सिनेमा र समाजको वास्तविकता

नेपालमा बनिरहेका सिनेमाले कस्ता प्रश्न उठाइरहेका छन्, कस्तो संस्कृतिको प्रवर्द्धन गरिरहेका छन् र समाजमा कस्तो प्रभाव पारिरहेका छन्, बौद्धिक वर्गले समीक्षा, छलफल र विमर्श गरिरहनुपर्छ ।
उपभोक्तावादी पुँजीवादले आदिवासी सीप, कला र पौरखलाई नै ध्वस्त पारिदिएको दृश्य निकै गम्भीर छ । यो भोजपुरको एउटा गाउाको मात्रै होइन, देशैभरिका आदिवासीको वास्तविक कथा हो । 

कला, साहित्य र सिनेमा आदिलाई सामाजिक यथार्थ अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा लिइन्छ । समाजलाई केन्द्रमा राखेर गरिने यस्ता सिर्जनाले बाँचेको समाज, अभ्यास गरिएका संस्कृति र भोगिरहेको जीवनकै प्रतिबिम्ब उतार्छन् ।

सिनेमा र समाजको वास्तविकता

यतिसम्म कि स्वैरकल्पनामा आधारित सिर्जनाको स्रोत पनि सर्जक बाँचिरहेको जीवन र सामाजिक पर्यावरण नै हो, अर्थात् यस्ता सिर्जनाको मुख्य आधार समाज, संस्कृति नै हुन् । तर, ती विषयवस्तु कसरी अभिव्यक्त हुन्छन् भन्ने कुरालाई प्रभाव पार्ने तत्त्वचाहिँ अनगन्ती हुन सक्छन् । मूलतः समाज, राजनीति, अर्थतन्त्र, पर्यावरण, संस्कृतिका सन्दर्भमा सर्जकको वैचारिकी वा विश्व दृष्टिकोण नै सिर्जना वा अभिव्यक्तिमा रूपान्तरित हुने हो । वैचारिकी नै सिर्जनालाई निर्देशित गर्ने सबैभन्दा बलियो पक्ष हो, सर्जकको विषयवस्तुको छनोट, उत्पादन र प्रस्तुतिमा त्यसको प्रभाव परिरहेको हुन्छ ।

उदाहरणका लागि आदिवासी जनजातिको जीवनपद्धति, संस्कृति र सभ्यतालाई हेर्ने वैचारिक दृष्टिकोणकै प्रतिबिम्ब सिर्जनामा रूपान्तरित हुने हो । यस्ता विषयवस्तुमा स्पष्ट दृष्टिकोण, गहिरो ज्ञान र अभिव्यक्त गर्ने कला भएका सर्जकको सिर्जना निकै बलियो र प्रभावकारी हुन्छ । नेपाली सिनेमाको क्षेत्रमा हेर्ने हो अहिले निकै चर्चामा रहेको ‘गाउँ आएको बाटो’ लाई यसैको एउटा बलियो उदाहरणका रूपमा लिन सकिन्छ । यो लेखमा यही सिनेमाको वरिपरि रहेर सामाजिक अन्तरविरोधबारे चर्चा गरिएको छ ।

सिर्जनालाई उत्प्रेरित गर्ने अर्को स्रोत विषयवस्तुप्रति सर्जकको रुचि, समयको आवश्यकता र दायित्वबोध पनि हो । अहिले अन्तर्राष्ट्रिय रूपमा एउटा सिनेमा निकै चर्चामा छ— एभा डुभर्नरी निर्देशित ‘ओरिजिन’ । सन् २०२० मा इजाबेल विल्कर्सनको पुस्तक ‘कास्ट : द ओरिजिन्स अफ आवर डिस्किन्टेन्स’ प्रकाशित भएको थियो । अफ्रिकन–अमेरिकन मूलकी इजाबेलले पुस्तकमा मिहिन रूपमा खोजी गरेर रंगभेद र दक्षिण एसियामा रहेको जात व्यवस्थाबारे चर्चा गरेकी छन् ।

