कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मान्यवर ! के सबै ठीकठाक छ ?

यथास्थितिमाथि असन्तुष्टि, आलोचना र प्रश्न गर्दै उदाएको नेतृत्व सिंहदरबार छिर्नासाथ नागरिकका आलोचना र असन्तुष्टिलाई ‘नकारात्मक’ ठान्छ कसरी ?
केशव दाहाल

भदौ अन्तिम साताको कुरा हो । प्रधानमन्त्रीले सम्बोधन गर्ने एउटा कार्यक्रममा थियो, काठमाडौंमा । सहभागी थिए, अर्थमन्त्रीसहित देशकै प्रख्यात उद्यमी, व्यवसायी, लेखक, पत्रकार र प्रबुद्ध नागरिक । सदाझै प्रधानमन्त्रीको सम्बोधन उम्दा थियो । एक परम्परागत र अनुभवी शासकको लवजमा उहाँले भन्नुभयो, ‘अर्थतन्त्र सुधारउन्मुख छ । रोजगारीका नयाँ क्षेत्रहरू खुल्दै छन् ।

मान्यवर ! के सबै ठीकठाक छ ?

भ्रष्टाचार नियन्त्रणमा सरकारले ऐतिहासिक पहल लिएको छ । मुख्य कुरा सामाजिक न्यायको क्षेत्रमा सरकारले जे गरिरहेको छ, त्योभन्दा धेरै गर्न सकिन्छजस्तो मलाई लाग्दैन ।’ उहाँले दिन चाहेको सन्देश थियो, ‘हुँदै छ, गर्दै छौं र गरिन्छ ।’ यसो भनिरहँदा उहाँ निकै सन्तुष्ट हुनुहुन्थ्यो । मन्तव्यकै क्रममा उहाँले लेखक, पत्रकार र प्रबुद्ध नागरिकसँग थप आग्रह गर्दै भन्नुभयो, ‘हाम्रो कामलाई तपाईंहरूले सकारात्मक भएर हेरिदिनुपर्‍यो ।’ प्रधानमन्त्रीको आशय थियो, ‘अहिले सरकारलाई धेरै प्रश्न, आलोचना र आशंका नगरौं ।’

त्यो दिन मलाई, प्रधानमन्त्रीको ‘सकारात्मक’ शब्दले बढी नै ध्यानाकृष्ट गर्‍यो । कुरा त साधारण नै हो, तर यसले हाम्रो शासकीय चरित्रलाई असाधारण रूपमा छर्लंग बनाउँथ्यो । किनभने ठीक यस्तै सन्देश कुनै बेला केपी ओलीले पनि दिनुभएको थियो । ओली कमरेडको सदाबहार गनगन हुन्थ्यो– बुद्धिजीवीहरू नकारात्मक बने । सायद उहाँ आलोचनालाई गाली र प्रश्नलाई विरोध ठान्नुहुन्थ्यो । त्यसो त, बालुवाटारमा हुँदा शेरबहादुर देउवाको आक्रोश पनि त्यसैमा हुन्थ्यो । भ्रमवश नै सही, उहाँलाई लाग्थ्यो होला, ‘सरकार ठीकठाक छ, बिग्रिएका त मात्र नागरिक समाज, लेखक र पत्रकारहरू हुन् ।’

हाम्रा प्रधानमन्त्रीहरूलाई त्यस्तो के सकस होला, जो सिंहदरबार छिर्नासाथ नागरिकलाई ‘सकारात्मक’ हुन अपिल गर्छन् ? मनमा प्रश्नहरू उठे, किन आलोचनालाई नकारात्मक ठान्छन् नेताहरू ? सबै नागरिक आफूसँग सकारात्मक बनून् भन्ने अपेक्षा गर्न नेताहरूलाई केले उत्प्रेरित गर्छ ? आन्दोलनकारी नेताहरू प्रधानमन्त्री भएपछि कसरी पूर्णकालीन शासक बन्न चाहन्छन्, त्यसका जीवन्त उदाहरण हुन् यी । अन्यथा, यथास्थितिमाथि असन्तुष्टि, आलोचना र प्रश्न गर्दै उदाएको नेतृत्व सिंहदरबार छिर्नासाथ ‘सबै कुरा ठीकठाक’ देख्छ कसरी ? नागरिकका आलोचना र असन्तुष्टिहरूलाई ‘नकारात्मक’ ठान्छ कसरी ?

