कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

भूकम्पपीडितलाई चिसोबाट जोगाऊ

सम्पादकीय

तापक्रम जतिजति ओर्लंदै छ, जाजरकोट भूकम्पपीडितहरूको जनजीवन उतिउति कष्टप्रद बन्दै छ । दुई सातादेखि त्रिपालको ओतमा रहेका उनीहरू चिसो थेग्न नसकेर बिरामी परिरहेका छन् । पछिल्लो एक सातामै सात जनाको मृत्यु भइसकेको छ ।

भूकम्पपीडितलाई चिसोबाट जोगाऊ

भूकम्पबाट जसोतसो जोगिएकाहरू यति बेला चिसिँदो यामलाई कसरी पार लगाउने भनेर पिरोलिएका छन् । त्यसमाथि बेला–बेला गइरहने परकम्पले अत्याउन छाडेको छैन ।

कात्तिक १७ को भूकम्पपछि जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका ३५ हजारभन्दा बढी परिवार त्रिपालमुनि छन् । सरकारले अहिलेसम्म एक परिवारका लागि एउटा–एउटा त्रिपाल र कम्बल मात्र उपलब्ध गराउन सकेको छ । भत्किएको घरभित्रै लत्ताकपडा पुरिएका र खास गरी कमजोर आर्थिक अवस्था भएका परिवारले न्यानोका लागि आफैं थप बन्दोबस्त मिलाउन सकेका छैनन् । उनीहरूलाई चिसिँदो रात कटाउन मुस्किल पर्दै गएको छ । त्रिपालले सिरेटो छल्न सक्दैन, अझ राति सुतेका बेला शीत चुहिन्छ । जीउलाई न्यानो पार्न पर्याप्त लत्ताकपडा छैनन् ।

न्यानो ओतको अभावमा भूकम्पपीडितका प्रायः सबै बस्तीमा रुघाखोकी, ज्वरो, निमोनियाजस्ता स्वास्थ्य समस्या देखिएका छन् । चिसोले सबैभन्दा बढी समस्यामा बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र सुत्केरी छन् । पछिल्लो एक सातामा ज्यान गुमाएका सातमध्ये पाँच जना वृद्ध हुन् । उनीहरूमा तीन जना दमका बिरामी थिए । स्वास्थ्यकर्मीको भनाइअनुसार चिसोले नै उनीहरूको स्वास्थ्य अवस्था बिग्रिएको थियो । अघिल्लो शुक्रबार मृत्यु भएकी एक महिलाको उमेर ४८ वर्ष मात्र थियो ।

भूकम्पले भत्काएको घरभित्रै औषधि पुरिएपछि औषधिलाई निरन्तरता दिन नसकेका कतिपय दीर्घरोगीलाई पनि चिसोले असर गरेको देखिन्छ । अहिले चिसोका कारण देखा परेको, बल्झिएको स्वास्थ्य समस्या लिएर भूकम्पपीडितहरू अस्पताल पुग्ने क्रम बढेको छ । जाजरकोटको बारेकोट गाउँपालिकास्थित आधारभूत अस्पतालमा दिनमा डेढ सय जनासम्म बिरामी पुग्ने गरेको तथ्यांकले पनि पछिल्लो समय स्वास्थ्य समस्या कति जटिल बन्दै गएको छ भन्ने स्पष्ट पार्छ ।

भूकम्प जानासाथ नै प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या निम्तिने आकलन जोकोहीले गर्न सक्थ्यो किनभने दिन प्रतिदिन तापक्रम ओर्लंदै थियो, पीडितहरू त्रिपालमुनि थिए । तर त्यसले जटिलता ननिम्तियोस् भनेर सरकारले बेलैमा वैकल्पिक प्रबन्ध मिलाउन सकेन । भूकम्पमा बाँचेकाहरूले न्यानो लत्ताकपडाको अभावमा चिसो थेग्न नसकेर ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् छ । दुई साता बितिसक्दा पनि पीडितका लागि तत्काल आवश्यक सामग्रीको बन्दोबस्त नभइरहँदा भूकम्पलगत्तै प्रधानमन्त्री, मन्त्री र नेताहरू लस्कर लागेर प्रभावित क्षेत्र पुग्नुको औचित्यमाथि प्रश्न गर्नुपर्ने अवस्था बनेको छ ।

सरकारले भूकम्पपीडितको जीवनरक्षालाई मुख्य प्राथमिकता दिन जरुरी छ । बिरामीहरूको औषधि–उपचारमा कुनै कमी नहुने गरी स्वास्थ्यकर्मी र औषधि व्यवस्थापन त गर्नुपर्छ नै, जतिसक्दो छिटो घुम्ती स्वास्थ्य शिविरहरू पनि सञ्चालन गर्नुपर्छ । प्रभावित क्षेत्रमा अहिले देखिएको स्वास्थ्य समस्याको मुख्य कारण चिसोयाम हो । त्यसैले पीडितहरूलाई त्रिपालबाट न्यानो आवासमा जतिसक्दो छिटो सार्न सक्नुपर्छ ।

शीत चुहिरहने, सिरेटोसमेत नछेक्ने त्रिपालभित्रको बास पीडितका लागि हिउँदमा झनै कष्टकर हुनेछ । भत्किएका घरको पुनर्निर्माण तत्काल सम्भव देखिँदैन । त्यतिन्जेलका लागि अस्थायी आवास बनाइदिएर प्रभावितहरूलाई सार्नुपर्छ र थप न्यानो लत्ताकपडा बन्दोबस्त गरिदिनुपर्छ । केही राजनीतिक दल र संघसंस्थामा अस्थायी छाप्रा निर्माणमा जुटेका छन्, जुन सराहनीय छ । भूकम्पपीडितका लागि न्यानो बास व्यवस्थापनमा स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारले हातेमालो गर्नुपर्छ । अर्को हिउँद भूकम्पपीडितका लागि कष्टकर बन्न नदिन घर पुनर्निर्माण प्रक्रिया पनि जतिसक्दो छिटो अघि बढाइनुपर्छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या निम्तिने अर्को कारण सरसफाइ अभाव हो । भूकम्पले मुहान भत्काएका कारण कतिपय ठाउँमा स्वच्छ पानीको अभाव छ । त्रिपालमुनि बसिरहेकाहरूले खुला ठाउँमा खाना पकाएर खानुपर्ने स्थिति छ । अर्कातिर भूकम्पले शौचालय भत्काएका कारण खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ ।

सरकार, नागरिक समाजका अगुवाले पीडितलाई पानी शुद्धीकरण गरेर पिउन, अस्थायी शौचालय निर्माण गर्न र सरसफाइमा ध्यान दिन प्रेरित गर्नुपर्छ, सहयोग गर्नुपर्छ । सरसफाइ अभावका कारण स्वास्थ्य समस्याले महामारीको रूप लियो भने परिस्थिति अझ जटिल बन्छ । त्यस्तो अवस्था आउन नदिन सरकार बेलैमा सजग र गम्भीर बन्नुपर्छ, समुदायलाई पनि सचेत पार्नुपर्छ ।

प्रकाशित : मंसिर ३, २०८० ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?