कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षामा राजनीतिले खस्कँदो गुरुको गौरव

शिक्षण संस्थामा घुसेर राजनीति गर्ने साथीहरू, सक्नुहुन्छ भने आफ्नै पार्टी कार्यालयमा ताला लगाउनुहोस् । आफ्नै माउ पार्टी तोडफोड गर्नुहोस् । आफ्नै नेतालाई कालोमोसो दल्नुहोस् । शिक्षा बिग्रेको त्यतैबाट हो ।
हरिहर तिमिल्सिना

शिक्षण पेसामा आबद्ध सर्वपल्ली राधाकृष्णन सन् १९६२ मा भारतका राष्ट्रपति भए । एउटा शिक्षक राष्ट्रपति हुँदा सारा भारतीय शिक्षा जगत् पुलकित भयो । शिक्षकहरूमा खुसीको सीमा रहेन । उनीहरूले हर्षविभोर हुँदै भनेका रहेछन्, ‘यो शिक्षण पेसाको गौरवको विषय हो । यसले सारा शिक्षकको इज्जत बढाएको छ ।’ यस सन्दर्भलाई लिएर
ओसो रजनीशले एउटा रोचक कुरा भनेका थिए, ‘कुनै पनि शिक्षक राष्ट्रपति हुनु भनेको शिक्षण पेसाका लागि कुनै गौरवको विषय होइन । शिक्षण पेसाको गौरव त्यति बेला बढ्छ जति बेला एउटा राष्ट्रपति भइसकेको मानिस शिक्षण पेसामा फर्किन्छ ।’

शिक्षामा राजनीतिले खस्कँदो गुरुको गौरव

आधुनिक युरोप र अमेरिकातिर राष्ट्रपति भइसकेको व्यक्ति पदावधि सकिएपछि शिक्षण पेसामा फर्किएका घटनाहरू सामान्य हुन सक्छन् । नेपालका सन्दर्भमा यस्ता कुरा अकल्पनीय, अविश्वसनीय र आश्चर्यजनक हुन सक्छन् ।

भन्नलाई हामी ‘गुरु देवो भवः’ भन्छौं तर आफ्ना सन्ततिलाई शिक्षक बन्नुपर्छ भनेर कतिले भन्न सक्छौं ? हामी कति जनासित बाँकी छ त्यो हिम्मत ? खै के भएको हो कुन्नि, मेरो मनमा आजभोलि यो प्रश्न निकै पेचिलो बनेर उब्जिने गरेको छ । ‘भविष्यमा कोको शिक्षक बन्न चाहनुहुन्छ’ भनेर तपाईं सय जना विद्यार्थीलाई सोध्नुहोस् । मुस्किलले एक–दुई हात उठ्न सक्छन् । त्यो पनि प्रश्न सोध्ने शिक्षकलाई किन दुःखी बनाउनु भन्ने मनोभावले प्रेरित भएर मात्रै हो । यहाँलाई लाग्न सक्छ, ‘त्यसो भए शिक्षक सेवा आयोगमा फारम भर्नेको लाम किन त्यति विधि लामो ?’ सबैभन्दा ठूलो लाम त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जान चाहनेको पनि छ । महत्त्वपूर्ण त, लाम रहरको हो कि बाध्यताको भन्ने खुट्याउन सक्नुपर्छ ।

नेपालमा धेरै शिक्षक नेता र मन्त्री भएका छन् । कति त शिक्षणलाई नै राजनीतिको भर्‍याङ बनाएर मन्त्री या नेता भएका हुन् । ती व्यक्ति पुनः शिक्षणमा फर्किएका उदाहरण अत्यन्त न्यून छन् । कोही छन् भने आफ्नै शिक्षण संस्था खोलेर शिक्षालाई व्यापारीकरणको राजमार्गमा कुदाउन मलजल गरिरहेका छन् । उच्च प्रशासक त झन् शिक्षणमा ओर्लिने कुरै भएन । उच्च ओहदाका मानिसले आफू पढेको वा आफ्नो समुदायमा भएको कुनै विद्यालयमा गएर केही दिन अनुभव साट्दा वा स्वयंसेवी शिक्षकका रूपमा काम गर्दा त्यसले त्यहाँ कार्यरत शिक्षक, विद्यार्थी र अभिभावकमा कति राम्रो प्रभाव पार्छ होला ! शिक्षा क्षेत्रको थोरबहुत सुधारका लागि यो एक नयाँ कडी हुन सक्छ । गाउँगाउँमा विद्यार्थी छन्, दक्ष शिक्षक नपाएर हैरानी छ । सहरमा शिक्षक छन्, विद्यार्थी भने निजीतिर खनिएका छन् । उच्च राजनीतिक नेतृत्व र सरकारी सेवाबाट अवकाश लिएका व्यक्तिले आफू वरपरका विद्यालयमा केही समय स्वयंसेवा मात्रै गर्ने हो भने उनीहरूको अनुभव नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्छ । यसले निभ्न लागेको आशाको दियोमा तेल थप्ने काम गर्न सक्छ ।

