कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

आमूल सुधारको खोजीमा कांग्रेस

आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर कांग्रेसको वैचारिक पुनर्जागरण, रूपान्तरण तथा संरचनागत आमूल सुधारतर्फ अगाडि बढ्नु एक मात्र विकल्प बचेको छ ।
अर्जुननरसिंह केसी

देशको राजनीतिक परिस्थिति अँध्यारो सुरुङभित्र हराएजस्तो अनिश्चित र अन्योलग्रस्त हुँदै गएको छ । लोकतन्त्रको सुन्दर विशेषताका रूपमा जनताका बीचका गतिविधि र राजनीति, सत्ता र शक्तिमा केन्द्रित भएकाले मूलधारका पार्टीहरूप्रति जनतामा निराशा बढ्दो छ ।

आमूल सुधारको खोजीमा कांग्रेस

नेपालको इतिहासमा यो कालखण्ड सबभन्दा चुनौतीपूर्ण, अप्ठ्यारो र पेचिलो बन्दै गएको छ । व्यापक जनाधार भएको र गत संसदीय निर्वाचनले एकल ठूलो पार्टी बनाए पनि नेपाली कांग्रेस नेतृत्वकै कारण संगठनात्मक शक्तिमा कमजोर र परमुखापेक्षी बन्दै गएको छ ।

कांग्रेसको भूमिका

विधानतः दुई महिनामा कम्तीमा एक पटक हुनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पोहोर असार २७ मा भएयता एक वर्षसम्मको निष्क्रियतालाई चिर्दै यही असार २७ मा हुँदै छ । पोहोर भदौ ५ मा कांग्रेस नेता प्रदीप गिरिको निधनमा शोक प्रस्तावका लागि करिब पाँच मिनेट बैठक भएको बाहेक पूरै वर्ष हामी संस्थागत शून्यतामा रह्यौं । यो एक वर्षको अवधिमा मुलुकमा धेरै गम्भीर घटना र परिस्थिति उत्पन्न भए ।

गठबन्धनका आधारमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचन; संसद्मा एकल ठूलो पार्टी कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार विघटन र संसद्को तेस्रो ठूलो दल माओवादीका अध्यक्षको नेतृत्वमा सरकारको गठन; सत्तारूढ गठबन्धनको साझा न्यूनतम कार्यक्रम घोषणा; पेचिलो अन्तर्राष्ट्रिय परिवेश; तनहुँ, चितवन र बारामा संसदीय उपनिर्वाचन; प्रदेश सरकारहरू गठन र विघटनका खेल; कांग्रेसका केन्द्रीय विभागहरूको गठन; राष्ट्रिय अस्तित्व र अर्थतन्त्रको दुरवस्था एवं गम्भीर असर पार्ने केही भ्रष्टाचार काण्डउपर कारबाही अगाडि आए । यति गम्भीर र महत्त्वपूर्ण घटना हुँदा पनि पार्टीको केन्द्रीय कार्यसमितिमा संस्थागत प्रक्रियाका साथ एजेन्डा बनाएर कहिल्यै छलफल भएन । यी समग्र गम्भीर विषयलाई एजेन्डा बनाएर समीक्षा र नीति तर्जुमाका लागि नेतृत्वको कहिल्यै ध्यान गएन ।

कांग्रेसका २८ केन्द्रीय विभाग, १३ भ्रातृसंस्था र १८ शुभेच्छुक संस्थाहरू संगठनात्मक पूर्णता पाएर पूर्ण गतिमा सञ्चालन हुन सकेनन्; तदर्थवादमै पार्टी–सञ्चालित हुँदै आए ।

यथास्थितिमा कांग्रेसको गति अगाडि बढ्न सक्दैन । पार्टी संरचना र संगठनलाई लथालिंग र भताभुंग बनाएर; सिद्धान्त, जनभावना, संस्थागत प्रक्रिया र लोकतन्त्रका आदर्शहरूलाई उपेक्षा गरी केवल सत्ताको खिचातानीमा केन्द्रित भएर जिम्मेवारी पूरा हुँदैन । पार्टीभित्र नीतिगत वा वैचारिक बहस यसरी विसर्जन भइरहेको छ, मानौं हाम्रो वैचारिक मृत्यु हुँदै छ । पार्टी, चुनावअघि टिकटघर र चुनावपछि सत्ताको म्युजिकल चेयरको क्रीडास्थल बन्दै गएको छ । भोक लागेको र खाना पकाउने ‘आवश्यकताको सिद्धान्त’ का नाममा इन्धन छैन भन्दैमा घरका दलिन र खाँबाहरू बालेर खाना पकाउने खालको नेतृत्वको चरित्र भयो भने घर लड्ने जोखिममा भोक टार्ने काम हुन्छ । हामी त्यतै उन्मुख छौं । जनताको विगत आकर्षणलाई आक्रोशमा बदल्ने आत्मघाती प्रवृत्ति बढ्दै गएको छ ।

