२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘कोरोनासँगै सुनौला अवसर पनि’

'हिजोको परिस्थिति अप्ठ्यारो भए पनि वैदेशिक शिक्षाको भविष्य उज्ज्वल छ '

काठमाडौँ — कोरोना कहरका कारण लामो समय वैदेशिक शिक्षाको क्षेत्र पनि ठप्पप्रायः रह्यो । पछिल्ला दिनमा भने उच्च शिक्षा अध्ययन गर्न विदेश जाने र फर्कने नेपाली विद्यार्थीको चहलपहल पुनः सुरु थालेको छ । त्यस्ता विद्यार्थीलाई परामर्श दिने संस्थाहरुले पनि वैकल्पिक माध्यमबाट सेवा सुरु गर्न थालेका छन् । 

‘कोरोनासँगै सुनौला अवसर पनि’

कोरोनासँगै विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई सुनौला अवसरहरु आइरहेका शैक्षिक परामर्शदाताहरु बताउँछन् । हाल यस क्षेत्रमा पारेको असर, अहिलेको अवस्था र आगामी दिनबारे कान्तिपुरले आयोजना गरेको इक्यान राउन्ड टेबलमा उनीहरुले राखेको धारणा :

'शिक्षित वर्ग नै थप शिक्षाका लागि बिदेसिने हुन् भनेर सम्बन्धित निकायलाई बुझायाैँ'

प्रकाश पाण्डे, अध्यक्ष - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)

विगत १० महिना कोभिड–१९ का कारणले संसारभरि नै हामी समस्यामा छौं । यसबाट शैक्षिक परामर्श क्षेत्र पनि अछुतो रहेन । नेपाली विद्यार्थीहरू हरेक वर्ष अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न विश्वका विभिन्न विश्वविद्यालय पुग्छन् । नेपाल सरकारले चैत महिनामा लकडाउन गर्नुअगावै नेपालभन्दा बाहिर पढ्न जाने विद्यार्थीलाई ‘नो ओब्जेक्सन लेटर’ रोक्ने काम गर्‍यो । त्यहादेखि नै हाम्रो क्षेत्रलाई असर पार्न थाल्यो । पहिलो लकडाउनले हाम्रो व्यवसायलाई अत्यन्तै गलाउने काम भयो ।

विद्यार्थीलाई पढाउनुपर्ने, उनीहरूलाई भेट्नुपर्ने, भविष्यमा कसरी लगानी गर्ने भन्ने विषयमा परामर्श गर्नुपर्ने समयमा सम्पूर्ण तवरले हामी घरमा रोकियौं । कोभिडसँगसँगै बाँच्न सकिने उपाय के–के हुन सक्छन् भनेर इक्यानका सदस्यले कतिले अनलाइनबाटै परामर्श दिने कामहरू गर्‍यौं । विदेशमा भएका विद्यार्थीहरूको समस्या बुझ्ने र सहजीकरण गर्ने सवालमा, अभिभावकलाई विदेशको परिस्थितिबारे भ्रम र यथार्थका सवालमा होस् वा कोभिडको समयमा कसरी अगाडि बढ्ने भनेर डिजिटल तालिम तथा परामर्श आयोजना गर्‍यौं ।

विद्यार्थीलाई मध्यनजर गरेर परामर्श गर्न सक्ने वातावरण विकासका लागि शिक्षा मन्त्रालय र अन्य सरकारी निकायको ध्यानाकर्षण गरायौं । त्यसका साथै, शिक्षित वर्ग नै थप शिक्षाका लागि बिदेसिने हुन् भन्ने विषय समावेश गर्दै यो क्षेत्रलाई बुझाउने धेरै प्रयत्न गर्‍यौं । यो बीचमा ‘नो ओब्जेक्सन लेटर’ खुलिसकेको छ । विभिन्न देशका भिसाका प्रक्रिया सुरु भइसकेका छन् । कतिपय देशमा विद्यार्थीहरू जान सक्ने परिस्थिति पनि विकास गरिसकेका छौं । विगतजस्तै तत्कालीन परिस्थितिमा नेपाली विद्यार्थीले आफ्नो पढाइ र भाषाको स्तरमा नेपालमै पढ्ने कि विदेश जाने विषयमा निर्णय लिने सवालमा इक्यानले पर्याप्त जानकारी दिइरहेको छ ।

'हिजोको परिस्थिति अप्ठ्यारो भए पनि वैदेशिक शिक्षाको भविष्य उज्ज्वल छ '

