१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

व्यवहार बदले महिला हिंसा न्यूनीकरण

हरेक व्यक्तिका लागि आफूभन्दा उत्तम अर्को कोही हुँदैन । आफूले आफूलाई गर्ने मायाले कहिल्यै घात गर्दैन । महिलाले पनि आफूलाई कमजोर ठान्नै हुँदैन ।
गायत्री लम्साल

लैंगिक हिंसाविरुद्धको विश्वव्यापी १६ दिने अभियान चल्न थालेको ३२ वर्ष भयो । हिंसाविरुद्ध सबैको चासो बढिरहेको भए पनि हिंसा न्यूनीकरणले गति लिन सकेको छैन । सूचना प्रविधिमा आएको परिवर्तनले त झन् हिंसाको स्वरूप नै बदलिएको छ । तर, हिंसा जस्तोसुकै प्रकृतिको भए पनि जघन्य अपराध हो ।

व्यवहार बदले महिला हिंसा न्यूनीकरण

हिंसा ठूलठूला होटलमा कार्यक्रम गरेर चर्काचर्का भाषण गर्दैमा घट्ने होइन, यसका लागि त हरेक परिवारले आफ्ना सन्तानलाई समान व्यवहार गर्नुपर्छ । समान व्यवहारले समान अवसर ल्याउँछ । छोराछारी दुवैले समान अवसर पाएपछि दुवैको पहुँच बराबरी हुन्छ । पहुँचले आत्मनिर्भर बन्ने बाटो खुला हुन्छ अनि आत्मनिर्भरताले हिंसा नसहने, हिंसाविरुद्ध बहस गर्न सक्ने आत्मबल आउँछ जसले गर्दा हिंसा क्रमशः घट्दै जान्छ । यसका लागि हामीले असल व्यवहारलाई अभ्यासमा ढाल्नुपर्छ ।

महिलाले आफूलाई गर्ने व्यवहार

हरेक व्यक्तिका लागि आफूभन्दा उत्तम अर्को कोही हुँदैन । आफूले आफूलाई गर्ने मायाले कहिल्यै घात गर्दैन । महिलाले पनि आफूलाई कमजोर ठान्नै हुँदैन । हामीभित्र अदम्य साहस छ, माया र ममताको खानी छ । दुःखमा नआत्तिने र सुखमा नमात्तिने बानी छ । हाम्रो अस्तित्व हाम्रै लागि हो । पुरुषहरूलाई खुसी पार्न, छोराछारीलाई खुसी पार्न, घरपरिवार–इष्टमित्र–समाजको इज्जत धान्नलाई मात्रै हाम्रो जन्म भएको होइन ।

त्यसैले हरेक महिलाले हरेक कामकुरामा पहिलो प्राथमिकता आफैंलाई दिनुपर्छ । आफ्नै मानवीय मूल्य बढाउनका लागि समय, श्रम र शिक्षाको लगानी गर्नुपर्छ । भोक लागेका बेला पहिला आफूले खाऔं अनि बल्ल अरूलाई सोचौं । बालबच्चालाई नखुवाईकन आफूले खाऔं भनेको भने होइन । आफैंमाथि गरेको लगानीले कहिल्यै धोका दिँदैन । यसले त हरेकको मानवीय मूल्य बढाउन, मानवीय गरिमा बढाउन सहयोग गर्छ । हरेक महिलाले आफूलाई निकै उच्च कोटिको व्यवहार गरौं, यसबाट आफ्नो आत्मबल बढ्छ ।

महिलाले महिलालाई गर्ने व्यवहार

आज पनि समाजमा रूढिवादी सोच, मूल्यमान्यता व्यापक छ । महिलाको दुःख महिलालाई नै बढी थाहा हुन्छ । थाहा भएर पनि एउटी महिलाले अर्की महिलालाई दुःख दिने, उसले प्रगति गरेमा डाह गर्ने प्रचलन बढी छ । एउटी महिलाले अर्की महिलालाई निम्न कोटिको व्यवहार गर्नु हुँदैन । हरेक महिलाले अरू महिलालाई आफू जस्तै, समान देख्न सक्नुपर्छ । आफूलाई नराम्रो लाग्ने व्यवहार अरूलाई पनि गर्नु हुँदैन । महिलाले महिलालाई मान, सम्मान र माया गर्दा आफूले पनि उनीहरूबाट असल व्यवहार पाउन सकिन्छ भन्ने बुझ्नुपर्छ ।

आफूले घरपरिवारबाट हिंसा भोग्नुपरेको छ भने त्यस्तो हिंसा आफ्ना छोरीबुहारीमा हुन नदिन हरेक महिला चनाखो हुनुपर्छ । छोरीबुहारीलाई ज्ञान, सीप, क्षमता बढाउनका लागि सधैं उत्प्रेरक भूमिका निभाउन सक्नुपर्छ । जब हामीलाई सबै महिलाका समस्या हाम्रा साझा हुन् भन्ने चेतना हुन्छ तब महिलाले महिलालाई गर्ने हिंसामा न्यूनीकरण हुँदै जान्छ ।