लोकतान्त्रिक समाजमा प्रश्नहरू अनिवार्य हुन्छन् । प्रश्न, आलोचना र असन्तुष्टिहरू हुन्छन् र नै समाज निरन्तर गतिवान् रहन्छ । सोचौं त, के संसारका क्रान्तिकारीहरू यथास्थितिप्रति ‘सकारात्मक’ बसेका भए क्रान्ति हुन्थ्यो ? के राणा शासनमा राणाजीहरूले बार्दलीमा बसेर ‘सबै ठीकठाक छ’ भनेर फर्मान जारी गरिरहँदा बीपी र पुष्पलालहरूले ‘ठीक छैन’ नभनेको भए परिवर्तन हुन्थ्यो ? के ०४६ सालको परिवर्तनपछि सबै ठीकठाक छ भनेर स्वयं प्रचण्ड आत्ममुग्ध भएको भए ०६३ सालको परिवर्तन आउँथ्यो ? मार्क्स, गान्धी शान्त बसेका भए के हुन्थ्यो ? प्रश्न, आलोचना र असन्तुष्टि आफैंमा सृजनशील कुरा हुन् । सृजनशीलता नभएको मान्छे मात्र सत्तासँग हर्दम मुस्कुराउँछ । अन्यथा, आम नागरिक र सत्ताको साइनो नै यही हो कि मान्छेले प्रश्न गर्छन् र सत्ताले त्यसको जवाफ दिनुपर्छ । मान्छे असन्तुष्ट हुन्छन् र सरकारले उनीहरूलाई खुसी दिनुपर्छ । यसरी प्रत्येक प्रश्न वा आलोचनाले या त सत्तालाई जिम्मेवार बनाउँदै लैजान्छ, नत्र आन्दोलन हुन्छ । परिवर्तनको द्वन्द्ववादी नियम नै यही हो ।

स्पष्ट छ, गतिशील समाजमा ‘सबै कुरा ठीकठाक छ’ भन्नु यथास्थितिवाद हो । जस्तो राणालाई जहानिया शासन ठीकठाक थियो । पञ्चलाई पञ्चायत ठीकठाक थियो । त्यसै गरी यथास्थितिवादी शासकहरूलाई पनि आफ्नो राज ठीकठाक लाग्छ । तर सत्ताले नदेखेका मान्छेहरू शिरमा दुःखको पहाड बोकेर किनारमा विलखबन्द बसेका छन् । आफ्नै जीवनको भारी उठाउन मुस्किल भएको बेला एउटा निर्धो मान्छेले कसरी भन्न सक्छ सबै ठीकठाक छ ? हाम्रा शासकहरूको अपेक्षा के हो, के भोकाहरू शान्त बसून् र भनून् सबै ठीकठाक छ ? वस्तुतः चर्को भोकमा पनि शान्त रहनु सबैभन्दा खतरनाक कुरा हो । यो खतराबाट समाज, राजनीति र नेतृत्व बच्नुपर्छ । किनभने, मुस्कुराएर हर्दम सत्तालाई ‘ठीक छ’ भनिरहनु आखिर यथास्थितिको मतियार हुनु हो । दुःखको भवसागरमा छटपटाइरहेका बेला नेतृत्वले आम मान्छेलाई ‘सकारात्मक बन र प्रश्न नगर’ भन्छ भने बुझ्नुपर्छ त्यहाँ नेता कम र तानाशाह बढी प्रखर छ । अन्यथा लोकतान्त्रिक र गतिवान् नेतृत्वले भन्नुपर्छ, ‘आलोचना र प्रश्नहरू गर्नुहोस् । हामी तपाईंका आलोचना र प्रश्नहरूलाई हर्दम स्वागत गर्नेछौं ।’ गाली स्वीकार गर्ने र गतिशील हुने क्षमता नै नेतृत्वको असली गुण हो ।

नागरिकको सन्देश

पन्जाबी भाषाका इन्कलाबी सायर अवतारसिंह पाशको एउटा सर्वाधिक लोकप्रिय कविता छ, ‘सबैभन्दा खतरनाक हुन्छ’ । बागी ‘रोड सो’ र ‘जनप्रदर्शनहरूमा’ सुनाइने त्यो कविताले भन्छ, ‘सबैभन्दा खतरनाक हुन्छ, मुर्दा शान्तिले भरिनु । खटपटी नहुनु, चुपचाप सहनु । घरबाट सीधा काममा जानु र कामबाट सीधा घर फर्किनु । सबैभन्दा खतरनाक हुन्छ, सपनाहरूको मृत्यु हुनु’ (भावानुवाद) ।

