कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक मर्मतमा ढिलासुस्ती

दसैं–तिहार आउन केही सातामात्र बाँकी छ  । तर सडकको दुरवस्थाका कारण चाडपर्व मनाउन घर जाने लाखौंले यसपाली पनि सास्ती खेप्नु पर्नेछ  ।

राजधानी भित्रिने र बाहिरिने जति पनि नाकाहरू छन्, ती सबैको अवस्था दयनीय छ । देशकै सबैभन्दा सवारी चाप बढी हुने मुख्य नाका नाकढुंगा–नौबिसे सडक खण्डको अवस्था सम्झँदा जीउ नै सिरिङ्ग हुन्छ । यो सडक खण्डको दुरवस्थाको कारण लाखौं यात्रुले सास्ती पाउने र समयमा गन्तव्यमा नपुग्ने सम्भावना छ । साथै यात्रुहरू कहाँनिर र कतिखेर दुर्घनामा पर्ने हुन्, ठेगान छैन । सडकमा हुने सवारी चाप, सडक जामको समस्या, अस्वस्थ पतिस्पर्धा, तीव्र गति र सडकको दुरवस्थाकै कारण अकल्पनीय दुर्घटना र अपूरणीय क्षति नहोला भन्न सकिन्न । हुन त अहिले नौबिसे–नाकढुंगा अन्तर्गत पर्ने सडक खण्डको मर्मत कार्य भइरहेको छ, जहाँ २ दिनअघि मर्मत गरेको सडक २ दिनपछि नै भत्किसकेको देख्न सकिन्छ । राज्यको लगानी बालुवामा पानी भएको छ । त्यहाँ न काममा तीव्रता छ, न गुणस्तर । सम्बन्धित निकायहरूले हाल भइरहेको कामको प्रभावकारी मूल्यांकन र अनुगमन गरी तीव्रतासाथ टिकाउ हुनेगरी सडक मर्मतको काम २ साता भित्रमा सकिनेगरी उपलब्ध स्रोत र साधनको सही परिचालन गरोस् । जसले गर्दा हरेक नेपालीले सुरक्षित गन्तव्यमा पुगेर आफ्नो परिवारजन र आफन्तसँग चाडपर्व मनाउन पाउन् ।
– सानु गिरी, सिद्धलेक–७, धादिङ

प्रकाशित : आश्विन १, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?