कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

ज्येष्ठ नागरिकका अपेक्षा

अति व्यस्त जीवनशैली र प्रविधिको उच्च प्रयोगले परिवारका ज्येष्ठ नागरिकप्रति पर्याप्त समय पुग्न सकेको छैन । त्यसैले उनीहरूलाई अब दया, माया, करुणा, प्रेम र सद्भावको झन् बढी खाँचो देखिन्छ ।

विश्वव्यापीकरण, बढ्दो सहरीकरण, औद्योगिकीकरण, आन्तरिक बसाइँसराइ, सामाजिक परिवेश, वैदेशिक रोजगारी र व्यस्त जीवनका कारण परिवारमा ज्येष्ठ नागरिक एक्लो हुँदै गइरहेका छन् । ग्रामीण भेगमा जग्गा र घर कुरेर बस्ने ज्येष्ठ नागरिक नै भेटिन्छन् । मानवता दिन प्रतिदिन हराउँदै गएको छ ।

ज्येष्ठ नागरिकका अपेक्षा

आधुनिकतासँगै मान्छेको दैनिकी प्रविधिमा रमाएको छ । कृत्रिम बौद्धिकताले मानिसको सिर्जनात्मक शक्ति ह्रास हुँदै छ । यसो हुँदा अब दया, माया, करुणा प्रेम र सद्भावको झन् बढी खाँचो छ । हिंसा, दुर्व्यवहार, मानवताविरुद्धका घटना बढ्दै गइरहेका छन् । ज्येष्ठ नागरिकहरू यसबाट अछूतो रहन सकेका छैनन् । आर्थिक, सामाजिक, शारीरिक, मानसिक र यौन दुर्व्यवहारको सिकार बनिरहेका छन् ।

हिजोको संयुक्त परिवार आज ‘न्युक्लियर फेमिली’ मा परिणत हुँदै गयो । आफ्ना बालबच्चाबाहेक जन्म दिने बाबुआमाका लागि सन्तानले समय निकाल्न सक्दैनन् । एकछिन उनीहरूसँगै बसी उनीहरूका कथाव्यथा सुन्न पनि भ्याउँदैनन् । अति व्यस्त जीवनशैली, यान्त्रिक उपकरणको प्रयोग बढेको छ । आफ्नै छोरा, बुहारी, नाति, नातिनीसँग बिरानो बन्दै गएका छन् । सन्तानहरू जन्म दिने आमाबुबालाई घरको बोझ सम्झी आश्रम पठाएर कर्तव्य र दायित्वबाट विमुख हुँदै गएको दुःखलाग्दो अवस्था बनेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वृद्धाश्रम तथा दिवा सेवा प्रतिवेदन २०७२ अनुसार वृद्धाश्रम, दिवा सेवा तथा हेरचाह केन्द्रलगायत १४१ वटा संस्था सञ्चालनमा छन् । ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण गर्न स्थानीय तहले ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था छ । ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र स्थापना र सञ्चालन अनुदान उपलब्ध गराउने कार्यविधि २०७६ पनि छ । प्रदेश तथा स्थानीय तहमा ज्येष्ठ नागरिकलाई शुल्क लिई वा नलिई पालनपोषण वा हेरचाह गर्न वृद्धाश्रम, दिवा सेवा केन्द्रहरू सञ्चालनमा छन् । विडम्बना, जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएका असहाय ज्येष्ठ नागरिक झनै हिंसाको सिकार भएका छन् । छोराछोरीहरू अमेरिका, युरोपलगायतका देशमा छन्, जो फर्केर आउँदैनन् । आफ्नो जग्गामा खेतीपाती गरी खान नसक्ने हुँदा ज्येष्ठ नागरिकको सुरक्षा महत्त्वपूर्ण बनेको छ । सरकारद्वारा सञ्चालित सुविधासम्पन्न आश्रममा बस्ने चाहना व्यक्त गर्नेहरूका लागि सरकार अभिभावक बन्न आवश्यक छ ।

