विश्राम लिनु वेश

कान्तिपुर संवाददाता

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली अस्वथ्य हुनुहुन्छ  । उहाँको रोग तत्काल निको हुने पनि होइन  ।

मानिसको जीवनमा आरोह–अवरोह आइरहन्छन् । कठिन मोडहरू आइरहन्छन् । त्यो बेला सही निर्णय लिनसके मात्र उसको पहिचान पछिसम्म रहन्छ । इतिहासले सम्झन्छ । हो, त्यस्तै कठिन निर्णय लिने घडी अहिले प्रधानमन्त्री ओली समक्ष आइपुगेको छ । यो बेला उहाँले पद र प्रतिष्ठा हेर्ने कि आफ्नो स्वास्थ्य स्थिति ? उहाँले आफ्नो बुँताले भ्याएसम्म देश र जनताको लागि धेरै गर्नुभयो । कति सपना देख्नुभयो, कति सपना जनतालाई देखाउनुभयो । यद्यपि कामको परिणाम सतहमा आउन सकेन । तथापि गोरेटो कोर्ने काम प्रधानमन्त्री ओलीले गर्नुभएको छ । स्थायी सरकार मानिएको कर्मचारी वर्गले प्रधानमन्त्रीकै ‘स्पिरिट’ मा काम गर्नसकेको भए विकास र समृद्धिका डोबहरू देखिसकिन्थ्यो । तर कर्मचारी प्रशासनले राम्ररी काम नगर्दा देशको २१ वटा गौरवका आयोजनाहरूमध्ये ९५ प्रतिशतको काम सन्तोषजनक हुन सकेनन् । तामाकोशी, मेलम्चीजस्ता योजनाहरू पूरा भएनन् । राज्यसंयन्त्र कमजोर बन्दा सिन्डिकेटधारी, मेडिकल माफिया, निर्माण व्यवसायीहरूले राज्यको अस्तित्वमै प्रश्न उठाए । निश्चय नै ओली यी सबै विकृति/विसंगति हटाउन चाहनुहुन्थ्यो, तर अब उहाँलाई स्वास्थ्यले साथ दिइरहेको छैन । अब उहाँले आफ्नो पालामा थाती रहेका काम आफूपछिको पुस्ताले गर्ने विश्वास गरी पदबाट विश्राम लिनु उचित हुन्छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : कार्तिक १९, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सम्भावनायुक्त हिमशृङ्खलाहरू

कान्तिपुर संवाददाता

उत्तमबाबु श्रेष्ठको ‘हिमालको रणनीतिक लाभ’ हिमालहरूवाट लिन सकिने बहुपक्षीय उपलब्धिमाथि केन्द्रित छ  ।

हुन पनि विश्वका १० हिमाच्छादित शिखरमध्ये ८ वटा नेपालमा रहेको सन्दर्भवाट खुसी नहुने नेपाली को होला र ? मुलुकको पूर्वदेखि पश्चिमसम्म फैलिएका यी हिमशृङ्खलाबाट हामीले खासै फाइदाचाहिंँ लिनसकेका छैनौं । खासगरी उत्तरी भेगमा बसोबास गर्दै आएका शेर्पा जातिले आफ्नो पर्वतारोहणको कौशलताका कारण विश्वमा पहिचान बढाएका हुन् । पछिल्लो समय निर्मल पुर्जाले ६ महिनामै विश्वका १४ उच्च शिखरको आरोहण गरेर नयाँ इतिहास रचेपछि विश्वभर हिमालको प्रसिद्धि अरु फैलिएको छ ।
लेखकले जारेड डाइमन्डको पुस्तकमा उल्लेख भएको विषय भूगोलको ‘लक’ र लाभ अर्थात् भू–बनोटका कारण पश्चिमा मुलुकहरू विकासको चरमचुलीमा पुगेका र भूगोलले ठग्दा पपुवान्युगिनीका मानव समुदाय आफ्ना दसौं हजार वर्ष अघिका फिरन्ते, जंगली अवस्थामा रहेको भन्ने विषयमा चाहिंँ पूर्ण सत्यता देखिंँदैन । वास्तवमा बेलायतीहरू पुग्नु अघिसम्म अष्ट्रेलिया र न्युजिल्यान्डको अवस्था पनि पपुवान्यूगिनीभन्दा फरक थिएन । उता जंगली प्रकृतिका ‘रेड इन्डियन’ को कव्जामा रहेको अमेरिकाको हालत पनि त्यस्तै थियो । शासकहरूको दृष्टिकोण, आँट, अठोट र सुशासनका कारण ती देशहरू आधुनिक र विकसित बनेका हुन्, नकि भू–बनोटको असरले । त्यस्तै प्रतिकूल भौगोलिक स्वरुप, महाभूकम्पले घेरिएको जापानले पनि विकासमा सबैलाई पछि पार्दै आएको यथार्थ जगजाहेर छ ।
यावत कारणले हाम्रा विश्वविख्यात हिमशिखरहरू विकासका बाधक कदापि बन्न सक्दैनन् । यहाँनिर एउटा उदाहरण लिऊँ : हाम्रो लागि डाँडाजस्तो लाग्ने फुजी पहाडको नाममा जापानले वर्षेनि हाम्रो राष्ट्रिय आमदानीभन्दा बढी पुँजी हासिल गरिरहेको छ भने हामीचाहिँं योजनाविहीन बनेर रोइरहेका छौं । हिमाल केन्द्रित अध्ययन, अनुसन्धान, कृषि, पर्यटनको उत्थान, ‘ट्रेडमार्कको’ विकास, हिमालको पानी लगायत विशिष्ट प्रकारका उत्पादनको प्रबर्द्धन, निर्यात लगायतका क्रियाकलापलाई पूर्णता दिनसके समृद्धि सपना पूरा हुन समय लाग्दैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : कार्तिक १९, २०७६ १०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT