कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

भ्रमहरूको आँखीझ्यालबाट चियाउँदा

कुनै समय निष्ठा र मूल्यमान्यताको उदाहरण बनेको व्यक्ति अर्को दिन त्यही निष्ठाको सिँढीबाट ढुनमुनिँदै झर्छ कसरी ? पर भीडमा हेर्दा भगवान् जस्तो देखिने कुनै मान्छे यथार्थमा भ्रष्ट, ठग र पतीत हुन्छ कसरी ?
केशव दाहाल

कहिलेकाहीँ त यस्तो लाग्छ, हाम्रो राजनीति भ्रमहरूको विशाल पर्वतमाला हो । के सक्कली र के नक्कली छुट्याउनै गाह्रो । विचार गरौं त, कुनै समय कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको सर्वसत्तावादविरुद्ध विद्रोह गर्ने शेरबहादुर देउवा असली हुन् कि, आजका विचारविहीन र गतिविहीन शेरबहादुर असली ?

भ्रमहरूको आँखीझ्यालबाट चियाउँदा

नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रतिस्पर्धामा उतार्ने मदन भण्डारीका उत्तराधिकारी माधव नेपाल असली हुन् कि सत्ता र शक्तिका लागि हर्दम गनगन गरिबस्ने ऊर्जाविहीन आजका माधव असली ? नेपालको सबैभन्दा संगठित पार्टी एमालेमा लगातार २० वर्ष बागी बनेर प्रतिस्पर्धा गर्ने केपी ओली असली कि आजका अहंकारी ओली असली ? दसवर्षे द्वन्द्वमा आधार तहका मान्छेलाई विद्रोहको चेतना दिने प्रचण्ड असली कि आफ्ना आसेपासेको स्वार्थमा भुलेर परिणामविहीन हुँदै गरेका भुत्ते प्रचण्ड असली ?

विचार गरौं त, नयाँ सुसंस्कृत राजनीतिको शंखघोष गर्दै ‘नो नट् अगेन’ भनेर उदाएका रवि लामिछाने असली कि सहकारी ठगीमा आरोपित लामिछाने असली ? यहाँ प्रयोग भएका नाम मात्र नाम होइनन्, नेपाली राजनीतिलाई चियाउने आँखीझ्याल हुन् । जहाँबाट हेर्दा देखिन्छन्, अनेकौं विरोधाभास । जुन विरोधाभास नै समकालीन नेपाली राजनीतिका कठोर सत्य हुन् ।

मान्छेको व्यक्तित्व बन्छ कसरी ? भनिन्छ— मान्छेको व्यक्तित्व निर्माणमा तीन चिज सबैभन्दा प्रभावकारी हुन्छन् । पहिलो, व्यक्तिले आफ्ना पुर्खाबाट प्राप्त गरेको आनुवंशिक चरित्र । दोस्रो, भौतिक संसारसँग उसले गर्ने संसर्ग । तेस्रो, व्यक्तिले आर्जन गरेको ज्ञान, चेतना, भावधारा र विवेक । आनुवंशिकी मान्छेको व्यक्तित्वमा आउने पितृहरूको प्रसाद हो । तर त्यतिले मात्र मान्छे पूर्ण हुँदैन । त्यसपछि, मान्छेको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण हुन आउँछ, व्यक्तिको सामाजिकीकरणको प्रक्रिया ।

अर्थात्, उसको भौतिक संसार । उसको संगत । घरपरिवार, साथीभाइ । स्कुल, कलेज । उसले चढेका सुख र दुःखका पहाड । त्यसपछि आउँछ, लौकिक संसारले दिएको अनुभव, ज्ञान र त्यसको लहरबाट निर्मित भावधारा । भनिन्छ— मान्छेको व्यक्तित्व निर्माणको प्रमुख तत्त्व हो आत्मचेतना । अथवा, मान्छेले आफूलाई चिन्न र बुझ्न आफैंभित्र निर्माण गरेको प्रकाश । संसारलाई हेर्ने र बुझ्ने संवेगात्मक दृष्टि । आत्मसंयमता र आत्मपरख गर्ने सामर्थ्य । आन्तरिक संघर्ष, प्रतिबद्धता र विवेक । यिनै अनेकौं भावधारा, अनेकौं रङ र सुगन्धको संयोजनबाट बन्ने एक अद्भुत चिज हो— मान्छेको व्यक्तित्व ।