विष्णुहरि पाण्डे, प्रबन्ध निर्देशक - रोयल एजुकेसन फाउन्डेसन

इक्यानले २४ वर्ष अगाडिदेखि मूलतः विद्यार्थीलाई परामर्श गर्ने कार्यविधिलाई अगाडि बढाइरहेको छ । विद्यार्थीको करियरसँग जोडिएका कारणले यसलाई भर्नाका हिसाबले भन्दा पनि परामर्शको हिसाबले जोडेका छौं । तर कोभिडले सबै अवरुद्ध भयो । अघिल्लो वर्षको तथ्यांक हेर्ने हो भने करिब ६० हजार विद्यार्थीहरूले ‘नो ओब्जेक्सन लेटर’ लिएका छन् । यद्यपि यो लेटर लिएका सबैले भिसामा सफलता प्राप्त गरेका हुन्छन् भन्ने हुँदैन । तर त्यसमध्येबाट करिब २५/३० हजारको हाराहारीमा विद्यार्थी विदेश गएका देखिन्छ । नेपालबाट मूलतः विद्यार्थीहरू अस्ट्रेलिया, जापान अमेरिका तथा युरोपेली मुलुक जान्छन् । भारतमा पढ्न जाने विद्यार्थी ‘नो ओब्जेक्सन लेटर’ नै नलिई जान्छन् ।

पहिला–पहिला विद्यार्थीहरू आउने र भर्ना गर्ने केन्द्रको रूपमा परामर्शदातालाई लिने गरेको देखिन्थ्यो । अहिले करियर काउन्सिलिङ केन्द्रको रूपमा लिने गरिएको छ । दुई दशकमा यो सोचमा परिवर्तन आएको छ । हाम्रो उद्देश्य नेपालको शिक्षा गलत अथवा ठीक भन्दा पनि परामर्शको कारणले विद्यार्थीको उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने हो । त्यसमा विभिन्न तहका कोर्स नेपालमा आफैंले गर्ने र बाँकी पढ्नका लागि निर्देशन गर्ने कुरामा हामी काम गर्दै छौं ।

कोभिडमा यो क्षेत्र पनि निकै प्रभावित भयो । आज कोभिडसँग ‘लिभिङ टुगेदर’ को धारणाका साथ हामी अगाडि बढिरहेका छौं । लकडाउनको बीचमा पनि हाम्रो परामर्शले केही विद्यार्थीहरू विदेश पढ्न जान सफल भए । हाम्रो काम विदेशी विश्वविद्यालय र त्यहाँको अध्यागमन नीतिसँग प्रत्यक्ष रूपमा जोडिएकाले पनि परिस्थिति सहज छैन । तर केही देशमा यसको सुरुवात भइसकेकाले सकारात्मक र सुनौलो अवसर आइरहेको देखिन्छ । हिजोको परिस्थिति अप्ठ्यारो भए पनि वैदेशिक शिक्षाको भविष्य उज्ज्वल छ ।

'अहिले विदेश अध्ययन गर्न जान ठूला समस्या छैनन् '

एन्ड्रयु पौडेल, निर्देशक- ग्रेस इन्टरनेसनल ग्रुप

अहिले सजिलै अन्तर्राष्ट्रिय पढाइका लागि जाने अवस्था छैन । तर कुनै पनि देशले रोकेको अवस्था भने छैन । अहिले कति अभिभावकमा विदेश पढ्न जान पाउँदैन, सीमा नै बन्द छ भन्ने मानसिकता छ । अस्ट्रेलिया, न्युजिल्यान्डजस्ता केही देशले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उडान बन्द गरेका छन् । तर क्यानाडा, अमेरिका यूकेका बोर्डर खुला छन् ।

विद्यार्थीहरू त्यहाँ गएर क्वारेन्टाइन बसेर पढाइलाई निरन्तरता दिन सक्ने अवस्था छ । तर सीमा बन्द रहेका देशमा पनि भिसाको प्रक्रिया बन्द छैन । विश्वविद्यालय चलिरहेका छन् । विद्यार्थीले चाह्यो भने नेपालमा बसेर १/२ वटा विषय अनलाइन पढ्न सक्छन् । हाम्रा केही विद्यार्थीले त्यसरी पढिरहेकै पनि छन् ।

