११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नेपाली युवाले किन लाउँछन् ज्यानको बाजी ?

सम्पादकीय

रुसी सेनामा कार्यरत तीन नेपालीको दुई साताअघि युक्रेनी भूमिमा मृत्यु भएको दुःखद खबर सार्वजनिक भएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा गएका अर्का एक नेपालीको गत असार २९ मा ज्यान गएको थियो ।

नेपाली युवाले किन लाउँछन् ज्यानको बाजी ?

अध्ययन वा अन्य कुनै बहानामा रुस पुगेपछि त्यहाँको सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवाको संख्या कति छ, अवस्था के छ भन्ने बारेमा आधिकारिक विवरण नेपाल सरकारसँग छैन । राम्रो कमाइको लोभमा रुसी सेनामा भर्ती भएका नेपाली युवा थुप्रै रहेको अनुमान छ । विडम्बनापूर्ण नै छ, इराकमा होस् वा अफगानिस्तान, हालै इजरायलमा पनि, प्रायः सबै ठूला युद्धमा नेपालीले ज्यान गुमाइरहेका छन् । जबकि, ती युद्धसँग नेपालको कहीँ कुनै साइनो पनि छैन ।

सरकार तहकै सम्झौता–समझदारीमा बेलायती र भारतीय सेनामा भर्ती भएर युद्धमा होमिने नेपाली युवा त छँदै छन्, तिनको कथा–व्यथा बेग्लै छ । आफ्नै व्यक्तिगत पहल वा दलालको प्रलोभनमा परी सुटुक्क अर्को मुलुकको सेना वा सुरक्षागार्डका रूपमा भर्ती भएर युद्धग्रस्त क्षेत्रमा खटिने नेपाली युवा पनि प्रशस्तै छन् । ज्यान जोगिइहाले तिनले आकर्षक आम्दानी त गर्न सक्छन् तर मृत्यु भइहाले परिवारले राहत वा अन्य कुनै सुविधा पाउने सुनिश्चित हुँदैन ।

तैपनि रोजगारीका लागि ज्यानको बाजी थाप्न नेपाली युवा तयार भइरहेका देखिन्छन् । त्यसैको पछिल्लो दृष्टान्त हो– रुसी सेनामा नेपाली युवाको भर्ती । युक्रेनसँग युद्ध सुरु भएको एक वर्ष नाघेपछि गत मेमा रुसले सैन्य सेवामा विदेशी नागरिकलाई भर्ती गर्ने र उसलाई एक वर्षमै नागरिकता दिने प्रावधानसहितको कानुन बनायो । त्यसपछि उच्च शिक्षा, भ्रमण वा अरू कुनै उद्देश्यमा रुस पुगेका नेपाली युवा पनि रुसी सेनामा भर्ती हुन थाले । तिनै युवाले टिकटक लगायतका सामाजिक सञ्जालमा भिडियो राख्दासम्म नेपालले सुइँकोसम्म पाएको थिएन । नेपाली नागरिकको जोखिमपूर्ण भर्ती रोक्न नेपाल सरकारबाट पहल हुनु त टाढाको कुरा, कुनै धारणा पनि सार्वजनिक भएन । अहिले मृत्युका खबरहरू आइरहेका छन् ।