मान्छेको व्यक्तित्वमा विरोधाभासचाहिँ आउँछ कसरी ? यो प्रश्नलाई बुझ्न केही विरोधाभास हेरौं । उदाहरणका लागि कुनै नेता एक दिन भयंकर क्रान्तिकारी र अर्को दिन भयंकर प्रतिक्रान्तिकारी हुन पुग्छ कसरी ? एक समय दौलत, सुख, सुविधा सबै त्यागेर, हाँसीहाँसी कारावास भोग्न तयार मान्छे, केहीपछि शक्ति, सम्पत्ति र भोगविलासमा लिप्त र भ्रष्ट हुन्छ कसरी ? कुनै समय निष्ठा र मूल्यमान्यताको उदाहरण बनेको व्यक्ति, अर्को दिन त्यही निष्ठाको सिँढीबाट ढुनमुनिँदै झर्छ कसरी ? एक दिन, हजारौं निर्धा मान्छेलाई अधिकारका लागि लड्न प्रेरित गर्ने नायक, अर्को दिन तिनै हजारौंको खलनायक बन्छ कसरी ? पर भीडमा हेर्दा भगवान् जस्तो देखिने कुनै मान्छे यथार्थमा भ्रष्ट, ठग र पतीत हुन्छ कसरी ? यहाँ सोध्न खोजिएको प्रश्न के हो भने, मान्छेभित्र दोहोरो व्यक्तित्व र विरोधाभास बन्छ कसरी ?

अर्थात्, कुनै नेता सत्तामा पुग्दा एउटा र सडकमा हुँदा अर्कौ हुन्छ कसरी ? आन्दोलनमा हुँदा एउटा र मन्त्री हुँदा अर्को बन्छ कसरी ? चुनावमा एउटा रंग र चुनावपछि अर्को रंगको देखिन्छ कसरी ? अथवा, मान्छे यस्तो बेकामे, पत्रु र दोग्ला बन्छ कसरी ? यी प्रश्न हुन्, हाम्रो राजनीतिक नेतृत्वको पतनलाई वर्णन गर्ने स्वयंसिद्ध चित्रहरू । सत्ताका लागि भयंकर गणतन्त्रवादी राजावादी हुन सक्ने र भयंकर कम्युनिस्ट चर्को बुर्जुवा हुन सक्ने राजनीति चलेको देश हो नेपाल । जहाँ सुशासनको कुरा गर्नेहरू सबैभन्दा भ्रष्ट भएर निस्किन्छन् र समाजवादको कुरा गर्नेमा देखिन्छ जब्बर व्यक्तिवाद । स्वभावतः मनमा प्रश्न आउँछ, कसरी बन्छन् नेताहरू यति धेरै दोग्ला, जसलाई देख्दा समाजका नामुद ठग पनि लाजले शिर झुकाऊन् ?

भनिन्छ— मान्छेको व्यक्तित्व स्वयंभित्रका विरोधाभासहरूको अन्तरविरोध र एकताबाट निर्माण हुन्छ । यहाँ ‘विरोधाभास’ भनेको मान्छेको व्यक्तित्वमा आउने सकारात्मक र नकारात्मक प्रवृत्तिको ‘सम्बोधन’ हो । जो मान्छे संसारिक जीवन सँगसँगै जन्मन्छन् र हुर्कंदै जान्छन् । जस्तो, मान्छेसँग दैनिक जीवन संघर्षमा ठोकिन आउने अनेकौं घटनाले ऊभित्र माया, प्रेम, सद्भाव अदि सद्गुण मात्र निर्माण गर्दैन, रिस, आवेग, प्रतिशोध, लालसा, तिर्सना र अतृप्ति पनि निर्माण गरिरहेको हुन्छ । जस्तो, एउटा किसान मालिकको ज्यादतीका विरुद्ध लडिरहँदा, ऊभित्र मुक्तिको चाहना त प्रबल हुन्छ नै, ‘म मालिक भएँ भने’ भन्ने प्रतिशोधी भावना पनि सँगै हुर्किरहेको हुन सक्छ ।

