१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

काठमाडौंमा युरेसियन अटर

अटर जोगाउन नेपालमा विशेष कार्यक्रम लागू गर्न आवश्यक छ । अटरबारे आधारभूत जानकारी विद्यालय तहसम्म पुर्‍याउनुपर्छ, किनभने यसलाई जन्तु विज्ञान पढाउनेले समेत राम्ररी चिन्दैनन् ।
कमल मादेन

प्राध्यापक महेन्द्र महर्जनले मर्निङवाकका क्रममा काठमाडौंको थानकोटस्थित एउटा ब्याडमिन्टन कोर्टनजिक न्याउरी मुसाजत्रो जनावर अंगभंग भएको अवस्थामा फेला पारे । त्यो अगस्ट २०२१ को कुरा थियो ।

काठमाडौंमा युरेसियन अटर

त्रिवि केन्द्रीय जन्तु विभागमा परजीवी विज्ञानका प्राध्यापक महर्जनले तुरुन्त त्यसको तस्बिर खिचेर वन्यजन्तु अध्येता मोहनविक्रम श्रष्ठेलाई पठाए । श्रेष्ठले ‘युरेसियन अटर हो, लौ कहाँ छ ?’ भनेर जिज्ञासा राखे । महर्जन तुरुन्तै त्यहाँ फर्किए तर त्यो मृत जन्तु थिएन ।

संसारभर अटरका जम्मा ७ जाति अन्तर्गत १३ प्रजाति छन् । नेपालमा ३ जातिका ३ प्रजाति छन् । अटर अक्सर समूहमा बस्न रुचाउँछ । यो खतरनाक सिकारी पनि हो । यसको झुन्डले घडियालसम्म मारेर खान्छ । अटर ५ देखि ८ मिनेटसम्म पानीभित्र बस्न सक्छ । युरेसियन शब्दले युरोप र एसिया दुवै महादेशमा पाउने भन्ने जनाउँछ तर यो अटर उत्तरी अफ्रिकाका केही देशमा समेत पाइन्छ । नेपालमा भने यसको निकै खोजी भइरहेको थियो । यो जनावर सन् १९९१ यता वन्यजन्तु अध्येताले नेपालमा कतै देखेका थिएनन् । अर्को कुरा, नेपालमा यसको तस्बिर खिचिएकै थिएन । नेपालमा कतै मासियो कि भन्ने आशंका पनि थियो । मैले करिब चार दशकअघि सुनसरीमा अटर कैयौं पटक देखेको थिएँ । सन् २००१ मा मोरङको राजारानी पोखरीमा समेत फेला पारेको थिएँ । केही वर्षअघि युरेसियन अटरको अवस्थितिबारे वन्यजन्तु अध्येता सागर दाहालबाट थाहा पाएको थिएँ । यो जनावर सन् १७५५ मा सर्वप्रथम कार्ल लिन्नियसले पत्ता लगाएका थिए ।

हाम्रा गाउँघरतिर अटरलाई पानी ओत भन्ने गरिन्छ । युरेसियन अटरको वैज्ञानिक नाम लुट्रा लुट्रा हो । यसको रंग धुले खैरो–कोटजस्तो, कहिलेकाहीँ कथुरेजस्तो रंग, भुवा सुक्खा हुँदा कपाल ठाडो (स्यागी) र भिजेका बेला भुवाहरू कतै गुटमुटिएको जस्तो हुन्छ । च्यापुदेखि आँखा र कान पछाडिमुनि घाँटीसम्म अक्सर खरानी रंगको भुवा हुन्छ । यसको पुच्छरको लम्बाइ घाँटीदेखि पुच्छर पलाएको भागजति नै लामो हुन्छ । नाकदेखि च्यापुसम्म थोप्ला–थोप्ला हुन्छ । दक्षिण एसियामा यो प्रजाति यो ८० सेन्टिमिटर लामो र १२ किलो तौलसम्मको पाइएको छ (हेर्नुस्— विवेक मेनन, ‘इन्डियन म्यामल्स,’ पृ. ३०४, २०२३) । युरोपमा भने १.५ मिटर लामो र १७ किलो तौलसम्मको पाइएको छ । आईयूसीएनले यसको विश्वव्यापी स्थिति संकटनजिक रहेको जनाएको छ ।

