२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

सबै नेपालीको संवत् – नेपाल संवत्

हाम्रो जस्तो बहुसंवत्‌युक्त देशमा अब ‘संवत्‌ नीति’ बनाउन आवश्यक छ । दिनानुदिन प्रयोगमा सरल इस्वी संवत्‌को प्रयोग गरेर प्रत्येक ऐतिहासिक दस्तावेजहरुमा र सरकारी कागजपत्रहरुमा नेपाल संवत्‌को मिति उल्लेख गर्नु जरुरी छ ।
दिपेन्द्र श्रेष्ठ

ब्रम्हाण्डमा रहेका प्रत्येक कणहरु, र समग्रमा पुरै ब्रम्हाण्ड, सब गतिशील छन्, परिवर्तनशील छन् । त्यसैले नै हुनुपर्छ, ब्रम्हाण्डका सबै प्रक्रिया, अवस्था अस्तित्व सब गतिशील छन् ।

सबै नेपालीको संवत् – नेपाल संवत्

त्यसमध्ये सबैभन्दा धेरै गतिशील छ, ‘समय’ ।यस्तो तीव्र गतिशील ‘समय’को मापन चुनौतीपूर्ण त छ नै, महत्वपूर्ण र अत्यावश्यक पनि छ । समयको मापन नगरी इतिहास जीवन्त हुन्न, वर्तमान इंगित हुन्न र भविष्य निर्धारित हुन सक्दैन । साथै, तिनीहरु अध्ययनयोग्य, मननयोग्य, र चिन्तनयोग्य पनि हुँदैनन् । त्यसैले चेतनशील मानव समाजका लागि ‘समय’ मापन र गणना महत्वपूर्ण मात्रै नभई अत्यावश्यक पक्ष हो ।

प्रकृतिको अनुपम कृति हो, मानव जाती । उसले उत्थान गरेको सभ्यता विकाससँगै ‘समय’ गणनाका दुई मुख्य प्राकृतिक विधिको विकास भएको पाइन्छ – चन्द्रमाको गति अनुसार गरिने ‘समय’ गणना ‘चन्द्रमानक पात्रो’ र सूर्यको गति अनुसार गरिने ‘समय’ गणना ‘सूर्यमानक पात्रो’ । यी दुईमध्ये कुनै एउटा पात्रोको आधारमा कुनै विशेष समय–कालखण्डलाई सुरुवाती विन्दुको रुपमा मानेर समयको मापन गर्ने विधिलाई संवत् भन्ने गरिएको छ । विश्वमा यस्ता संवत् अनगिन्ति छन् । प्रचलित अनेकौं सम्वत्हरुमध्ये अधिकांश संवत्‌हरु कुनै निश्चित धर्म, धार्मिक नेता वा शासकहरुको नाममा प्रचलनमा ल्याइएका छन् । अपवादमा रहेको ‘चन्द्रमानक पात्रो’मा आधारित ‘नेपाल संवत्‌’ विश्वको एक मात्र यस्तो संवत् हो जुन देशको नाममा प्रचलनमा ल्याइएको छ ।

नेपालका प्रचलित संवत्‌हरु

स्पष्ट प्रमाणको अभावमा नेपालको प्रारम्भिक इतिहास अत्यन्तै अस्पष्ट छ, अनुमान र किम्वदन्तीहरुले भरिएका छन् । यसको प्रभाव सम्वत् प्रयोगको इतिहासमा पनि परेको छ । किराँत शासन कालमा नेपालमा कुन संवत् प्रचलनमा थियो भन्ने कुरा अहिलेसम्म ज्ञात हुन सकेको छैन । त्यसपछिको लिच्छवी शासनकालमा भारतका शकवंशीय शासकहरुको नामबाट चलाइएको ‘शक संवत्’ प्रचलनमा आएको देखिन्छ जसको प्रयोग ५२७ वर्ष (ई.सं. ६०५) सम्म रह्यो । ‘शक संवत्’ भारतको राष्ट्रिय संवत् पनि हो । त्यसपछि राजा अंशुवर्माले राजा मानदेव द्वितीयको नाममा ‘मानदेव संवत्’ चलाए जुन २७६ वर्ष (ई.सं. ८८१) सम्म औपचारिक प्रचलनमा रह्यो । त्यसपछि लिच्छवी राजा राघवदेवले ‘नेपाल संवत्’ चलाए । यो ८८८ वर्ष (ई.सं. १७६९ सम्म) सम्म अविछिन्न रुपमा औपचारिक प्रचलनमा रह्यो । ने.सं. ८८८ अर्थात वि.सं १८२५ ई.सं.१७६९ मा काठमाडौंमाथि विजय प्राप्त गरेपछि राजा पृथ्वीनारायण शाहले शक सम्वत्लाई पुनः प्रचलनमा ल्याए जुन १३२ वर्ष (ई.सं. १९०१) सम्म कायम रह्यो । त्यसपछि राणा प्रधानमन्त्री चन्द्र शमशेरले भारतीय उपमहाद्वीपका एकजना रजौटा बिक्रमादित्यको नाममा चलाइएको ‘बिक्रम संवत्’ सन् १९०१ मा एकैपटक वि.सं १९५८ को अवस्थामा औपचारिक प्रचलनमा ल्याए, जुन कयौं राजनीतिक प्रणालीको परिवर्तनको वावजुद आजसम्म राजकीय तहमा कायमै छ । यसर्थ, नेपालमा सरकारी मान्यताबाट विक्रम सम्वत् नेपालमा प्रचलनमा आएको १२२ वर्षमात्र भएको छ ।

