कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

किशोरीहरूप्रति बढ्दो विषाक्तता

किशोरीहरूको शरीरलक्षित, यौनिकतालक्षित, उमेरलक्षित हिंसा, अपमान, बहिष्करणको स्थायी र दीर्घकालीन सम्बोधनका लागि समाजको संरचनागत त्रुटिलाई सम्बोधन गर्ने कि सामाजिक–सांस्कृतिक ढर्राहरूलाई आधुनिकताको मानक ठानिएको विभेदी बजारका विषाक्त मापदण्डहरूको पालक मान्ने ?
मीना पौडेल

समाज विज्ञानका अध्येताहरूका अनुसार, उत्तर आधुनिक युग भनेर बुझिएको र बाँचिएको समय हो आजको, जुन सैद्धान्तिक दृष्टिकोणबाट सामाजिक–सांस्कृतिक भ्रम र धार्मिक मिथकसृजित होइन; अनुसन्धानका विविध आयामले निर्माण गरेका ज्ञान अनि विज्ञानले आविष्कार गरेका प्रविधि र सूचनाले सृजना गरेको वातावरणले मानिसलाई आफ्नो कर्तव्यप्रति गम्भीर र अधिकारप्रति सचेत पारेको छ ।

किशोरीहरूप्रति बढ्दो विषाक्तता

त्यति मात्र होइन, अनेक प्रवृत्ति र प्रकृतिका आप्रवासनले जोडेर एउटै बस्ती बनाएको आजको विश्वसमाज जति उदार देखिन्छ, त्यति नै जटिल पनि छ । यद्यपि यी पक्षको व्यावहारिक पाटो सार्वजनिक बहसको विषय हो । किनकि जसरी विश्व राजनीतिक रूपले विभाजित छ, त्यसरी नै सामाजिक मुद्दाकेन्द्रित प्राज्ञिक अनुसन्धानमा आधारित बहसहरू पनि विभाजित नभएका होइनन्, चाहे महिलावादी दर्शनका आधारमा होऊन् वा औपनिवेशिक समयलाई बुझ्ने सन्दर्भमा गम्भीर मतभिन्नताका आधारमा । अथवा, यी बहसलाई प्रभाव पार्ने समाजवादी र पुँजीवादी धारहरू नै किन नहोऊन् । अनि फेरि यी धारभित्र अनेक उपधार पनि छन् जुन आ–आफ्नै वैचारिक सतहमा विभाजित पाइन्छन् । तर विभाजनका जतिसुकै चिराहरू भए पनि अनुसन्धानमा आधारित भएर गरिने रचनात्मक बहसहरू आफैंमा सकारात्मक पक्ष हुन्, खास गरी विगत चार दशकका अनुसन्धानहरूलाई आधार मान्ने हो भने ।

यता हाम्रो घरेलु माहोलमा भने सार्वजनिक महत्त्वका सवालहरूमा समयसापेक्ष बहस त कता हो कता, प्राज्ञिक निकायहरूलाई अनुसन्धानमूलक ज्ञानको स्रोत होइन, बरु राजनीतिक स्वार्थपूर्ति गर्ने थलोका रूपमा प्रयोग गर्ने क्रम बढ्दो छ । त्यसैले विश्वस्तरको बहसमा सामेल हुने सम्भावना त कम्तीमा वर्तमान समयमा कल्पनाभन्दा बाहिरको कुरा हो । यसरी नेपालका सम्बन्धित निकायहरू यी बहसको सरोकारवाला हुन नसके पनि एसियाका विभिन्न मुलुकमा गरिएका पछिल्ला अध्ययनहरूले के संकेत गरेको पाइन्छ भने, प्रविधि र सञ्चारले मानिसलाई जीवनयापन गर्न जति सहज बनाएका छन्, त्यति नै भयग्रस्त, जोखिमयुक्त र विभेदलाई संस्थागत गर्न सजिलो पनि तुल्याएका छन् । आधुनिकताका नाममा बाहिरबाट हेर्दा र सुन्दा समाज जतिसुकै सुन्दर, सहज, खुला, उदार, समान र ठीकठाकजस्तो लागे पनि भोगाइमा त्यस्तो पाइँदैन । किनकि समाजमा विभेदका खाडलहरू झन्झन् गहिरिँदै गरेको तिनै भोगाइकेन्द्रित अध्ययनहरूले औंल्याएका छन् । साँघुरो समाज, सांस्कृतिक सूचकांक र तिनको महत्त्वलाई धर्मप्रायोजित भ्रमले मापन, व्याख्या–विस्लेषण गर्ने र लैंगिक, सांस्कृतिक, भौगोलिक, शारीरिक बनावट र उमेरजन्य पहिचानलक्षित अपहेलना, मनोवैज्ञानिक र यौनिकताका आधारमा गरिने हिंसाका नयाँनयाँ स्वरूप र प्रवृत्तिहरू आधुनिकताका नाममा समाजमा प्रक्षेपण गर्ने क्रम बढ्दो रहेको ती अध्ययनले उल्लेख गरेका छन् ।