स्केच : कुलदीपजंग गुरुङ

प्राध्यापक महेन्द्र महर्जनले मर्निङवाकमा खिचेको त्यो युरेसियन अटर माउबाट छुटेको भर्खरको बच्चा थियो । त्यो मारिएको युरेसियन अटरको तस्बिर र त्यसबारे जानकारी ‘एन अनयुजल साइटिङ रेकर्ड अफ युरेसियन अटर इन काठमान्डु भ्याली, नेपाल’ शीर्षकमा ‘जर्नल अफ द इन्टरनेसनल अटर सर्भाइवल फन्ड’ को अगस्ट २०२३ संस्करणमा प्रकाशित छ ।

पश्चिम नेपालमा अटरको अवस्था केकस्तो छ भनी अध्ययनरत मोहनविक्रम श्रेष्ठका टोली सदस्य गोविन्द सिंहले क्यामेरा ट्र्यापमा युरेसियन अटरलाई जाजरकोटको बारकोट नदीमा कैद गरेका थिए । अर्का सदस्य स्वाभिमान रेउलेले रुकुमको तुबाङ खोलाआसपास क्षेत्रमा भेटेका थिए । श्रेष्ठ आफैंले काभ्रेको रोशी खोलाको तीरमा युरेसियन अटरको हाडखोर फेला पारे । यो जानकारी ‘फस्ट इभिडेन्स अफ युरेसियन अटर इन नेपाल इन थ्री डिकेड्स’ शीर्षक लेखमा प्रकाशित छ ।

हड्सन संकलन

ब्राइन हड्सनले नेपालबाट अटरसहित कैयौं जन्तुका हाडखोर लगायतका नमुना संकलन गरी बेलायत पठाएका थिए । सन् १८३९ मा प्रकाशित ‘जर्नल अफ द एसियाटिक सोसाइटी अफ बंगाल’ को भोल्युम ८ मा हड्सनले नेपालबाट युरेसियन अटरको एउटा प्रजाति लुट्रा अउरोब्रुनियस पत्ता लगाएको लेख छापिएको थियो । पछि उक्त प्रजातिलाई युरेसियन अटरको एउटा उपप्रजाति लुट्रा लुट्रा अउरोब्रुनिया मानिएको थियो । जन्तु वैज्ञानिक नाममा ल्याटिन वा ग्रिक दुई वटा शब्दले प्रजाति र तीन वटाले उपप्रजाति जनाइन्छ । जीव वर्गीकरणमा पहिले पत्ता लगाएको प्रजातिभन्दा झिनामसिना तर स्पष्ट एकदुई वटा संरचना फरक छन् र त्यति भिन्नताकै आधारमा त्यो अर्को छुट्टै प्रजाति हुन नसक्ने भए त्यस्ता जीवलाई पहिले पत्ता लगाएको प्रजातिको उपप्रजाति मान्ने चलन छ । उपप्रजाति भूगोलविशेषमा उद्विकास भएको हुन्छ । परम्परागत मान्यता अनुसार सामान्यतः दुई फरक प्रजातिबीच संसर्ग हुँदा अपवादबाहेक सन्तान जन्मँदैन र जन्मिहाले पनि नपुंसकजस्तो हुन्छ । तर, कुनै प्रजाति र त्यसैको उपप्रजातिबीच संसर्ग भए सन्तान जन्मन्छ र त्यो स्वस्थ पनि हुन्छ ।

