कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सपनाहरूको छायाछवि

ज्ञानको ‘पवित्रता र शक्ति’ सामाजिक संघर्ष, उत्पादन सम्बन्ध र प्रकृतिसँग मान्छेले गरेको अन्तरक्रियाबाट सृजित हुन्छ भने, आज केन्द्र (काठमाडौं) को ज्ञान दलालीमा आधारित छ । सत्ताको दलाली । सम्पत्तिको दलाली । पदको दलाली ।
केशव दाहाल

कुरा सुरु हुन्छ, असार दोस्रो हप्तादेखि । काठमाडौंबाहिरको ताजा खबर के होला ? मान्छेहरूका मनभित्र चाकाचुली खेलिबस्ने पछिल्ला प्रश्नहरू के होलान् ? जब मनमा यस्ता अनेकौं प्रश्न खेल्न थाले, हामी केही साथीले उत्तर खोज्न एउटा विमर्शयात्रा गर्ने निर्णय गर्‍यौं ।

सपनाहरूको छायाछवि

हाम्रो समूह थियो छ जनाको । प्रशान्त सिंह, सुरेन्द्र चौधरी, बुद्धछिरिङ मोक्तान, मुमाराम खनाल, डम्बर खतिवडा र म । केन्द्रीय सत्ताभन्दा टाढा बसेर काठमाडौं चियाउने सीमान्त मान्छेहरूका आँखाबाट हेर्दा सिंहदरबार कस्तो देखिएला ? राजधानीमा ठडिएका पार्टीहरूका आलिसान दरबारको छिँडीमा वर्षौंवर्ष पाइला राख्न नपाएका दुःखी कार्यकर्ताहरूका मनमा खिचिएको राजनीतिको पछिल्लो चित्र कस्तो होला ? लगातार परिवर्तनको आन्दोलनमा हिँडेको कुनै थकित राजनीतिक कार्यकर्ताले देखेको राज्यको असली रूप र चरित्र कस्तो होला ? आशा र निराशाका अनेकौं पत्रभित्र हिउँजस्तै जमेर बसेका मान्छेहरूका चिसा सपनाहरूको छायाछवि कस्तो होला ? के परिवर्तनका सम्भावनाहरू मरिसके, कि अझै बाँचेका छन् ? यी थिए हाम्रो यात्रालाई उत्प्रेरित गर्ने प्रश्नहरू ।

त्यसो त हामी देशैभरि जान चाहन्थ्यौं । तर पहिलो चरणमा हामीले यात्रा गर्‍यौं चितवनदेखि काकरभिट्टासम्म । यात्राका दौरान हामीले चितवन, हेटौंडा, वीरगन्ज, लहान, इटहरी, विराटनगर, काकरभिट्टा र उदयपुरलाई केन्द्र बनाई सानाठूला दर्जनौं विमर्श र भेटघाट गर्‍यौं । भेटघाटमा पार्टीहरूका कार्यकर्तादेखि नागरिक समाजका प्रतिनिधि, चिन्तक, अभियन्ता र जागरुक युवाहरूसम्मको सहभागिता थियो । अवश्य नै, घुमेपछि मान्छेहरूलाई भेटिन्छ । मान्छेहरूसँग हुन्छन् आफ्नै ज्ञान, विवेक, अनुभव र अनुभूतिका सन्दर्भ र कथाहरू । तिनै अनेकौं मनभित्र लुकेर बसेका सप्तरंगी सन्दर्भहरूको एकीकृत शब्दचित्र हो- सपनाहरूको छायाछवि ।

हामीले भेटेका मान्छेहरू स्वभावतः केन्द्रसँग असन्तुष्ट थिए । यहाँ केन्द्र एउटा विम्ब हो, जसलाई हामी ज्ञान, सत्ता र शक्तिको केन्द्र भन्न सक्छौं । मान्छेहरू केन्द्रसँग रिसाउनुको अर्थ थियो- पुरानो ज्ञान, सत्ता र शक्तिलाई इन्कार गर्नु । पुरानो राजनीतिलाई इन्कार गर्नु । राज्यको ढाँचा र ढंगलाई इन्कार गर्नु । अथवा, आफ्नै विगतका ज्ञान र सत्तासँग मोहभंग हुनु वा त्यसको प्रेम र आसक्तिबाट निवृत्त रहनु ।