एउटा विद्रोही युवक विद्रोहमा सरिक हुँदा उसले स्वतन्त्रताको नेतृत्वमात्र गरिरहेको हुँदैन, ऊभित्र एक शक्तिशाली नायक बन्ने तृष्णा पनि हुर्किरहेको हुन सक्छ । केटाकेटीलाई ठ्लूो मान्छेले कान निमोठ्दा ऊभित्र निर्माण हुने प्रतिक्रिया हामीले सुनेका छौं– ‘पख म तँलाई ठूलो भएपछि देखाइदिन्छु’ । द्वन्द्वका बेला माओवादीको मुखैमा थियो– ‘सिंहदरबारमा लालझन्डा गाडिन्छ’ । यो आफैंमा आफ्नो प्रभुत्व निर्माण गर्ने लोभ थियो । त्यो समय माओवादीहरू भाषणमा भन्ने गर्थे– ‘जनयुद्ध सफल भयो भने सहरका ठूलाघर मजदुर किसानका हुनेछन् ।’ यसो भन्नुको एउटा आशय अवश्य नै न्याय हो । तर अर्को हो स्वयंमा निहित लोभ, मोह, तृष्णा र प्रतिशोधको अभिव्यक्ति ।

एउटा मान्छे जातीय एकाधिकारविरुद्ध लडिरहँदा ऊभित्र कुनै अमूक जातविरोधी भावना त जागृत हुन्छ नै, सँगसँगै आफू एउटा शक्तिशाली जातको नायक बन्ने तृष्णा पनि हुर्किरहेको हुन सक्छ । जातीय मुक्ति आन्दोलनका नायकहरू जातवादी भएको हामीले यत्रतत्र देखेकै छौं । यस्तो यसकारण हुन्छ कि एउटा विद्रोहीसँग विद्रोहको चेतनासँगै दमित बसेको हुन्छ निजी सुखको सपना र तृष्णा । यी विपरीत सपनाहरूले मान्छेभित्र निरन्तर द्वन्द्व मच्चाइरहन्छन् । त्यो द्वन्द्वमा कहिले सकारात्मकता प्रबल हुन्छ, कहिले नकारात्मकता । जोसँग आफैंभित्रका नकारात्मकता र विरोधाभाससँग जुध्ने आत्मगत शक्ति प्रबल हुन्छ, ऊ जोगिन्छ । जोसँग लड्नका लागि सकारात्मक ऊर्जा र आत्मगत शक्ति कमजोर हुन्छ ऊ सकिन्छ । साधारण मान्छेको जीवन यसरी नै थाहै नपाई पलपल आन्तरिक द्वन्द्व र व्यक्तित्वको टकरावमा गुज्रिरहेको हुन्छ, जो स्वयंलाई पत्तै हुँदैन ।

एकैछिन यो सन्दर्भलाई सत्ता, राजनीति र नेतृत्वसँग जोडेर हेरौं । जस्तो, जब एउटा नेता शक्तिमा आउँछ, ऊसँग उसका सकारात्मक र नकारात्मक प्रवृत्ति पनि सँगै सत्ता र शक्तिमा आउँछन् । हिजो साधारण अवस्थामा उसका नकारात्मक पक्षलाई कानुन, निष्ठा, नैतिकता, पार्टी अनुशासन, आन्दोलनको दबाब र धपेडीले नियन्त्रित राखेका थिए । त्यसैले हिजो ऊभित्र सकारात्मक व्यक्तित्व प्रबल थियो र नकारात्मक व्यक्तित्व सुषुप्त थियो । तर जब ऊ शक्तिमा आइपुग्यो, उसलाई नियन्त्रण गर्ने शक्ति अर्थात्, कानुन, निष्ठा, नैतिकता, अनुशासनभन्दा ऊ बलियो भएर आयो । त्योसँगै ऊभित्रको सुषुप्त लोभ, लालच, तृष्णा पनि बलियो हुँदै गयो । त्यसपछि भयो के भने उसले आफ्नो वरिपरि धन, दौलत देख्न थाल्यो । वरिपरि सेवक, चाकर देख्न थाल्यो । वरिपरि शक्तिको रापताप देख्न थाल्यो । उसका अगाडि स्वयं ऊभित्र सुषुप्त बसेको लोभलाई जागृत गर्ने रंगीचंगी संसार प्रकट हुन थाल्यो । उसको दमित तृष्णा जाग्दै गयो । ऊभित्र निदाएर बसेको लोभ जाग्दै गयो । ऊभित्रका विरोधाभास टकराउन थाले । कहिले उसलाई सकारात्मक प्रवृत्तिले झकझक्याउँथ्यो, कहिले नकारात्मक प्रवृत्तिले । बिस्तारै बिस्तारै नकारात्मकता प्रबल हुँदै गयो । ऊभित्रको लोभ बिस्तारै पहिलेभन्दा शक्तिशाली बनेर देखापर्‍यो । यदि ऊभित्र निहित ज्ञान र विवेक प्रभावशाली भएको भए, लोभ, मोह, तृष्णा नियन्त्रित हुने थिए । तर दुर्भाग्य, ऊभित्र ज्ञान र विवेकभन्दा लोभ, मोह र तृष्णा प्रभावशाली बनेर देखापर्‍यो । त्यसपछि सबै कुरा चौपट हुँदै गयो ।