सोही पुस्तकका आधारमा एभाले ओरिजिन तयार पारेकी हुन् । यहाँ महत्त्वपूर्ण सवाल के छ भने एभा र इजाबेल दुवै अफ्रिकन–अमेरिकन हुन् । त्यसैले उनीहरूलाई रंगभेद र जात व्यवस्थाले छोयो । चर्चित पुस्तक र सिनेमा तयार भयो । यी दुवै सिर्जनाको स्रोत निश्चित समुदायमाथि भइरहेको हिंसा, विभेद र बहिष्करण नै हो । जसलाई उनीहरूले चित्रण गरे र त्यसविरुद्ध भएका संघर्षलाई पुस्तक र सिनेमामार्फत अभिव्यक्ति गरे । यस्तो पुस्तक र सिनेमा निर्माणमा अफ्रिकन–अमेरिकनले नै नेतृत्व लिनु विषयवस्तुप्रतिको जिम्मेवारीबोध पनि भएको ती सर्जकले बताउने गरेका छन् ।

गाउँ आएको बाटो

नेपाली समाजका विविध मौलिक संस्कृति, सभ्यता र सामाजिक अन्तरविरोध समेटिएका सिनेमा बन्न सुरु भएका छन् । वास्तवमा यस्ता सिनेमाले बजार नियन्त्रित कमसल मनोरञ्जनात्मक सिनेमालाई बलियो चुनौती दिइरहेका छन् । नेपाली सिनेमामा यस्तो रूपान्तरण ल्याउन निर्देशक नवीन सुब्बाको निकै महत्त्वपूर्ण भूमिका छ । उनीद्वारा निर्देशित ‘गाउँ आएको बाटो’ भर्खरै नेपालमा प्रदर्शनमा आएको छ । यो सिनेमा हेरिसकेपछि यसले महत्त्वपूर्ण विशेषता बोकेको अनुभूति भएको छ ।

यो सामान्य मनोरञ्जनात्मक सिनेमा होइन । यसले नेपाली आदिवासी समाजको एउटा बलियो पाटोलाई अभिव्यक्त गरेको छ । समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा सिनेमामा आदिवासी राई जातिको पारिवारिक र सामाजिक सम्बन्ध, आर्थिक प्रणाली र सांस्कृतिक अभ्यासलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ । जस्तोः श्रीमान् र श्रीमतीबीचको श्रम र जिम्मेवारीमा जबरजस्त पितृसत्ता हाबी छैन । अर्कोतिर, परिवार र सन्तानबीचको सुमधुर प्रेम सम्बन्धलाई मीठो किसिमले देखाइएको छ । अर्कोतिर आम्दानीमाथि महिलाको स्वामित्व पनि छ भन्ने संकेत सिनेमामा गरिएको छ । यसका साथै यो सिनेमाले मूलतः आदिवासी जनजाति र त्यसभित्र राई समुदायको परम्परागत ज्ञान, सीप र जीवन पद्धतिलाई मिहिन रूपमा समावेश गरेको छ । लोप हुँदै गरेको आदिवासी सभ्यता र संस्कृतिलाई यो सिनोमाले दस्ताबेजीकरण गरेको भन्न सकिन्छ ।

विकास सबै जनताका लागि चाहिन्छ । मानव जीवनलाई सहज बनाउन, आर्थिक जीवन चलायमान बनाउन र जीविकोपार्जनका लागि विकास आवश्यक छ । तर, त्यस्तो विकास विनाशको स्रोत हुनुहुन्न । नेपालमा भइरहेका विकासले कसलाई फाइदा र कसलाई घाटा पारिरहेको छ, यस सन्दर्भमा धेरै अध्ययन–अनुसन्धान त भएका छैनन् तर यो सिनेमाले विकास परियोजनाले कसरी आदिवासी जनजातिलाई नकारात्मक असर पारेको छ भन्ने विषयलाई बलियो रूपमा उठाएको छ ।

