कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

के तपाईं उदार हुनुहुन्छ ? 

कसैको ढुंगो कसैको देवता हुन सक्छ । कसैको रूख, कसैको ईश्वर । कसैको धोतीमा पहिचान हुन सक्छ, कसैको जनैमा । प्रत्येक सभ्यताले आफ्नो धर्म, संस्कृति र सभ्यताप्रति सम्मान खोज्दा अरूको धर्म, संस्कृति र प्रचलनलाई पनि उति नै सम्मान गर्नुपर्छ ।
केशव दाहाल

मेरा एक जना मित्र छन्, मोहन सुब्बा । लामो समय नेपालको बैंकिङ क्षेत्रमा बिताएका उनी अहिले अमेरिका बस्छन् । साहित्य पढ्छन् र घुमडुलमा रमाउँछन् । दसैंमा नेपाल फर्किएका उनीसँग मैले धेरैपछि लामो संवाद गरें । त्यसै क्रममा मैले सोधें, ‘अमेरिका र नेपालमा के फरक अनुभव गर्‍यौं त साथी ?’

के तपाईं उदार हुनुहुन्छ ? 

उनले भने, ‘अमेरिकामा मान्छेहरू उदार छन् । त्यहाँ एकअर्काप्रति एसेप्टेन्स छ । जो जे हो उसलाई त्यही रूपमा स्वीकार गर्ने उदारता । उनीहरू कसैको निजी आस्थालाई अपमान गर्दैनन् । तर नेपालमा उदारता छैन । हामी अनेक जाति, धर्म र सम्प्रदायका मान्छे हजारौं वर्षदेखि सँगै छौं, तर पनि अझै अनावश्यक रूपमा संकीर्ण र पूर्वाग्रही छौं ।’

मैले भनें, ‘नेपालमा पनि उदार र सहिष्णु एवं सद्भाव भएका मान्छेहरू प्रशस्तै छन् ।’ आफ्नो भनाइलाई स्पष्ट गर्दै उनले भने, ‘मेरो यो टिप्पणी तिनीहरूप्रति हो, जो वास्तवमै संकीर्ण, पूर्वाग्रही र अनुदार छन् । जो उदार र सद्भावपूर्ण छन्, उनीहरूप्रति मेरो पूर्ण सम्मान छ ।’ उनको कुरा सुनिबस्दा मेरो मनमा आए भर्खरै धरान, मलंगवा र नेपालगन्जमा भएका धार्मिक र सामाजिक अतिवादका घटनाहरू, जसले सावित गर्छन्— हामी कट्टर र अनुदार छौं । हाम्रो संकीर्णता असाध्यै निम्नकोटिको छ । हामी कतै धोती, जनै र टोपीसँग पूर्वाग्रह राख्छौंÙ कतै रंग, नाक र आँखासँग । आज पनि हाम्रा विद्वान्हरू दसैं मनाउने र बहिष्कार गर्नेमा विभाजित हुन्छन् । अझै पनि हिन्दुहरूले पुज्ने गोरुलाई काटिखाँदा एक थरीलाई उल्कैको आनन्द आउँछ । आज पनि किरात आस्थाको प्रतीक खुवालुङलाई कोही फगत ढुंगा ठानेर अपमान गर्छन् । मित्र मोहनले भने, ‘अमेरिकाको समाज जात, धर्म र संस्कृतिलाई व्यक्तिको निजी छनोट मान्छ । हाम्रोमा ती सबैभन्दा माथि हुन्छ घनघोर राजनीति ।’

कुराकानी चलिरहँदा मेरो मनमा अनेक अनुहार घुमीघुमी आए । स्वघोषित अग्रगामी अनुहार । कोही गेरु रंगका, कोही हरियो रंगका । कोही अग्लो नाक गरेका, कोही चिम्सा आँखा गरेका । मनमनै गमें, के उनीहरू (हामी) साँच्चै ‘उदार’ छन् ? के उनीहरू फरक विचार, धर्म, संस्कृति र आस्थाप्रति ‘समभाव’ राख्छन् ? के उनीहरूमा ‘एसेप्टेन्स’ छ ? सभ्य समाजमा उदारता, स्वीकार्यता र समभाव तीन कारणले महत्त्वपूर्ण हुन्छन् । पहिलो, हाम्रो जस्तो बहुधार्मिक, बहुसांस्कृितक र बहुजातीय मुलुकमा उदारता, समभाव र स्वीकार्यताबिनाको लोकतन्त्र मूल्यहीन हुन्छ । दोस्रो, यी तीन आधारबिनाको बहुलवादी समाज कदापि बस्नलायक हुँदैन । तेस्रो, यी तीन आधारबिना न राज्य लोकतान्त्रिक हुन्छ न त राजनीति । किनभने आधुनिक समाजको सुन्दरता हो— उदारता, सहिष्णुता र स्वीकार्यता ।