असलमा यहींनेर नेतृत्वको खास परीक्षा सुरु हुन्थ्यो । यस्तो परीक्षा, जहाँ ऊभित्रका नकारात्मक र सकारात्मक व्यक्तित्व टकराउँदा, ज्ञान, विवेक र निष्ठाको ऊर्जाले लोभ, घृणा र तृष्णालाई परास्त गर्न सकोस् । तर भयो के भने, यहींनेर नेतृत्वका ज्ञान, विवेक र निष्ठा कमजोर देखा परे र ऊ इतिहासको महान् परीक्षामा असफल हुन पुग्यो । यसरी नेतृत्व बिस्तारै पतन हुँदै गयो र नेतृत्वसँगै सकिँदै गयो ऊभित्रको ज्ञान, विवेक, राजनीति । र, बदलामा उपस्थित हुन पुग्यो एक भद्दा, लोभी र पतनशील मान्छे । यस्तो मान्छे, जसले नेता त के एक साधारण मान्छे बन्ने योग्यतासमेत गुमाउँछ ।

मान्छेको व्यक्तित्वमा देखापर्ने विरोधाभासको अर्को कारण हो, रूप र चरित्रको बेमेल । मान्छेले समाजका अगाडि देखाउनुपर्ने रूप एउटा छ, आफैंभित्र निर्माण भएको चरित्र अर्कै छ । रूप र चरित्रको यो विरोधाभासले मान्छेको व्यक्तित्वलाई भयंकर दोग्ला बनाउँछ । उदाहरणका लागि हाम्रा नेतालाई हेरौं । जस्तो देखिनुपरेको छ भयंकर ज्ञानी, तर ज्ञानको धोक्रो खाली छ । जसले जीवनमा बेइमानीभन्दा धेरै केही गरेनन्, तर देखिनुपरेको छ भयंकर इमानदार । जसले जीवनमा षड्यन्त्रलाई नै राजनीति बनाए, तर गर्नुपरेको छ विचारको कुरा । जसको मन पैसा, सत्ता र शक्तिको लोभ, मोह र तृष्णाले भरिएको छ तर देखिनुपरेको छ इमानदार । जसका वरिपरि बिचौलिया मात्र छन् तर देखिनुपरेको छ भयंकर साधु । दुनियाँका अगाडि क्रान्तिकारी देखिनु छ, तर त्यही क्रान्तिको भारी बोक्न ऊसँग काँध छैन । बोल्दा भयंकर जान्ने देखिनुपरेको छ तर आफ्ना ज्ञानका सीमाले आफैंलाई धोका दिन्छन् । जसले बिहान उठेदेखि मध्यरातसम्म अंकगणित र जालझेल सोच्नुपर्छ र गर्नुपर्छ नैतिकताको भाषण । अर्थात्, मान्छे जब आफ्नै सार्वजनिक छवि र चरित्रको विरोधाभासले थिचिन्छ, निस्कन्छ बडो दोग्ला भएर ।

यसैगरी, मान्छे बिग्रने अर्को कारण हो, ऊभित्रको सपना र क्षमताको विरोधाभास । जस्तो, जब नेतृत्वको सपना र उसको क्षमताबीच सन्तुलन रहन्छ ऊ जे हो, त्यही देखिन्छ । उसको व्यक्तित्वमा कुनै विरोधाभास हुँदैन । तर व्यक्ति स्वयंका सपना र महत्त्वाकांक्षा पूरा गर्न ऊसँग भएको क्षमताले पुग्दैन, यस्तो बेला नेतृत्व असन्तुलित बन्न पुग्छ । अर्थात्, जब व्यक्तिका सपना र उसका सीमा फरक पर्छन्, व्यक्ति भयंकर दोग्ला, बहुरूपी र खतरनाक बनेर निस्किन्छ । त्यसो त, त्यो बेलासम्म मान्छेको असली अनुहार देखिँदैन, जुन बेलासम्म ऊ दायित्वभन्दा पर बसेर प्रश्नमात्र गरिरहन्छ । जब दायित्वमा आउँछ, त्यो बेला उसको क्षमता प्रकट हुन्छ र देखिन्छन् उसका सीमाहरू ।

