कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेश पलायनसँगै मौलाएको ठगी धन्दा

आफ्ना सन्ततिको भविष्य सुरक्षित तुल्याउनकै निम्ति विदेशी भूमिमा सके लामो समय, नभए केही वर्ष भए पनि पलायन हुनु अनिवार्य रहेको विश्वासले जरो गाडेको छ । ठगहरूका निम्ति यो अवस्था सपनाको व्यापार गर्ने अवसर बन्दै आएको छ ।
विनोद सिजापति

उद्योगधन्दा तथा कृषि उत्पादन बर्सेनि कुण्ठित हुँदै गए पनि दिन–प्रतिदिन ठगी धन्दा फस्टाउँदै गएको छ । युवामा विदेशी भूमिमा पुगे मात्र भविष्य उज्ज्वल तथा सुनिश्चित हुन्छ भन्ने विश्वास बढेको छ । सुन्दर भविष्यको प्रलोभनमा फसाएर ठगी गर्ने काम भने संगठित उद्योगका रूपमा मौलाउँदै छ ।

विदेश पलायनसँगै मौलाएको ठगी धन्दा

दिनहुँजसो ठगिएका पात्र, तिनलाई फसाउने व्यक्ति तथा गिरोह सम्बन्धी समाचार सञ्चारमाध्यममा आइरहेका छन् । केही वर्षअघिसम्म रोजगारीका निम्ति खाडीका मुलुक तथा मलेसिया पठाइदिने प्रलोभन देखाएर ठगी हुन्थ्यो । अहिले ठगीले भौगोलिक सीमा पार गरिसकेको छ । उच्च आय आर्जन सम्भव हुने राष्ट्र अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोपका विभिन्न मुलुक पठाइदिने प्रलोभनमा ठगिने कामले गति लिन थालेको छ । ठगिएका युवा तथा तिनका परिवारले दिएका उजुरीको चाङ प्रहरीका निम्ति टाउकोदुखाइको प्रमुख विषय हुँदै छ । केही ठग तथा तिनको गिरोहलाई समात्न प्रहरी सफल भए पनि धेरै ठग सम्पर्कविहीन हुने गर्छन्् । ठगीमा परेर घरखेत गुमाउने परिवारको संख्या बढ्दो छ ।

केही दशकदेखि युवा जनशक्तिको विदेश पलायन तथा तिनले रगत–पसिना गरेर आर्जेको विप्रेषण रकम चर्चाको विषय हुँदै आएको छ । राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा युवा जनशक्तिको विदेश पलायन रोक्ने प्रतिबद्धता जाहेर गर्छन् । ‘क्रान्तिकारी’ तथा ‘परिवर्तन पक्षधर’ कित्ताका नेताहरूले युवा पलायनको घोर विरोध गर्दै आएका छन् । विदेशमा रहेको मानवशक्ति (श्रम तथा बुद्धिजीवी) का लागि स्वदेश फर्कने वातावरण बनाउने प्रतिबद्धता जाहेर गर्न पनि चुक्दैनन् । सरकारी आँकडाले रोजै सरदर १ हजार ६ सय युवा रोजगारीकै निम्ति समुद्र पारका मुलुकहरूतिर पलायन भएको देखाउँछ । सरदर दैनिक २ सय ७४ विद्यार्थी अध्ययनार्थ बाहिरिन्छन् । त्यसो त रोजगारी तथा अध्ययनार्थ भारत प्रस्थान गर्ने र भारतीय भूमि प्रयोग गरेर त्यहाँबाट समुद्र पारका मुलुक पुग्नेको संख्या अज्ञात छ । विदेश–उन्मुख युवाको हुटहुटी अथवा कमजोरीबाट फाइदा उठाउने ठगी धन्दा यस आलेखको विषय हो ।

युवा विदेश जान किन मरिहत्ते गर्दै छन् ?