अस्ट्रेलिया पुगेपछि मात्र त्यताको पढाइ पढ्न सक्छु भन्ने अबचाहिँ रहेन । विद्यार्थीले यो खाली भएको समयमा यतै बसेर पढ्न पाउँछन् । अस्ट्रेलियामा हरेक ६ महिनामा भर्ना भइरहने हुँदा समयको अन्तर नहुने भयो । विद्यार्थीले आफ्नो करियरमा निरन्तरता दिन सक्ने अवस्था छ ।

विदेश अध्ययनका समस्याहरू छैनन् । अस्ट्रेलिया सरकारले भ्याक्सिन सुरु गर्नेलगत्तै अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वागत गर्ने भनाइ आएको छ । नेपालको शिक्षा राम्रो छ । तर नेपालको शिक्षण प्रणाली र विदेशको शिक्षण प्रणालीमा फरक छ । यसले धेरै समस्या सिर्जना गरेको छ । हामी त धेरै अस्ट्रेलिया केन्द्रित भएर काम गर्छौं ।

यहाँ अस्ट्रेलियाबाट तीनवर्षे कोर्स पढेर आउनेलाई सरकारी तवरमा विभिन्न समस्या आइरहेको छ । त्यसैले सही नीति बन्न जरुरी छ । विद्यार्थीहरू विद्यालय तह (कक्षा १२) सकेर जुनसुकै विषयमा स्नातक अध्ययन गर्न विदेश जान सक्छन् भन्ने हाम्रो सरकारले बुझ्न सकेको छैन । त्यसकारण यी कुरा सहज बनाउन आवश्यक छ ।

'विद्यार्थी जाने र फर्किने ढोका सधैं खुला हुनुपर्छ '

राजेन्द्र बराल, प्रबन्ध निर्देशक- ब्रिलियन्ट एजुकेसन करियर एन्ड सर्भिसेस

यो क्षेत्र वनमा उम्रेको सल्ला जसरी बढेको व्यवसाय हो । यो राज्यका लागि आवश्यक छ । युवाहरू अहिले अन्तर्राष्ट्रिय शिक्षामा फोकस छन् । नेपालको पढाइ सैद्धान्तिक, व्यावहारिक र वैज्ञानिक हुनुपर्छ । परामर्शलाई पुलका रूपमा लिएर जाऊँ है भन्ने सोच सरकारको हुन सकेन ।

शिक्षा मन्त्रालयबाट विदेशमा गएका विद्यार्थीलाई कसरी व्यवस्थित गर्ने मात्र होइन । नेपालमा आएर विद्यार्थी लाने विश्वविद्यालय र कलेजलाई पनि कसरी व्यवस्थित गर्ने भन्ने चासोको विषय बन्नुपर्छ । शिक्षा मन्त्रालयले गलत कन्सल्टेन्सीहरूलाई रोक्नुपर्छ । कोभिडभन्दा पछिल्लो अवस्थामा जो नेपालबाट विदेशमा गएका छन् । नेपाल फर्कन चाहन्छन् तर आउन सकेका छैनन् । सरकारले कसरी बोलाउने पहल गर्नुपर्छ ।

विदेशको भिसा लिएर यता बसेका विद्यार्थीलाई कसरी त्यहाँसम्म पुर्‍याउने सोच्नुपर्‍यो । कतिपय देशको सीमा खुलेको छैन । सीमा खुलाउने माध्यमको खोजी गर्नुपर्छ । विद्यार्थी जाने र फर्किने ढोका सधैं खुला हुनुपर्छ । स्वास्थ्य मापदण्ड अपनाएर वैदेशिक अध्ययनमा जाने र फर्कने कामलाई निरन्तरता दिन सकिन्छ । १० महिनादेखि बन्द हाम्रो क्षेत्र अति प्रभावित क्षेत्रमा त परेको छ । तर बैंकमा ऋण माग्दा पुनःकर्जा मात्र पाउने व्यवस्था छ । व्यावसायिक निरन्तरता कर्जा दिने व्यवस्था गरिदिने हुनुपर्छ । सरकारले शैक्षिक परामर्श मात्र होइन, युवापुस्ताको करियर काउन्सेलिङको जिम्मा हामीलाई दिए हुन्छ । हामीलाई खाली युवालाई पठायो भन्ने आरोप लाग्छ । हामीलाई करियर काउन्सेलिङको जिम्मा दिए स्वदेशमै पढ्न पनि सल्लाह दिन्छौं ।

'एनओसी केवल सरकारले पैसा लिनका लागि मात्रै जस्तो भयो '