नेपाल संवत्‌को सुरुवात

नेपाल संवत् लिच्छवी राजा मानदेव द्वितीयको नाममा प्रचलित ‘मानदेव संवत्’लाई विस्थापित गरी लिच्छवीकालकै अर्का राजा राघदेवले प्रचलनमा ल्याएको संवत् हो । ‘तत्कालिन व्यापारी शंकधर साख्वाले आफ्नो नीजि सम्पत्तिबाट प्रजाहरुको ऋण तिरिदिएको र उनीहरुलाई ऋण मुक्त गरेपछि नेपाल सम्वत्को सुरुवात गरेको’ अधिकांश इतिहासविद्हरुको निस्कर्ष छ । यद्यपी, जन–उपकारको लागि यत्रो धन उनले कताबाट ल्याए भन्ने कुरामा यथेष्ट प्रमाण भेटिंदैन । लोककथनले कान्तिपुरका व्यापारी ‘शंखधर शाख्वा’ले लखु तीर्थबाट ल्याएको बालुवा सुनमा परिणत भएपछि राजा राघदेवको अनुमतिमा राज्यका सम्पूर्ण ऋणिहरुको ऋण चुक्ता गरेर दासमुक्त गरेको खुशियालीमा राजा राघदेवकै पहलमा यो संवत् स्थापना र सुरुवात गरिएको विश्वास गर्छ ।

यो घटना नेपालको इतिहासमा यथेष्ट ऐतिहासिक प्रमाणको अभाव भएको नेपालको इतिहासकै ‘अध्यारो युग’ मानिने बखतमा घटेको हुँदा यसबारे स्पष्ट प्रमाण भेटिएको छैन, यद्यपी हामी सजिलै अनुमान गर्न सक्छौं कि ‘शंखधर शाख्वाः’ले केही राष्ट्रिय गौरव तथा स्वाभिमानको काम गरेकै हुनुपर्छ । कुनै ठूलो कृतिको काम नगरेको भए सामन्ती युगका राजा राघवदेवले आफ्नै पुर्खाको नाममा स्थापित ‘मानदेव संवत्’लाई खुसुक्क प्रतिहरण गरी लुसुक्क ‘नेपाल संवत्’ प्रचलनमा ल्याउने थिएनन् नै ।

राजनीतिक दृष्टिकोणले हेर्दा शंखधर साख्वाले प्रजाहरुको ऋण तिरिदिएको घटनाले त्यति महत्व राख्दैन, जति त्यसमा अन्तरनिहित देशप्रेम, राष्ट्रियताको भावना र जनताको संगठन बलले सामन्ती राज्यसत्तालाई मनाउन फुल्याउन सफल भएको कुराले महत्व राख्दछ । यस अर्थमा शंखधर साख्वालाई नेपाल संवत्का प्रवर्तक मात्र होइन, नेपालका सुरुवाती देशभक्त एवं राष्ट्रवादी जननेता मान्नुपर्छ । यसैलाई मनन गरी नेपाल सरकारले नेपाल संवत्‌का प्रवर्तक शंकधर शाख्वालाई ‘राष्ट्रिय विभूति’ र नेपाल संवत्‌लाई ‘राष्ट्रिय संवत्’ घोषणा गरेको छ । नेपाल संवत् नयाँ वर्ष सुरु हुने कार्तिक शुक्ल प्रतिपदाको दिन सरकारले ‘सार्वजनिक विदा’समेत घोषणा गरिसकेको छ ।