२०७७ माघमा राजु स्याङ्तानको ‘माटो खोसिएको एउटा गाउँको कथा’ शीर्षकमा बलियो फिचर प्रकाशित भएको थियो । उक्त फिचरमा महोत्तरी खयरमारामा विकास पसेपछि गरिब तामाङ र सीमान्तीकृत समुदायको झन्झन् बर्बादी हुँदै गएको गहन प्रश्न उठाइएको थियो । यस्तै प्रश्न ‘गाउँ आएको बाटो’ सिनेमाले उठाएको छ । गाउँमा बाटो (सडक) पुगेसँगै त्रिपाल भित्रिएपछि राई माइलाको चित्रा बनाउने पेसा खोसिन्छ । बजारका प्लास्टिकका भाँडावर्तनले फिफीको व्यापार ध्वस्त पारिदिन्छ । यति मात्रै होइन, गाउँमा भित्रिएका बियर, कोकजस्ता पेय पदार्थले आदिवासी उत्पादन प्रणालीलाई नै विस्थापित गरिदिन्छ । उपभोक्तावादी पुँजीवादले आदिवासी सीप, कला र पौरखलाई नै ध्वस्त पारिदिएको दृश्य निकै गम्भीर रूपमा प्रस्तुत गरिएको छ । यो भोजपुरको एउटा गाउँको मात्रै होइन, देशैभरिका आदिवासीको वास्तविक कथा हो ।

बजारीकरणसँगै परम्परागतदेखि नै सीप, कला, पेसा र श्रममा निर्भर दलित समुदायको ठूलो हिस्सासमेत पेसाबाटै विस्थापित भइसकेका छन् । एकातिर परम्परागत पेसा खोसिने वा मासिने, अर्कातिर वैकल्पिक व्यवस्था नहुने, यो समस्याका कारण समुदाय झन्झन् संकटको भुमरीमा फसिरहेका छन् । मौलिक सीप, कला र ज्ञानलाई विस्थापित गरेर हुने विकासले आदिवासी जनजाति समुदायलाई कसरी परनिर्भर बनाइरहेको छ ? यो नेपालका अर्थशास्त्री वा अर्थविद् र योजना निर्माताले उत्तर दिनुपर्ने गम्भीर प्रश्न हो । जसलाई सिनेमाले सशक्त रूपमा उठाएको छ ।

विकास जनताको आवश्यकता र सुविधाका लागि आवश्यक छ । तर, विकासको प्रतिफल सबैभन्दा बढी गरिब, मजदुर र सीमान्तीकृत समुदायले पाउनुपर्छ । जनताको दुःख, कष्ट र संकट न्यूनीकरण गर्ने विधि हुनुपर्छ । पुँजीपतिले श्रमजीवी, गरिब र सीमान्तीकृत समुदायमाथि नै शोषण गर्ने र थातथलोबाटै विस्थापित हुनुपर्ने परिस्थितिको कारण विकास बन्नु हुँदैन । तर, गाउँ आएको बाटो सिनेमामा देखाइएझैं सडकले सहज जीवन बाँचिरहेको राई माइलाको जीवनका कष्टैकष्टको भारी बोकाइदिएको छ । सडकले बियर र कोकजस्ता बहुराष्ट्रिय कम्पनीको बजार बिस्तार गरेको छ । नयाँ उपभोक्तामाझ व्यापार पुर्‍याएको छ ।

उपभोक्तावादी लहड र प्रतिस्पर्धा बढाएको छ । बालबालिकामा ती वस्तुको उपभोग गर्नु आफ्नो हैसियत प्रमाणित गर्ने हो भन्ने तर्क स्थापित गरिएको छ । सडकसँगै पुगेको उपभोक्तावादी आर्थिक प्रणाली र संस्कृतिले राई माइलाले सन्तान मात्रै गुमाउनुपरेको छैन कि आफ्नो रगत र पसिनाले सिँचेको माटो र गाउँ नै छाडेर अर्को दुःख र कष्टको पहाड बोक्न अनिश्चित गन्तव्यतिर लाग्नुपरेको छ । सिनेमामा उठाइएको यो सवाल निकै गम्भीर र मर्मस्पर्शी छ । वास्तवमै देशैभरि विकासको परियोजनाअनुसार सडक पुगेको छ, बजारका उपभोग्य सामग्री पुगेका छन्, तर विकास पुगेसँगै गाउँ छाड्नेको ताँती देशैभरि बढ्दै गइरहेको छ । यो धेरैजसो नेपाली गाउँको मर्मस्पर्शी कथा हो ।

