भारतीय निर्वाचनपछिको काठमाडौं 

आश्चर्य त दिल्लीका मोदीलाई जुन प्रवृत्ति र मानसका लागि आलोचना गरिन्छ, त्यही प्रवृत्ति नेपालभित्रै टुसाउँदा पनि प्रतिरोध गरिँदैन । नेपाललाई नेपालभित्रै टुसाएको, झाँगिएको ‘मोदी प्रवृत्ति’ बढी घातक छ ।
चन्द्रकिशोर

काठमाडौंमा भारतप्रति चासो र चिन्ता राख्नेहरूलाई पाँच ‘अ’ को सूत्रबाट वर्गीकृत गर्न सकिन्छ । पहिलो हो ‘आत्मीय भाव’ । यस्तो तप्का, जो धार्मिक, सांस्कृतिक, पारिवारिक वा व्यावसायिक रुझानले त्यहाँ के, कसरी, कस्तो हुँदै गरेको छ, त्यो चियाउने गर्छ ।

भारतीय निर्वाचनपछिको काठमाडौं 

दोस्रो हो ‘अवधारणागत’ वृत्त । जो स्वतन्त्रता र लोकतन्त्रका लागि संघर्ष, समर्पण र संरचनात्मक प्रयत्नले वैश्विक चिनारी स्थापित गरेको भारतमा लोकतन्त्र कतै मूर्छामा त छैन भनेर चिन्ता राख्छ । यसमा राजनीतिकर्मीहरू पनि छन्, समाजका अन्य क्षेत्रका नागरिक पनि छन् । सन् २०१४ र २०१९ को भारतीय लोकसभा चुनावले ‘एक दल, महाप्रबल’ को संज्ञा पायो भने यतिखेर २०२४ मा ‘सरकार में गठबन्धन दल, फिर भी मोदी महाप्रबल’ । मोदीको ३.० महाप्रबलकालको सन्देश व्यापक, गहन र दूरगामी छ ।

तेस्रो ‘अनुरागी’ तप्का काठमाडौंमा छन् । जो भारतीय जनता पार्टी हिन्दुत्वका पक्षधर हुनुले आत्मसम्मोहित र आत्ममुग्धतामा छन् । मोदीको विजययात्राको ऐनामा उनीहरू यहाँ आफ्नो चाहनाको मुहार खोज्न हौसिन्छन् । जबसम्म भाजपा हिन्दुत्वको मौलिक विचारधारा र सैद्धान्तिक आधार मानिरहन्छ यो तप्काको रुचि कम हुँदैन ।

चौथो ‘अवसरमुखी’ समूह छ, जसमा भारतमा सामान्य रोजीरोटीदेखि लिएर ठूला कारोबार गर्नेहरू संलग्न छन् । उनीहरू सम्भावनाको खोजी, सहकार्य र समन्वय गर्न त्यहाँको हालत बुझ्न चाहिरहेका हुन्छन् ।

र, पाँचौं हो ‘अतिवादी’ वृत्त, जो भारतमा मोदी आए कि राहुल केही अर्थ राख्दैन ।

काठमाडौंली विमर्शको अन्तर्य भूराजनीतिको बदलिँदो परिवेशले व्याप्त अनिश्चितता र शक्ति राष्ट्रहरूको प्रतिस्पर्धात्मक रणनीतिमा नेपालले शक्ति र स्रोतमा बलियो भारतसँग सापेक्षिकता र महत्त्वलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने हो । विभाजित र अलमलले गर्दा हामी असजिलोमा पर्छौं । गठबन्धन यता पनि, उता पनि भनेर मक्ख पर्छ । प्रस्ट छ, मोदी गठबन्धनको सरकार चलाउन पुगे पनि उनले आफ्नो ऐक्यबद्धता र आत्मविश्वास बलियो भएको छनक दिइसकेका छन् ।