तर कतिपय सन्दर्भमा अहिले हाम्रो समाज ठीक विपरीत दिशामा चल्दै छ । अर्थात्, यो कट्टरता, पूर्वाग्रह र दक्षिणपन्थको अँध्यारोतिर जाँदै छ । प्रश्न आउँछ, यो किन जातीय र धार्मिक अतिवादको संकुचनतर्फ जाँदै छ ? कोही कसैका निजी आस्थाप्रति असहिष्णु कसरी हुन सक्छन् ? आजलाई यी र यस्तै प्रश्नमा विवेचना गरौं ।

ऐतिहासिक कमजोरी

जगजाहेर छ, मानव सभ्यता कहिल्यै सीधा रेखामा हिँडेन । पछिल्ला हजारौं वर्ष, यो अनेक बक्ररेखा पार गर्दै अगाडि बढ्यो । सभ्यता निर्माणको ‘होमोसेपियन्स’ यात्रा आँधीजस्तै तीव्रतम थियो । यात्राका कहाँको मान्छे कता पुग्यो, कहाँको कता ! यो महायात्रामा मान्छेले आफूसँगै बोकी ल्यायो— भाषा, धर्म, संस्कृति र सभ्यता । धर्म, संस्कृति, जमिन, सत्ता र शक्तिका लागि मान्छेले अनेक युद्ध गर्‍यो । अनेक संघर्ष भए । यसरी नै युद्ध, भागदौड र आप्रवासनको सिलसिला हजारौं वर्ष चल्यो । यो महासंग्राममा कुनै वंश सकिए, कुनै फैलिँदै गए । कुनै भाषा, संस्कार र संस्कृति लोप भएÙ कुनै विश्वव्यापी बने । मान्छे त्यो उथलपुथलको स्वयं नायक (खलनायक) बन्दै यहाँसम्म आइपुग्यो ।

त्यसै क्रममा आधुनिक देशहरू बने । कुनै देश युद्धबाट बने । कुनै देश युद्धबाटै नाश भए । देश, राष्ट्र, राज्य र सभ्यता निर्माणको यो प्रक्रिया आफैंमा कष्टदायक थियो । यो कष्टपूर्ण प्रक्रियाबाट कतिपय देश एकल चरित्रका बने । कतिपय देश बने बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक । देश बन्ने प्रक्रियामा लाखौंलाख मान्छे मारिए । मर्नेहरूमध्ये कसैको इतिहास लेखियो, कसैको इतिहास मेटियो । त्यसैले त भनिन्छ, ‘लाखौं गुमनाम मान्छेको रगतले कोरिएको भूगोलको नाम हो— देश ।’

नेपाल पनि त्यसरी नै बन्यो । अर्थात्, पृथ्वीनारायण शाहले युद्धबाट नेपाललाई एकीकृत गरे । त्यसपछि हामी अनेक नश्ल, भाषा, धर्म र संस्कृतिका मान्छेहरू एउटै देशका नागरिक भयौं । हाम्रो भूगोलको एकीकरण भयो । तर मान्छेसँग भूगोल मात्र थिएन । मान्छेसँग थिए— भाषा, धर्म, संस्कृति र कथाहरू, जसलाई न पृथ्वीनारायण शाहले एकीकृत गरे, न त त्यसपछिका शासकले । अर्थात्, हाम्रो धार्मिक, जातीय, भाषिक र सांस्कृतिक मनसँग मनको एकीकरण भएन । राज्य देशको सिमानामा गर्व गरेर बस्यो, उसले मान्छेलाई जोड्ने रचनात्मक प्रयत्न नै गरेन । जे गर्‍यो, त्यो उल्टो थियो । परिणामतः, अनेकौं जातजाति सीमान्तीकरणमा परे । असन्तुष्टि बढ्दै गयो । राज्यसँगका ती असन्तुष्टि बिस्तारै शासक जातिमा ठोक्किन आइपुगे । शासक जातिसँगका असन्तुष्टिहरू बिस्तारै उनीहरूका भाषा, धर्म र संस्कृतिसँग ठोक्किए । संकीर्णता हुर्कंदै गयो ।

