० वटाभन्दा बढी परामर्शदाता कन्सल्टेन्सी छन् । ३ दर्जन जति काठमाडौं खोलिएका कन्सल्टेन्सीका शाखाहरू छन्, जुन इक्यानकै ठूला ब्रान्डिङ कम्पनीका समेत छन् । नियमानुसार यसरी कम्पनीको शाखा खोलेर चलाउन पाइँदैन । इक्यान, फेकोन, आइरिनजस्ता संस्थाले नियमको पूर्णरूपमा पालना नगर्दा हामीजस्ता यहीं रहेर संस्था सञ्चालन गर्नेका निम्ति मर्का परेको छ ।

अब यसरी हुन्न, कानुनसम्मत सञ्चालन हुनुपर्छ भनेर मैले आवाज उठाउँदै आएको छु । हामीले विद्यार्थीको गन्तव्य मुलुकका विश्वविद्यालय, कलेजसँग हाम्रो प्रत्यक्ष सम्पर्क, सम्बन्ध विस्तार गरेका छौं । हामी विद्यार्थीलाई प्रत्यक्ष पूर्वतयारीबारे परामर्श दिन्छौं । त्यसरी यस भेगबाट उच्च अध्ययनका निम्ति विदेश जान चाहने ९० प्रतिशत विद्यार्थीले यहींबाट सबैखाले परामर्श सेवा पाउँदै आएका छन् ।


‘मेलामा अन्तर्राष्ट्रिय विश्वविद्यालय, कलेजले महामारीपछि जारी गरेका शैक्षिक मापदण्डबारे विद्यार्थीलाई बुझाउँछौं’

हिम्मत पुरी, अध्यक्ष, इक्यान चितवन तथा प्रमुख कार्यकारी अधिकृत, अल्माइटी इन्टरनेसनल, एजुकेसन सर्भिसेस

चितवनमा इक्यानका ४७ कन्सल्टेन्सी सदस्य छन् । त्यसबाहेक अरू ५० वटा जति शैक्षिक कन्सलटेन्सी छन् । चितवनमध्ये नेपालको दोस्रो स्थान हो, जहाँ शैक्षिक हबको विकास भइरहेको छ । मेडिकल, कृषि, वनविज्ञानजस्ता विषयका विश्वविद्यालय, कलेजहरू छन् । काठमाडौंमा पाइने सबैखाले सुविधा विद्यार्थीले पाउँछन् । कक्षा १२ पछि उच्च अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीका निम्ति परामर्श सेवा जारी राखेका छौं । यसअघि हामीले तीन वर्ष इक्यान शैक्षिक मेला सम्पन्न गरिसकेका छौं ।

विश्वव्यापी महामारीले गर्दा ९ महिनासम्म ठप्प रह्यो । विद्यार्थीको शैक्षिक करियर निरन्तर अघि बढ्नुपर्छ । अब हामी विस्तारै अघि बढ्दै छौं । त्यसैले गर्दा भर्चुअल शैक्षिक मेला यसपटक आयोजना गर्नुपरेको हो । हामी विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय, कलेजले महामारीपछि जारी गरेका शैक्षिक मापदण्डबारे विद्यार्थी जानकारी गराउने छौं ।

प्रस्तुति : गणेश राई

प्रकाशित : माघ २, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्

अवसर पाउन विदेशी डिग्री

विदेशको सर्टिफिकेट भएपछि धेरैतिर अवसर मिल्छ । बाहिर गएर पढ्दा शिक्षासँगै फरक रहनसहन र परिवेश पनि बुझ्न सजिलो हुन्छ ।
विमल खतिवडा

काठमाडौँ — भक्तपुरकी अनु बाँस्तोलालाई कहिले अस्ट्रेलिया पुगौंजस्तो भएको छ । भिसा लागेको एक साता भइसक्यो तर उड्ने भने अत्तोपत्तो छैन । स्नातकोत्तर गर्न अस्ट्रेलिया जान लागेकी उनले नेपालमै मानविकी संकायमा स्नातक गरेकी हुन् ।

फाइल तस्बिर

‘अन्तर्राष्ट्रिय डिग्री भयो भने नेपालमा जागिर पाउन सजिलो हुन्छ,’ उनी भन्छिन्, ‘विदेशको सर्टिफिकेट भएपछि सबैतिर अवसर पनि मिल्छ ।’ बाहिर गएर पढ्दा शिक्षासँगै फरक रहनसहन र परिवेश पनि बुझ्न सजिलो हुने उनको बुझाइ छ । उता सिकेको कुरा यता आएर अरूलाई पनि सिकाउने सोचसमेत उनले बनाएकी छन् ।