हिजो आफ्नो स्कुल र आन्दोलनसँग मान्छे विश्वस्त थियो । जस्तो, कांग्रेसीहरू कांग्रेससँग विश्वस्त थिए । त्यसले आर्जेको इतिहासप्रति उनीहरूमा गर्व थियो । त्यसैले हुनुपर्छ, भविष्य सुखद हुने विश्वासमा उनीहरू आफूलाई कांग्रेसी भनेर चिनाउँदा रमाउँथे । कम्युनिस्टको अवस्था पनि फरक थिएन । आफूलाई प्रगतिशील भन्ने कम्युनिस्टहरू त्यो परिचयभित्र संघर्ष, त्याग र विश्वासको उज्यालो भेट्थे । सायद, मधेश राजनीतिमा पनि आन्दोलनको ओज थियो । तर आज सबै उल्टोपाल्टो भयो । सबै बिब्ल्याँटो । न कांग्रेसीहरू कांग्रेसी रहे, न कम्युनिस्टहरू कम्युनिस्ट रहे । कुरा सुन्दा लाग्थ्यो, आफैंले गोडमेल गरेका राजनीतिक स्कुल, ज्ञान, सत्ता र शक्तिकेन्द्रहरूसँग मान्छेको यति ठूलो अविश्वास योभन्दा पहिले कहिल्यै देखिएको थिएन ।

हामीले भेटेका अधिकतम मान्छेहरूमा वैचारिक तथा राजनीतिक संक्रमणको अवस्था देखिन्थ्यो । अर्थात्, पुरानो राजनीति भत्कँदै थियो । तर नयाँ बनेको थिएन । पुराना विचार, संगठन, मुद्दा र आन्दोलनहरूको औचित्य सकिँदै थियो । तर नयाँले आकार लिएको थिएन । महासंक्रमणको अवस्था । यसै सन्दर्भमा हाम्रो प्रश्न थियो- कसरी हामी यति ठूलो ज्ञान, सत्ता र शक्तिको महासंक्रमणमा आइपुग्यौं ? यो प्रश्नका अनेक समाजशास्त्रीय चिन्तनधाराहरू होलान् । यद्यपि, हामीले भेटेका मित्रहरूको एउटा उत्तर समान थियो- ‘आज जुन ज्ञान, सत्ता र शक्तिको वर्चस्व छ, त्यसको पवित्रता र सृजनशीलता सकियो । अब त्यसलाई बोक्नुको अर्थ छैन ।’ कस्तो विचित्रको अवस्था ! यदि ज्ञानको ‘पवित्रता र शक्ति’ सामाजिक संघर्ष, उत्पादन सम्बन्ध र प्रकृतिसँग मान्छेले गरेको अन्तरक्रियाबाट सृजित हुन्छ भने, आज केन्द्र (काठमाडौं) को ज्ञान दलालीमा आधारित छ । सत्ताको दलाली । सम्पत्तिको दलाली । पदको दलाली । स्वभावतः श्रममा आधारित ज्ञानको वर्चस्व शक्तिशाली हुन्छ । तर जब हाम्रो राजनीतिलाई उत्प्रेरित गर्ने ज्ञानको स्रोत स्वयं दलाली बन्छ, त्यसले आम मान्छेलाई कसरी अपिल गर्छ ? कुरा सीधा थियो- ‘आम मान्छेलाई अपिल नगर्ने र आशा नजगाउने राजनीति भत्किनु स्वाभाविक हुन्छ । त्यसैले यो भत्किँदै छ ।’

यो अर्थमा ज्ञान, सत्ता र शक्तिका पुराना केन्द्रहरू भत्कँदै छन् । अथवा, ज्ञान, सत्ता र शक्तिको पुनर्गठन हुँदै छ । आफूमाथि शासन गर्ने ज्ञान परम्परा र सत्ताको प्रचलित केन्द्रबाट मान्छे विमुक्त हुँदै छ । मान्छे सार्वभौम हुँदै छ । तर त्यसपछि के होला ? थाहा छैन । यद्यपि भित्रभित्र मान्छे आफ्नै स्वामित्वको नयाँ ज्ञान र सत्ताको खोजीमा छ । यो नेपाली समाजमा देखा परेको एक ऐतिहासिक संक्रमणको अवस्था हो । एउटा आँधी आउनु अगाडिको अवस्था, जुन काठमाडौंबाहिर टेक्नासाथ यत्रतत्र देखिन्छ ।

