आत्मनिर्भर नीति चाहियो

कान्तिपुर संवाददाता

कुनै बेला भृकुटी कागज कारखानाबाट उत्पादित कागज भारत, चीन र भूटानसम्म निर्यात हुन्थ्यो  । हामीकहाँ उत्पादित खाद्यान्न कोरिया पठाएर सहयोग गरिएको थियो  ।

वीरगन्ज कृषि औजारद्वारा उत्पादित कृषि औजार जापानसम्म पुग्थ्यो । देशमा धेरै उद्योगधन्दा, कलकारखानाहरू सञ्चालित थिए । तीमध्ये विराटनगर जुट मिल, हेटौंडा सिमेन्ट उद्योग, हेटौंडा कपडा उद्योग, वीरगन्ज चीनी कारखाना अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका उद्योगहरू थिए । एभरेडी ब्याट्री, एभरेस्ट टुथपेस्ट, नेबिको बिस्कुटजस्ता उद्योगहरू पनि लोकप्रिय थिए । ट्रलीबस थियो । रोपवे थियो । औषधी उद्योग थियो । मानिसहरू कृषि पेसामा रमाउँथे । कलकारखाना प्रशस्त भएको हुँदा धेरै युवा वर्गले यहीं काम पाएका थिए । देशको रकम आजजसरी विदेश जान पाउँदैनथ्यो ।
केही दशकयता नेपालमा फरक खालको ‘विकास’ हुन थाल्यो । उल्लिखित उद्योगधन्दाहरू धमाधम बन्द हुनथाले । नेतृत्व वर्गमा देशका लागि राम्रो काम गर्न होइन, सरकार र शक्तिमा गएर कसरी कमाउने भन्ने खालको प्रवृत्ति देखियो । जनप्रतिनिधिहरूको सङ्ख्या बढ्यो । राजनीतिमा सुविधा र मोजमज्जा गर्ने प्रवृत्तिले परम्पराको रूप लियो । त्यसैले यहाँ जसले ‘यस्तो–उस्तो विकास गर्‍यौं’ भनेर जति फुइँ लाए पनि ती सबै असल नीति र नेताका कारण होइन, समयक्रममा स्वाभाविक रूपमा स्वतः भएका हुन् ।
अहिले हामीकहाँ विकासको स्वरूप र परिभाषा नै बिग्रिएको छ । विदेश जान, विदेशी उत्पादन लाउन र विदेशी कुरा खान नै विकास हो भन्ने ठान्न थालिएको छ । सरकार पनि नयाँ–नयाँ देशमा श्रम सम्झौता गर्न मरिहत्ते गर्छ । नागरिकको मन यो देशमा अडिँंदैन । सरकार र नागरिकको मनसाय कस्तो मिलेको ! अनि भाषण छाँटिन्छ– मेची–महाकाली, नारा लगाइन्छ– ‘समृद्ध नेपाल सुखी नेपाली !’
वास्तवमा असल नेता, आत्मनिर्भर नीति र राष्ट्रवादी भावना नभएसम्म हामीले समृद्धि हेर्न/भोग्न गाह्रै छ ।
– वृन्दा श्रापित, गुमनाम टोल, ओखलढुंगा

प्रकाशित : भाद्र ३, २०७६ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

आधार आवश्यकताको खोजी

कान्तिपुर संवाददाता

गाँस, बास, कपास, औषधि–उपचार, शिक्षा, खानेपानी र सजिला बाटाघाटा जनताका न्यूनतम आवश्यकता हुन्  । यति सानो मुलुकमा तीन–तीनवटा सरकार छन्, तर कसैले सिन्को भाँच्दैनन्  ।

सरकारमा हुनेहरू देश र जनताका लागि आकाशका तारा झार्ने डिङ हाँक्छन्, कामचाहिँ केही गर्दैनन् । नीति निर्माण तहमा बसेकाहरूको ध्यान ठूलठूला सपना देखाउनभन्दा जनताका आधारभूत आबस्यकता पूरा गर्नतिर चाहिँ जानुपर्ने होइन र ? एउटा बिरामी सिटामोल खान नपाएर मरिरहेको छ, यात्रुले सडकमा सास्ती खेपिरहेको छ, जलस्रोतको धनी देशका जनता एक बोतल पानी किन्न ३० रूपैयाँ तिर्न बाध्य भइरहेका छन् । यहाँभन्दा ठूलो विडम्बना अर्को के होला ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र ३, २०७६ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्