कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबैलाई समान व्यवहार राम्रो

कान्तिपुर संवाददाता

मिडियाले उच्च आदरार्थी शब्द ‘तपाईं’, ‘हजुर’ प्रयोग नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले मर्यादापालन नगरेको टिप्पणी गर्नु राम्रो होइन  । ‘सानालाई तिमी र ठूलालाई तपाईं’ भन्ने नेपाली समाजको प्रचलन भएको जिकिर गरिरहँदा लाग्छ, प्रधानमन्त्रीले आफूलाई सम्मान नपुगेको आकांक्षा पो गरेका हुन् कि ? सञ्चार माध्यम सबैका लागि बराबर हो  ।

सञ्चर माध्यमले सबैलाई समान आदरार्थी शब्द प्रयोग गर्दैमा प्रधानमन्त्री आक्रोश बन्नु राम्रो भएन । यतिका वर्षसम्म मिडियाले प्रयोग गरिरहेका शब्दप्रति एक्कासि प्रधानमन्त्री ओलीले किन आलोचना गरे ? स्वतन्त्र मिडियाप्रति विवादास्पद कुरामा नअलमलिएर देश र जनताको विकासको लागि अगाडि बढ्नुहोस्, प्रधानमन्त्रीज्यू ।
अंग्रेजीको ‘यु’ लाई सिको गरेर नेपाली मिडियाले ‘तिमी’ शब्द प्रयोग गरेको पक्कै होइन होला । प्रधानमन्त्री ओलीले भनेजस्तो कला, साहित्य र भाषाको जगेर्ना गर्ने उद्देश्य त नेपाली सञ्चार माध्यमले सधैं लिइरहेकै हुन्छन् ।
– नवीन देवकोटा, पञ्चदेवल विनायक–२, अछाम

धेरै पटक धेरै ठाउँमा उपस्थित हुँदा वा बोल्दा प्रधानमन्त्री ओलीले नेपाली भाषाको स्तर खस्किएको गुनासो गरेको सुनिन्छ । मेरो उहाँलाई प्रश्न छ– सम्पन्न र गहन इतिहास बोकेको हाम्रो गौरव नेपाली भाषा यसरी खस्कँदै जानुका कारण उहाँले खोज्नुभएको छ ? आज हरेक विद्यालयमा तोते बोली पनि फुटाउन नभ्याएका नानीहरूलाई विदेशी सभ्यता अनि भाषा सिकाउने र डाक्टर, इञ्जिनियर बनाउने नाममा अंग्रेजी घोकाउने शिक्षा लाद्न थालेका कारण नेपाली भाषा बिग्रिएको हो । प्रधानमन्त्री ओलीले यो कुरा बेलैमा बुझ्न र अनावश्यक अंग्रेजी भाषाप्रतिको मोहलाई भंग गर्ने वातावरण बनाउँदै आफ्नै भाषा विकासको कार्यक्रम ल्याउन आवश्यक छ । अन्यथा उनले चिन्ता गरेर मात्र हुन्न । विद्यालयहरूमा यही किसिमको पठन–पाठन शैली चल्दै जाने हो भने आम नेपालीले सजिलैसँग आफ्नो भाषामा बोल्न नजान्ने अनि भाषा नै लोप हुने दिन नआउला भन्न सकिन्न । आमा, बा/बाबा, काका, काकी, दिदी, बहिनी, मामाहरू सकिएर ममी, ड्याडी, अंकल, आन्टी, ब्रदर, सिस्टरहरू उदाउन थालेको परिवेशमा नेपाली भाषाको क्षयीकरण द्रुतगतिमा भइरहेको छ ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : कार्तिक १, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?