लोकतान्त्रिक भारतको प्रमुख कार्यकारी भएर पनि उनीमाथिको आक्षेप लाग्दै आएको छ । राज्यका अंगहरू बीचको शक्ति पृथकीकरण र सन्तुलनलाई निष्प्रभावी बनाउनु, आफ्नै सरकार वा दलभित्र असहमत पात्र र पक्षलाई निमिट्यान बनाउनु, विपक्षरहित राजनीतिक परिवेश निर्माण गर्न खोज्नु उनीमाथिका आरोप हुन् । सामाजिक ध्रुवीकरणमा आफ्नो सामर्थ्य पाउनु, राष्ट्रपति संस्थालाई कठपुतली बनाउनु, आफ्नो आलोचनालाई देशद्रोहसँग दाँज्नु, मिडियालाई आफूप्रति दण्डवत गरेर नूतन भक्तिकालको बीजारोपण गर्नु, सांसदको सक्षमता र संसद्को प्रभावकारितालाई गौण बनाउनु, आफूलाई दैवीय शक्तिले युक्त र आफू नै अद्वितीय देशभक्त ठान्नु जस्ता प्रवृत्तिले उनी आलोचनाको घेराभित्रै छन् । आश्चर्य त दिल्लीका मोदीलाई जुन प्रवृत्ति र मानसका लागि आलोचना गरिन्छ, त्यही प्रवृत्ति नेपालभित्रै टुसाउँदा पनि प्रतिरोध गरिँदैन । नेपाललाई नेपालभित्रै टुसाएको, झाँगिएको ‘मोदी प्रवृत्ति’ बढी घातक छ ।

जहाँकहीँ पनि सीमान्तकृतलाई निमिट्यान पार्ने कार्य हुँदा वर्चश्ववादी शक्तिविरुद्धको मत प्रखर भएर आउँछ । भारतीय चुनाव परिणाम यसको पछिल्लो उदाहरण हो । संस्थापनले आफ्नै संकथन थोपर्न खोज्दा स्थानीय उकुसमुकुस बाहिरिन्छ नै । मिडियामा प्रायोजित भाष्य पस्किएर आमजनको दुःख दर्दलाई हरण गर्न सकिन्न । २०१४ वा २०१९ मा मोदी लहरले फराकिलो स्वीकार्यता पाउँदा त्यतिखेर क्षेत्रीय मुद्दा ओझेलमा परे । यस पटक कुनै त्यस्तो लहर थिएन अनि क्षेत्रीय सवाल निर्णायक भएर आयो ।

हिन्दुत्वभन्दा पिछडा वर्ग, दलित, अल्पसंख्यक सक्रिय भए र धार्मिक ध्रुवीकरणलाई अस्वीकार गरे । विविधता बोकेको समाजमा जब अतीतको काल्पनिकीमा अल्झाउन खोजिन्छ त्यसलाई अन्ततः मन पराइँदैन । मोदी सरकार प्रमुख बन्न सफल देखिए पनि यो मूलतः विपक्षी राजनीतिको जित हो । नेपाल पनि विविधता बोकेको र प्रादेशिक अभ्यासमा अघि बढेको मुलुक हो । भारतीय चुनावले सिकाएको छ, कृत्रिम राष्ट्रवाद, केन्द्रबाट थोपरिएका एजेन्डा, मिडिया र सामाजिक सञ्जालको अनुकूलनका प्रयत्न तथा प्रत्याशीसमेत माथिबाट थोपर्ने कार्य भुइँतहमा स्वीकार नहुन सक्छ । यो काठमाडौंले २०८४ का निमित्त घोक्नैपर्ने पाठ हो ।

काठमाडौंकेन्द्रित विश्लेषकहरूले सीमावर्ती नेपाली क्षेत्रमा भएगरेको हिन्दु धार्मिक गतिविधि र हिन्दुत्वको राजनीतिबीचको भिन्नता छुट्याउन सकेनन् । अहिलेकै चुनावमा छिमेकी भारतीय राज्य विहार र उत्तर प्रदेशमा उन्माद र विभाजनको राजनीति मन पराइएन । हो, मधेशमा विभिन्न धार्मिक समूहमा आडम्बर र कट्टरता बढ्दै छ । धार्मिक जनसांख्यिक बनोट बदलिँदै छ । आवेग र उत्तेजना फैलाएर राजनीतिक शक्ति आर्जन गर्ने छोटो बाटो देख्नेहरूले उत्पन्न गर्ने स्थानिक घर्षणहरूको सम्भावना टरेको छैन ।

के कम्युनिस्ट मिल्दा भारत तर्सिन्छ ? के नेपालका राजनीतिक दलसँग भाजपाको अनुराग बढ्नु, बढाउनुमा उसका केही प्राथमिकता र स्वार्थ छन् ? भारतका राजनीतिक शक्तिहरूसँग नेपालका स्थापित राजनीतिक दल कत्तिको परिचित छन् ? काठमाडौंका बुद्धिविलासीहरू यसबारे घोत्लिन जरुरी छ । पछिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाका बखत उनले दिल्ली दर्शनको सुरुआत नै भाजपा मुख्यालयबाट गरे । माओवादी अध्यक्षका रूपमा प्रचण्डसमेत मुख्यालय पुगेका छन् । भारतमा भाजपा एक राष्ट्रिय पार्टी हो, जो लामो समयदेखि संघ र कैयौं राज्यमा सत्तारूढ छ ।

