भ्रमण वर्ष सफल नबन्ने छाँट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० मा तराईदेखि हिमालसम्म पुग्ने प्रत्येक पर्यटकले नेपालभित्र रहँदा नौलो अनुभव प्राप्त गर्ने र फर्कंदा सकारात्मक सन्देश लिएर जाने आशा राखिएको छ  । तर अहिलेसम्मको तयारी, गतिविधिको मूल्यांकन गर्ने हो भने सन्तोष लिने ठाउँ देखिँंदैन  ।

कतिपय अवस्थामा सानो संख्यामा आउने विदेशी पाहुना थेग्न हम्मे–हम्मे पर्ने स्थिति देखिँंदा भ्रमण वर्षका लागि २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएपछि प्रथमतः हवाइ र स्थलमार्ग सुव्यवस्थित गरिनुपर्ने हुन्छ, तर त्यस्तो भएको पाइँदैन । हवाइमार्गबाट आउने पर्यटकलाई अध्यागमनदेखि विभिन्न हन्डर र अप्ठ्याराको सामना गर्नुपर्ने हुन्छ । विमानस्थलबाट बाहिर निस्केपछि ट्याक्सी ड्राइभरबाट ठगिने डरका साथै यातायातको अस्तव्यस्तताले सुरुमै विदेशीको मन खिन्न हुने गरेको पाइन्छ । सो बाहेक राजधानीको धुलोमैलोले धेरै निसासिन थाल्छन् भने पानी परेपछि हिलाम्य बनेको सडकले उनीहरूको मनमा अर्को असन्तुष्टि देखिन थाल्छ । फुटपाथको अपर्याप्तता, सडक पार गर्ने गाईजात्रे पारा, ट्राफिक बक्ती, जेब्रात्रसिङको कमी, अव्यवस्थित ढल निकास, भत्केका सडकको कुरूपता, सर्वत्र फोहोरको डंगुर, खाल्डाखुल्डी, कार्यालय समयमा तँछाड–मछाड गरेर दुर्घन्ध फैलाउँदै हिंँडेका फोहोरेक्बो ट्रक, ट्याक्टर, ठेलगाडा, रिक्साले हाम्रो स्तर र हैसियत उदाङ्गो बनाइरहेका छन् । सरकारले अबको १० महिनामा यावत बेथितिको व्यवस्थापन गरी पर्यटकलाई सन्तुष्टि दिँंदै भ्रमण वर्ष सफल बनाउन सक्लान् र ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : फाल्गुन १५, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्

भ्रष्टाचार नियन्त्रण र अख्तियार

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममा अख्तियार प्रमुख नवीन घिमिरेको अन्तर्वार्ता चित्तबुझ्दो लाग्यो  । भ्रष्टाचार नियन्त्रण गर्ने उहाँका योजना र थालेका कार्य उहाँले भनेजसरी अघि बढेमा राष्ट्रले अवश्य फाइदा लिन सक्नेछ  ।

सरकारले मन्त्रिपरिषदबाट निर्णय हुने नीतिगत निर्णयको नामबाट हुने माथिल्लो तहको भ्रष्टाचार तथा अनुचित कार्यलाई समेत अख्तियारको अधिकार क्षेत्रभित्र ल्याउनु पर्नेछ । अन्यथा सरकारको सुशासनलाई कहिल्यै पनि मद्दत पुग्ने छैन ।


निजामतीका माथिल्लो तहका सचिव तथा महानिर्देशकहरूलाई आआफ्ना अन्तर्गतका भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टाचारजन्य कार्य रोकथाम गर्न जिम्मेवार बनाउनुपर्छ । कुनै पनि मन्त्रालयको कुनै पनि तहमा भ्रष्टाचार भएमा या तोकिएको कार्य समयमा सम्पन्न नभएमा सबभन्दा पहिला त्यस विभागका प्रमुख या सचिवलाई जवाफदेही बनाएमा उनले आफै यस कार्यको छानबिन गरी तथ्य पत्ता लगाउन सक्छन् । अहिलेसम्म धेरै भ्रष्टाचार माथिदेखि तलसम्मका कर्मचारीका सेटिङमा हुँंदै आएका छन् । यसलाई अख्तियारले समेत प्रभावकारी कारबाही गर्नसकेको छैन । जो एक्ला–एक्लै भ्रष्टाचारमा संलग्न छन््, तिनैमात्र अख्तियारको स्टिङ अपरेसनमा पर्दै आएका छन् । नत्र भन्सार, कर, मालपोत, सडक विभाग, यातायात विभाग, भूमिसुधारका ठूलठूला भ्रष्टाचारका घटना ज्यादै कममात्र बाहिर आएका छन् । जग्गा दलाल र भूमाफियाहरूले सरकारी जग्गा प्रायः सबै निजी बनाई पास गरिसकेका छन् । यसतर्फ अख्तियारको ध्यान अवश्य पुग्छ होला । वाइड बडी विमानको खरिदमा भएको कमिसनको खेल र अख्तियारका पूर्व आयुक्त राजनारायण पाठकलाई हुने कारबाहीबाट पनि अख्तियारको कार्यान्वयन पक्ष कति बलियो छ ? देखिनेछ ।
– पूर्ण ओली, चावहिल, काठमाडौं

‘पाठकलाई घुस ९० करोडको अनियमितता लुकाउन’ पढ्दा अचम्म लाग्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र लम्बोदर न्यौपाने बीचको समाचार चाखलाग्दो छ । उनीहरूको क्रियाकलाप र रवैया हेर्दा अहिले पनि शंकास्पद छ । थप अनुसन्धान गर्दा अरु पनि प्रमाण भेटाउन सकिन्छ । यसका लागि उनीहरूको पुरै जीवनको पाना पल्टाउनुपर्छ । र त्यो आवश्यक पनि छ । त्यसो गरिएन भने भ्रष्टाचार ढाकछोप हुन्छ । भ्रष्टाचारीहरूको मनोबल बढ्छ । भ्रष्टाचार झन फैलिन्छ । जसले आफू स्वयं भ्रष्टाचारको खेती गरेर जीवन पालेका छन्, मोटाएका छन् र सारा परिवार देश/विदेश चहारेका छन्, उनीहरूलाई नै भ्रष्टाचार नियन्क्रण गर्न अख्तियारको आयुत्त बनाउँदा भ्रष्टाचार पाल्छन् कि नियन्त्रण गर्छन् ?
– राजेश विद्रोही, लहान, सिरहा

प्रकाशित : फाल्गुन १५, २०७५ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्