यस्ता थुप्रै प्राज्ञिक अध्ययन विश्वका विभिन्न समाजमा तिनको आफ्नै मौलिक चरित्रलाई केन्द्रमा राखी भएका छन्, जसबारे यस लेखमा विस्तृत वर्णन गर्न सकिन्न । तर, तीमध्ये हाम्रो समाजसँग सामाजिक–सांस्कृतिक रूपले मिल्दाजुल्दा अध्ययनहरूले महिला र त्यसमा पनि किशोरीहरूमाथि हुने उमेर र लैंगिक अनि लैंगिकभित्र पनि वर्गीय, जातीय, भौगोलिक, फरक शारीरिक–मानसिक क्षमता, छालाको रङ आदि विविधताजन्य हिंसालाई बडो मिहिन तरिकाले केलाएका छन् । यस पाटोका सान्दर्भिक निष्कर्षहरूलाई समाजको धरातलमा राखेर यहाँ हाम्रो घरेलु अवस्थाको थोरै लेखाजोखा गर्न खोजिएको छ ।

ती अनेक अध्ययनमध्ये भारतको लखनउमा सन् २०१८–१९ मा केही सरकारी र निजी विद्यालयमा ९ देखि १२ कक्षा पढिरहेका किशोरीहरूमाथि गरिएका र गत वर्ष मलेसियाका १८ वर्षमाथिका युवतीहरूबीच गरिएका प्राज्ञिक अध्ययनहरू यहाँ सान्दर्भिक देखिन्छन् । समाज र उसको विभेदी चरित्रलाई बुझ्ने तर व्यक्तिगत विचार र निर्णयलाई जोड दिने आजको यो समय र हाम्रो समाजमा हुने हरेक घटनालाई त्यससँग सरोकार राख्ने एवं प्रभावित, पीडित, पीडकहरूको अनुभवजन्य ‘न्यारेटिभ’ को धरातलमा हेर्नेतर्फ जोड दिने ‘सोसिअल कन्स्ट्रक्सनिजम’ (सामाजिक निर्माणवादको सिद्धान्त) का आधारमा गरिएका यी अध्ययन आधुनिकताको धरातलमा गरिने/गराइने विभेद, हिंसा, जीवनशैलीका आधारमा गरिने सार्वजनिक अपमानजस्ता आयामलाई बुझ्न र तिनलाई सम्बोधन गर्न तय गरिने रणनीतिका लागि महत्त्वपूर्ण हुन सक्छन् । किनकि यी धरातलीय अध्ययनहरूले मूल रूपमा समाज विज्ञान विधा अन्तर्गत सामाजिक विभेद, सांस्कृतिक जडसूत्रता र असमानताका लैंगिक सर्तहरूले मानिसको स्वास्थ्यमा पर्ने नकारात्मक असर, व्यक्तित्व विकासमा थपिने चुनौती र तिनको असर सार्वजनिक जीवनमा पर्नाले मनोवैज्ञानिक शिथिलता आई व्यक्ति कसरी मानसिक रूपमा अस्वस्थ हुन्छ भन्नेसम्मका पक्षहरूको विश्लेषण गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार, १०–१९ वर्ष उमेर समूह किशोरकिशोरी पुस्ता हो । सामाजिक, मनोवैज्ञानिक, यौन र यौनिकताका सम्बन्धमा र शारीरिक रूपमा कोही किशोर अवस्थाबाट वयस्क अवस्थामा रूपान्तरण हुने समय हो यो । जिन्दगीको स्वाभाविक उथलपुथलपूर्ण, जिज्ञासु, अशान्त र चुलबुले समय भएका कारण यो उनीहरूमा मनोवैज्ञानिक रूपमा गहिरो असर पार्ने कालखण्ड पनि हो । यस बेला उनीहरूको जीवनमा भएका घटनाहरूको प्रभाव जिन्दगीभर नमेटिने छापका रूपमा रहने मात्र होइन, व्यक्तित्व विकासमै असर गर्ने हुँदा मनोविज्ञानका अध्येताहरूले किशोरावस्थालाई मानिसको अत्यन्त संवेदनशील उमेर मानेका छन् । अझ लैंगिक दृष्टिकोणले त किशोरीहरूको महिनावारी सुरु हुने समय पनि यही हो जसले थप लैंगिक जोखिम थप्छ, विशिष्ट प्रकृतिको मनोविज्ञानको निर्माण गर्छ । अनि उता सामाजिक–सांस्कृतिक रूपमा भ्रमपूर्ण मूल्यमान्यताले किशोरीहरूलाई बाँधिन्छ र समाजमा उनीहरूको व्यक्तित्व स्वतन्त्र रूपले खुल्ने प्रक्रियामा अनेक तगारा तेर्स्याइन्छन् । छोरी मान्छे लजालु हुनुपर्छ, चर्को बोल्नु हुँदैन, सकेसम्म एक्लै हिँडडुल गर्न हुँदैन आदि अनेक भ्रमपूर्ण आदेश दिइन्छ । हो, स्वाभाविकै रूपमा समाज बालिका, किशोरी, युवती र समग्र महिलामैत्री छैन तर समस्या समाजको विभेदी चरित्र र भ्रमपूर्ण सोचमा हो कि बालिका, किशोरीहरूको बोली, हिँडाइ, हाउभाउ, लवाइ–खवाइ र पहिचानमा हो ?