विगतमा नेपाली कांग्रेस र भारतीय कांग्रेस तथा समाजवादी घटकबीच गहिरो सम्बन्ध थियो । त्यसैगरी भारतीय कम्युनिस्ट घटकसँग यहाँको कम्युनिस्ट दलको साइनो थियो । भारत आफैंमा एउटा महादेश हो, जहाँ संविधानले राजनीतिमा बहुलतालाई स्वीकार गरेको छ । यस्तोमा भारतका अन्य राजनीतिक शक्तिसँग खै संवाद सुनिएको ? समस्या काठमाडौंमा छ, जो नितान्त आत्मकेन्द्रित छ, ऊ दिल्लीपतिको मुडका आधारमा अरू दलतिर टाउको फर्काउन चाहन्छ । राजा ज्ञानेन्द्रको ‘कू’ का विरुद्ध दिल्लीमा सहयोग गर्ने राजनीतिक दलहरू कुन–कुन थिए र आज कसको कोसँग सम्पर्क छ ?

काठमाडौंले ईपीजी रिपोर्टबारे असाध्यै कोलाहल गर्छ । जुन रिपोर्टबारे नेपालभित्रै मतैक्य छैन । यो त कुनै दल विशेषका राजनीतिक औजारले राष्ट्रवादको राजनीतिलाई उर्वर बनाउन कोरेको दस्तावेज हो । नेपाली टिम न त समावेशी थियो न त धरातलको चाहनालाई नै संकलित गर्न सक्यो ।

हामी प्रादेशिक अभ्यासमा छौं । भारतसँग साँध जोडिएको भारतीय राज्यहरू सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा आफ्नै प्रकारको फरकफरक क्षेत्रीय शक्तिहरू छन् र तिनको दिल्ली दरबारमा प्रभाव पनि । नेपालमा राणा वा राजाविरुद्धको आन्दोलनका बखत सीमावर्ती भारतीय राज्यलाई क्रिडाभूमि बनाइए पनि मियो दिल्ली नै रह्यो । स्वतन्त्र भारतका सीमावर्ती राज्यहरूसँग समन्वय, संवाद गरी दिल्लीमा आफ्नो स्वर सुनाउने सोचको सर्वथा अभाव काठमाडौंको रह्यो । ऊ न त भारतभित्र न नेपालभित्रै संघीयता केवल संरचना मात्र होइन सोच र शक्ति पनि हो भन्ने मान्यता आत्मसात् गर्न सकिरहेको छ ।

बिहारका नितिश कुमार नेपाल जन र लोकतन्त्रप्रति जति नै हितैषी रहे पनि दिल्लीमा हाम्रा सहयोगी बन्ने तत्काल कुनै सम्भावना छैन । नेपाल जब संघीयतामा छ भने प्रदेशहरूले संघको जानकारीमा छिमेकी भारतीय प्रदेशसँग सरोकारहरूका बारे अनुभव साझेदारी गर्न प्रोत्साहित गर्नुपर्छ । दुई मुलुकबीचको सम्बन्ध राजनीतिक मुद्दासँगै आर्थिक, विकास, ऊर्जा, प्राविधिक, पर्यटन, कृषि, सार्वजनिक शिक्षा, स्वास्थ्य, प्राकृतिक प्रकोप, सामाजिक असन्तुलन, रैथाने ज्ञान, सांस्कृतिक उत्सव लगायतका विषयमा प्रादेशिक स्तरको मन्थनमा ढिलो नगर्न काठमाडौंले दबाब दिनुपर्छ । जसरी काठमाडौं मात्र नेपाल होइन भनेर भारतीय शक्तिलाई बुझाउन जरुरी छ, त्यसैगरी दिल्लीबाहिर पनि भारत छ भन्ने बोधगम्यता हामीमा हुनुपर्छ । हो आधुनिक राज्यमा दुई देशको सम्बन्ध दुई केन्द्रले निर्धारण गर्ने हो । तर नेपाल–भारत सम्बन्धको बहुआयामलाई हेरेर प्रादेशिक स्तरमा संवादका सूत्र खोज्नुपर्छ ।

कुनै पनि मुलुकको कूटनीतिक सफलता वा असफलता उसले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन । मुख्य कुरा त्यो मुलुकको नेतृत्वले त्यसलाई कसरी आकार दिइरहेको भन्नेमा भर पर्छ । लोकतन्त्र भनेको चुनाव मात्र होइन, सत्ताको लोकतान्त्रिकीकरण पनि हो । भारतीय चुनावको यो सन्देश काठमाडौंलाई कसले बताउने ?

प्रकाशित : जेष्ठ ३१, २०८१ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x