नेपाल संवत्‌को जन–उपयोग

नेपालका केही अल्पसंख्यक धार्मिक वा जातीय समुहहरुबाहेक बहुसंख्यक जनताको धार्मिक, साँस्कृतिक, सामाजिक तथा जन्मदेखि मृत्युपर्यन् समेतको कार्यमा नेपाल संवत् अक्षुण्ण र अभिन्न रुपले गाँसिएको छ । नेपालीको जीवनमा जन्मपछिको पहिलो कर्मकाण्डी उत्सव ‘पास्नी’को साइत जुराउनेदेखि नै नेपाल सम्वत्‌को प्रयोग सुरु हुन्छ । हामीले मनाउने चाडबाड, विवाह–ब्रतबन्धको साईत, जन्मोत्सवहरु, जीवित पूर्खाहरुको जङक्व, मृत पूर्खाको नाममा गरिने श्राद्ध (तिथी), तर्पण, पिण्डपानी अर्पण आदि सबै नेपाल सम्वत्‌कै तिथि अनुसारका साइतमा गरिन्छन् । अर्थात्, नेपाली जीवनमा नेपाल संवत् जीवन परन्त पनि प्रयोगमा रहन्छ ।

साउने संक्रान्ति, माघे संक्रान्ति, असार १५ जस्ता केहि अपवाद छोडेर संस्कृतिका धनी हामी नेपालीका असंख्य चार्डपर्वहरु दशैं, तिहार, वर्षैभरीका सम्पूर्ण पूर्णिमा, औंशी इत्यादि सबै नेपाल सम्वत्कै तिथि अनुसार मनाउँछौं । नेपालका तानाशाही शासकहरुले नेपाल संवत्‌लाई राजकीय मान्यताबाट गलहत्याए पनि यो संवत् नेपाली जनजीवनमा मात्रै अत्यन्त गहिरो गरी भिजेर बसेन, ती शासकले समेत आफ्ना पूर्खाका श्राद्ध, तर्पण, पिण्डपानी अर्पण, सार्वजनिक विदा, चाडपर्व यही नेपाल संवत्‌मा आधारित तिथिअनुसार गर्नुको विकल्प निकाल्न सकेन । कुनै आततायी शासकले प्रतिबन्ध लगाउँदैमा नेपाल संवत्‌को अस्तित्व र प्रयोग नेपाली समाजबाट समाप्त भएन, हुनेवाला पनि छैन । हाम्रो धर्म, धार्मिक विश्वास, सँस्कृति, परम्परा र रितिरिवाज जीवित रहेसम्म नेपाल संवत्‌को अस्तित्व पनि स्वतः जीवित रहने छ ।

नेवार समुदायमा नेपाल संवत्

नेपाल संवत्‌को सुरुवाती दिन (नयाँ वर्ष) नेवारहरुले ‘ईश्वरको वास मानव शरिरमा हुने भएकाले वास्तविक मन्दिर मानव शरिर’ हुने विश्वासका साथ मानव शरिरलाई पूजा गर्दै मनाउने एक महान पर्व ‘म्हःपुजा’को दिन पर्दछ, नेवार समुदायमा यसलाई पुरानो जात्रा (नखः)का रुपमा समेत लिइन्छ । ‘न्हुदँ’ (नयाँ वर्ष) शब्द ‘च्वसा पासा’ (नेपाल भाषा साहित्यिक संस्था) का प्रेमबहादुर सिंहले २००८ सालमा पहिलो पटक प्रयोगमा ल्याएको मानिन्छ ।

राणा निरंकुशताविरुद्धको नेपालको प्रजातान्त्रिक आन्दोलन सफल भएपछि नेपाली नेताहरु हिन्दुस्तानबाट नेपाल फर्कने क्रममा उनी पनि नेपाल फर्के र लगत्तै उनले २००८ सालको नेपाल सम्वत् नयाँ वर्षको दिन पाटनको न्ह्यँखामा इतिहासमा पहिलोपटक ‘न्हुदँ’ कार्यक्रम आयोजना गरे ।