विकाससँगै विस्थापित हुनुपर्ने बाध्यतामा पुग्ने धेरैजसो निम्न वर्गका मानिस नै छन्, यो सिनेमाले उठाएको अर्को महत्त्वपूर्ण पक्ष हो । सिनेमामा देखाइएका निम्न मध्यमवर्ग र मध्यमवर्गका मानिस विदेशसम्म जानुपर्ने बाध्यता भए पनि विस्थापित नै हुने अवस्था छैन । यसको अर्थ विकासले सबैभन्दा कमजोर वर्गको जीवन सहज बनाउनुपर्ने थियो तर श्रम, सीप र पेसाबाट मात्रै होइन पुँजीवादी उपभोक्तावादी संस्कृतिले पनि सबैभन्दा धेरै यही वर्गलाई प्रहार गर्छ भन्ने सन्देश यो सिनेमामा छ । यसले आदिवासी समाजको वर्गीय परिवेश र सडकका कारण प्राप्त हुने फरक परिणामलाई पनि प्रभावकारी रूपमा देखाएको छ ।

गम्भीर प्रकृतिको सिनेमा निर्माण आफैंमा चुनौतीपूर्ण काम हो । समाजव्यवस्था, राजनीतिक परिवेश, अर्थतन्त्रको परिचालन र सांस्कृतिक परिवेशका साथै राज्यको चरित्रको मिहिन अध्ययनबिना यस्तो सिनेमा निर्माण हुन कठिन हुन्छ । यो सिनेमाले उठाएको विषयवस्तुसँगै कलाकारहरूको अभिनय अत्यन्तै जीवन्त र प्रभावशाली छ । अंशमा कुनै पटकथा वा सामग्रीको प्रयोगमा तादात्म्य मिल्यो कि मिलेन भन्ने विषयमा टिप्पणी हुन सक्छ, तर समग्रमा सिनेमाले उठाएको विषयवस्तुको गम्भीरता र प्रस्तुतिलाई हेर्दा यसले गम्भीर सवाललाई सरल रूपमा उठाएको छ । यो विषयवस्तु र प्रस्तुतिका दृष्टिले निकै फरक र बलियो छ ।

मौलिक सिनेमा प्रवर्द्धन

सिनेमा निर्माण आफैंमा बौद्धिक काम हो । तर, नेपालका सिनेमाबारे सार्वजनिक बौद्धिकले खासै चर्चा, छलफल र विमर्श गरेको पाइँदैन । सिनेमालाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्रै हेर्ने वा निर्माताले विषयगत सवालमा गम्भीर सिनेमा निर्माण नगर्ने प्रवृत्ति पनि देखिन्छ । दुवै कारणले सिनेमाबारे सार्वजनिक विमर्श खासै हुने गरेका छैनन् । तर, गाउँ आएको बाटोजस्ता सिनेमाले उठाएका प्रश्नको सामाजिक र अर्थराजनीतिक उत्तर खोज्ने वा दिने कर्तव्य राजनीतिक नेतृत्व, नीति निर्माता र प्राज्ञिक र सार्वजनिक बौद्धिकको पनि हो ।

नेपालमा बनिरहेका सिनेमाले कस्ता प्रश्न उठाइरहेका छन्, कस्तो संस्कृतिको प्रवर्द्धन गरिरहेका छन् र समाजमा कस्तो प्रभाव पारिरहेका छन् भन्ने सन्दर्भमा समीक्षा, छलफल र विमर्श गरिरहनुपर्छ । यसका लागि कला, संस्कृति र सिनेमाका साथै राजनीतिक र सार्वजनिक बहसमा संलग्न व्यक्तिले चासो र चिन्ता पनि राख्न जरुरी छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x