जवाफ जान्न त्यति दिमाग खियाउनै पर्दैन । युवाहरूमा विदेश मोह पलाउनुको प्रमुख कारण हो— नेपालमै रहेर सम्मानजनक जीवनयापन गर्न कठिन पर्नु । इमानदारीसाथ मिहिनेत गर्नेलाई, काम चाहे ‘ह्वाइट कलर’ होस् वा ‘ब्लु कलर’, नेपालमै बसेर जीविका धान्न दिन–प्रतिदिन कष्टकर हुँदै छ । यहीँ बसेर अहिलेको युवा र आउँदो पुस्ताको जीवनस्तर अघिल्लो पुस्ता अर्थात् बाबुबाजेको भन्दा अब्बल हुन्छ भन्ने सुनिश्चितता छैन । त्यसो हुँदो हो त यति ठूलो संख्यामा युवाहरू विदेश पलायन हुन किमार्थ आतुर हुने थिएनन् । आआफ्ना सन्ततिको भविष्य सुरक्षित तुल्याउनकै निम्ति विदेशी भूमिमा सके लामो अन्यथा पनि केही वर्ष पलायन हुनु अनिवार्य छ भन्ने विश्वासले जरो गाडेको छ । त्यही विश्वासकै कारण परिवारको आर्थिक हैसियत अथवा सामर्थ्य अनुसार जोखिम उठाएर वैदेशिक गन्तव्यतर्फ उन्मुख हुन्छन् । ठगहरूका निम्ति यो अवस्था सपनाको व्यापार गर्ने अवसर बन्छ ।

ग्रामीण परिवेशमा थोरै मात्र सार्वजनिक सेवा उपलब्ध हुने गर्छ । त्यहाँ स्थायी रोजगारीका अवसरहरू अत्यन्तै न्यून हुन्छन् । अवसर थपिने सम्भावना छेपाराको कथा साबित हुन्छ । ग्रामीण क्षेत्रमा ज्यालादारी काम गरेबापत प्राप्त हुने आय कृषिमा आधारित हुन्छ । त्यस्ता अवसरहरू बालीनाली लगाउने, गोडमेल गर्ने तथा बाली काट्ने काममै सीमित हुने गर्छन् । स्थानीय स्तरका पूर्वाधार निर्माण तथा मर्मतसम्भारका काम अस्थाई अथवा सीमित अवधिका निम्ति मात्र उपलब्ध हुन्छन् । त्यसकारण रोजगारी तथा नियमित आय आर्जनका निम्ति सहरी क्षेत्रतर्फ जानु उनीहरूको बाध्यता हो । गाउँघरको दाँजोमा सहरी क्षत्रमा सार्वजनिक सुविधा (शिक्षा, स्वास्थ्य, पानी आदि) लगायत रोजगारीका अवसर धेरै हुन्छन् । गाउँघरको दाजोमा सहरी क्षेत्रमा प्राप्त हुने आय आर्जनको अवसर र रकम बढी नै हुन्छ । विडम्बना, सहरी क्षेत्रको रहनसहन महँगो छ । बचत हुँदैन र यदि भैहाले पनि त्यो न्यून हुन्छ । सहरी क्षेत्रमै पनि उनीहरूले आशा गरेअनुरूपको रोजगारीका अवसर मिल्छन् भन्ने सुनिश्चित हुँदैन । आर्थिक संरचनालाई हेर्ने हो भने संगठितभन्दा असंगठित क्षेत्रले सहरी क्षत्रमा रोजगारी उपलब्ध गराउँछन्् । परिभाषाले त्यस्ता रोजगारीको अवधि तथा सर्तको सुनिश्चितता हुँदैन । अर्कातर्फ, दिन–प्रतिदिन सहरी क्षेत्रमा दैनिक खर्च निकै बढ्दै गएको छ । थातथलो छोड्नुपर्ने बाध्यताका बावजुद त्यहाँकै कमाइले खर्च धान्न मुस्किल हुन्छ ।