यसको राजनीतिक सन्देश हो- ‘अब केन्द्र (काठमाडौं) को आँखाले हेरेर देश देखिँदैन । अब केन्द्रले मात्र बनाउने सपनाले देशलाई छुँदैन । अब केन्द्रमा कोरिने राष्ट्रको चित्रभित्र सम्पूर्ण देश अटाउँदैन । अब केन्द्रमा लेखिने राजनीतिक भाष्यले भुइँलाई अपिल गर्दैन । अब केन्द्रमा बनाइने गठबन्धन वा मोर्चाले देशलाई समेट्दैन ।’ सन्देश स्पष्ट छ- ‘राजनीति र सत्ताका कथित केन्द्रहरू भत्किसके, तिनीहरूले यो कुरा समयमै बुझेको राम्रो ।’

यो यात्रामा देखिएको अर्को विशेष कुरा के भने, समय तीव्र गतिमा बदलिँदै छ । त्यसैले हुनुपर्छ, सत्ता राजनीतिको केन्द्रभन्दा पर उभिएको मान्छे पनि बदलिँदै छ । ऊ परम्परागत दलतन्त्रको झन्डा फालेर आफूलाई स्वतन्त्र घोषणा गर्दै छ । त्यसैले भुइँमा नितान्त नयाँ राजनीतिक प्रवृत्तिहरू देखिन थालेका छन् । जस्तो- परम्परागत राजनीतिका मौजाहरू भत्किँदै छन् । अर्थात्, कसैको पनि ‘कोर एरिया’ अब छैन । न आज कतै कम्युनिस्टका ‘पकेट क्षेत्र’ छन्, न त कांग्रेसका । न त मधेशी नेताका ‘कोर एरिया’ छन् न त पहाडेका । वस्तुतः आज दलहरूका भौगोलिक आधारक्षेत्रहरू मात्र भत्किएका होइनन्, परम्परागत वर्ग–आधार पनि भत्किँदै छन् । कुनै बेला सर्वहारा वर्गको काँधमा कम्युनिस्टहरू उभिन्थे । कांग्रेस आफ्नो वर्ग–आधार मध्यम वा धनीवर्गलाई मान्थ्यो । तर आज सर्वहारा मुक्तिको कम्युनिस्ट नारा वा प्रजातन्त्रको कांग्रेसी नाराले ती खास वर्ग वा प्रवर्गलाई उद्वेलित गर्दैनन् । यस्तो लाग्छ, आज मतदाता कुनै दलको स्थायी मतदाता रहेन । ऊ सार्वभौम भयो ।

मान्छेका कुरा सुन्दा लाग्छ, आज नयाँनयाँ प्रोपगान्डाहरू बजार कब्जा गरेर बसेका छन् । दस वर्ष अगाडिका भाष्यहरू बिस्तारै काम नलाग्ने हुँदै छन् । आज समाजवाद, सामाजिक न्याय, अग्रगमन, आन्दोलन, क्रान्ति, विद्रोहजस्ता शब्दहरूको ओज घटेको छ । आन्दोलनमा स्थापित पुराना नाराहरूले मान्छेलाई उद्वेलित वा उत्प्रेरित गर्दैनन् । समयसँगै पुराना राजनीतिक भाष्यहरू विघटित हुँदै छन् । अब मधेशको मुक्तिदाता मधेशवादीहरू मात्र रहेनन् । अब सत्ताधारी कम्युनिस्ट र सर्वहारावर्गको बाटो अलग भयो । अब कांग्रेसले आफूलाई सच्चा प्रजातन्त्रवादी भन्दा पत्याउने जमाना सकियो । त्यसैले हुनुपर्छ, अहिले ओलीले गर्ने रोमाञ्चक भाषण, प्रचण्डको क्रान्तिको कथा, विप्लवको जनविद्रोह, उपेन्द्रको मधेशमुक्ति र गगनहरूको संकथनमा धेरैको विश्वास छैन । त्यति मात्र होइन, कसैले आज भद्रतासाथ देशका गम्भीर राजनीतिक मुद्दाहरूमा विमर्श चाहन्छ भने, उसको स्वर हल्लाभित्र हराउँछ । आज मान्छेहरूको धेरै ध्यान लोकतन्त्र, सामाजिक न्याय वा समाजवादजस्ता विषयमा भन्दा जादु–चटकमा जान्छ । त्यसैले दिक्क मान्दै, विचारवान् मान्छेहरू भन्छन्- ‘लोकरिझ्याइँको पुर्वैया चलेको छ । परिणाम, सत्य किनारमा अलपत्र रुँदै छ र राजनीतिको रंगमञ्चमा उभिएर लोकतन्त्रको तमासा देखाउँदै छ- लोकरिझ्याइँ ।’ यद्यपि आश्चर्य यो छ कि, आफ्नै हुर्मत लिँदा पनि कांग्रेसी र कम्युनिस्टहरू मौन, तर्कहीन र रक्षात्मक छन् ।