कोरोनाको महामारीका कारण भिसा लिन उनलाई निकै समय लाग्यो । ‘लकडाउनले गर्दा भिसा प्रक्रिया नै रोकियो, अहिले खुल्यो र प्रोसेस गरें,’ उनी भन्छिन्, ‘भिसा त लाग्यो, अब अस्ट्रेलियाको बोर्डर खुल्नसाथ जान्छु ।’

उनको नियमति कक्षा भने अर्को साताबाट सुरु हुँदै छ । उनी भन्छिन्, ‘सकेसम्म उतै गएर पढ्न पाए हुने भन्ने हो ।’ आफैं उपस्थित भएर पढ्नुको मजा बेग्लै हुने उनको बुझाइ छ । एक साताबाट कलेज सुरु हुन्छ । उनी युनिभर्सिटी अफ ओरेगनमा पढ्न जान लागेकी हुन् । ‘विदेश जानु रहर होइन, बाध्यता हो,’ उनी भन्छिन्, ‘तर विदेशमा पढेर यतै फर्किने हो ।’

कटुञ्जे भक्तपुरकी बादल पोखरेल अहिले अस्ट्रेलियामा विद्यावारिधि गर्दै छिन् । उनले पढ्न सुरु गरेको डेढ वर्ष भयो । त्रिचन्द्र क्याम्पसबाट भूगर्भशास्त्रमा स्नातकोत्तर गरेकी उनी सानैदेखि भूकम्प कसरी जान्छ भन्दै उत्सुक हुन्थिन् । ‘भूकम्पले गर्दा भौगोलिक बनावटमा केकस्तो परिवर्तन आउँछ भन्ने कुरा जान्न मन लाग्थ्यो,’ अस्ट्रेलियामा रहेकी उनी भन्छिन्, ‘त्यसैले जियोलोजी पढ्ने निर्णय गरें ।’

२०७२ मा नेपालमा गएको भूकम्पले ठूलो क्षति पुग्यो । ‘मलाई अनुसन्धानमा बढी रुचि भएकाले स्नातकोत्तरको थेसिसमा पनि भूकम्पका कारण जाने पहिरोले हुने जोखिमको विश्लेषण र पहिरोको जोखिमबारे नक्सा बनाउने काम गरे,’ उनी भन्छिन्, ‘रसुवामा भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगले जोखिम कस्तो खालको हुन सक्छ भनेर पनि काम गरें ।’

नेपालको भूबनोट, पहिरोको जोखिम, हिमनदी फुट्ने खतरालगायतका कारण उनी यो विषयप्रति आकर्षित भएको बताउँछिन् । ‘यसैमा रुचि भएकाले नेपालकै लागि केही गर्न सकिन्छ भन्ने भावना पहिलादेखि नै थियो,’ उनले भनिन्, ‘नेपालमा विद्यावारिधि गर्नु निकै चुनौतीपूर्ण छ । भूगर्भशास्त्रमा विद्यावारिधि गर्ने निकै कम छन् ।’

आर्टिफिसियल इन्टेलिजेन्टका माध्यमबाट भविष्यमा आउने जोखिमहरूको नक्सा निकाल्न सकिन्छ । यिनै विषयहरू उनले पढिरहेकी छन् । अध्ययनका लागि अमेरिका र अस्ट्रेलियाका विश्वविद्यालयमा छात्रवृत्ति पाएकी भए पनि उनले अस्ट्रेलिया रोजिन् । अहिले उनी युनिभर्सिटी अफ न्यु साउथ वेल्समा विद्यावारिधि गर्दै छिन् ।

‘हामी यसरी पढ्दा ज्ञानले खारिन्छौं, धेरै कुरा सिक्ने र जान्ने अवसर पाउँछौं,’ उनी भन्छिन्, ‘इन्टरनेसनल प्लाटफर्ममा हामीप्रति हेर्ने धारणा पनि निकै फरक रहेको पाए, हामी जोसँग पनि प्रतिस्पर्धा गर्न तयार हुन्छौं ।’ विद्यावारिधि गर्ने क्रममा धेरै नयाँनयाँ कुरा जान्ने अवसर पाएको उनले सुनाइन् । ‘विदेशमा पढ्न बढी खर्च लाग्छ ,तर मैले छात्रवृत्ति पाएकाले समस्या छैन,’ उनी भन्छिन् ।

