अवसर पाउन विदेशी डिग्री- फड्को - कान्तिपुर समाचार

अवसर पाउन विदेशी डिग्री

विदेशको सर्टिफिकेट भएपछि धेरैतिर अवसर मिल्छ । बाहिर गएर पढ्दा शिक्षासँगै फरक रहनसहन र परिवेश पनि बुझ्न सजिलो हुन्छ ।
विमल खतिवडा

काठमाडौँ — भक्तपुरकी अनु बाँस्तोलालाई कहिले अस्ट्रेलिया पुगौंजस्तो भएको छ । भिसा लागेको एक साता भइसक्यो तर उड्ने भने अत्तोपत्तो छैन । स्नातकोत्तर गर्न अस्ट्रेलिया जान लागेकी उनले नेपालमै मानविकी संकायमा स्नातक गरेकी हुन् ।

फाइल तस्बिर

‘अन्तर्राष्ट्रिय डिग्री भयो भने नेपालमा जागिर पाउन सजिलो हुन्छ,’ उनी भन्छिन्, ‘विदेशको सर्टिफिकेट भएपछि सबैतिर अवसर पनि मिल्छ ।’ बाहिर गएर पढ्दा शिक्षासँगै फरक रहनसहन र परिवेश पनि बुझ्न सजिलो हुने उनको बुझाइ छ । उता सिकेको कुरा यता आएर अरूलाई पनि सिकाउने सोचसमेत उनले बनाएकी छन् ।

कोरोनाको महामारीका कारण भिसा लिन उनलाई निकै समय लाग्यो । ‘लकडाउनले गर्दा भिसा प्रक्रिया नै रोकियो, अहिले खुल्यो र प्रोसेस गरें,’ उनी भन्छिन्, ‘भिसा त लाग्यो, अब अस्ट्रेलियाको बोर्डर खुल्नसाथ जान्छु ।’

उनको नियमति कक्षा भने अर्को साताबाट सुरु हुँदै छ । उनी भन्छिन्, ‘सकेसम्म उतै गएर पढ्न पाए हुने भन्ने हो ।’ आफैं उपस्थित भएर पढ्नुको मजा बेग्लै हुने उनको बुझाइ छ । एक साताबाट कलेज सुरु हुन्छ । उनी युनिभर्सिटी अफ ओरेगनमा पढ्न जान लागेकी हुन् । ‘विदेश जानु रहर होइन, बाध्यता हो,’ उनी भन्छिन्, ‘तर विदेशमा पढेर यतै फर्किने हो ।’

कटुञ्जे भक्तपुरकी बादल पोखरेल अहिले अस्ट्रेलियामा विद्यावारिधि गर्दै छिन् । उनले पढ्न सुरु गरेको डेढ वर्ष भयो । त्रिचन्द्र क्याम्पसबाट भूगर्भशास्त्रमा स्नातकोत्तर गरेकी उनी सानैदेखि भूकम्प कसरी जान्छ भन्दै उत्सुक हुन्थिन् । ‘भूकम्पले गर्दा भौगोलिक बनावटमा केकस्तो परिवर्तन आउँछ भन्ने कुरा जान्न मन लाग्थ्यो,’ अस्ट्रेलियामा रहेकी उनी भन्छिन्, ‘त्यसैले जियोलोजी पढ्ने निर्णय गरें ।’

२०७२ मा नेपालमा गएको भूकम्पले ठूलो क्षति पुग्यो । ‘मलाई अनुसन्धानमा बढी रुचि भएकाले स्नातकोत्तरको थेसिसमा पनि भूकम्पका कारण जाने पहिरोले हुने जोखिमको विश्लेषण र पहिरोको जोखिमबारे नक्सा बनाउने काम गरे,’ उनी भन्छिन्, ‘रसुवामा भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगले जोखिम कस्तो खालको हुन सक्छ भनेर पनि काम गरें ।’

नेपालको भूबनोट, पहिरोको जोखिम, हिमनदी फुट्ने खतरालगायतका कारण उनी यो विषयप्रति आकर्षित भएको बताउँछिन् । ‘यसैमा रुचि भएकाले नेपालकै लागि केही गर्न सकिन्छ भन्ने भावना पहिलादेखि नै थियो,’ उनले भनिन्, ‘नेपालमा विद्यावारिधि गर्नु निकै चुनौतीपूर्ण छ । भूगर्भशास्त्रमा विद्यावारिधि गर्ने निकै कम छन् ।’