लखनउमा किशोरीहरूमाझ गरिएको अध्ययनले के पुष्टि गरेको छ भने, शरीरलक्षित टीकाटिप्पणी सुन्नुपर्दा किशोरीहरूको आत्मविश्वास कम हुँदै जान्छ; पढाइ र अन्य अतिरिक्त क्रियाकलाप, सामाजिक गतिविधिमा रुचि कम हुँदै जान्छ अनि समयमै यो स्थितिको उचित सम्बोधन हुन नसके उनीहरू डिप्रेसनमा जाने जोखिम हुन्छ । कलिलो र संवेदनशील उमेरमा डिप्रेसनबाट गुज्रिनुपरेमा उनीहरूको वयस्क व्यक्तित्व निर्माणमा नकारात्मक असर पर्न सक्छ । लैंगिक हिंसाको जोखिम झन् बढी हुन्छ । यो अध्ययनलाई हाम्रो अहिलेको बजारमुखी लैंगिक मापदण्डको परिप्रेक्ष्यमा विश्लेषण गर्ने हो भने धेरै सन्दर्भ मेल खान्छन् । उदाहरणका लागि, डिप्रेसन लगायत त्यसबाट उत्पन्न प्रभावले मानसिक स्वास्थ्य कमजोर भएका महिलाहरूले घरपरिवार र सार्वजनिक स्थलमा भोगिरहेका हेला, अपमान र सामाजिक–सांस्कृतिक बहिष्करणजस्ता जघन्य हिंसालाई लिन सकिन्छ । अनि यस्ता हेला, अपमान र बहिष्करण सबैभन्दा पहिले आफ्नै घर र सबैभन्दा नजिकको आफन्तबाटै भोगेका थुप्रै भुक्तभोगी हामीबीच नै छन् । के आधुनिकताका नाममा हामीले यस्तै विषाक्त समाज खोजेका हौं ? भारत र मलेसियामा गरिएका यी अध्ययनहरूसँग मिल्दाजुल्दा अन्य मुलुकका अध्ययनहरूले पनि यस्तै निष्कर्ष निकालेका छन् । कलिलो पुस्ताका महिलाहरू आधुनिक प्रविधि–नियन्त्रित जीवनशैली — सामाजिक सञ्जालमा बढ्दो अन्तरक्रिया, शरीरलक्षित छलफल, फोटो–भिडियो आदानप्रदान अनि तिनै सामग्रीमाथि टीकाटिप्पणी र तिनको सार्वजनिक प्रदर्शनी र लैंगिक हिंसाजन्य गतिविधि — को चंगुलमा फस्दै गएको पनि ती अध्ययनले संकेत गरेका छन् । यो प्रवृत्ति कोरोनाकालमा कहालीलाग्दो गरी बढेको समेत पाइन्छ ।