इशा श्रेष्ठ, व्यवस्थापक- नेपकम्स सर्भिसेस

हामी अनलाइन कक्षाको कुरा उठाइरहेका छौं । हुन त अहिले मन्टेश्वरीदेखि नेपालको कलेजमा यसको अभ्यास भइरहेको छ । तर सरकारको ध्यानाकर्षण कता छ । अहिले नेपाल भनेको काठमाडौंलाई मात्र प्रतिनिधित्व गरिरहेका छौं । मोफसलमा हेर्ने हो भने इन्टरनेटको राम्रो पहुँच छैन । नेपालमा काठमाडौंका स्टुडेन्टले मात्र एजुकेसन लिने त ? मोफसलका विद्यार्थीले के गर्ने ?

इन्टरनेटको अभावले अन्तर्राष्ट्रिय पढाइमा असर पारेको छ । विश्वविद्यालयले फेसबुक लाइभ गर्छ । त्यसमा मोफसलका विद्यार्थीको सहभागिता छैन । यदि सरकारले शिक्षालाई महत्त्व सोच्छ भने नेपालको दुर्गम क्षेत्रका विद्यार्थीको पहुँचमा इन्टरनेट पुर्‍याउनुपर्‍यो । इन्टरनेटलाई अति आवश्यक साधनमा राख्नुपर्‍यो । यसले वैदेशिक अध्ययनमा जान चाहाने विद्यार्थीलाई पनि सहयोग पुग्छ ।

एनओसी अनलाइन फाराम भयो । आवेदन दिनेदेखि पेमेन्ट अनलाइन भयो । तर एनओसी लिन विद्यार्थी आफैं जानुपर्ने अवस्था छ । सबै कुरा अनलाइन भइरहेको छ भने लिनचाहिँ किन विद्यार्थी आफैं जानुपर्ने हो ? फेरि त्यही भीडभाडमा लाइन बस्नुपर्छ । एनओसी केवल सरकारले पैसा लिनका लागि मात्रै जस्तो भयो । हाम्रो कम्पनीको शाखा मोफसलमा पनि फैलिएको छ । हामी भर्चुअल पनि सेवा दिन्छौं । विशेष गरी अस्टेलिया, युके, न्युजिल्यान्ड, क्यानाडालगायत देशका लागि परामर्श दिन्छौं ।

'नेपालमा कर र डकुमेन्टेसनको कुरामा कडा नियम छ'

आशिक कार्की, प्रमुख कार्यकारी अधिकृत- वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी

अहिले नेपालमा कर र डकुमेन्टेसनको कुरामा कडा नियम छ । यो विषयमा कतिपय विद्यार्थी र उनका परिवार बैंकमा जानै डराउने अवस्था छ । ऋण विभागमा जाने भन्नेबित्तिकै उहाँहरूको मुहारमा डर देखिन्छ । जब कि त्यो ठूलो विषय होइन । सामान्य जानकारी राखियो भने घरको दराजबाट डकुमेन्ट निकालेर बैंकमा ऋण माग्न जाने हो । तर दराजबाट कस्तो कागजात झिक्ने भन्नेसम्म पनि अभिभावक अलमलिन्छन् । अहिले हामी लिभिङ टुगेरको अवधारणासँगै अगाडि गइसकेका छौं ।

अझै विद्यार्थीहरूमा विदेश जाने सहज अवस्था छैन । भिसा प्रक्रिया सुरु भएको छैन । आईएलटीएस पढ्ने ठाउँ खुलेका छैनन् भनेर अलमल छ् । अहिले क्यानडा खुला छ । यूके खुला थियो, नयाँ कोरोनाले गर्दा बन्द भएको हो । अरू देश पनि खुला नै छन् ।

विश्वका हरेक कलेज र विश्वविद्यालयहरू लगभग खुलेकै अवस्था छन् । कोभिडले गर्दा कुनै विश्वविद्यालय बन्द भएको छैन । कोभिडले गर्दा यो वर्षको पढाइ हुँदैन भनेर कुनै कलेजले भनेको छैन । नेपालकै कलेज र विश्वविद्यालय चलायमान भइसकेको छ । त्यो हिसाबमा विश्व रोकिएको छैन ।

शैक्षिक परामर्शदेखि कक्षाको पनि वैकल्पिक बाटो निस्किएको छ । पहिला मोफसलमा भएका विद्यार्थीलाई परामर्श लिन गाह्रो थियो । तर अनलाइनले ती विद्यार्थीलाई सहज बनाइदियो । उनीहरूले चाहेकै शिक्षकबाट पढ्न पाउँछन् । कोभिडले पनि सुनौलो कुरा उपहार दिएको छ ।