हुर्कंदो प्रजातन्त्रलाई निमुठ्याएर राजा महेन्द्र शाहले पञ्चायती निरंकुश शासन लागु गरेपछि देशमा खस भाषा (नेपाली भाषा) मात्र प्रयोग गर्न पाउने गरी ‘एक भाषा नीति’ लागु गरे । त्यसपछि देशका अन्य भाषाहरु राजकीय प्रयोग मात्र हैन, सामाजिक प्रयोगबाटै कमजोर हुन थाले, कतिपय अवस्थामा बहिस्कृत र दण्डनीय पनि बनाइए । यस्तो अवस्थामा नेपाल भाषा प्रेमी/प्रयोगकर्ता तथा तत्कालिन निरंकुश शासकविरुद्ध आन्दोलित नेवार समुदाय ‘नेपाल भाषा मंका खलः’को नेतृत्वमा नेपाल भाषा प्रबर्धनको आन्दोलनमा होमिए । ‘एक भाषा नीति’लाई प्रबर्धन गरिरहेको राज्य यो भाषा आन्दोलनको विरुद्धमा निरंकुश शैलीमा खनिएपछि आफ्नो आन्दोलनलाई सामाजिक जलप लगाउन यो संस्थाले नेपाल सम्वत् नयाँ वर्षको दिनमा ‘न्हुदँ’ कार्यक्रम भव्यरुपमा मनाउन थाल्यो, जुन प्रजातान्त्रिक आन्दोलनको पूर्ण सफलतापछि आज पनि निरन्तर रुपमा अगाडि बढिरहेको छ ।

आज देशको राजधानी मात्र नभई सहर बजारदेखि गाउँगाउँ सम्म र नेपाली निर्वासित संसारका जुनै देशमा ‘न्हुदँ’ कार्यक्रम विशेष उल्लासका साथ मनाइँदैछ । यसरी नेवारहरुको महान पर्व ‘म्हः पूजा’को दिनमा नेपाल सम्वत् नयाँ वर्ष सुरु हुने, राज्यले तिरस्कार गरेर मृत अवस्थामा फ्याकेको नेपाल संवत्‌लाई नेवार समुदायले संवर्धन र प्रबर्धन गर्दै नयाँ वर्ष ‘न्हुदँ’ मनाउने परम्परा सुरु गरेको र नयाँ वर्ष कार्यक्रमको नाम पनि नेपाल भाषाकै शब्द ‘न्हुदँ’ कार्यक्रमले ख्याति पाएपछि ‘यो नेवारहरुको मात्र सम्वत् हो कि !’ भन्ने भान अरु समुदायमा पर्न गएको देखिन्छ ।वास्वतमा यो नेवारहरुको मात्र सम्वत् भन्न मिल्ने कुनै आधार छैन । यसको स्थापना र प्रचलन नै ठकुरी राजा राघदेवको पालामा भएको हो, नेवार समुदायले यसको वकालत गरेको त पछिल्लो शताब्दीदेखि नै हो ।

देशको नाममा प्रचलित यो संवत्‌लाई नेवारहरुले केही दशकदेखि बढी उत्साहजनक रुपमा मनाउन थालेको मात्रै हो, वास्तवमा यसलाई सदियौंदेखि जोगाउने काम निश्चयरुपमै ब्राह्मण समुदायले गरेका हुन् । भित्ते क्यालेण्डर सुरु हुनुपूर्व नेपाल सरकार अन्तर्गतको ब्राह्मणहरुको समिति – ‘पञ्चाङ्गण समिति’ले तिथि, मिति, चाड, पर्व तोक्थ्यो, यी सबै नेपाल संवत्मा आधारित हुन्थ्यो । सयौं वर्षसम्म यही समितिले यो संवत्‌लाई जीवन्त बनाए ।

राणाकालमा जब नेपाल संवत्‌लाई पुरै बन्देज गरियो, यही पञ्चाङ्गण समितिले नै नेपाल संवत्‌को प्राण थामेको हो, निरन्तरता दिएको हो । यसलाई लिखित रुपमा विकास र प्रयोग गरेको पनि त्यही ब्राह्मणहरुले नै हो । तसर्थ नेपाल संवत् अनेक अप्ठ्यारा मोडबाट गुज्रिँदासमेत आजसम्म जीवित हुुनुमा ब्राह्मणहरुको ठूलो भूमिका छ । र, नेपालमा नेपाल संवत् मात्रै त्यस्तो संवत्‌ हुन पुगेको जुन राज्यले मान्यता दिएपनि नदिएपनि सुरुवातदेखि अविछिन्न रुपमा जनताले निरन्तर प्रयोग गर्दै आइरहेको एकमात्र संवत् हुन पुगेको छ । आज पनि उही ब्राह्मण समुदायका विज्ञहरु सम्मिलित ‘पञ्चाङ्गण समिति’ले नेपाल संवत्‌कै आधारमा वर्ष भरिको चाड, पर्व, उत्सव आदि निर्धारण गर्ने काम गर्दछ ।