यात्रामा देखिएको अर्को रोचक कुरा के भने, चियापसलमा वादविवाद गर्ने मान्छेहरूका अनुहार फेरिँदै छन् । कुनै समय चियापसलमा बसेर चर्काचर्की गर्ने कम्युनिस्ट वा कांग्रेसीहरू आज शान्त छन् । सायद, उनीहरू आफ्ना असफलताहरूबारे गम खाँदै होलान् । हुन सक्छ, उनीहरूसँग तर्क सकिए । अथवा, मान्छेले सुन्न छाडे । यो पनि हुन सक्छ कि उनीहरू समयक्रममा पहिलेभन्दा उदार भए । अथवा, उनीहरू आफ्नो परम्परागत वैचारिक सम्मोहनबाट मुक्त भए । त्यसैले आज चियापसलमा केपी वा प्रचण्डको विरोध गर्दा कुनै कम्युनिस्टहरू रिसाउँदैन । मधेशमा आज सानसँग उपेन्द्र वा महन्थको विरोध गर्न पाइन्छ । आज कम्युनिस्टहरूको गोलामा पसेर मार्क्सलाई उडाउन र समाजवादमाथि व्यंग्य गर्न पाइन्छ । आज मधेशको केन्द्रमा पुगेर संघीयतामाथि प्रश्न गर्न पाइन्छ । तर रोचक यो छ कि, आज नयाँ चेहराहरू चियापसलमा उपस्थित हुन थालेका छन्, जो नयाँ दलका कार्यकर्ताहरू हुन् । उनीहरू ठ्याक्कै उसरी नै चियापसलमा बसेर घण्टौं तर्क (वा कुतर्क) गर्छन् जस्तो कुनै बेला कांग्रेसी वा कम्युनिस्टहरू गर्थे, जो स्वयं अरूलाई जतिसुकै गाली गर्न पनि स्वतन्त्र छन् तर उनीहरूका बारेमा अरूले चुइँक्क बोल्नसमेत पाउँदैन ।

नयाँ राजनीतिक दल र स्वतन्त्रको कुरा के छ ? नयाँ दल र स्वतन्त्रहरूबारे सर्वत्र जिज्ञासा छ । यद्यपि हामीले जहाँ, जोसँग कुरा गर्‍यौं, स्थानविशेषका कुरा फरक छन् । जस्तो, चितवन र हेटौंडामा रवि र बालेनको चर्चा धेरै थियो । मधेशमा सीके राउत धेरै सुनिन्थे । कोशीपूर्व लागेपछि रवि वा बालेनको भन्दा धेरै चर्चा हुन्थ्यो हर्क साम्पाङको । रास्वपाबारे मुख्यतः तीन खाले विचार थिए । पहिलो, रास्वपाको राजनीतिक चरित्र कस्तो होला ? कतै यो भाइ राप्रपा वा एमाले त हुँदैन ? प्रश्नहरू थिए । दोस्रो, के कांग्रेस र कम्युनिस्टप्रतिको आक्रोशलाई रास्वपाले आफ्नो स्थिर समर्थनमा बदल्न सक्ला ? रास्वपा अलिक उत्ताउलो, अस्थिर र छिपछिपे भएको मान्छेहरूको टिप्पणी थियो । तेस्रो, झापा, मोरङ र सुनसरीका छलफलहरूमा कतिपयले रास्वपाको पछिल्लो गतिविधि एमाले निर्देशित वा प्रभावित भएको समेत टिप्पणी गरे । यस्तो लाग्थ्यो, गम्भीर विकल्पको अपेक्षा गर्नेहरू अझै रास्वपाप्रति विश्वस्त छैनन् । उसले आफूलाई परिपक्व बनाउन आवश्यक छ ।