आगो बाल्नेहरू

हामी धार्मिक र सामाजिक रूपमा यति धेरै कट्टर, संकीर्ण र पूर्वाग्रही हुनुका चार कारण छन् । पहिलो कारण छ— स्वयं राज्य । किनभने, भूगोलको एकीकरणपछि देशवासीको साझा मनोविज्ञान, साझा सपना र साझा लक्ष्य निर्माण गर्न राज्यले ‘एक जाति, एक भाषा र एक भेष’ को नीति लियो । अर्थात्, नेपाली जाति, नेपाली भाषा, हिन्दु धर्म, दौरा–सुरुवालको नीति । हुनुपर्ने थियो— सबै जाति, भाषा, धर्म र संस्कृतिलाई जोडेर नेपालीत्व निर्माण । तर बनाउन खोजियो— एक भाषा, एक धर्म, एक भेष र एकल संस्कृतिको नेपाल । नीति नै बेठीक भएपछि, परिणाम उल्टो निस्कनु स्वाभाविक थियो । त्यस्तै भयो । विभिन्न भाषा, धर्म, सम्प्रदाय र सभ्यताहरू पछाडि परे । सीमान्तीकरण बढ्दै गयो । राज्यका समावेशी तन्तुहरू चुँडिए । तर दुर्भाग्य, सत्ताले गरेको त्यो दोष निश्चित जाति, धर्म र सम्प्रदायमाथि थोपरियो । अतः अहिले जे भइरहेको छ, त्यसको पहिलो दोषी हो— स्वयं सत्ता ।

दोस्रो कारण हो— बर्गेलिएको राजनीति । जस्तो कि, केही दशकदेखि हाम्रो राजनीतिको मुख्य कार्यभार थियो— संघर्ष । लोकतन्त्रका लागि संघर्ष । जातीय मुक्तिका लागि संघर्ष । महिला मुक्तिका लागि संघर्ष । अवश्य नै संघर्ष अनिवार्य थियो । तर संघर्ष कोसँग गर्ने ? प्रारम्भमा हाम्रो संघर्ष थियो सामन्तवादसँग । सत्तासँग । तर अन्तरविरोधहरू बर्गेलिँदै गए । राजनीतिक ‘भाष्य’ बर्गेलिँदै गयो । परिणामतः, राज्यसत्ताविरुद्धको संघर्ष जातीय, धार्मिक र सांस्कृतिक समूहतिर सोझियो । त्यसपछि भयो के ? मधेशीलाई भारतीय देख्न थालियो । दलित र जनजातिलाई खस–आर्यसँग जुधाउने प्रयत्न भयो । सालिकहरू तोडफोड भए । संस्कृतका ग्रन्थहरू जलाइए । मधेशबाट पहाडेहरू बसाइँ सरे । बर्गेलिएको राजनीतिलाई सम्हाल्नेभन्दा गिजोल्ने धेरै भए । परिणामतः, संघर्ष बर्गेलियो र यो अनेक जाति, धर्म, सभ्यता र संस्कृतिबीच आइपुग्यो ।

तेस्रो कुरा— आजसम्मको हाम्रो राजनीति विभाजनकेन्द्रित थियो । वर्गको विभाजन । जातको विभाजन । भूगोलको विभाजन । धर्म र सम्प्रदायको विभाजन । विभाजन जमिन र उत्पादन सम्बन्धसँग मात्र स्थिर रहेन । विभाजन भाषा, धर्म, संस्कृतिमा पनि पुग्यो । कसैले संस्कृत भाषामा सामन्तवाद देख्यो । कसैले मन्दिरमा सामन्तवाद देख्यो । कसैले दौरा–सुरुवालमा सामन्तवाद देख्यो । नास्तिक बन्ने नाममा मान्छेका अनेक आस्थामाथि घृणा बर्साइयो । आफ्नै दिमागभित्रको सामन्तवाद नदेख्ने, आफ्नै पार्टीको सामन्तवाद नदेख्ने, सत्ताको सामन्तवाद नदेख्ने र मात्र टोपीमा सामन्तवाद देख्ने क्रम बढ्दै गयो । राजनीति यति धेरै विरोधाभासमा फस्यो कि अध्यात्म, प्रेम र करुणा हराए । विशेष धातुको मान्छे बन्ने प्रक्रियामा मन भएको ‘व्यावहारिक र उदार’ मान्छे हराउँदै गयो । समाज रूखो, अह्ररो, संकीर्ण र पूर्वाग्रही बन्दै गयो । यो अनेक प्रवर्गमा विभाजित भयो । एकता, सद्भाव र स्वीकार्यताको राजनीति कसैले गरेन ।