सामूहिक र सामाजिक भावनामा अग्रपंक्तिमा उभिने व्यवहारगत (संभवतः वंशाणुगत) चरित्रले गर्दा हुनुपर्छ, देशको नाममा स्थापित यो नेपाल सम्वत्मा नेवार समुदायले अधिकतम आस्था प्रदर्शन गरे, यसलाई जीवित राखे र केही दशक अघिदेखि यसको संरक्षण, सम्बर्धन र व्यावहारिक प्रयोगको माग गर्दै आन्दोलनमा समेत छन् ।

नेपाल संवत्‌को प्रवर्तक मानिने राष्ट्रिय विभूति शंखधर शाख्वा नेवार समुदायको हो भन्ने कुनै प्रमाण छैन । नेवारहरुको शख्वाल, शाखल, ध्वँख्वाल जस्ता जातिहरु छन् तर शाख्वा छैन । उनी इज्जतवाला (साखवाला) भएकाले उनलाई शाख्वा भनेको हुनसक्छ, पैसा भएकालाई पैसावाला भनेजस्तै । यसरी यो शाख्वा थर नै हैन भन्ने इतिहासविद् धेरै छन् । यत्ति हो कि हालका दिनमा नेपाल संवत्‌लाई माया गर्ने, आफ्नो ठान्नेमा नेवार समुदाय अगाडि आए, उनीहरु नेपाल सम्वत्का सुरुवाती कथामा जोडिएका ‘देशभक्ति र स्वाभिमानका कथा’ले बढी उत्तेजित भए, नत्र यसलाई हालसम्म जीवित राख्नमा नेवारको भन्दा ब्राह्मणको भूमिका अतुलनीय रुपमा अधिक छ ।

संवत् नीति आवश्यक

नेपाल संवत् ज्योतिष शास्त्रको वैज्ञानिक धरातमा उभिएर चन्द्रमाको गति र अवस्थामा आधारित भएर बनाईएको अत्यन्तै वैज्ञानिक संवत् भएपनि व्यवहारगत प्रयोगका हिसाबले यो सम्वत्को प्रयोगमा कठिनाई अवश्य छ । सम्वत्को प्रयोग दैनिक जीवनसँग अन्योन्यास्रित रुपमा गाँसिएको हुन्छ, तसर्थ क्षणिक सद्भाव र समर्पणको भावनामा आएर कुन संवत् प्रयोग गर्ने भन्ने निर्णय लिन सकिन्न । हाम्रो जस्तो बहुसम्वत्युक्त समाजमा सम्वत्को प्रयोगका सन्दर्भमा राष्ट्रिय सहमति गरी हाम्रो सीमानाभित्र स्थापना भएका सबै संवत् राष्ट्रिय संवत्‌को मान्यता दिएर ‘संवत् नीति’ बनाउन आवश्यक छ, संवत्‌लाई सांस्कृतिक, सामाजिक, केही हदसम्म व्यवहारिक रुपमा कसरी सम्मानजनक प्रयोग गर्ने, संरक्षण र सम्बर्धन गर्ने भनि नीति बनाउनुपर्छ ।

विदेशी विक्रम संवत् व्यवहारिक प्रयोग गर्नुभन्दा विदेशी ईस्वी संवत् सरल र धेरै फाइदाजनक हुन्छ । ईस्वी संवत् प्रयोगका हिसाबले पनि सजिलो, कुन महिनामा कति दिन हुन्छ भन्ने कुरा पहिल्यै थाहा हुने, विश्वभरी एकरुपता समेत हुने आदि यसका बलियो पक्ष हुन् । त्यसो त विस्तारै विश्व भूमण्डलीकरणमा प्रवेश गर्दा भोलि हामीले यो संवत्‌लाई व्यवहारिक प्रयोग नगरी सुखै छैन ।