पार्टीको चौधौं महाधिवेशन भएको डेढ वर्ष बितिसक्दा पनि १६७ सदस्यीय केन्द्रीय समितिलाई नै पूर्णता दिइएको छैन । सभापतिले मनोनीत गर्ने ३३ सदस्यमध्ये केन्द्रीय कोषाध्यक्षसहित १० जनाको पद अझै खाली नै छ । छ महिनाभित्र पार्टीको नीति महाधिवेशन गर्ने भन्दै चौधौं महाधिवेशनमा एउटा पनि राजनीतिक (वा अन्य) प्रस्ताव पारित गरिएन, तर आजसम्म नीति महाधिवेशनको अत्तोपत्तो छैन । अब त यो निरर्थक नीति महाधिवेशनभन्दा विशेष महाधिवेशन अपरिहार्य भएको छ ।

पार्टीभित्र कसैको पनि ध्येय पार्टी सभापतिलाई कमजोर र अनिर्णायक बनाउने छैन । सबल, सक्षम र निर्णायक पार्टी सभापति नै कांग्रेसको गरिमा हो । तर सबल सभापतिको अर्थ सानो गिरोह र ओहोदाधारीले पार्टीको विधानलाई लत्याउँदै आफू सर्वशक्तिमान् हुने निहित स्वार्थमा केन्द्रीय समिति, भ्रातृ संस्था वा केन्द्रीय विभागहरूलाई भूमिकाविहीन, कमजोर, स्खलित, अनिर्णायक र अकर्मण्य बनाएर थन्क्याउने वा रबर स्टाम्प बनाउने छुट भन्ने हुँदैन ।

संरचनागत सुधार र रूपान्तरण

पार्टीको आधारभूत कर्तव्य र वैधानिक प्रक्रियालाई पन्छाउँदै सानो गिरोह र पार्टी विधानले नचिनेको पदाधिकारीका नाममा बैठक बोलाएर निर्णय लिने प्रवृत्ति बढ्दो छ । यसको अन्त्यका लागि निरन्तर प्रयास भइरहेको छ । हाल केही प्रभावशाली युवा साथीहरूले संरचनागत सुधार र रूपान्तरण अभियानको प्रारम्भ गरेका छन्, जसबाट जनता र कार्यकर्तामा व्याप्त निराशा मेटाएर केही आशाको सञ्चार भएको छ । यसलाई एजेन्डा, अचूक मार्गचित्र र निरन्तर अभियानका रूपमा पूर्ण गति दिनुपर्ने आवश्यकता छ । कांग्रेसको संरचनागत सुधार र रूपान्तरण भन्नु नै यसको मौलिक स्वरूप फर्काउनु र पद्धति, विचार र आचरणका आधारमा संस्थागत र विधानसम्मत रूपमा कांग्रेसलाई गति दिनु हो ।

कांग्रेसका लागि सरकार भनेको लोकतान्त्रिक संस्कार, विधि र पद्धति हो; भ्रष्टाचार तथा दण्डहीनताको अन्त्य, सुशासनको प्रत्याभूति, मुलुकको विकास र जनताको समृद्धि हो । खुद्रा–मसिना उपलब्धिमा रमाउनु शीत चाटेर प्यास मेट्न खोज्नुजस्तै हो । यस मान्यताको कसीमा हेर्दा सरकारमा कांग्रेसको सहभागिताले लोकप्रियता आर्जन गरिरहेको छ कि निरर्थक साबित भइरहेको छ ? यसको पनि मूल्यांकन गर्ने बेला आएको छ ।

चौधबुँदे प्रतिबद्धता र सुझावका साथ हालै सम्पन्न कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरूको दुईदिने सम्मेलनमा पार्टीको वर्तमान अवस्था, गतिविधि र भूमिकालाई लिएर सभापतिहरूले गम्भीर चिन्ता र चासो व्यक्त गर्दै जल्दाबल्दा प्रश्न र जिज्ञासाका साथ उपयोगी सुझाव दिएका छन् । कांग्रेसतिर युवा मतदाताको आकर्षण किन ह्रासोन्मुख हुँदै छ ? नवोदित पार्टीहरूले किन कांग्रेसकै मत काटिरहेका छन् ? गठबन्धन जोगाउने नाममा अन्य पार्टीका निर्वाचन चिह्नमा मत दिन बाध्य बनाउने र मत नदिएमा कारबाही गर्ने नेतृत्वको धम्कीले हामीलाई कुन हैसियतमा पुर्‍यायो ? नेतृत्वले भ्रष्टाचारको अभियोग लागिसकेकालाई किन संरक्षण गर्दै छ ? पार्टी र सरकारबीच समन्वयको अभाव र पक्षपातको टड्कारो अनुभूति हालै प्रस्तुत बजेटमा प्रकट भयो । कांग्रेसको जनाधारका साथै हालैको जिल्ला सभापति सम्मेलनबाटै सुनिएका यस्ता प्रश्नको उचित समाधान जरुरी छ ।