चौथो कारणमा छ— नियोजित षड्यन्त्र । हिन्दुवादी, उग्र हिन्दुविरोधी, धर्मनिरपेक्षताविरोधी, जातिवादी, दक्षिणपन्थी, राजावादी आदि अनुदारवादीहरू अहिले मुलुकमा अस्थिरताको आगो बाल्न चाहन्छन् । उनीहरूका लागि ‘आगो बाल्नु’ नै एउटा ‘परियोजना’ हो । भाँडभैलोको परियोजना । यो परियोजनामा अनेक रंगको लगानी छ । सायद, अमुक मठाधीशहरूको लगानी छ । सायद, अमुक धार्मिक र जातीय मुक्तिका ठेकेदारहरूको लगानी छ । सायद, अमुक व्यापारीको लगानी छ । अथवा हुन सक्छ, नदेखिने अनेक पालनहारहरूको लगानी छ । धार्मिक अन्धताका लागि लगानी, जातीय अन्धताका लागि लगानी ।

उदारता, सद्भावना र न्यायको स्वरलाई ओझेल पार्ने र संकीर्णतालाई उराल्ने उनीहरू अनेक रंगका छन् । कोही पुरातन कर्मकाण्डी हिन्दुवादी छन्, कोही छन् सदाबहार हिन्दुविरोधी । कोही धर्मनिरपेक्षताविरोधी राजावादी छन्, कोही छन् जातिवादी । उनीहरूको चरित्र फरक छ । भाषा फरक छ । तर, उनीहरूबीच एउटा समानता छ— भाँडभैलो । एउटा हिन्दुत्व जोगाउने नाममा भाँडभैलो मच्चाउन चाहन्छ । अर्को हिन्दुत्वलाई सिद्ध्याउने नाममा भाँडभैलो मच्चाउन चाहन्छ । विपरीत मोर्चामा उभिएका उनीहरूको एउटै रणनीति छ— मुलुकमा जातीय र धार्मिक विग्रहको आगो बाल्ने । उनीहरू समाजलाई जोड्ने मसिनो धागोमा पेट्रोल छर्कन चाहन्छन् । त्यसैले उनीहरू हाम्रो समाजमा संकीर्णता र कट्टरताको विषवृक्ष रोपिरहेका छन् ।

दोबाटामा उभिएर

अब के गर्ने ? हामीसँग अगाडि जाने दुइटा बाटा छन् । पहिलो बाटो हो— उदारता, समभाव, स्वीकार्यता र एकताको बाटो । दोस्रो बाटो हो— कट्टरता, पूर्वाग्रह, सामाजिक विग्रह र दक्षिणपन्थको बाटो । पहिलो बाटोले हामीलाई लैजान्छ उज्यालोतिर । दोस्रो बाटो जान्छ अन्धकारतिर ।