कवि पाशले यो कविता जनतालाई जागृत गर्न लेखेका थिए । म भने, यो कविता नेपालका स्वघोषित नयाँ र पुराना क्रान्तिकारी शासकहरूलाई समर्पण गर्दै प्रश्न गर्छु– महोदय, के छ तपाईंका पुराना सपनाहरूको खबर ? मनमा विद्रोहको ज्वाला उठेको बेला, संघर्षको मैदान वा सत्ताको कैदखानाभित्र बस्दा तपाईंले देखेका सपनाहरू मरिसके कि जिउँदै छन् ? जिउँदै छन् भने तपाईंहरू कसरी सबै कुरा ठीकठाक देख्नुहुन्छ ? भोकले खटपटी चलेको बेला, अविश्रान्त यात्रामा हिँडेको बेला र आफ्नै सहकर्मीहरू सत्ताको गोलीले ढलेको बेला तपाईंले देखेका सपनाहरू मरिसके कि जिउँदै छन् ? जिउँदै छन् भने तपाईंहरू कसरी सबै कुरा ठीकठाक देख्नुहुन्छ ? सुदूरपश्चिमका अनकण्टार भीर, तराईका अकिञ्चन मुसहर बस्ती र काठमाडौं एयरपोर्टमा खाडी जान लामबद्ध युवा देखेर पनि तपाईंको मनमा कुनै छटपटी हुँदैन ? महासय, मान्छेका जिजीविषा र दुःख आँखैअगाडि देख्दा पनि के तपाईं उसरी नै मगनमस्त भएर सिंहदरबार, पार्टी कार्यालय र घर आवतजावत गर्न सक्नुहुन्छ ? सिंहदरबार अगाडि माइतीघरमा मान्छेका दुःखहरू बिस्कुन बनेर छरिएका छन्, तपाईंलाई लाग्छ सबै कुरा ठीकठाक छ ? यदि यस्तो लाग्छ भने पक्का छ, तपाईंभित्रको राजनीति मरिसक्यो, बाँचेको छ त फगत सत्ता ।

मान्छेहरू किन सकारात्मक छैनन् ? एक पटक हेरौं, सत्ताको सिंहासन देख्न नपाएका किनारका मान्छेहरू । लाग्छ, गृहस्थीको भयंकर बोझ बोकेर निर्धा मान्छेहरू अनिश्चित भविष्यको यात्रामा छन् । छोराछोरी पढाउने, वृद्ध बाआमाको उपचार गर्ने सकस चर्को छ । साना व्यापारीहरू बैंकको ताकेतामा फसेका छन् । किसानहरू बीउ, मलको सकसमा परेका छन् । सहरका सटर खाली छन् । युवा जति विदेशमा छन् । गाउँमा यस्तो कुनै घर छैन जहाँ दुःखको रजगज नहोस् । वार्षिक झन्डै १० लाख मान्छे देशबाट बाहिरनु साधारण र सकारात्मक कुरा हुँदै होइन । राजधानीमा भ्रष्टाचारको महल ठडिँदै गर्दा, गाउँका झुप्राहरू रित्ता छन् । एकातिर राष्ट्रवादको रजगज छ, अर्कोतिर दुःखलाई निधारमा खोपेर बसेका भुइँमान्छेहरू सिमानापारि आफ्नो अस्तित्व बेच्दै छन् । तर सिंहदरबार आफ्नै लयमा बाँसुरी बजाउँदै भन्छ, ‘सबै ठीकठाक छ ।’

दिनदिनै व्यवस्था उल्ट्याउने र संविधान च्यात्ने धम्की सुनिन्छ । मान्छेको मनमा प्रतिगमनको भूत सल्बलाउँदै छ । अस्थिरताको आगो फुक्दै छ कोही र स्वयं क्रान्तिनायकहरू पेट्रोल बोकेर लाइन लागेका छन् । आफ्नै अकर्मण्यताले मान्छे बेखुस छन् । तर अबुझ क्रान्तिनायकहरू मुस्कुराउँदै भन्छन्– सब ठीकठाक छ । महाशय, के ठीकठाक हुनु भनेको सबै कुरा बिग्रनु हो ?

