किसानको कहर

कान्तिपुर संवाददाता

 खेती किसानी साधारण नेपालीको दैनिकी हो  । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले उपभोग गर्ने खाद्यान्न, तरकारीका उत्पादक किसान नै हुन्  ।

कृषिको उत्पादन बढाउन सिंचाइ व्यवस्था गनुपर्छ । समय अनुकूल किसानहरूलाई राहत र अनुदान दिनुपर्छ । सरकारले हरेक वर्ष अनुदान दिँदै आएको छ । वर्षैपिच्छे त्यसको रकम वृद्धि पनि गरेको छ । तर टाठाबाठा र बिचौलियाहरूले मात्र त्यो अनुदान हात पार्दै आएका छन् । वास्तविक किसानले सुँघ्नसम्म पाउँदैनन् । बरु अनुदानमा भनेर आएको प्रतिकिलो १८ रुपैयाँ पर्ने मललाई ५० रुपैयाँसम्म तिर्न बाध्य हुन्छन् । त्यो पनि चाहेको बेलामा भनेजति पाउँदैनन् । सरकारी कोटा अनुसार पनि समयमा पाउँदैनन् । बढी मूल्य तिरेर प्रयोग गरिएको मलले खाद्य सामग्रीको मूल्य बढाउँछ । अर्कोतिर मल हाल्न नपाउँदा उत्पादनमा कमी आउँछ । उत्पादित वस्तुलाई सहर–बजारसम्म पुर्‍याउने समस्या त छँदैछ । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहँदै आएको कृषि पेसालाई चारैतिरबाट मारमा परेको देख्दा दिक्क लाग्छ । सरकारले अनुदान दिएर मात्र उत्पादन बढ्ने होइन । समयमै मल वीउ, कृषि औजार उपलब्ध गराउने, उत्पादित वस्तुको मूल्य तोकिदिने र बिक्री हुन नसकेका सामग्री सरकारले नै किनिदिने व्यवस्था बसाले देशका युवायुवती विदेशिनु पर्दैनन्थ्यो, कृषिमै आकर्षित हुन्थे ।
– तिलप्रसाद न्यौपाने, माछापोखरी, काठमाडौं

मध्यमवर्गीय र निम्नवर्गीय परिवारका समस्या अनगिन्ती छन् । ‘मलमा पनि बिचौलिया’ शीर्षकको खबर चिन्ताको विषय हो । किसानले सन्तोषको सास फेर्न अरु कति दशक कुर्नुपर्ला ? कृषिप्रधान देशमा कृषकले तिर्ने मलको मूल्य सरकारले किनेको भन्दा ३५० प्रतिशत बढी पर्ने गरेको यथार्थ कृषिको व्यावसायीकरण, आधुनिकीकरणको बारेमा भाषण गरेर नथाक्ने शीर्ष नेतृत्वका लागि ततिलो थप्पड होइन र ? कृषि सामग्री कम्पनीले हेटौंडा कार्यालयमा युरिया मलको मूल्य किलोको १४ रुपियाँ तोकेकोमा त्यहाँबाट ६१ किलोमिटर टाढाको दामनमा कृषकले ५० रुपियाँसम्म तिर्नुपर्छ । सुगम ठाउँमा त यस्तो दुर्दशा छ भने दुर्गमका कृषकले कति संघर्ष गर्नुपर्ला ? युरियामा ७० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम भए पनि बिचौलियालाई केही गर्नसकेको देखिँंदैन । धूर्तहरूले सर्वसाधारणमाथि वितण्डा मचाउने, रजाइँ गरेर नथाक्ने उदाहरण यो मात्र होइन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं


चारैतिर बिचौलिया चल्दो किन लौ यहाँ ।
जहाँ पाइन्छ धेरै नै विना लगानीको यहाँ ?
डर हुन्न कतै डुब्ला भन्ने शंका रत्तिभर ।
चम्केको छ निकै ठूलो व्यापार अति भर्भर ।।
ठूलैका आडमा हुन्छन् ठूलै नै हात पार्छन् ।
जान्नेले जित्छ कौडाझैं नजान्ने बरु हार्छन् ।
सुल्टो–उल्टो बनाएर लडाउन ऊ जान्दछ ।
विना लगानीको नाफा हसुर्न गोल हान्दछ ।
न लाग्छ असिना बाली न बादल न त क्यै झरी ।
सोझालाई बिचौलिया रुवाउँछन् कठैबरी !
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : जेष्ठ २४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

नसर्ने रोग बढ्दै

कान्तिपुर संवाददाता

टीकापुर — सर्नेभन्दा नसर्ने रोगका कारण मानव मृत्यु दर बढदै गएको छ । आधुनिक जीवनशैलीका कारण नसर्ने रोगबाट हुने मृत्युदर बढदै गएको हो । 

सहरीकरण र आधुनिकीकरणले मानिसको जीवनशैली, खानपानमा आएको परिवर्तनले नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढेको डा. अनुपविक्रम बीसीले बताए । उनले भने, ‘नेपालमा ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोग बनेको छ ।’ डा. बीसीसहित विश्व स्वास्थ्य संगठनको टोली हालै टीकापुर पुगेर यसबारे अध्ययन गरेको हो ।

नसर्ने रोगले लामो अवधि र सुस्त गतिमा असर पार्छ । यस्ता रोग लागेकाहरू तत्काल उपचार नगर्ने र अन्तिम अवस्थामा मात्र अस्पताल जाँदा आर्थिक खर्च बढेको तथा रोग पनि निको नहुने डा. बीसीको भनाइ छ । उनका अनुसार नेपालमा करिब ६० देखि ७० हजार क्यान्सर रोगी अस्पताल पुग्छन् ।

अस्पताल गएका करिब ७० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ । उनले भने, ‘समयमा अस्पताल गए कम्तीमा ६० प्रतिशतलाई बचाउन सकिन्छ ।’ नसर्ने रोगले नेपालमा करिब २५ हजारको मृत्यु हुने गरेको छ । विश्वमा करिब ४ करोड १० लाखको नसर्ने रोगबाटै मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

सुर्तीजन्य पदार्थ, मदिरा सेवन, बढी नुनिलो गुलियो र चिल्लो खानेकुरा खाने, नियमित व्यायाम नगर्ने कारणले नसर्ने रोग लाग्ने उनको भनाइ छ । नेपालमा मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, दीर्घ श्वासप्रश्वास र क्यान्सरलाई सरकारले नसर्ने रोगका रूपमा लिएको छ ।

यी रोगबाट बच्न र बचाउन सुरुमा स्वास्थ्य बिमा लागू भएका कैलाली र इलामबाट अभियान सुरु गरिएको छ । टीकापुर नगरपालिकामा पनि ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ मेरो वर्ष अभियान २०७६ नाराका साथ अभियान थालिएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७६ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्