तिनै युवाका निम्ति स्वदेशको दाजोमा विदेशी भूमि टेकेपछि उच्च आय आर्जनसहितको रोजगारीका अवसर धेरै नै हुन्छन् । उदाहरणकै निम्ति, अरब मुलुक अथवा मलेसिया पुग्ने एउटा कामदारले निश्चित अवधि (दुई वर्षभन्दा बढी) का निम्ति रोजगारी पाउँछ । तलब नेपाली सहरी क्षेत्रको भन्दा अरब मुलुकमा दुई गुणा तथा मलेसियामा तीन गुणा बढी प्राप्त गर्छ । अर्धदक्ष कामदार (चालक, प्लम्बर, डकर्मी, सिकर्मी अथवा सेवा क्षेत्रका वेटर) को तलब नेपाली सहरी क्षत्रको दाँजोमा अरब मुलुकमा तीन–चार गुणा र मलेसियामा चार–पाँच गुणा बढी हुन्छ । वैध तरिकाले दक्षिण कोरिया, इजरायल पुग्नेले यहाँको दाँजोमा औसत सात–आठ गुणा बढी आर्जन गर्छ । अवैध नै किन नहोस्, युरोप, अमेरिका पुगेपछिको आर्थिक अवस्था त अझ राम्रो हुने हुन्छ, केही अपवादबाहेक । ‘ह्वाइट

कलर’ तप्काका श्रमजीवीको हकमा त विदेशमा आय आर्जन अत्यन्त राम्रो हुन्छ । जीवनको सबैभन्दा उत्पादनशील कालखण्डमा स्वदेशमा तिनीहरूले प्राप्त गर्ने कमाइले घरखर्च धान्न, छोराछोरिलाई पढाउन, सामाजिक आवश्यकता पूर्ति गर्न, भैपरी आउने आपत्विपत् टार्न पुग्ने सम्भावना धरातलबाट बिलाउँदै छ । जबकि एउटा दक्ष नेपालीले मध्यम अवधिको वैदेशिक रोजगारीको अवसर पाए उल्लिखित कामहरू सम्पन्न गर्न सहज हुने मात्र होइन, घरबार जोड्न नै सक्छ । शैक्षिक योग्यता तथा कार्यदक्षता अनुरूप अधिकांशले नेपाली रुपैयाँमा प्राप्त गर्ने ‘तनखा’ को दाँजोमा दुई–तीन गुणा बढी रकम अमेरिकी डलरमा प्राप्त गर्छन् । यस्तो पृष्ठभूमिमा नेपाली युवा विदेश पलायन भए भनेर कपाल दुखाउनुको सार नै के हुन्छ ?

देखासिकी भनेको नहुनेले हुनेको गर्ने हो । गाउँघरमा टेलिभिजन हुने घर संख्या कम भए पनि ‘मोबाइल फोन’ नहुने मानिस भेट्टाउन कठिन पर्छ । घरमा टेलिभिजन भएकाहरूले अन्य मुलुकका नागरिकको जीवनशैली हेर्न पाउँछन् । विश्व गतिविधि सम्बन्धी ज्ञान हासिल भई नै हाल्छ । अर्कातिर, विदेश भ्रमण गरेर फर्कनेको जमातसमेत दिन–प्रतिदिन बढ्दो छ । छिमेकीले विदेशमा देखेभोगेका घटना चियागफको विषय भइहाल्छ । विदेशबाट छोटै अवधिमा फर्केकाहरूको उच्च जीवनशैली तथा तिनका परिवारको रहनसहनमा आएको परिवर्तन नचाहेर पनि देखिन्छ । छिमेकीले पाएको सुखसुविधा हेरेर बस्न कसलाई पो रुचि हुन्छ ? विदेशी नागरिकले अपनाएको जीवनी तथा छिमेकिले गरेको वर्णन सुन्दा–देख्दा को लोभिँदैन ? छिमेकी घरपरिवारको जीवनशैलीमा आएको परिवर्तनबाट प्रभावित को हुँदैन ?

