राष्ट्रहित प्रतिकूल प्रस्ताव

कान्तिपुर संवाददाता

वैवाहिक अंगीकृत नागरिकताको विषयमा नेपाली कांग्रेसले राखेको बटमलाइन असमान हुनुका साथै राष्ट्रहित विपरीत पनि छ  ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा लगायत ११ नेताले प्रधानमन्त्रीसँगको भेटमा वैवाहिक अंगीकृत नागरिकतामा २०६३ को अन्तरिम संविधानकै व्यवस्था आफूहरूको बटमलाइन हुने बताएर राष्ट्रियताप्रति शंका उब्जाउने काम गरेका छन् । अन्तरिम संविधानमा विदेशबाट विवाह गरी नेपाल आएका चेलीलाई विदेशी नागरिकता परित्याग गर्ने प्रक्रिया चाल्नासाथ नेपाली नागरिकता दिनुपर्ने लेखिएको छ । जुन असमान र राष्ट्रहित विपरीत छ । भारतले भने नेपाली चेलीलाई आफ्नो नागरिकता दिन ७ वर्ष लगाउँछ । जसरी नेपाल–भारत बीचको सन् १९५० को सन्धि असमान छ, त्यसरी नै विदेशी बुहारीको सम्बन्धमा नेपाल–भारत बीचको व्यवस्था पनि असमान छ । यसलाई समान बनाउन नागरिक स्तरबाट धेरै आवाज उठे पनि नेपाली कांग्रेस र मधेसवादी दलहरूको अनुचित अडानका कारण आजसम्म समान हुनसकेको छैन । यसपाली समान बनाउन खोज्दा कांग्रेसले मधेसको भोट बैंकको कारण नाजायज अडान राखिरहनु ठीक छैन ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

प्रकाशित : भाद्र ३१, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्

रङको बढ्दो व्यापार

रङरोगन व्यापार संघका अनुसार रङको व्यापार वार्षिक ३५ प्रतिशतले बढिरहेको छ
नुमा थाम्सुहाङ

 बाफलका मनिरत्न बुद्धाचार्य ४० वर्षदेखि रङरोगनसम्बन्धी पेसामा छन्  । यस बीचमा रङ र त्यसलाई घर सजाउन प्रयोग गर्ने विधिमा आएको फेरबदलबारे उनी जानकार छन्  ।

उनी भन्छन्, ‘नयाँ खालका रङ, गुणस्तर र रङ्ग्याउने सामानका कारण पहिलेभन्दा अहिले घर रंग्याउन सजिलो छ ।’
छाउनीस्थित नयाँ घरका लागि रङ किन्न टेकुको पसलमा आएका बेला भेटिएका उनले पुराना दिन सम्झिए, ‘त्यतिबेला कमेरो र सकेटा रङ मात्र पाइन्थ्यो । अलिक राम्रो रङ डाई डिस्टेम्पर घरभित्र प्रयोग गरिन्थ्यो ।

बाहिर लगाउने रङमा सिमेन्ट पेन्ट स्नोसेम आउँथ्यो । बाबियोको कुचोले रङ लगाइन्थ्यो । पछि जुत्ताको ब्रसले घरमा रंग्याइयो । अहिले रोलर आएपछि घरमा रङ निकै सजिलो भएको उनले बताए । ‘विभिन्न किसिमका र राम्रा गुणस्तर भएका रङ बजारमा आएका छन्,’ उनले भने, ‘घरभित्रको कीटाणु नास गर्ने र सुगन्धित बनाउने खालका रङ पनि पाइन्छन् ।’ २०३६ सालमा काम थाल्दै गर्दा बुद्धाचार्यले दिनको ४ रुपैयाँ पारिश्रमिक पाउँथे । ‘त्यो बेला पञ्चायत शासन थियो । आफूले काम गरेको ज्याला माग्न जाँदा कोहीकोहीले म फलानो मान्छे चिनेको छस्, राजासँग चिनजान छ भनेर पैसा दिन मान्दैनथे,’ उनले सुनाए, ‘पञ्चायत ढलेपछि त्यस्तो समस्या भएन ।’ घरलाई आकर्षक देखाउन रङ लगाउने चलन छ । बुद्धाचार्यका अनुसार साढे २ तलाको नयाँ घरलाई २० लिटरको ८ बाल्टिन प्राइमर लगाइसकेपछि १३ बाल्टिन रङ लाग्छ ।