नेपाली समाज समग्रमा व्यक्तिको सार्वभौमिकताको मामिलामा संकुचित छ र त्यसमा पनि लैंगिकताका तगाराहरू झन् जटिल छन् जसले गर्दा हाम्रा किशोरीहरूको व्यक्तित्व निर्माणको सामाजिक प्रक्रिया परिवारदेखि विद्यालय र अन्य निकायसम्म कलिलै उमेरदेखि नै सामाजिक रूपमा सहायक, सांस्कृतिक रूपमा अयोग्य/अपूर्ण, आर्थिक रूपमा परनिर्भर र कानुनी रूपमा पराधीनताको खाकाबाट निर्देशित हुन्छ । घरपरिवारबाट दिइने सामाजिक शिक्षा उनीहरूलाई आलोचनात्मक चेतयुक्त चेतनशील नागरिक बनाउनेभन्दा पनि सहनशीलताको सीमाभित्र बन्द गरी निरीह बनाउने र सुन्दरताको खोलभित्र वस्तुकरण गर्नेतिर लक्षित छ । यसको प्रभावस्वरूप सानैदेखि चिटिक्क परेको जीउ बनाउन मनोवैज्ञानिक दबाब पर्ने, कतिपय सन्दर्भमा कुपोषणसमेत हुने, आफूले सम्हाल्नै नसक्ने झिलिमिली पहिरनको भारी बोक्नुपर्ने, अनेक तरिकाले सिँगारिएको अनुहार भए मात्र ‘राम्री’ भनिने लगायत हुँदै जान्छ । यो यहाँ चर्चा गरिएका अध्ययनहरूको तथ्यगत विश्लेषण मात्र नभई आधुनिकतातिर अगाडि बढिरहेको भनिएको हाम्रो समाजका किशोरीहरूको दैनिक भोगाइ पनि हो । सैद्धान्तिक कुरा र राजनीतिक नारा जतिसुकै सुकिला, गुलिया र चिल्ला भए पनि यो समग्र नेपाली समाजको व्यावहारिक प्रकृतिको लैंगिक चेत हो; सोही चेत अनुसारको विषाक्त व्यवहार हो, बालिकाप्रति, किशोरीप्रति र महिलाप्रति !

मलेसिया र भारतमा भएका अध्ययनहरूले जोड दिएको र नेपाली समाजमा वास्ता नगरिएको तर हाम्रा किशोरीहरूलाई प्रत्येक क्षण पिरोलिरहेको अर्को जटिल विषय हो— शरीरको बनावट, तौल, पहिरनसहित शरीरकेन्द्रित नकारात्मक टीकाटिप्पणी । किशोरीहरूका शरीरलक्षित टीकाटिप्पणीहरू अलि सजिलै बुझिने हुन्छन्; ‘बडी सेमिङ’ मार्फत व्यक्तिलाई अपमान, मनोवैज्ञानिक हिंसा, घृणा गरिन्छ । अनि यस्ता अपमान र मनोवैज्ञानिक हिंसा सार्वजनिक स्थलमै हुने गर्छन् र अझ गहिरिएर बुझ्दा नजिकका साथीसंगी, आफन्त र शिक्षक र परिवारका सदस्यबीचमै हुने गरेको देखिन्छ । यस्तो अवस्था मूल रूपमा लैंगिक हिंसा हो जसले सामाजिक रूपमा अपमान र साथीसंगीहरूमाझ लज्जित हुने स्थिति उत्पन्न गर्ने मात्र होइन, कलिलो उमेरमै भावनात्मक आघातसमेत पुगी बढ्दो उमेर र जिम्मेवारी, लैंगिक भूमिकाहरूमै नकारात्मक असर पर्छ भनेका छन् थुप्रै अनुसन्धानले ।