जिउँदो इतिहासका धरोहरका रूपमा रहेका ज्येष्ठ नागरिक/विज्ञहरूको जनसंख्या दिन प्रतिदिन बढ्दै गएको विगतका तथ्यांकहरूले देखाउँछन् । नेपालमा ज्येष्ठ नागरिकको संख्या २०३८ सालमा ८ लाख ५६ हजार ६१ जना थियो । २०४८ सालमा आइपुग्दा १० लाख ७३ हजार ४ सय ८७ पुग्यो । २०५८ सालमा १४ लाख ७० हजार ३ सय ७९ जना र २०६८ सालमा २४ लाख ६९ हजार पुग्यो । जनगणना २०६८ अनुसार ६० वर्ष र सोभन्दा माथिको संख्या २१ लाख ५४ हजार ४ सय १० छ भने १०० वर्ष र सो माथिकाको संख्या ३ हजार ५ सय ६६ रहेको छ ।

२०७८ मा देशको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो । कुल जनसंख्यामा १०.२ प्रतिशत अर्थात् २९ लाख ७७ हजार ३ सय १८ ज्येष्ठ नागरिक छन् । महिला ज्येष्ठ नागरिक १५ लाख ४३ हजार ९ सय ७ जना छन् । जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । औसत आयुमा वृद्धि हुनु, मृत्युदर कम हुनु, जन्मदर पनि कम हुँदै जानुले ज्येष्ठ नागरिकहरूको जनसंख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

घरपरिवार र समाज उत्तरदायी नहुँदा व्यावसायिक रूपमा आश्रमहरू सञ्चालन भएका छन् । राज्य नागरिकप्रति उत्तरदायी हुन नसक्दा यस्ता आश्रम दयाका रूपमा मागी खाने भाँडो बन्न पुगेका छन् । कानुनमा ज्येष्ठ नागरिकलाई आफ्नो हैसियत र इज्जतअनुसार पालनपोषण तथा हेरचाह गर्नुपर्ने परिवारको प्रत्येक सदस्यको कर्तव्य हुने उल्लेख छ । जीवनयापन गर्ने कुनै आधार नभएको, पालनपोषण गर्ने परिवारको कुनै सदस्य नभएको र भए पनि अपहेलित वा उपेक्षित जीवनयापन गर्न कठिन परेको असहाय ज्येष्ठ नागरिकका लागि राज्य अभिभावक हो । तर, राज्यले अभिभावकको भूमिका निर्वाह गर्न नसक्दा विभिन्न बहानामा ज्येष्ठ नागरिक आश्रम जान बाध्य छन् । आश्रमभित्र राज्य पुगेको छ कि छैन ? ज्येष्ठ नागरिकका कथा र व्यथाले सबैको मन पोल्छ । ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनी तथा संस्थागत व्यवस्था भए तापनि कार्यान्यवन पक्ष कमजोर देखिन्छ ।

ज्ञानका पुञ्ज, जिउँदो इतिहासलाई उचित पालनपोषण, स्याहारसुसार गरी उनीहरूमा भएको अथाह ज्ञान, सीप, अनुभवको सागरलाई प्रयोग गरौं । हरेक वर्ष जुन १५ मा ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको दिवस मनाइन्छ । ज्येष्ठ नागरिकमैत्री नीति, कानुन र प्रमाणका आधारमा लैंगिक हिंसाको प्रतिवादलाई घरपरिवार, समाज, स्थानीय तह, प्रदेश र संघबाटै सम्बोधन गरी ज्येष्ठ नागरिकविरुद्ध हुने दुर्व्यवहारको अन्त्य गरौं ।

बाबुआमालाई नहेरीकन कर्तव्य विमुख हुने परिवारलाई कानुनी कारबाहीमा ल्याई आफ्नै घरलाई ज्येष्ठ नागरिकमैत्री बनाउन आध्यात्मिक जनचेतनामूलक कार्यक्रम र योजनामा पनि जोड दिनुपर्छ । संघ, प्रदेश र स्थानीय तहले कानुन, योजना र कार्यक्रमलाई बजेटमा समेटी सबैतिर ज्येष्ठ नागरिकमैत्री वातावरण तयार गर्न जरुरी छ । वृद्ध बाआमालाई वृद्धाश्रम पठाउने होइन उचित पालनपोषण गरी, माया दिई घरलाई नै ज्येष्ठ नागरिकमैत्री मन्दिर बनाऔं ।

– आचार्य मानवअधिकार अधिकृत हुन् ।

प्रकाशित : असार ७, २०८१ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×