अपूर्व इन्टरनेसनल प्रालि, टेकुका पवन झाले रङको पसल चलाएको ३० वर्ष भयो । उनका अनुसार घर सजाउने ‘डेकोरेटिभ’ र अस्पताल तथा फार्मासिटिकले प्रयोजनका लागि ‘हाइजेनिक’ रङ बजारमा उपलब्ध छन् । ‘एसियन, बर्जर, केएनपी जापान डेकोरेटिभ पेन्ट्स हुन्,’ उनी भन्छन्, ‘अपूर्व इन्डिया हाइजेनिक पेन्ट हो । यसमा मर्करी र लिड हुँदैन । त्यसले गर्दा ब्याक्टेरिया आउँदैन ।’ बर्जर इन्डिया लिमिटेड कम्पनीको प्रोटेक्टिभ कोटिङ्स (फलाममा लगाउने पेन्ट) हाइड्रोपावरमा बढी प्रयोग आउने गरेको उनले बताए ।


बर्जर पेन्ट्स प्रतिलिट ७ सय रुपैयाँदेखि १ हजारसम्म, एसियन पेन्ट्स २ सय ५० रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म, केएनपी जापान २ सय रुपैयाँदेखि ९ सय रुपैयाँसम्म र अपूर्व पेन्ट्स ८ सय रुपैयाँदेखि १ हजार ३ सय रुपैयाँसम्म पाइने झाले जानकारी दिए । ‘एसियन, केएनपी जापान र बर्जरको रङ नेपालकै कम्पनीबाट खपत गरिरहेका छौं । अपूर्व पेन्ट्स मात्र भारतबाट आयात गर्छौं,’ उनले भने । झाले वर्षमा एसियन पेन्ट्स १० करोड रुपैयाँ, बर्जर पेन्ट्स १२/१३ करोड रुपैयाँ, केएनपी जापान पेन्ट्स ७/८ करोड रुपैयाँ र अपूर्व पेन्ट्स १० करोड रुपैयाँको ल्याउने गरेको बताए । ‘यसमा सबै बिक्री हुन्छ भन्ने छैन । यी रङहरूबाट १० प्रतिशत नाफा लिन्छौं,’ उनले भने ।झाका अनुसार एसियन पेन्ट्स, न्यारोल्याक तथा बर्जरको पेन्ट्स बजारमा बढी चलेका छन् । अहिलेको पेन्ट्समा गुणस्तर बढेर आएको पनि उनले बताए । उनी बताउँछन् । उनले थपे, ‘पहिले ३ रेन्जसम्म आउँथ्यो भने अहिले ६ रेन्जसम्म आउँने गरेको छ ।’ बजारमा असार, साउन, भदौ, असोज र कात्तिकमा रङहरूको बढी माग हुन्छ । दसैं र तिहारमा आफ्नो घरलाई रंग्याउने काम बढी हुने भएकाले यो समयमा बढी माग भएको झा बताउँछन् । ‘हामी भारतबाट सामान ७० प्रतिशत भन्सार, जीएसटी गरेर सबै कर तिरेर ल्याउँछौं । यो अनिवार्य पनि हो,’ उनले भने।


रङरोगन व्यापार संघका अध्यक्ष रामचन्द्र खत्री भूकम्पपछि रङको व्यापार धेरै बढेको बताए । ‘वार्षिक ३५ प्रतिशतले यसको व्यापार बढिरहेको छ,’ उनले भने । संघमा साविकको वाग्मती अञ्चलभरिबाट ३ सय ५० जना सदस्य छन् । ग्राहकलाई बिक्री गरिने रङको मूल्यमा समानता ल्याउन संघले पहल गरिरहेको उनले बताए । संघका अध्यक्ष खत्रीले साना खुद्रा व्यापारीहरूलाई प्यान अनिवार्य गरेर कारोबार गर्न समस्या रहेको बताए । कम्पनीहरूले ल्याउने फरक–फरक स्किमले ग्राहकहरूमा विश्वास गुम्न सक्ने भएकाले सामञ्जस्यको खाँचो औंल्याए । ‘कम्पनीहरूले विभिन्न स्किम ल्याउँछन्, त्यो बुझ्न पनि गाह्रो छ । अफर आएका बेलाको मूल्य सुनेका ग्राहकहरू पहिले यति मूल्य थियो अहिले किन यति भनेर प्रश्न गर्छन् । यसले अविश्वास बढाउछ,’ उनले भने ।

प्रकाशित : भाद्र ३१, २०७६ १२:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्