आर्टिफिसियल इन्टेलिजेन्टका माध्यमबाट भविष्यमा आउने जोखिमहरूको नक्सा निकाल्न सकिन्छ । यिनै विषयहरू उनले पढिरहेकी छन् । अध्ययनका लागि अमेरिका र अस्ट्रेलियाका विश्वविद्यालयमा छात्रवृत्ति पाएकी भए पनि उनले अस्ट्रेलिया रोजिन् । अहिले उनी युनिभर्सिटी अफ न्यु साउथ वेल्समा विद्यावारिधि गर्दै छिन् ।

‘हामी यसरी पढ्दा ज्ञानले खारिन्छौं, धेरै कुरा सिक्ने र जान्ने अवसर पाउँछौं,’ उनी भन्छिन्, ‘इन्टरनेसनल प्लाटफर्ममा हामीप्रति हेर्ने धारणा पनि निकै फरक रहेको पाए, हामी जोसँग पनि प्रतिस्पर्धा गर्न तयार हुन्छौं ।’ विद्यावारिधि गर्ने क्रममा धेरै नयाँनयाँ कुरा जान्ने अवसर पाएको उनले सुनाइन् । ‘विदेशमा पढ्न बढी खर्च लाग्छ ,तर मैले छात्रवृत्ति पाएकाले समस्या छैन,’ उनी भन्छिन् ।

अस्ट्रेलियामा प्रायः नेपालीहरू काम गर्ने धेरै हुन्छन् । पढ्ने कम हुन्छन् । ‘पढाइ राम्रै भएको छ,’ उनी भन्छिन् । पढेअनुसार काम गर्न पाइन्छ पाइँदैन भन्ने चिन्ता हुन्छ । ‘नेपालमा आएर बस्न सकिन्छ । तर पढाइ सक्नेबित्तिकै नेपाल फर्किहाल्ने सोच भने छैन,’ उनी भन्छिन्, ‘तर पछिपछि नेपालकै लागि केही गर्नेछु, लक्ष्य प्रोफेसर बन्ने भन्ने नै हो ।’ जुन देशबाट अफर आउँछ, जान तयार रहेको उनले सुनाइन् । उनी त्रिभुवन विश्वविद्यालयमा अवसर आए आउने सुनाउँछिन् ।

चितवन गुन्जनगरका अरुण ढकाल पुसमा क्यानाडाका लागि २०७६ चैतमा भिसा लाग्यो र कोभिडले गर्दा २०७७ पुसमा मात्रै जान पाए । स्नातकमा जीवविज्ञान लिएर युनिभर्सिटी अफ विनिपेगमा भर्ना भएका छन् । भरतपुरको वाल्मीकि शिक्षा सदनबाट विज्ञान संकायमा कक्षा १२ सकेपछि उनले क्यानाडाका अध्ययनको प्रक्रिया थालेका थिए । ‘नयाँ ठाउँ जाऊँ, नयाँ काम गरौँ भन्ने लाग्थ्यो,’ उनी भन्छन्, ‘त्यसैले उच्च शिक्षा अध्ययनका लागि क्यानाडा आएँ ।’

उनले क्यानाडामा स्नातकोत्तर सकेर स्वदेश फर्किने सोच बनाएका छन् । ‘विदेशको ज्ञान र पढाइलाई नेपालमै आएर उपयोग गर्न मन छ,’ उनी भन्छन् । विनिपेगमा दिदीभिनाजुसँग बस्ने उनी अहिले अनलाइन कक्षा लिइरहेका छन् । कोभिडले गर्दा धेरै विद्यार्थी भिसा लागेर पनि उच्च शिक्षा अध्ययनका लागि आफूले चाहेको देश जान पाइरहेका छैनन् । कोही नेपालमै बसेर अनलाइनबाट पढिरहेका छन् त कोही कहिले विदेश जान पाइन्छ भन्दै पर्खाइमा छन् ।