आगामी बाटो

नेपालमा हरेक वर्षको मध्यगृष्ममा झैं हामी अहिले पनि पुनः एकपटक नेपाल संवत्को बहसमा छौं । ‘महाजनलाई ऋण तिर्न नसक्दा जनता मालिकको घरमा पुस्तौंसम्म नोकर बस्नुपर्ने अतिसामन्ती युगमा आफूले कमाएको (प्राप्त गरेको) सम्पत्तिबाट शंखधर शाख्वाले जनतालाई ऋणमुक्त गरेको हर्षमा स्थापना गरिएको’ जनताको स्वाभिमानसित जोडिएको र देशको नाममा नामांकरण गरिएको संसारकै एक्लो सम्वत्लाई नेपाल सम्वत् नेवार मात्रैको सम्वत्को रंग लगाएर अन्य नेपाली समुदायले यसलाई तिरस्कारको नजरले अवलोकन गरिनु विडम्वनापूर्ण छ । स्वाभिमान र जनताको भलाईको कथाले बढी भावुक भएर नेवार समुदायले यो सम्वत्लाई अधिक आफ्नोपनले स्वीकारेको हुनसक्छ, यसो भन्दैमा यो सम्वत् नेवारहरुको मात्र हो भन्नु गरिमामय सम्वत् माथिको अन्याय नै हो । नेवार समुदायमा यो सम्वत् प्रतिको समर्पण उनीहरुको केवल न्यायप्रतिको समर्पण हो, समर्थन हो, गर्व हो, घमण्ड हैन ।

आज विश्व भूमण्डलीकरणमार्फत एक गाउँको रुपमा विकास भइरहेको सन्दर्भमा व्यावहारिक प्रयोगमा केही कठिन नेपाल संवत्‌लाई मात्रै सरकारी कामकाजमा प्रयोग गरिनुपर्छ भन्ने माग समयसापेक्ष नहुनसक्छ । विक्रम संवत् विदेशी माटोमा पलाएको संवत् हो, तसर्थ यसलाई प्रयोग गर्नुभन्दा विश्वव्यापी हुँदै गएको सरल इस्वी संवत्लाई औपचारिक प्रयोग गरी सांस्कृतिक तथा ऐतिहासिक दस्तावेजीय प्रयोगका लागि विक्रम संवत्लाई नेपाल संवतले विस्थापन गराइनुपर्छ ।

त्यसो त केवल महिना र गतेका लागि विक्रम संवत् साहरा लिन बाहेक नेपालका सम्पूर्ण ठूला चाडपर्व, सांस्कृतिक पर्वको लागि नेपाल संवत्को प्रयोग विद्यमान नै छ । शताब्दियौंदेखि दैनिक जीवनमा गाँस्दै आएको आफ्नो मौलिक सम्वत् हुँदाहुँदै त्यही प्रकारको अर्को विदेशी सम्वत् प्रोत्साहन गर्ने कार्यलाई साम्राज्यवादको स्वीकारसम्म भन्न नसके पनि यो आफ्नो इतिहास माथिको हेला अवश्य हो । स्मरण रहोस्, भारतमा स्थापना भएको यो विक्रम सम्वत्लाई भारतमा समेत अव्यवहारिक भनेर प्रयोग गरिंदैन ।

हाम्रो जस्तो बहुसम्वत्युक्त देशमा अब ‘सम्वत् नीति’ आउन आवश्यक छ । दिनानुदिन प्रयोगमा सरल इस्वी सम्वत्को प्रयोग गरेर प्रत्येक ऐतिहासिक दस्तावेजहरुमा र सरकारी कागजपत्रहरुमा नेपाल सम्वत्को मिति उल्लेख गरिनु जरुरी छ । वास्तवमा नेपाल सम्वत्प्रतिको समर्थन स्वाभिमान र राष्ट्रभक्तिप्रतिको समर्पण पनि हो । संक्रमणकालीन यो अवस्थामा छलफल र बहसका हजारौं मुद्दाहरुमाझ यो पनि एक मसिनो तर महत्वपूर्ण मुद्दाका रुपमा उठाइनुपर्छ । जनताको भलाईको स्मरणमा स्थापित र देशप्रेम भावनासँग जोडिएको यस सम्वत्लाई पहिलोपटक नेपाली जनताले नेपाली जनताको लागि जारी गरेको नेपालको संविधानको नाममा उल्लेख गर्न शुरुवात गरौं – ‘संघीय गणतन्त्र नेपालको संविधान – ११३६’ !

(लेखक डा. दिपेन्द्र श्रेष्ठ नेपाल बुद्धिजीवी परिषद्का सचिव हुन् ।)

प्रकाशित : कार्तिक २७, २०८० २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?