त्यसपछि, आफ्नै सपना र सीमाबीचको दबाब झेल्न नेतृत्वले अनेक अप्राकृतिक उपाय सुरु गर्छ । गुट बनाउँछ । भ्रष्टाचार गर्छ । दलाली गर्छ । षड्यन्त्र गर्छ । लेनदेन गर्छ । यसरी नेतृत्व भयंकर भ्रष्ट, चरित्रहीन र विरोधाभासपूर्ण बनेर निस्किन्छ । अर्थात्, मान्छेको मुखुण्डो बिस्तारै बिस्तारै च्यातिँदै जान्छ र प्रकट हुन्छ असली रूपमा । यसरी, प्रकट हुन्छ एक कुरूप अनुहार । वस्तुतः नेपाली राजनीतिमा आज जे भइरहेको छ, त्यो नेताहरूको असली रूपको प्रकट मात्र हो । अर्थात्, असलमा नेता जे हुन्, त्यो देखिएको मात्र हो । उनीहरूको मुखुण्डो च्यातिएको मात्र हो, जहाँभित्र छोपिएको थियो उनीहरूको चरित्रहीन, क्षमताहीन, लोभी, भ्रष्ट र मृगतृष्णाले भरिएको नैतिकहीन अनुहार ।

साधारण मान्छेभित्र निहित विरोधाभास, अन्तरद्वन्द्व, लोभ, मोहको नियन्त्रण सामाजिक मूल्यमान्यता, निष्ठा, अनुशासन र कानुनले गरिरहेका हुन्छन् । तर जब नेताको कुरा आउँछ, उसलाई नियन्त्रण गर्ने सामाजिक बन्धन र कानुन ऊभन्दा कमजोर बन्न पुग्छ । अतः नेताले कानुनबाट नभई आफ्नै निष्ठा र नैतिकताको कसीबाट आफूलाई पवित्र र निर्मल बनाउने दायित्व लिनुपर्छ । खासमा नेतासँग स्वयंभित्रको लोभ, मोह, अनैतिकता र स्वार्थसँग द्वन्द्व गर्ने र विजयी हुने शक्ति प्रबल हुनुपर्छ । नेता भनेको आफ्ना दुविधामाथि विजयी हुने यस्तो व्यक्तित्व हो, जो स्वयंभित्र लडेर विजय प्राप्त गर्ने योग्यता राख्छ । भन्नु पर्दैन कि, आत्मसंयम, आत्मचेतना र साधनाले मात्र मान्छेले आफूभित्रका दुर्गुणमाथि विजय प्राप्त गर्छ । तर आज हामी जसलाई नेता भन्छौं, उनीहरूभित्र के यस्तो योग्यता छ ? आफू जलेर स्वच्छताको परीक्षण गर्ने योग्यता ।

कुनै नेता कति पटक कुन पदमा पुग्यो, त्यो महत्त्वपूर्ण हुँदैन । महत्त्वपूर्ण हुन्छ, आफ्नै व्यक्तित्वलाई जोगाउन उसले गरेको आफैंसँगको संघर्ष कस्तो थियो । महत्त्वपूर्ण हुन्छ, आफ्नो इमान, नैतिकता र निष्ठालाई कञ्चन राख्न उसले कसरी आफैंलाई अग्निमा होम्यो । राजनीतिमा निष्ठा, नैतिकता र गरिमा रहने भने नेताको व्यक्तित्व रहँदैन र त्यसपछि ऊसँग केही पनि रहँदैन । नेताज्यू हेक्का राख्नुहोला कि तपाईंले आफैंभित्रको निष्ठा, नैतिकता र इमानको युद्ध हार्नुभयो भने अरू हजारौं युद्ध जिते पनि त्यसको कुनै अर्थ हुँदैन ।

प्रकाशित : असार ७, २०८१ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×