अस्ट्रेलियामा प्रायः नेपालीहरू काम गर्ने धेरै हुन्छन् । पढ्ने कम हुन्छन् । ‘पढाइ राम्रै भएको छ,’ उनी भन्छिन् । पढेअनुसार काम गर्न पाइन्छ पाइँदैन भन्ने चिन्ता हुन्छ । ‘नेपालमा आएर बस्न सकिन्छ । तर पढाइ सक्नेबित्तिकै नेपाल फर्किहाल्ने सोच भने छैन,’ उनी भन्छिन्, ‘तर पछिपछि नेपालकै लागि केही गर्नेछु, लक्ष्य प्रोफेसर बन्ने भन्ने नै हो ।’ जुन देशबाट अफर आउँछ, जान तयार रहेको उनले सुनाइन् । उनी त्रिभुवन विश्वविद्यालयमा अवसर आए आउने सुनाउँछिन् ।

चितवन गुन्जनगरका अरुण ढकाल पुसमा क्यानाडाका लागि २०७६ चैतमा भिसा लाग्यो र कोभिडले गर्दा २०७७ पुसमा मात्रै जान पाए । स्नातकमा जीवविज्ञान लिएर युनिभर्सिटी अफ विनिपेगमा भर्ना भएका छन् । भरतपुरको वाल्मीकि शिक्षा सदनबाट विज्ञान संकायमा कक्षा १२ सकेपछि उनले क्यानाडाका अध्ययनको प्रक्रिया थालेका थिए । ‘नयाँ ठाउँ जाऊँ, नयाँ काम गरौँ भन्ने लाग्थ्यो,’ उनी भन्छन्, ‘त्यसैले उच्च शिक्षा अध्ययनका लागि क्यानाडा आएँ ।’

उनले क्यानाडामा स्नातकोत्तर सकेर स्वदेश फर्किने सोच बनाएका छन् । ‘विदेशको ज्ञान र पढाइलाई नेपालमै आएर उपयोग गर्न मन छ,’ उनी भन्छन् । विनिपेगमा दिदीभिनाजुसँग बस्ने उनी अहिले अनलाइन कक्षा लिइरहेका छन् । कोभिडले गर्दा धेरै विद्यार्थी भिसा लागेर पनि उच्च शिक्षा अध्ययनका लागि आफूले चाहेको देश जान पाइरहेका छैनन् । कोही नेपालमै बसेर अनलाइनबाट पढिरहेका छन् त कोही कहिले विदेश जान पाइन्छ भन्दै पर्खाइमा छन् ।

चितवन रत्ननगरका लकेश खनाल भाग्यमानी साबित भए । कोरोना कहरमै उनी अमेरिका उड्न पाए । अहिले उनलाई पढ्न भ्याइनभ्याई छ । इन्टनरनेसनल बिजनेस पढ्नका लागि उनी अमेरिका हानिएका हुन् । ‘इन्टरनेसनल बिजनेस भनेको बिजनेसनलाई अन्तर्राष्ट्रिय दृष्टिकोणबाट हेर्ने हो,’ उनी भन्छन्, ‘हाम्रो देशमा बिजनेस प्रायः परम्परागत तरिकाबाट हुन्छ ।’ उनी ओहयोस्थित युनिभर्सिटी अफ सिन्सिनाटीमा अध्ययन गरिरहेका छन् । कोरोना नभएको भए नेपालबाटै प्रक्रिया सुरु गर्दा केही हदसम्म सजिलो हुने उनको बुझाइ छ । कोरोनाका कारण नेपालबाट सम्भव नभए पनि उनले भारत गएर अन्तर्वार्ता दिएका थिए ।

अमेरिकामा सिकेको ज्ञान नेपालमै फर्केर लागू गर्ने उनको योजना छ । उनका बुबा पर्यटन व्यवसायमा संलग्न छन् । बुबाको व्यवसाय सम्हाल्ने उनको मन छ । ‘अमेरिका आउने सबैको स्वदेश फर्किहाल्ने सोच हुँदैन, धेरैजसो यतै बस्न खोज्छन्,’ उनी भन्छन्, ‘तर मेरो सोच विदेशमा पढ्ने तर काम भने नेपालमै फर्केर गर्ने हो ताकि आफूले जानेको र सिकेको ज्ञान बाँड्न सकियोस् ।’

प्रकाशित : माघ २, २०७७ १५:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×