पुरुषले महिलालाई गर्ने व्यवहार

अहिलेसम्म धेरै पुरुषको महिलाप्रतिको दृष्टिकोण बढी नकारात्मक छ । धेरैजसो पुरुषले महिलाको क्षमता, ज्ञान, सीप, धारणालाई बेवास्ता गर्छन् । महिला कमजोर हुन्छन् भन्ने मानसिकताले समाजमा जरो गाडेको छ । महिला भनेका हाम्रा आमा हुन्, श्रीमती हुन्, दिदी–बहिनी हुन् भन्ने मानसिकताले ओतप्रोत भएर हरेकलाई सम्मानपूर्वक व्यवहार गर्न जरुरी छ ।

आफ्नी श्रीमती सक्षम भए आफूलाई राम्रो हुन्छ । श्रीमतीसँग भान्छाकोठामा सँगै काम गर्दा दुवैलाई फाइदा हुन्छ । समान काम गरेर घर फर्कंदा पुरुष थपक्क आफूलाई मन पर्ने कामकुरामा व्यस्त/मस्त हुन्छन् । महिलालाई भने आफ्नो युनिफर्म फेरेर अर्को कपडा लगाउनसम्म सधैं हतार हुन्छ । घरको कामले, भान्साकोठाको कामले थिलोथिलो बनाउछ । आज धेरै आत्मनिर्भर महिलासमेत कामको दोहोरो मारमा परेका छन् । एउटा मेसिनलाई त निश्चित समय चलेपछि केही समय ब्रेक चाहिन्छ भने महिला त मानिस हुन् । उनीहरूलाई पनि आरामको खाँचो छ, रमाइलोको खाँचो छ, आफूलाई मन पर्ने काममा केही बेर रमाउने मन हुन्छ । आजका पुरुषले यो बुझी महिलालाई समान अवसर र पहुँच दिनुपर्छ ।

समाजले महिलालाई गर्ने व्यवहार

हाम्रो समाजको सोच, विचार, शैली, चिन्तन, प्रवृत्ति, संस्कार नै महिलाद्वेषी छ । पुरुषले जति ठूला गल्ती र अपराध गर्दा पनि सधैं सम्मानको भागिदार हुन्छ, महिलालाई भने असल हुँदा पनि खराब बनाउँछ समाजले । हाम्रो समाजले विधवा र एकल महिलालाई गर्ने व्यवहार त झनै खराब छ ।

एकल महिलाले अन्य पुरुषसँग बोल्नै हुन्न, सँगै कुनै कार्यक्रममा हिँड्नै हुन्न भन्ने समाज कहिले सभ्य बन्ने होला ? आफ्नी छोरीबुहारी बलात्कृत हुदा घरनिकाला गर्ने अनि बलात्कार गर्ने पुरुषलाई खुलेआम हिँड्न दिने समाज यही हो । घरपरिवारका पुरुष सदस्यले अपराध गर्दा कसैको इज्जत नजाने अनि पीडितले आफ्नो पीडा बताउँदा परिवारको इज्जत जाने कस्तो समाज हो ? यो कस्तो सभ्यता हो ? यो कस्तो न्याय हो ? यस्ता सामाजिक सोच, विचार, संस्कारमा सुधार नआएसम्म महिला हिंसा घट्न सक्दैन । पीडकविरुद्ध शून्य सहनशीलताको अभियान चलाए मात्र हिंसा घट्दै जान सक्छ ।

सरकारले महिलालाई गर्ने व्यवहार

महिला र पुरुष सृष्टिका समान हिस्सेदार हुन् । दुवैको बराबरी मूल्य हुन्छ । सभ्य समाज निर्माणमा दुवैको बराबरी भूमिका रहन्छ । सदियौंदेखि राज्यबाट प्रवाह हुने सेवामा महिलालाई विभेद गरिँदै आएकाले नै हालसम्म पनि हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण उपस्थिति कमजोर छ । अहिले कानुनमा त विभेदको अन्त्य गर्न खोजिएको छ तर व्यवहारमा त्यस्तो छैन । सोचमा, मानसिकतामा, हेराइमा, व्यवहारमा महिलालाई दोस्रो दर्जाकै रूपमा लिइन्छ ।

महिलामैत्री कार्यक्रम, लैंगिकमैत्री बजेट राख्दैमा उपलब्धि हासिल भइहाल्दैन । कुनै पनि कामकुरा महिलाका लागि छुट्याउँदैमा सरकारको दायित्व पूरा हुँदैन । यसका लागि राज्यबाट प्रवाह हुने हरेक कामकुरामा पुरुषसरह महिलाले अवसर पाए कि पाएनन् भनेर मापन गर्नुपर्छ । अहिलेको अवस्थामा तुलनात्मक रूपमा महिला कमजोर छन्, उनीहरूलाई राज्यले बढी अवसर दिएर हरेक पाटोमा बलियो बनाउनुपर्छ । आत्मनिर्भर हुन सक्ने ज्ञान, सीप दिनुपर्छ । जब महिला र पुरुष हरेक पाटोमा बराबरी सबल र सक्षम हुन्छन्, महिला हिंसाका घटना कम हुँदै जान्छन् । सरकार सबैको अभिभावक हो । समग्र महिलाको जीवनस्तर उकास्न सरकारले अभिभावकीय व्यवहार गर्नुपर्छ ।

प्रकाशित : मंसिर २२, २०८० ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?