स्थानीय अगुवाहरूसँग भेटघाट गर्दा हामीले छलफल गर्ने अरू थप दुइटा प्रश्न थिए । पहिलो, के हाम्रो समाज सामाजिक सञ्जालका उडन्ते तर्कहरूमा फसेकै हो ? दोस्रो, के राजनीतिमा गम्भीर विमर्शको युग सकियो ? सबैको उत्तर थियो, त्यस्तो होइन । आश्चर्य के भने, सामाजिक सञ्जालमा देखिने उडन्ते तर्क, अराजकता र छिपछिपे बहसले सहरलाई भन्दा गाउँलाई कम प्रभावित गरेको देखियो । कतिपय मान्छेहरूको भनाइ थियो- ‘लोकरिझ्याइँ र उडन्ते तर्कहरूबाट राजनीतिलाई बचाउनुपर्छ ।’ कुरा सुन्दा लाग्थ्यो, मान्छेमा ज्ञान, तथ्य र सत्यको खोजी जारी छ ।

निश्चय नै, समाजमा अस्थिरता र अराजकता बढेको छ । अवश्य नै, यत्रतत्र छटपटी छ । छटपटीलाई सम्हाल्ने, आशाहरू सृजना गर्ने र अगाडि जाने राजनीतिक नेतृत्व आज कतै देखिँदैन । अवश्य नै, बहुदलीय व्यवस्था छ र दलहरू छन् । तर कुनै पनि मौजुदा दलप्रति मान्छे विश्वस्त छैनन् । राजनीतिमा उत्प्रेरणा र विश्वास हराएको छ । यो निकै खतरनाक अवस्था हो । त्यसैले हुनुपर्छ, कुरा गर्दा मान्छेहरूमा गहिरो वितृष्णा देखिन्छ । उनीहरू भन्छन्- ‘नेपाली राजनीतिलाई केही छट्टु वा चलाखहरूले नेतृत्व गरिरहेका छन् र हामी जनता मूर्ख बनिरहेका छौं ।’ यो निराशाको अभिव्यक्ति हो, जसले एकै पटक अराजकता र विद्रोहको अवस्था सृजना गरेको छ । मान्छेहरूको आरोप छ- ‘नयाँ पार्टीहरूले त्यही निराशा र आक्रोशको लाभ लिइरहेका छन् ।’ तर समाजलाई सही दिशा दिन अराजकतालाई मलजल गरेर हुँदैन । बरु त्यसलाई सम्हाल्नुपर्छ र मान्छेलाई गम्भीर प्रयत्नतिर लगाउनुपर्छ । यसका लागि मजबुत लोकतान्त्रिक र अग्रगामी राजनीतिक संरचना चाहिन्छ, जुन आजको आवश्यकता हो । यस्तो विकल्पका लागि नेपाली समाज बहस गर्न सधैं खुला देखिन्छ ।

आजलाई अन्तिम कुरा, सबैतिर मान्छेहरू दुःखी छन् । तर, त्यो दुःखको कारण के हो भन्ने कुरा बिस्तारै धेरैले थाहा पाउँदै गएका छन् । जब कारणहरू खुल्दै जान्छन्, स्वभावतः विकल्प उद्घाटित हुँदै जान्छ । त्यसैले अहिले जुन राजनीतिक संक्रमण देखिँदै छ, त्यो अस्थायी हो । आम मान्छे अहिले जसरी चुपचाप बसेका छन्, यो मुर्दा शान्ति होइन । यो चिन्तनको समय हो । विकल्पको चिन्तन । लोकतान्त्रिक र प्रगतिशील राजनीतिक विकल्पको चिन्तन । हामी जहाँजहाँ पुग्यौं, स्पष्ट देखिन्छ कि देश नयाँ युगको प्रतीक्षामा छ । अर्थात्, एउटा परिवर्तनको आँधी पक्कै आउँदै छ । यसलाई जसले देख्दैन, त्यो सर्वथा नाश हुनेछ ।

प्रकाशित : असार २८, २०८० ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×