नेतृत्वको डीएनए टेस्ट

सोमबार प्रकाशित ‘चितवनको डीएनए टेस्ट’ले सामाजिक संवेदनाको उजागर मात्रै गरेन, यसले हाम्रो राजनीतिक नेतृत्वप्रतिको वितृष्णाको पर्दाफास गरेको छ  । जनताको माग सानो छ, तर त्यसको सम्बोधन कुनै सरकारबाट पनि भएको आम नागरिकले महसुस गर्न पाएका छैनन्  ।

जनताको मन कति कुँडिएको रहेछ भन्ने कुरा अब बाँकी रहेन । शीर्षक ‘चितवनको डीएनए टेस्ट’ मात्र नराखी ‘राजनीतिक नेतृत्वको डीएनए टेस्ट’ भइदिएको भए अझ यथार्थपरक हुने थियो कि ? चितवनमा जम्मा भएका जनतालाई भिडको संज्ञा दिन सकिएला, तर राज्यको कार्यशैली,सामाजिक व्यथिति, झाँगिएको भ्रष्टाचार, टुटेफुटे नेताहरूको राजर्षी जीवनशैलीबाट सारा नेपालीको मन दुखित भएको छ ।


चितवन एक प्रतिविम्ब मात्र होे कि... । धेरै राजनीतिक आरोह–अवरोहको पीडा आम नेपालीले सहज रूपमा स्वीकारेको आजको परिवेशको आशामा होइन । आशा निराशामा परिवर्तन भयो भने विचार र विवेक प्राथमिकतामा कम पर्छन् । तिनै जनता हुन्, जसले आफ्नो अमूल्यमतको भारी बोकाएर पठाए, तर आज तिनै जनता निराशाको सिकार भए । भिड र आवेगको मनोविज्ञानमा रमाउन उत्साहित भए । चितवनकै मात्र समस्या हो जस्तो लाग्दैन । हाम्रा बौद्धिक वर्गको सहभागिता र संलग्नता राजनीतिक दलको पुच्छरसरह छ । त्यसैले समाजको नेतृत्वको काँध बौद्धिक वर्गले थाम्न सक्दैनन् । अनि निराशाको भुमरीमा पिल्सिएको समाज एउटा सामान्य व्यक्तिले जब थोरै आस भरिदिन्छ, ऊप्रति चाहेर/नचाहेर पछि लागिहाल्छ । त्यहाँ ठिक/बेठिकको प्रश्नै गुमराहमा पर्छ । जुन वाचा जनता समक्ष नेताहरूले गरे, कार्यान्वयनको सानो अंशको अनुभूति गर्न पाए भने र नेताहरूको राजर्षि जीवनशैलीमा परिवर्तन भयो भने भिड र आवेगको मनोविज्ञानमा कहिल्यै पनि रमाउन उत्साहित हुँदैनन्, नेपाली जनता ।
– सुन्दर तिवारी, वालिङ–८, स्याङजा

प्रकाशित : भाद्र १९, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?