कट्टरता, पूर्वाग्रह र भाँडभैलो नै हाम्रो गन्तव्य हो भने सजिलो छ, विषवृक्षमा पानी हालौं । अर्थात्, वेदवालाले मुन्धुम जलाऔं, मुन्धुमवालाले वेद । त्रिपिटकलाई नीचो देखाएर वेदको उचाइ बढाऔं । अथवा, बुद्ध, कृष्ण र तागेरा निङ्वाफुमालाई कोशीको तीरमा भिडाऔं र उत्सव मनाऔं । के आधुनिक र सभ्य समाजले यसरी सोच्न सक्छ ? विचार गरौं त, के जातजात भिडेर हाम्रो समाज शान्त रहला ? अथवा, के धर्मधर्म भिडाएर हामी धार्मिक बनौंला ? अथवा, के दलितलाई पाखामा राखेर हाम्रो सभ्यताको उचाइ बढ्ला ? के मधेशलाई होचो देखाएर पहाड अग्लो होला ? अवश्य नै हामी कुल, गोत्र, धर्म र संस्कृतिमा फरक छौं । तर फरक हुनु भनेको असमान हुनु होइन । फरक हुनु भनेको एकअर्काको अस्तित्वलाई इन्कार गर्नु होइन । अन्यथा, संकीर्णता र विग्रहमै जाने हो भने दुर्भाग्य निश्चित छ ।

हामी हिँड्ने अर्को बाटो हो— उदारता, समभाव र एसेप्टेन्सको बाटो । अवश्य नै हामीले मिलाउनुपर्ने धेरै छ । अवश्य नै धर्मभित्रका रूढताहरूलाई बदल्नु छ । हाम्रा मूल्यमान्यताहरूलाई अझ धेरै उदार, न्यायपूर्ण, मानवीय र जीवनमुखी बनाउनु छ । राज्यको चरित्र बदल्नु छ । बलियो, मौलिक र समावेशी राष्ट्र निर्माणको काम बाँकी छ । तर त्यो नागरिक–नागरिकबीचको ऐक्यबद्धता, उदारता र विश्वासबाट मात्र सम्भव छ ।

धर्मनिरपेक्ष मुलुकको नागरिकको सोच्ने तरिका, गर्ने व्यवहार र बोल्ने भाषा फरक हुनुपर्छ । त्यो भाषामा हुनुपर्छ उदारता, समभाव र एकत्व । सामाजिक तथा लोकतान्त्रिक अनुशासन । वस्तुतः, बहुलवादी समाजमा धर्म, पहिचान र संस्कृतिका आफ्नै सीमाहरू हुन्छन् । ती सब मसिना रेखाहरूबाट एकआपसमा जोडिएका हुन्छन् र त्यसरी नै छुट्टिएका पनि हुन्छन् । किनभने, कसैको ढुंगो कसैको देवता हुन सक्छ । कसैको रूख, कसैको ईश्वर । कसैको धोतीमा पहिचान हुन सक्छ, कसैको जनैमा । प्रत्येक सभ्यताले आफ्नो धर्म, संस्कृति र सभ्यताप्रति सम्मान खोज्दा अरूको धर्म, संस्कृति र प्रचलनलाई पनि उति नै सम्मान गर्नुपर्छ । अन्यथा, हामीले बोल्ने शब्दहरू कतिखेर अराजकताको आगो बाल्ने पेट्रोल बनिदिन्छन्, थाहा हुँदैन । आम मान्छेको मनमा आगो सल्कियो भने त्यसले सामाजिक सद्भाव त बिग्रन्छ नै, पछिल्ला राजनीतिक उपलब्धिहरू पनि बदनाम हुन्छन् । यो कुरा सबैले हेक्का राख्नुपर्छ । र, सबैभन्दा धेरै हेक्का राख्नुपर्छ तिनीहरूले जसले पछिल्ला राजनीतिक उपलब्धिहरूका लागि आफ्नो रगत र पसिना बगाएका छन् ।

मुख्यतः यो देश वेद, त्रिपिटक र मुन्धुम सभ्यताको (सामाजिक र सांस्कृतिक रूपमा) जगमा उभिएको देश हो । हामीले यी तीन सभ्यताको जगमा एक समावेशी, उदार, सद्भावपूर्ण र अग्रगामी राज्य बनाउनु छ । आफ्नै मौलिक चरित्रको लोकतान्त्रिक राज्य । सबैको साझा राज्य । समभावको राज्य । अन्त्यमा एउटा प्रश्न सोधेर लेखको अन्त्य गर्छु— मान्यवर, के तपाईं जातीय, भाषिक, धार्मिक र सांस्कृतिक रूपमा उदार हुनुहुन्छ ? किनभने, उदारता नै तपाईंको शक्ति हो । यस्तो शक्ति, जसले तपाईंलाई अगाडिको संसार हेर्न नयाँ दृष्टि दिन्छ ।

प्रकाशित : कार्तिक १९, २०८० ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?