आफ्नो जीवनोपयोगी वस्तु र आफूलाई सहज हुने पहिरन, बढ्दो उमेर र अंगहरूलाई विकसित हुन आवश्यक स्वास्थ्यवर्द्धक खानपिनभन्दा पनि बजारले तय गरेका झन्झटिला मापदण्ड र ती मापदण्ड पालना गर्दै संस्कृति र परम्पराका नाममा गरिने लैंगिक विभेदी संस्कारले बालिका र किशोरीहरूका लागि सांस्कृतिक रूपमा सार्वभौमभन्दा पनि विषाक्त ढर्राका अनुयायी हुनुपर्ने परिस्थिति बनाइरहेका छन् । यी सबै एकअर्कासँग जेलिएका छन्, जसमा लैंगिक विभेदी दृष्टिकोणबाट समाजले सहमति जनाउँछ र त उसै अनुरूप शरीर र हाउभाउ, बाहिरी स्वरूप बनाउन मनोवैज्ञानिक दबाब उत्पन्न हुन्छ । अनि किशोरीहरूको शरीर बजारले तय गरेको मापदण्ड अनुरूप भएन भने सुरु हुन्छ— बडी सेमिङ । उनीहरूको शरीरको तौल, छालाको रङ, आँखाको बनावट, कम्मरको नाप, कपालको लम्बाइ, चुल्ठाको बटाइ, हातखुट्टाको मोटाइ, स्तनको आयतन र टाउकोदेखि पैतालासम्मको लम्बाइ । यिनै होइनन् आधुनिक भनिएको पुँजीवादी बजारका पितृसत्ता–परिभाषित विषाक्त मापदण्डहरू ?

अध्ययनहरूले संकेत गरे अनुसार, अहिलेको प्रविधिसम्पन्न श्रम बजार, सीप र रोजगारमूलक अवसरका सम्भावना विगतमा भन्दा विविध प्रकृतिका र धेरै उपलब्ध भएका अनि तुलनात्मक रूपले सामाजिक चेत पनि बढ्दै गएका कारण युवा पुस्ता आफ्ना अग्रजभन्दा बढी सुसूचित र सजग छ भन्नेमा विवाद रहेन । यति हुँदाहुँदै पनि उमेरजन्य गलत सामाजिकीकरणका कारण जीवन र जगत्लाई बुझ्न सहयोगी, समाजसापेक्ष, वस्तुपरक शिक्षा क्रमशः ह्रासोन्मुख हुँदै गर्दा आफ्नो परिवेशलाई आलोचनात्मक चेतसहित विस्लेषण गर्ने र लैंगिक लगायत आफू बाँचेको समाजको सामाजिक–सांस्कृतिक विविधता र राजनीतिक माहोललाई गहिरिएर आत्मसात् गरी सोही अनुरूप सामाजिक उत्तरदायित्व वहन गर्ने सवालमा समाज उसलाई कमजोर बनाउनेतिर गएको भान हुन्छ । फलस्वरूप समग्रमा परिपक्वतातिर बढ्दो उमेर उल्टो नैराश्यतिर धकेलिने गरेको अध्ययनहरूले बताएका छन् जुन आफैंमा डरलाग्दो अवस्था हो ।

विडम्बना, नेपाली समाज प्रतिक्रियात्मक सम्बोधनमा टिकेको छ । नीतिनिर्माण तहमा जोसुकै गए पनि समाज रूपान्तरणको दीर्घकालीन दृष्टिकोण छैन, छ के त भन्दा कुनै घटना भइसकेपछि हताश मनस्थितिले त्यसको प्रतिक्रियात्मक सम्बोधन गरेर समस्यालाई मत्थर पार्ने ध्याउन्न, न कि समस्याको जरै उखेल्ने सामर्थ्य । किशोरीहरूमाथि भएका पछिल्ला दुई–चारवटा घटनाको कानुनी फैसला, सामाजिक टीकाटिप्पणी, सांस्कृतिक अर्घेल्याइँ र राजनीतिक मौनताले यसलाई पुष्टि गरिसकेका छन् र यो क्रम रोकिने कुनै संकेत छैन । किनकि सामाजिक न्यायको मर्मलाई आधुनिकताको पर्यायवाची विषाक्त बजारले किनिसकेको छ । अनि प्रश्न फेरि पनि उही हो— किशोरीहरूको शरीरलक्षित, यौनिकतालक्षित, उमेरलक्षित हिंसा, अपमान, बहिष्करणको स्थायी र दीर्घकालीन सम्बोधनका लागि समाजको संरचनागत त्रुटिलाई सम्बोधन गर्ने कि सामाजिक–सांस्कृतिक ढर्राहरूलाई आधुनिकताको मानक ठानिएको विभेदी बजारका विषाक्त मापदण्डहरूको पालक मान्ने ?

प्रकाशित : भाद्र ५, २०८० ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×