२००७ को जनक्रान्ति, २०४६ र २०६२–६३ का दुई युगान्तकारी जनआन्दोलन, हरेक राष्ट्रिय परिवर्तनको नेतृत्व गर्ने र राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक आयामलाई स्थापित गर्ने भूमिका कांग्रेसले नै निर्वाह गर्दै आएको छ । इतिहासको यो वास्तविकतालाई छलेर कांग्रेसलाई यथास्थितिवादी, परिवर्तनविरोधी, भ्रष्टाचारको संरक्षक र विकृतिको संवाहकजस्ता लाञ्छना भिराउने दुस्साहसले मौका पाईरहेको छ । यस्ता भ्रमका साथै नेतृत्वबाट निःसृत विकृति, असंगति र गल्तीलाई सच्याएर पार्टीको शुद्धीकरण र लोकतन्त्रको सुदृढीकरणका लागि नीतिगत, नेतृत्वगत र संरचनागत परिवर्तन गर्दै उत्साहजनक वातावरण सृजना गर्नु वैचारिक पुनर्जागरण र रूपान्तरणको ध्येय हो ।

जनताका स्थानीय पीरमर्का र दैनन्दिन सरोकारका विषय नै नेपाली कांग्रेसका मूल एजेन्डा हुन् । जनताले भोगिरहेका दण्डहीनता, कुशासन, भ्रष्टाचार, बेरोजगारी, महँगी आदि पीरमर्का; मल, सिँचाइ र कृषि बजारको अभाव; कृषकहरूको शोषण; मिटरब्याजीको अत्याचार; सहकारीको अत्याचारजस्ता समस्याहरू कांग्रेसका कार्यसूची हुन् । जनता र नयाँ पुस्ताले थाहा पाउने गरी २१ औं शताब्दीको लोकतान्त्रिक नेपालबारे स्पष्ट खाका नहुनु अनि बासी बानी र विचार त्याग्न नसक्नु नै आजको मूल समस्या हो ।

अरूको कमजोरीबाट फाइदा उठाएर आफू बलियो हुने प्रवृत्ति कांग्रेसले राख्दैन । आफ्नै ऐतिहासिक विरासत, विचार, मूल्य, मान्यता र सिद्धान्तको उत्कृष्टतामा जनतासमक्ष लोकतन्त्रको संवाहक तथा लोकतान्त्रिक संस्कृतिको प्रवर्तक बनेर सबैलाई लोकतन्त्रीकरणको प्रक्रियामा सरिक बनाउनुपर्ने मान्यता कांग्रेसले राख्छ । यस्तो अवस्थामा कांग्रेसले न कसैको फुटबाट उत्साहित भइरहनुपर्छ न कसैको उदयलाई हेरेर अतालिनैपर्छ ।

कांग्रेसले आफूभित्र युगानुकूल सुधार गर्न र मुलुकको लोकतान्त्रिक राष्ट्रिय शक्तिको हैसियत कायम राख्न नीतिगत स्पष्टताका साथ रूपान्तरण, शुद्धीकरण र सुदृढीकरणको देशव्यापी अभियान चलाउनु जरुरी भइसकेको छ । तनहुँ र चितवनका संसदीय उपनिर्वाचनको परिणामद्वारा जनभाषामा अभिव्यक्त विचारणीय कुरालाई सच्चा लोकतन्त्रवादी वा जिम्मेवार पार्टीले बुझ्न सक्नुपर्छ । वास्तविक विकास र जनताले अनुभव गर्न पाउने समृद्धि, लोकतन्त्र, सामाजिक न्याय, भ्रष्टाचार विरुद्धको सशक्त अभियान, भरपर्दो सुरक्षा, सामाजिक समावेशीकरणजस्ता आधारभूत जिम्मेवारीलाई कांग्रेसले अविचलित नेतृत्व दिनुपर्छ । अतः असार २७ मा हुन लागेको केन्द्रीय समितिको बैठक फगत औपचारिकता होइन, सबैका खुला, स्पष्ट, वस्तुगत विश्लेषण, ठोस दृष्टिकोणका साथ निर्मम समीक्षासहित विशेष महाधिवेशनका लागि ठोस निर्णय र कार्यक्रमको टुंगोमा पुग्न सहायक हुनुपर्छ ।

आज कांग्रेसमा ‘गर वा मर’ भन्ने कठोर रोजाइको अवस्था आएकाले नेतृत्वले संवेदनशील र न्यायिक भावनाका साथ पाइला चाल्नुपर्छ । यो परिस्थितिमा विगतमुखी हुनुभन्दा भविष्यमुखी हुनु जरुरी छ । कांग्रेस स्थापनाकालमा हामीसँग विगत होइन, आगत वा भविष्यको चिन्तन मात्र थियो । आज त आफ्नै लामो विगतले दिएको अनुभवको भण्डार छ । यसैको धरातलमा आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर कांग्रेसको वैचारिक पुनर्जागरण, रूपान्तरण तथा संरचनागत आमूल सुधारतर्फ अगाडि बढ्ने एक मात्र विकल्प बचेको छ ।

केसी नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य हुन् ।

प्रकाशित : असार २५, २०८० ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?