चितवन रत्ननगरका लकेश खनाल भाग्यमानी साबित भए । कोरोना कहरमै उनी अमेरिका उड्न पाए । अहिले उनलाई पढ्न भ्याइनभ्याई छ । इन्टनरनेसनल बिजनेस पढ्नका लागि उनी अमेरिका हानिएका हुन् । ‘इन्टरनेसनल बिजनेस भनेको बिजनेसनलाई अन्तर्राष्ट्रिय दृष्टिकोणबाट हेर्ने हो,’ उनी भन्छन्, ‘हाम्रो देशमा बिजनेस प्रायः परम्परागत तरिकाबाट हुन्छ ।’ उनी ओहयोस्थित युनिभर्सिटी अफ सिन्सिनाटीमा अध्ययन गरिरहेका छन् । कोरोना नभएको भए नेपालबाटै प्रक्रिया सुरु गर्दा केही हदसम्म सजिलो हुने उनको बुझाइ छ । कोरोनाका कारण नेपालबाट सम्भव नभए पनि उनले भारत गएर अन्तर्वार्ता दिएका थिए ।

अमेरिकामा सिकेको ज्ञान नेपालमै फर्केर लागू गर्ने उनको योजना छ । उनका बुबा पर्यटन व्यवसायमा संलग्न छन् । बुबाको व्यवसाय सम्हाल्ने उनको मन छ । ‘अमेरिका आउने सबैको स्वदेश फर्किहाल्ने सोच हुँदैन, धेरैजसो यतै बस्न खोज्छन्,’ उनी भन्छन्, ‘तर मेरो सोच विदेशमा पढ्ने तर काम भने नेपालमै फर्केर गर्ने हो ताकि आफूले जानेको र सिकेको ज्ञान बाँड्न सकियोस् ।’

प्रकाशित : माघ २, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्

संवैधानिक इजलासमा न्यायाधीश थप्‍नुपर्ने एमीकसको सुझाव, प्रधानन्यायाधीशको प्रश्‍न- 'संविधानको फ्रेम बाहिर जान मिल्छ र ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन कुन इजलासमा पठाउने भन्ने विवाद कायमै छ । 

ती रिट निवेदनहरू हाल संवैधानिक इजलासमा रहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अध्यक्षताको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । जसको विरुद्धमा परेका निवेदनको सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले सर्वोच्च बार र नेपाल बारबाट ५ जना एमीकस क्युरी मगाउनका साथै संवैधानिक इजलासमा निवेदनहरू पठाउने आदेश गरेका थिए ।

त्यसपछि, १३ निवेदकमध्ये १२ ले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाहरू बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने निवेदन पेस गरेका थिए । उनीहरूले विगतमा पनि संसद विघटनका मुद्दा बृहत् पूर्ण इजलासमा पठाइएको नजीर देखाउँदै अहिले पनि सोहीअनुसार गर्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्रीको पक्षबाट आएका कानुन व्यवसायीहरूले भने संविधान र कानुनले संवैधानिक इजलासमा पुगेका मुद्दा अन्यत्र जाने व्यवस्था नै नगरेको तर्क राख्दै आएका छन् ।

शुक्रबारको बससमा एमीकसका रूपमा बहसमा सहभागी भएका वरिष्ठ अधिवक्ता बद्री कार्कीले संवैधानिक इजलासमा न्यायाधीशहरू थप्नुपर्ने बताएका थिए । उनले बृहत् पूर्ण इजलास मागिरहेको अवस्थामा संवैधानिक इजलासमा नै न्यायाधीश थप्नुपर्ने सुझाव दिए ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशका अलवा चार न्यायाधीश हुने संविधानले व्यवस्था गरेको छ ।

प्रधानन्यायाधीश जबराले भने सर्वोच्च अदालत संविधानको व्यवस्था बाहिर जान मिल्छ ? भनेर प्रश्न गरेका थिए । 'सर्वोच्च अदालत यो संविधानको फ्रेम बाहिर जान मिल्छ र ?,' उनको प्रश्न थियो ।

जवाफमा एमीकस कार्कीले भने संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्दा संविधान बाहिर गएको नमानिने बताएका थिए ।

संविधानले नै संवैधानिक इजलासमा कति न्यायाधीश हुने भन्ने संख्या तोकेकाले त्यसलाई नाघेर अगाडि बढ्न नसकिने प्रधानन्यायाधीश जबराको भनाइ थियो ।

संसद विघटनका मुद्दा संवैधानिक इजलासमा नै सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा पठाउने भन्नेबारे बहस भइरहेको छ । निवेदक र विपक्षी सरकारका कानुन व्यवसायीले आ-आफ्ना तर्क राखिसकेपछि अहिले उक्त विवादमा एमीकस क्युरीले सुझाव दिइरहेका छन् ।

प्रकाशित : माघ २, २०७७ १५:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×