नेपालबाटै हड्सनले सन् १८३९ मै युरेसियन अटरको अर्को प्रजाति लुट्रा मोन्टिकोला पत्ता लगाएका थिए । पछि यसलाई पनि अटरको अर्को उपप्रजाति लुट्रा लुट्रा मोन्टिकोला मानिएको थियो । हड्सनले अटरको प्रजाति नेपालबाट ‘डिस्कभर्ड’ गरेको विवरण ‘प्रोसिडिङ अफ द साइन्टिफिक मिटिङ अफ द जुलोजिकल सोसाइटी अफ लन्डन फर द इयर १८६५’ पुस्तकमा पनि छ । यसको थप पुष्टि हड्सन संकलित क्याटलगबाट हुन्छ । यस्तै, ‘इन्डियन म्यामल्स’ पुस्तकमा हड्सनले पत्ता लगाएको युरेसियन अटरको उपप्रजातिबारे जानकारी समावेश छ । हिजोआजको अटर वर्गीकरण अनुसार युरेसियन अटरको एउटा सगोत्री हेयरी–नोज्ड अटर (लुट्रा सुमात्राना) दक्षिणपूर्वी एसियामा पाइन्छ ।

अवैध व्यापार

अटरको भुवासहित छालाको अवैध कारोबार हुँदै आएको छ । वन्यजन्तु र वनस्पतिका लोपोन्मुख प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि (साइटिस) ले युरेसियन अटरसहित नेपालमा पाइने अन्य दुई प्रजाति स्मुथ–कोटेड अटर र एसियन स्मल–क्लाउड अटरलाई यसको अनुसूची १ मा समावेश गरेको छ । यो अनुसूचीमा समावेश जीवको नमुना अन्तर्राष्ट्रिय व्यापारमा प्रतिबन्धित छ । व्यापारिक प्रयोजनबाहेक विशेष स्थितिमा सरकारको अनुमतिमा निर्यात हुन सक्छ । मेलिसा स्ववेज र मोहनविक्रम श्रेष्ठको ‘द इलिगल ट्रेड इन अटर पेल्ट्स इन नेपाल’ (सन् २०१८) लेख अनुसार, प्रहरीले सन् १९८९–२०१७ बीचमा जम्मा २४ पटक अटरको छाला पक्राउ गरेको थियो । करिब १२ पटक त काठमाडौंमै पक्राउ गरिएको थियो । अरूचाहिँ दार्चुला, धुलाबारी, ताम्कु, पशुपतिनगर, ढुङगढ, थानकोट, काकरभिट्टा, दाक्लाङ, धुन्चे, ललितपुर, गैंडाकोटमा समातिएका थिए ।

अटर जोगाउन नेपालमा विशेष कार्यक्रम लागू गर्न आवश्यक छ । आईयूसीएन स्पेसिस सर्भाइवल कमिसन र अल्टमन फाउन्डेसन एन्ड हिमालयन अटर नेटवर्कले नेपाल अटर एक्सन प्लान २०२०–२२ प्रकाशित गरेको थियो । एक्सन प्लानमा नेपालमा पाइएका अटरका ३ प्रजातिको अवस्थिति थाहा पाउन देशव्यापी सर्भे गर्ने जनाइएको छ । लक्ष्यअनुरूप नतिजा पाइएको जानकारी अझैसम्म सार्वजनिक भएको छैन ।

युरेसियन अटर कस्तो हुन्छ ? कहाँ पाइन्छ ? यसले पारिस्थितिक प्रणालीमा के भूमिका निभाउँछ ? यस्ता आधारभूत कुरा विद्यालय तहसम्म पुर्‍याउन आवश्यक छ । अन्यथा, यी अनाहकमा मारिइरहन्छन् । किनभने देशव्यापी रूपमा सिमसार तथा नदीहरूको बढी दोहन भइरहेको छ । अटरलाई स्वयं जन्तु विज्ञान पढाउनेले राम्ररी चिन्दैनन् । यसैले हामीकहाँ यो मासिने स्थितिमा पुगेको हो ।

प्रकाशित : भाद्र १५, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?