स्वास्थ्यमन्त्रीलाई पत्र

मञ्जु भट्ट

स्वास्थ्यमन्त्रीज्यू,
विशेष गरी सरकारी अस्पतालहरूमा आम सेवाग्राहीले भोग्नुपर्ने कष्टको कुनै सीमा हुँदैन भन्ने वास्तविकताबाट यहाँ अनभिज्ञ हुनुहुन्न होला । बढी दुःख त केमा छ भने, स्वास्थ्य मन्त्रालयको कुर्सी सम्हालेपछि यहाँहरूले जेजे प्रतिबद्धता गर्ने गरे पनि अस्पतालमा खेप्नुपर्ने हाम्रो सास्ती अन्त्य हुने छनक कहिल्यै देखिन्न ।

स्वास्थ्यमन्त्रीलाई पत्र

काखीमुनि सानो गिर्खा आएकी मेरी एक बहिनीलाई महाराजगन्जको शिक्षण अस्पतालले गएको चैत १९ मा सबै थरी चेक गराइसकेपछि अपरेसनका लागि यही असार २१ गते बोलाएको थियो । त्यसको तीन दिनअघि नै अस्पतालबाट डाक्टरले फोन गर्दै भने, ‘कता हुनुहुन्छ ? एक चोटि रगत चेक गराउन आउनुस् ।’ आधा दिन स्कुल पढाएपछि बहिनी र म अस्पताल पुग्यौं । सुरुदेखि जाँच गर्ने डाक्टर दुई हप्ताका लागि बिदामा रहेछन् । फोन गरेर बोलाउने डाक्टरले रगतका बीस थरी जाँच गर्न र भोलिपल्ट देखाउन भने । जाँच गराएर भोलिपल्ट रिपोर्ट देखाउन जाँदा फोन गरेर बोलाउने ती डाक्टर थिएनन् । सिकारुजस्तै देखिने अर्का डाक्टरले रिपोर्टहरू हेरेपछि भने, ‘असार २१ गते दिउँसो तीन बजे आउनू । पेट कम्तीमा चारपाँच घण्टादेखि खाली राख्नू ।’

२१ गते बिहानको नौ नबज्दै स्कुल जाने हतार र त्यसपछि अस्पताल जानुपर्ने चिन्ताले बहिनीले थोरै खाना खाइन् । एक बजेसम्म पानी पिउँदै स्कुलमा कक्षाहरू लिइन् । निजी स्कुलमा छुट्टी पाउन त्यति सजिलो छैन । अपरेसन हुने दिन आधा दिनसम्म पढाएर पनि सजिलै बिदा नपाएपछि अमिलो मन लिएर उनी, उनका श्रीमान् र हतारिँदै तीन नबज्दै अस्पताल पुग्यौं । सीधै अपरेसन कोठातिर गयौं । सोधपुछ कक्षमा बस्नेहरूले ‘खाजा खाएर बिस्तारै आउनू’ भने । हिजो मात्रै रिपोर्ट देखाउँदा सिकारु डाक्टरले त केही नखाई खाली पेट आउनू भनेकाले केही नखाएको भन्दा उनीहरू बोले, ‘माइनर अपरेसन हुनेले खाली पेट बस्नुपर्दैन । कसले भन्यो भोकै बस्नू ?’

बाहिर मुसलधारे पानी परिरहेको थियो । त्यत्रो ठूलो अस्पतालभित्र अचेल क्यान्टिन पनि रहेनछ । पानी नखाई, खाजा नखाई पानी रोकिने आशामा बसिरह्यौं । एक छिनपछि अपरेसनको शुल्क बुझाउन र चाहिने औषधिहरू किनेर ल्याउन भनियो । बहिनीको सामाजिक सुरक्षाकोषले उपचार खर्चको ८० प्रतिशत तिरिदिने भए पनि ‘थाइरोइड एन्ड ब्रेस्ट सम्बन्धी जाँचहरू बिहान मात्रै हुने भएकाले दिउँसो सहुलियत नपाइने, पूरै पैसा तिर्नुपर्ने’ भनियो । चार बजेसम्म कोषका कर्मचारीहरू अस्पतालमै हुन्छन् । तीन बजे अपरेसनका लागि बोलाइएकाले त्यसपछि लाग्ने खर्च कोषले तिरिदिनुपर्थ्यो । साढे दुई बजेपछि तिर्न नमिल्ने नियम रहेको बताइयो । सहुलियत दिइसकेपछि कर्मचारी हुन्जेल त सेवा दिनुपर्ने हो नि ! नेपालको नियम ! आवश्यक बीस औषधिमध्ये आधा मात्रै अस्पताल हाताभित्रको मेडिकलमा भेटिए । बाँकी औषधि बटुल्न अस्पतालबाहिरका मेडिकलमा दौडिनुपर्‍यो । झन्डै एक घण्टा लगाई औषधिहरू जम्मा गरेपछि बहिनीलाई अपरेसनका लागि लुगा फेर्न लगाइयो । यति गर्दा पाँच बज्न आँटेको थियो ।

