सार्वजनिक अभिलेखका लागि नयाँ मन्त्रीका विशेषता

कान्तिपुर संवाददाता

नवयिनुक्त पर्यटनमन्त्री योगेश भट्टराईबारे मिडियामा समाचार सम्प्रेषण हुँदा निम्न कुरा नियमित रूपमा छुटाइने गरेको हुँदा सार्वजनिक अभिलेखका लागि प्रस्तुत गर्न चाहन्छौं

-हाम्रो सत्याग्रह अभियान चलिरहँदा सरकारको निरंकुश चरित्रको प्रकटीकरण भट्टराईका रूपमा भएको थियो । जबकि हामी कुनै सरकार वा पार्टी विशेषका विरुद्ध लडेको नभई देशको स्वास्थ्यसेवा र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्न तथा समाजमा सुशासन र जवाफदेहिता कायम गर्न निरन्तर संघर्षरत छौं । सबै पार्टीका सरकारसँग हाम्रा माग उही छन् : योग्य विद्यार्थीले निःशुल्क वा न्युनतम शुल्कमा चिकित्सा वा स्वास्थ्य शिक्षा पढ्न पाउनुपर्‍यो । सरकारले अधिकतम सार्वजनिक स्वास्थ्य संस्था पुर्‍याएर दुर्गममा बस्ने विपन्नका लागिसमेत गुणस्तरीय स्वास्थ्यसेवा पुर्‍याओस् ।
-दुर्गमका जनताको सेवा गर्ने वाचासहित चुनाव जितेर जनताका लागि नभई सीमित मेडिकल माफियाको स्वार्थ अनुसार कानुन नै तोडमोड गर्ने प्रक्रियामा संसद र सरकार दुवै लागे । संसदीय समितिबाट त्यस्तो तोडमोड गर्न र निरन्तर त्यसको बचाउ गर्न भट्टराईको मुख्य योगदान थियो ।
-दुर्गमका जनताले पाउने सेवाको गुणस्तर बढोस् भनी प्रमाणपत्र तह मुनिका कार्यक्रम ‘फेजआउट’ गर्न माथेमा कार्यदलले सिफारिस गरेकोमा भट्टराईले त्यसविरुद्ध भ्रम फैलाएका थिए ।
-पार्टी सम्बद्ध माफियाको अमूक मेडिकल कलेजका लागि प्रस्तावित चिकित्सा शिक्षा आयोगको भूमिका नै खुम्च्याउने हदसम्मको लज्जास्पद काम संसदबाट गरेपछि लोकलाजकै कारण नेकपाकै धेरै नेताले त्यसको बचाउ गरेका थिएनन् । तर लाज पचाएर त्यसको बचाउ गर्ने मुख्य व्यक्ति भट्टराई थिए ।
-सत्याग्रहको नैतिक बलसित जुध्न नसकेपछि आपराधिक पृष्ठभूमिको नक्कली अनशनकारी सिर्जनामा उनको मुख्य भूमिका थियो । नक्कली अनशनकारीको हवाई यात्रादेखि आईओएमका पदाधिकारीलाई धम्क्याएर शिक्षण अस्पतालमै ‘काउन्टर–अनशन’ गराउनमा उनी प्रत्यक्ष संलग्न थिए ।
-युवा नेता भनिए पनि नेपाली राजनीतिमा संस्थागत तमाम जालझेल र अनैतिक व्यवहार वृद्ध पुस्तामा जति नै भट्टराईमा पनि भेटिन्छ ।
राजनीतिको अर्थ जतिसुकै अनैतिक हथकण्डा अपनाएर भए पनि आफू पदमा पुग्ने, परिवारका सदस्यलाई पदमा पुर्‍याउने, सार्वजनिक संस्थाहरूको दोहन गरेर करोडौं नागरिकको दुःखको मूल्यमा आफू र परिवारलाई धनी बनाउने हो भन्ने मान्यता उनको नियुक्तिले पुनःस्थापित गर्छ । त्यसो हैन र राजनीति भनेको आम नागरिकको सेवा हो भने राजनीतिज्ञहरू इमान तथा सर्वसाधारणको सेवा गरेको आधारमा पुरस्कृत हुनुपर्छ र पदमा पुर्‍याइनुपर्छ । तब मात्र समाजमा न्याय र सुशासन स्थापित हुनसक्छ । त्यसका लागि हाम्रो संघर्ष जारी छ ।

– डा. गोविन्द केसी, त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं

प्रकाशित : श्रावण २१, २०७६ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्

भ्रमण वर्ष प्रवर्द्धन गर्न बेलायतमा पैदल यात्रा

कान्तिपुर संवाददाता

लण्डन — नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन गर्ने उद्देश्यले वेल्सको ब्रेकनमा ३ दिने क्याम्पिङ र हाइक फर नेपाल (लामो दूरीको पैदल यात्रा) गरिएको छ।