'विदेश पढ्न गए पनि नेपालमा फर्कन पाउने सहज व्यवस्था हुन पर्‍यो'

पुष्प लामिछाने, प्रबन्ध निर्देशक- वेब इन्टरनेस्नल एजुकेसन

विदेशबाट आउन चाहने तर अड्किएका विद्यार्थी सहज रूपले आउन व्यवस्था मिलाउनुपर्छ । विदेश जान चाहने हकमा पनि त्यस्तै सहजता हुनुपर्छ । कोभिडले धेरै कुरा सिकाएको छ । अनलाइनबाट शिक्षा लिनेमा धेरै परिवर्तन भएको छ । अहिले घरमा सबैले अनलाइन, इन्टरनेट र ल्यापटपको महत्त्व बढेको छ । भोलि विद्यार्थीलाई अनलाइनको विषय पढ्नलाई एकदम सहयोग हुन्छ । यसलाई मैले अवसरको रूपमै लिएको छु ।

अब अनलाइन कक्षा राखियो भने काम गर्दै पढ्न चाहनेले पनि पाउने भए । विद्यालयस्तरदेखि नै भौतिक पढ्ने कि अनलाइन त्यो रोज्न पाउने व्यवस्था मिलाउनुपर्‍यो । त्यस्तो भयो भने सानैदेखि विद्यार्थीलाई अनुभव हुन्छ । शैक्षिक क्षेत्रमा भएकाले यी नीति लगाउन सक्नुपर्‍यो । हामी जसरी पढेर आयौं । अहिलेका विद्यार्थीले पनि त्यहीं पढ्दै छन् । खोइ त परिवर्तन ? विदेश पढ्न जाने र फर्कन चाहनेका लागि खुकुलो र सहज व्यवस्था हुनुपर्छ ।

विदेशमा पढिरहेका विद्यार्थी बीचैमा फर्कन पर्‍यो भने यहाँको विश्वविद्यालयमा पढ्न पाउने व्यवस्था मिलाउन सके विद्यार्थी लाभान्वित हुने थिए । सीटीईभीटीमा डिप्लोमा पूरा गरेका विद्यार्थीलाई कक्षा १२ को समकक्षता नदिदाँ पनि वैदेशिक शिक्षामा समस्या भएको छ । यी यस्ता नीति परिवर्तन गर्नु जरुरी छ । विदेश पढ्न गए पनि नेपालमा फर्कन पाउने सहज व्यवस्था हुन आवश्यक देख्छु ।

'कोष बनाउन आवश्यक छ'

भवनाथ हुमागाईं, प्रबन्ध निर्देशक- सक्सेस अब्रोड स्टडी

जापानसम्बन्धी काम गर्छौं । कोभिडको समयमा ठूलो संख्याको विद्यार्थी नेपाल आउन चाहे भने कसरी ल्याउने भन्ने चर्चाको विषय थियो । शिक्षा मन्त्रालयले त्यो बेला कन्सेल्टेन्सीले विद्यार्थी पठाउँदा लिएको कमिसनको पैसा तिरेर फिर्ता ल्याउनुपर्छ भन्नुभएको थियो । कालन्तरमा खाडीबाट नेपाल आउन मारामार भयो । तर समृद्ध देश जापान अमेरिका जानेको भीड देखियो । त्यो ट्रेन्ड आज पनि छ ।

जुन–जुन देशमा हामीले विद्यार्थी पठाएका छौं । त्यहाँबाट आउनेभन्दा पनि जानेकै भीड छ, सेवासुविधाले गर्दा । अहिले खोप पनि नेपालकाले भन्दा बाहिर भएका हाम्रा विद्यार्थीले पहिला पाउने भएका छन् । यस्तो विपद् भोलि नि आउन सक्छ । त्यसका लागि कोष बनाउन आवश्यक छ । जापानमा विद्यार्थीलाई सहुलियत दिइएको छ । त्यसकारण पनि जापान जाने विद्यार्थी बढे । तर सरकार यसमा खुला छैन । बीचमा जापानको एनओसी बन्द गर्‍यो । ६ महिना भिसा बाँकी भएकाले एनओसी पाएका छैनन् । त्यसैले गर्दा ६ महिनायता विद्यार्थी बाहिर जान पाएका छैनन् ।