लुगा फेरेर बहिनी तयार हुँदा एक बिरामीको अपरेसन सकिनै लागेको थियो । बहिनीभन्दा पछाडि पनि बिरामीहरू आइरहेका थिए । बहिनीको माइनर अपरेसन भनिए पनि डाक्टरहरू मेजर अपरेसनको कोठामा भएकाले हामीलाई त्यतै बोलाएका थिए । कार्डमा माइनर अपरेसन लेखिएकाले सुरुमा हामी अर्कै ठाउँमा गएका थियौं ।

अपरेसन ठीकठाक होस् भन्ने कामना गर्दै हामी बाहिर बसिरह्यौं । करिब बीस मिनेटपछि दुवै हातमा औषधिका दुई झोला बोक्दै बहिनी त बाहिरै पो आइन् ! हामी छक्क पर्‍यौं । अपरेसनका लागि बेडमा सुताइसकेपछि हातले गाँठो छाम्दा अलि भित्रतिर र सानो पनि भएकाले डाक्टरहरू के गर्ने भनी अलमलमा परेछन् । गाँठो माथि नै छालामा र अलि ठूलो भएको भए उनीहरूले निकाल्न सक्थे रे ! अलि भित्रतिर भएकाले माइनर अपरेसनले हुन्छ कि हुँदैन भनेछन् । फेरि अपराह्न चार बजेपछि मेजर अपरेसन गर्न मिल्दैन रे !

बिहान नौ बजेदेखि खाली पेट, दिनभरिको दौडधुप । बहिनी एकदमै रिसाइन्, ‘रगत जाँच गर्न बोलाउने डाक्टरले त्यतिखेर किन एकचोटि गाँठो छामेनन् कस्तो छ, कत्रो छ, कता छ निकाल्न सकिन्छ कि सकिन्न भनेर ? अर्को दिन रिपोर्टहरू देखाउँदा पनि आज छामेजस्तै गरी गाँठो जाँच गर्न सक्थे । एकैचोटि अपरेसनका लागि बेडमा सुताएपछि गाँठो गहिरोमा छ, सानो पनि छ, चार सेन्टिमिटरभन्दा सानो गाँठोको अपरेसन अलि अप्ठेरो हुन्छ रे ! गाँठाको साइज कत्रो छ भनेर रिपोर्टमा लेखिएकै थियो त !’

त्यति सानो गाँठोका लागि बहिनीले झन्डै बीस पटक अस्पताल धाइसकेकी थिइन् । शारीरिकसँगै मानसिक तनाव पनि त्यत्तिकै थियो, जुन केही दिनयता झन् बढेको छ । उनलाई भनिएको छ, ‘अब तीन महिना औषधि खानू । गाँठो सानो भएकाले हराउन पनि सक्छ, नभए तीन महिनापछि आउनू ।’ गाँठो सानै थियो त अपरेसनका लागि डेट दिनुभन्दा अगाडि किन दिइएन औषधि ? कसले दिने जवाफ ?

स्वास्थ्यमन्त्रीज्यू, दुःखको अर्को पाटो पनि छ । अपरेसनबापत हामीले बुझाएको ६ हजार रुपैयाँ रिफन्ड गर भन्दा ‘चार बजेपछि मिल्दैन’ भने । त्यसका लागि फेरि अर्को दिन अस्पताल धाउनुपर्‍यो । तर त्यो दिन पनि ‘शुल्कका लागि भनेर कार्डमा लेख्ने डाक्टर छैनन्, आज हुँदैन’ भने । डाक्टरले लेखेको औषधि लगायतको रिपोर्ट च्यातेर अस्पतालमै बुझाउनुपर्ने रे ! हामीलाई पनि त्यो रिपोर्ट सामाजिक सुरक्षाकोषमा बुझाउन चाहिन्थ्यो । त्यति एक पाना फोटोकपी गर्न अस्पतालमा फोटोकपी मेसिनसम्म थिएन । फेरि बाहिर धाउनुपर्ने भयो । फेरि, ‘रिपोर्ट लेख्ने सम्बन्धित डाक्टर नहुँदा अस्पतालको छाप लगाउन मिल्दैन’ रे ! त्यस्तो हो भने अपरेसन हुँदैन भनेर फर्काउने बेला नै डाक्टरले यो सब किन गरिदिएनन् ?

देशको संघीय राजधानीकै अस्पतालमा सेवाग्राहीले यति हन्डर खानुपर्छ भने प्रदेशहरूको हालत के होला ? मेरी बहिनीहरूबाट चुसेको करले देशले ५५ लाख खर्च गरेर राष्ट्रपतिको त विदेशमा उपचार गरायो, बहिनीले आफ्नै पैसा तिरेर आफ्नै देशमा सजिलै उपचार गर्न कहिले पाउँछिन् ?

प्रकाशित : असार २५, २०८० ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?