पोखरेली मन्च यूके र वी विल राइज फाउन्डेसनको संयुक्त आयोजनामा अगस्ट २ देखि ४ तारिखसम्म आयोजित 'हाइक फर नेपाल' कार्यक्रमले संयुक्त अधिराज्यको वेल्सलाई नेपालमय बनायो ।

बेलायतभरबाट सहभागी हुन आएका विभिन्न उमेर समूहका करिब ३०० जना पैदल यात्रीहरुले वेल्सको लाङ्गघोर्स माउन्टेनमा ९ किलोमिटर लामो पैदल यात्रा उत्साहका साथ पूरा गरे। सहभागी ४ वर्षका बालकदेखि स्वदेशी/बिदेशी जेष्ठ नागरिकको पनि उपस्थिति थियो।

नेपाल सरकारले घोषणा गरेको 'नेपाल भ्रमण वर्ष २०२०' प्रवर्द्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै हाइकिङ कार्यक्रमका प्रमुख संयोजक खुशीमान गुरुङले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने बताए ।

आयोजना स्थलमा नेपालको मानचित्र, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको आकृति र भूकम्पले तहसनहस पारेको ३ करोड नेपालीको अमूल्य धरोहर धरहरा निर्माण गरी विश्व शान्तिका लागी दीप प्रज्वलन समेत गरिएको थियो । भूकम्पमा ज्यान गुमाउनेहरुको स्मृतिसँगै नेपालकै पहिचान बनेको उक्त धरहरा यथासक्य छिटो निर्माण सम्पन्न गरियोस् भन्ने सन्देश स्वरुप सोको प्रतिमूर्ति बनाइएको पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले बताए। आयोजनास्थल नेपालमय बनाउन र सो सन्देश दिन करिब ६ मिटर (१८ फिट) अग्लो धरहरा गुरुङ आफैले निर्माण गरेका थिए।

कार्यक्रममा मुख्य अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले यस्ता कार्यक्रमले निरन्तरता पाइरहनु पर्ने उल्लेख गर्दै माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएकाले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए ।

'नेपालका लागि सँगसँगै पाईला चालौं' भन्ने नाराका साथ भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु वि विल राइजको पहलमा हङकङबाट सुरु भएको हाइक फर नेपाल तेस्रोपटक बेलायतको वेल्समा आयोजना गरिएको हो ।

बिदेश बसे पनि हरेक नेपालीले आफ्नो देशका लागि केही गर्नुपर्छ भन्ने दायित्वबोध गराउने खालका यस्ता कार्यक्रम संसारभर आयोजना गर्न सकिने जनाउँदै हङकङबाट सहभागिता जनाउन आएका फाउण्डेसनका संस्थापक तुलसी गुरुङले सबैलाई आआफ्नो स्थानबाट मुलुकका लागी सकेको पहल गर्न अनुरोध गरे ।

आयोजक पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले यस्ता कार्यक्रमले नेपालीहरुबीच सद्भाव, भातृत्व र सौर्हदता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए ।

ब्यस्त बेलायती जीवनशैलीबाट केही दिन उम्किएर ३ दिने क्याम्पिङ र हाइकिङमा बेलायतभरबाट आएका सहभागीले भरपूर आनन्द उठाए। शहरको कोलाहलबाट टाढा शान्त, सुन्दर डाडाकाडांले घेरिएको ब्रेकनको लोङ्गघार्स चढ्दा अधिकांशले गाउँघरको तिर्सना मेटिएको बताए भने युवा र बालबालिकाले कम्तीमा वर्षको एक पटक स्वदेश जानुपर्छ भन्ने प्रेरणा मिलेको बताए ।

आयोजनास्थल सुन्दर शहर ब्रेकन र धम्पुसबीच गत फेब्रुअरीमा मितेरी साइनो पनि गाँसिएकोले ब्रेकनबासीको मनमा नेपालप्रति थप माया, सद्भाव र चासो बढेको छ।कार्यक्रममा ब्रेकनका मेयर काउन्सिलर एन माथिएज, धम्पूस र ब्रेकन ट्वीनिङ कमिटी यूकेका अध्यक्ष काउन्सिलर डेविड मेडिरिथ, गत मे १९ मा सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका क्याप्टेन गेथिन डेभिस लगायत थुप्रै स्थानीय र विदेशीहरु सहभागिता रहेकाे थियो ।

प्रकाशित : श्रावण २१, २०७६ १२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्