'नेपाली अभिभावक र विद्यार्थीको उपेक्षा पूरा गर्न हामी सक्षम छौं'

वासुदेव दाहाल, प्रबन्ध निर्देशक- प्राञ्जल एजुकेसन कन्सल्टेन्सी

हामी अहिले नेपालको शैक्षिक परामर्श केन्द्रलाई पहिलाकै अवस्थामा ल्याउने अभियानमा छौं । अस्ट्रेलियाको लागि काम गछौं । कोभिडले धेरै नै असर पुग्यो । पढ्न गइसकेका विद्यार्थीको कोर्स पूरा भइसकेको थियो । उनीहरूले थप शिक्षा लिन अवरोध पुग्यो । हामीले सकभर हाम्रा सेवा सुचारु गयौं । अहिले पनि घरबाट पूर्ण रूपमा क्रियाशील भएर काम गरिरहेको छौं । विद्यार्थी र अभिभावकलाई दिने सेवामा कमी छैन । भर्ना प्रक्रियामा यहीँ बसेर पनि मद्दत गयौं ।

कर्मचारी र काउन्सिलरहरूको तालिमको काम धेरै गयौं । यसमा केन्द्रित रहयौं । समग्र क्षेत्र घाटामा छ । लामो सयम असर गर्छ नै । तर अब नेपाली विद्यार्थीलाई लाई धेरै देशमा अवसरको ढोका खुल्दै छ । विकसित मुलुक पढ्ने गन्तव्य झनै बढेर जाने निश्चित छ । उनीहरूलाई पनि अन्तर्राष्ट्रिय विद्यार्थी चाहिएको छ । अनगिन्ती अवसर आउँदै छन् । नेपाली विद्यार्थीले ती अवसर लिन सक्छन् । विद्यार्थीलाई सुविधा दिन प्रतिस्पर्धा चलिरहेको छ । विद्यार्थीको चाहनाअनुसार आकर्षण गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ । नेपाली अभिभावक र विद्यार्थीको उपेक्षा पूरा गर्न हामी सक्षम छौं ।

'बिदेसिएका विद्यार्थीबाट पनि रेमिट्यान्स भित्रिइरहेको छ'

शेषराज भट्टराई, निर्देशक- अर्बिट इन्टरनेसनल एजुकेसन

पछिल्लो समय कोभिडपछि अन्तर्राष्ट्रिय विद्यार्थीको गतिशीलतामा असर पार्‍यो । चाइनामा विद्यार्थी पठाउनेमा हाम्रो उपस्थिति राम्रो छ । भारत र चीनपछि हाम्रा विद्यार्थीको उपस्थिति अस्ट्रेलियातिर छ । विदेशमा अध्यागमनको नीति फरक–फरक छ । आगामी दिनमा अन्तर्राष्ट्रिय अध्ययनको महत्त्व अझै बढ्ने देख्दै छु । जुन देशमा विद्यार्थी पुगे त्यता उनीहरूका पुस्ता बढे । त्यसको श्रेय हामी लिन चाहन्छौं । २० वर्षअगाडि विदेश पढ्न जाने भन्ने कुरा गरिब नेपालीका लागि सम्भव थिएन । अस्ट्रेलिया, अमेरिका हुनेखाने वर्गकै नै जान्थे । तर अहिले त विदेश पढ्न जाने संस्कृतिको विकास भएको छ ।

नेपालीहरू अन्तर्राष्ट्रियस्तरमा राजनीति, व्यवसायदेखि अन्य महत्त्पूर्ण काममा जमेका छन् । बिदेसिएका विद्यार्थीबाट आर्थिक सहयोग पनि हामी पाउँदै छौं । खाडीबाट मात्र रेमिट्यान्स आउने भन्ने होइन । हामीले बाहिर पठाएका विद्यार्थीबाट पहिलो/दोस्रो रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांक छ ।

आज अमेरिका रेमिट्यान्स पहिलो स्थानमा, त्यस्तै अस्ट्रेलिया उच्च स्थानमा पर्छ । त्यो भनेको त्यहाँ बसेको नेपालीले पठाएको हो । विश्व बजारमा पुगेका सन्तोष शाह होस् या अमेरिकन आइडलमा पुगेका दिवेश पोख्रेल । उनीहरू प्रतिनिधि हुन् । त्यस्ता कैयौं हिरोहरू जन्माउन हामीले भूमिका खेलेका छौं ।

प्रस्तुति : रीना मोक्तान

प्रकाशित : माघ २, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?