असन्तुष्टिको आगो कहाँ बल्दै छ, हेर्न थोरै काठमाडौंबाहिर जाऊँ । जस्तो हामी केही साथीहरूले भदौ तेस्रो साता परासी बर्दघाटदेखि बुटवल, तौलिहवा, लमही, नेपालगन्ज, गुलरिया, टीकापुर, लम्की, अत्तरिया हुँदै धनगढीसम्मको संवाद यात्रा गर्‍यौं । हामीले भेटेका मान्छेहरूको एउटै स्वर थियो– ‘पुराना नेता, पार्टी, मुद्दा, तौरतरिका, राज्य चरित्र र भाष्य सबका सब अब फेर्नुपर्छ । यथास्थितिको जालो नतोडी किमार्थ देश बन्दैन ।’ यसै क्रममा बुटवलका अगुवा विमल गिरीले भने– ‘वाद’ र ‘बा’ ले बर्वाद गरे । मार्क्सवादमा विश्वास गर्ने प्रधानमन्त्री भएको देशमा एक जना मान्छे विचार वा वादप्रति यति धेरै निराश किन होला ? उनले भने– छिमेकीहरू चन्द्रमामा पुगे, हामी राज्यलुट हेरेर समाजवादको गफ खाँदै बसेका छौं । बुटवलकै चोपलाल मगरको टिप्पणी थियो, ‘जनता अनुसारको संविधान बनाउनुपर्ने, शासकहरू संविधान अनुसारको जनता खोज्दै छन् ।’ सायद वरिपरि असतुष्टिहरू देखेर हुनुपर्छ बुटवलका पुराना कवि रामचन्द्र भट्टराईले कवितामै भने– ‘नीलो आकाशमा रातो घाम झुल्किन बाँकी छ । कालो सर्प मर्‍यो तर, हरियो सर्प मर्न बाँकी छ ।’ ५० वर्ष आन्दोलनमा हिँडेको मान्छेको यो उकुसमुकुसलाई के हामी सबै ठीकठाक छ भनेर टार्न सक्छौं ?

तुलसीपुरका मान्छेहरू सत्ताको अंकगणित र आत्मरतीबाट दिक्क सुनिन्थे । मेघबहादुर बस्नेत भन्दै थिए— नेताहरू तासको खालमा बसेका जुवाडेजस्ता भए । एकैछिनमा मिल्छन्, एकैछिनमा जुध्छन् । जुवाडेहरूले शासन गरेको देशमा के राम्रो, के नराम्रो ? उनको भनाइमा सार मिलाउँदै रणेन्द्रविक्रम केसीले भने, ‘मान्छे बेच्ने र चामल किन्ने’ देश समृद्ध भएको संसारमा कतै उदाहरण छैन । तुलसीपुरकै कुलबहादुर घर्तीको असन्तुष्टि अझ तीव्र थियो । उनले भने— लोकतन्त्रले उनीहरूलाई अधिकार दियो, जो सत्तामा छन् । हामी भुइँका मान्छेलाई के अधिकार, के न्याय ।

जब हामी दाङ, बाँके, बर्दीया र कैलाली पुग्यौं, मान्छेसँग थिए पुरानै प्रश्नहरू । स्थानीय टीकापुर घटनाले सृजना गरेको विभाजनलाई भुलेर एकता निर्माण गर्न चाहन्थे । तर समान अस्तित्वबोधका लागि राज्य मौन थियो । त्यहाँ कमैया, कमलरी, भूमिहीन किसान, मोही र सुकुम्बासीहरू अधिकारका लागि चिच्याइरहेका थिए । तर राज्य थियो, चुपचाप । कमैया– कमलरी मुक्ति घोषणाको २३ वर्षपछि पनि गुनासाहरू उस्तै छन् । स्वर्गद्वारीको गुठी समस्या जस्ताको तस्तै छ । बितेका ४० वर्षदेखि सुकुम्बासी अधिकार र भूमिसुधारको राजनीतिले कार्यकर्तालाई जागिर त दिएको छ, तर किसानलाई जमिन दिएन । हरिबहादुर कुँवर प्रश्न गर्छन्, ‘सायद सत्ताधारीका लागि हामी मान्छे होइनौं ?’ उनको कथन थियो, ‘यो देशमा दुई खाले मान्छे छन्, विशेष मान्छे र अर्धमान्छे ।’ लाखौंलाख नागरिकलाई मान्छे भएको अझै अनुभूति छैन, यस्तो पक्षपाती राज्यमा सबै कुरा ठीकठाक हुन्छ कसरी ? राजधानीमा हामी केही सुकिलामुकिलाहरू भन्दै छौ ‘सबै ठीकठाक छ’ । हामीले भन्दैमा सबै कुरा ठीकठाक हुन्छ कसरी ?