रोजगारीप्रति नेपाली युवाको हुटहुटीका पछि कतिपयको बाध्यता होला, कसैको अधिकतम कमाइको महत्त्वाकांक्षा हुन सक्छ, कोही लहैलहैमा पनि फसिरहेका छन् । इराकस्थित अमेरिकी सेनाको बेसमा कार्यरत १२ नेपालीलाई अतिवादी इस्लाम समूहले २०६१ भदौ १६ मा हत्या गरेको थियो । त्यसपछि नेपाल सरकारले प्रतिबन्ध लगाउँदा पनि अवैध बाटो इराक जाने क्रम रोकिएन । अफगानिस्तानमा युद्ध चलेका बेला नेपाली युवा लुकीछिपी त्यहाँ पुगिरहेकै थिए र छिटपुट मृत्यु पनि भइरहेको थियो । सुरक्षागार्डका रूपमा कार्यरत १२ नेपालीले २०७३ सालमा तालिबानको आत्मघाती बम आक्रमणमा परी ज्यान गुमाए । नेपाली युवा आफ्नै पहलमा फ्रान्स, अमेरिका पुगेर त्यहीँको सेनामा भर्ती हुने क्रम चलिरहेकै छ । इजरायलमा हमासको आक्रमण परी गत असोज २० मा १० नेपाली विद्यार्थीले ज्यान गुमाउँदाको परिस्थिति भने अलि फरक थियो । अत्याधुनिक कृषि प्रणाली अपनाइरहेको इजरायलमा ती विद्यार्थी कमाउँदै सिक्ने कार्यक्रमअन्तर्गत भर्खरै त्यहाँ पुगेका थिए, जति बेला युद्ध चलिरहेको पनि थिएन ।

नेपाली युवाले किन यसरी जोखिम मोलिरहेका छन् भन्ने सन्दर्भमा रुसी सेनामा भर्ती भएका बेला गत कात्तिक २९ मा ज्यान गुमाएका दोलखाको मेलुङ–६ सुनुवारपानी टोलका राजकुमार रोक्काको पृष्ठभूमिले पनि धेरथोर बुझ्न सघाउँछ । रोक्का अझ बढी कमाउन सशस्त्र प्रहरीको जागिर छाडेर घर सजावट व्यवसायमा लागेका थिए । २०७० मा सुरु गरेको व्यवसायले उल्टै ऋण लगाइदिएपछि वैदेशिक रोजगारीमा जाने सुरसारमा थिए । त्यही बेला उनले साथीहरूबाट रुसी सेनाको भर्तीबारे थाहा पाए ।

उनीहरूसँगकै कुराकानीका आधारमा गत असोज १७ मा रुस पुगे । त्यति बेला उनले परिवारमा यसबारे दाजुबाहेक कसैलाई पनि जानकारी दिएका थिएनन् । अरूलाई सुनाउँदा रुस जान पाइँदैन कि भन्ने भय उनमा थियो । रोक्का जस्ता युवालाई प्रलोभन देखाएर जोखिमयुक्त क्षेत्रमा पठाउन दलालहरू पनि सक्रिय रहने गर्छन् । कतिपय युवालाई भने दलालले झुक्याएर द्वन्द्वग्रस्त क्षेत्रमा पुर्‍याइरहेका छन् ।

विभिन्न मुलुकका युद्धमा यसरी आफ्ना नागरिकले ज्यान गुमाइरहेको घटनाप्रति नेपाल सरकार गम्भीर बन्नुपर्छ । युद्ध गरिरहेका मुलुकमा ज्यानै धरापमा पारेर रोजगारीमा नजान युवालाई सचेत पार्न जरुरी छ । युवालाई अनेक प्रलोभन दिएर वा झुक्याएर जोखिमयुक्त क्षेत्रमा पठाउने दलालहरूको धन्दा नियन्त्रण गर्नुपर्छ । स्वदेशमै भरपर्दो रोजगारी र व्यापार–व्यवसायका लागि अनुकूल वातावरण तयार भए जोखिम मोलेर विदेश जाने क्रम घट्छ भन्ने विषय सरकारले मनन गर्न सक्नुपर्छ ।

अहिले रुसका सन्दर्भमा नेपाली युवालाई त्यहाँको सेनामा आफूखुसी भर्ती नगर्न नेपाल सरकारले यथाशक्य छिटो आग्रह गर्नुपर्छ । हालै युक्रेनमा ज्यान गुमाएका युवाको परिवारका लागि रुस सरकारबाट राहत उपलब्ध गराउन कूटनीतिक पहल पनि गर्न आवश्यक छ ।

प्रकाशित : मंसिर १४, २०८० ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?