‘अर्काले हात्ती चढेको देखेर धुरी चढ्ने’ प्रवृत्ति वर्तमान नेपाली समाजको चारित्रिक गुणको अभिन्न अंग भएको छ । सम्भ्रान्त परिवारको देखासिकी गर्नु मध्यम आय घर–परिवारका निम्ति ‘इज्जतको सवाल’ हुन्छ । आर्थिक हैसियतलाई चटक्कै उपेक्षा गर्दै ‘इज्जत’ धान्नका निम्ति घरखेत बेच्न हाम्रो समाजमा कोही पछाडि पर्दैन । फलानोका छोरो वा छोरी विदेशमा अध्ययन गर्न गएका छन्, सात समुद्रपारि भएका सन्ततिलाई भेट्न फलानो पनि गए भन्नेजस्ता समाचारले गाउका सबै अभिभावक तथा युवालाई त्यही बाटो समाउन आतुर तुल्याउँछन् । अध्ययनार्थ विदेश जानेले त्यहाँ पाएको अवसर देखेबुझेपछि छोराछोरी मात्र होइन, अभिभावक पनि त्यत्ति नै पिरोलिन्छन् । कुन अभिभावकलाई अर्काको सन्ततिभन्दा आफ्नो सन्ततिको हैसियत कम होस् भन्ने लाग्छ ? विदेश जान छोराछोरी अग्रसर भएनन् भने पनि ‘आधुनिक अभिभावक’ ले तिनलाई घरखेत बेचेर भए पनि अथवा ऋण काढेर भए पनि विदेश–उन्मुख भइदिन हौसला दिन्छन् । जुनसुकै मूल्य चुकाएर भए पनि सन्ततिलाई विदेश पठाउँदा इज्जत जोगिएको अनुभूति गर्छन्् । अभिभावकको चाहनालाई ठगहरूले उक्साउँछन् । तिनले सुसूचित अभिभावकलाई समेत जोखिम उठाउन प्रोत्साहित गर्छन् । जालमा पारेर नगद गुटमुट्याउन सफल भएपछि अभिभावक तथा तिनका सन्ततिले जतिसुकै रोइकराइ गरून् अथवा पछुताऊन्, ठगी धन्दा सञ्चालक तथा तिनका एजेन्टलाई ‘छु मतलब’ ।

देशमा मौलाएको दण्डहीनताको वातावरण संगठित ठगी धन्दा सञ्चालकका निम्ति अत्यन्त सौहार्दपूर्ण भइरहेको छ । ठगिएको उजुरी जतिसुकै परोस्, उनीहरू उम्किन सक्छन् । उनीहरूलाई उम्काउनेको उपस्थिति बाक्लै छ । वर्तमान कालखण्डमा राजनीतिक दलमा आबद्ध नभएका टाठाबाठा व्यक्ति पाउन कठिन छ । राजनीतिक वृत्तलाई पैसाको खाँचो परेको हुन्छ, कुनै पनि ठगलाई बिनापरिश्रम आर्जन गरेको पुँजी भागबन्डा गर्न कठिन हुँदैन । संरक्षकलाई भागशान्ति गरेको खण्डमा आपराधिक कामबाट चोखिने तथा जोगिने प्रबल सम्भावना हुन्छ । ठगिन तयार समूह तथा जोगाउन सदाबहार संरक्षक पाएपछि ठगी धन्दासँग अर्को कुन धन्दाले प्रतिस्पर्धा गर्ने ? ठगिने आखिर भुइँमान्छेहरू हुन्, जो सदासर्वदा ठगिँदै आएका छन् । उनीहरूका निम्ति विदेश पलायन अर्को प्रयास होÙ सफल भए सुखैसुख, असफलता पाए अर्थात् ठगिए दुःखैदुःख ।

अन्त्यमा, ठगिन तथा ठग्न अग्रसर हुनेहरूको बोलवाला भएको माहोलमा ठगी धन्दालाई निस्तेज तुल्याउन सहज छैन । ठगी गर्नेलाई हतोत्साही तुल्याउने नियम–कानुनलाई प्रभावकारी तुल्याएर नै हो, कडा सजायको प्रावधानले नै हो । ठगी धन्दा निस्तेज तुल्याउन राजनीतिक प्रतिबद्धता नितान्त आवश्यक हुन्छ । राजनीतिक संरक्षण नहुने हो भने प्रहरीहरू ठगलाई कठघरामा उभ्याउन सफल हुन्छन् ।

प्रकाशित : आश्विन १, २०८० ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्