अन्तिम कुरा

सबै पार्टीका मुख्य नेताहरूलाई मेरो प्रश्न छ– के तपाईंहरूलाई साँच्चै लाग्छ सबै कुरा ठीकठाक छ ? के तपाईंहरूलाई साँच्चै लाग्छ, अब सत्तालाई प्रश्न गर्न आवश्यक छैन ? के तपाईंहरूलाई साँच्चै लाग्छ तपाईं ठीकठाक हुनुहुन्छ ? के तपाईंहरूको राजनीति ठीकठाक छ ? के तपाईंहरूको पार्टी ठीकठाक छ ? के यो सकारात्मक हुने र मुस्कुराउने समय हो ? तपाईंहरूलाई त्यस्तो लाग्छ भने विचार गर्नुहोस् कि तपाईंहरूमा समस्या छ ।

मेरो सल्लाह छ, एक पटक तपाईं आफूले हिँडेको विद्रोहको बाटोलाई फर्किएर हेर्नुहोस् । आफ्ना सहयोद्धालाई हेर्नुहोस् । तपाईंले सेल्टर लिएका झुप्राहरू सम्झनुहोस् । पटकपटक आन्दोलन र क्रान्तिको घोषणापछि तपाईंसँग जोडिन आउने युवाको अनुहार सम्झनुहोस् । तपाईंका अगाडि मर्न र मार्न तयार योद्धा, सहिद र बेपत्ताहरूलाई सम्झनुहोस् । अनि सम्झनुहोस् उनीहरूलाई तपाईंले भनेको कुरा, तपाईंले लेखेका दस्तावेज र तपाईंले देखाएका सपना । हिजो के भनियो र अहिले के भयो ? यो सबै सम्झँदा पनि तपाईंलाई लाग्छ सबै ठीकठाक छ ? लाग्छ भने पक्का हुनुहोस् अब तपाईं क्रान्तिकारी रहनुभएन । तपाईं प्रगतिशील रहनुभएन । तपाईं कम्युनिस्ट रहनुभएन । तपाईं वामपन्थी रहनुभएन । तपाईं लोकतान्त्रिक रहनुभएन । तपाईं फगत एक शासक रहनुभयो, जो सबै कुरा ठीकठाक देख्छ र आफ्नै आत्ममुग्धतामा मखलेल हुन्छ ।

अन्त्यमा, भारतीय कवि गोरख पाण्डेको एउटा कविता स्मरण गर्न चाहन्छु । कविताले भन्छ, ‘राजा बोला रात है । रानी बोली रात है । मन्त्री बोला रात है । सन्तरी बोला रात है ।... यें सुबह–सुबह की बात है ।’ नेताज्यू तपाईंहरू के चाहनुहुन्छ ? मान्छेहरूले त्यसरी नै सोचून् जसरी तपाईं सोच्नुहुन्छ । मान्छेहरू त्यसरी नै बोलून् जो तपाईं सुन्न चाहनुहुन्छ । मान्छेहरू त्यसरी नै नाचून्, जसरी तपाईं बजाउनुहुन्छ । सधैं सत्ताको धुनमा मुस्कुराउने मान्छे ‘चाकर’ हो महोदय । के तपाईंहरू नागरिकलाई चाकर बनाउन चाहनुहुन्छ ? चाकरहरूको देश कस्तो हुन्छ विचार गर्नुभएको छ ?

त्यसैले भन्छु, जनतालाई प्रजा वा चाकर हैन नागरिक बनाउनुहोस् । तपाईंहरूलाई गरिने प्रश्न, आलोचना र आशंकालाई स्वीकार गर्नुहोस् । र, भन्नुहोस्– ‘हामी सदैव नागरिकका प्रश्न र आलोचनालाई सम्मान गर्नेछौं ।’ स्पष्ट हुनुहोस्, यो ‘ठीकठाकको’ मन्त्र जप्ने समय होइन । यो समस्या छन् भनेर स्वीकार गर्ने र त्यसलाई समाधान गर्ने समय हो । त्यसैले अनुरोध छ, महाशय π या त तपाईं आफूभित्र परिवर्तनको आगो निभेको छैन भन्ने प्रमाणित गर्नुहोस् । अन्यथा कुरा बुझ्नुहोस्, आगो निभेपछिको खरानी निधारमा घस्न मात्र काम लाग्छ, त्यसले जीवनलाई किमार्थ उज्यालो दिँदैन ।

प्रकाशित : आश्विन ५, २०८० ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×