वर्तमान नेपालमा शिक्षण पेसाको इज्जत र मर्यादा छैन । एक–दुई अपवादलाई छोडेर यसमा आर्थिक आकर्षण छैन । शिक्षकका लागि राजनीति गर्नेहरूलाई पनि शिक्षण पेसाको मर्यादासित चासो छैन । आज निजी क्षेत्रमा कार्यरत कतिपय शिक्षक न्यून वेतनमा काम गर्न बाध्य छन् । तिनका हकहितका लागि बोलिदिने कोही छैन । त्यसमाथि समाजको नजरिया र राज्यले गर्ने विभेद कम दुःखदायी छैन । निजामतीको तलब बढाउँदा शिक्षकको बढाउनुपर्‍यो भने टाउकोदुखाइ हुन्छ । अन्य सेवासुविधामा पनि विभेद छ । राज्यले बेलाबेला ‘बापकै सम्पत्ति’ को शैलीमा पदक बाँड्ने मात्रै हैन कि हुर्‍याउने काम गर्छ । त्यसमा लाजगाल टार्न आक्कलझुक्कल शिक्षकलाई समेटेजस्तो गरिन्छ । राष्ट्रको मर्यादाक्रममा शिक्षको मर्यादा अटाउँदैन । शिक्षण भनेको कामचलाउ पेसा हो भन्ने मान्यता चिर्न सकिएको छैन । नीतिनियम बनाएर योग्य व्यक्ति छान्ने र शिक्षण पेसालाई पहिलो रोजाइ बनाउनेतर्फ राज्यको कहिल्यै ध्यान गएन । बरु शैक्षिक संस्थालाई राजनीतिक सङ्गठनको क्रीडास्थलका रूपमा विकसित गरियो । शिक्षण संस्थाबाट राजनीतिको जरोमुङ्ग्रो नउखेलेसम्म अब हाम्रो शिक्षाले त्राण पाउन सक्नेवाला छैन ।

सबैलाई थाहा भएकै कुरा हो, शिक्षा नै व्यक्ति, समाज र राष्ट्रको उत्थान गर्ने मेरुदण्ड हो । असल शिक्षकबिना असल शिक्षाको कल्पना गर्न सकिँदैन । यो तथ्य जगजाहेर हुँदाहुँदै पनि शिक्षक अपहेलनाको सिकार हुँदै आएका छन् । शिक्षकलाई कालोमोसो दल्ने, जुत्ताको माला लगाउने, कार्यकक्षमा थुन्ने, कुटपिट गर्ने र दुर्व्यवहार गर्ने कार्य सामान्य जस्ता भएका छन् । शिक्षण पेसालाई तन्नम बनाउन राजनस्तिक पार्टी र तिनका कार्यकर्ता जिम्मेवार छन् । शिक्षण संस्थामा घुसेर राजनीति गर्ने साथीहरू, सक्नुहुन्छ भने आफ्नै पार्टी कार्यालयमा ताला लगाउनुहोस् । आफ्नै माउ पार्टी तोडफोड गर्नुहोस् । आफ्नै नेतालाई कालोमोसो दल्नुहोस् । शिक्षा बिग्रेको त्यतैबाट हो । शिक्षा जताबाट बिग्रेको हो, उसैकै कठालो समात्नुहोस् । शिक्षकलाई कालोमोसो दलेर अनि शिक्षण संस्थामा आगजनी गरेर बहादुरी देखाउने काम एक्काइसौं शताब्दीको मानवलाई कदापि सुहाउँदैन ।

एकचोटि आफ्नै अनुहार ऐनामा हेरौं । आफ्नै घरआँगन र गाउँसमाजतिर नजर डुलाऔं । हाम्रो राजनीतिक परिपाटीले कृषि र औद्योगिक क्षेत्रलाई ध्वस्त पारेर युवाशक्तिलाई अरब र कोरियातिर लखेट्यो । त्यसै गरी शिक्षण संस्थालाई ध्वस्त पारेर विद्यार्थीलाई विदेश लखेट्ने क्रम तीव्र गतिमा अघि बढिरहेको छ । यसको जिम्मेवारी कसले लिने ? भयो, अब अति भयो । राजनीति नै गर्ने हो भने अन्तै गएर गरे हुन्न ? शिक्षण पेसाको प्राचीन गौरव आज हामीले हेर्दाहेर्दै धूलिसात् भएको छ । भारतीय प्रोफेसर डाक्टर योगेश गोस्वामीको

एउटा अनुसन्धान अनुसार, समाजको प्रफुल्लताको सूची (ह्यापिनेस इन्डेक्स) शिक्षकको खुसीसित गाँसिएको हुन्छ । शिक्षकलाई खुसी राख्ने मुलुकहरू नै प्रफुल्लताको सूचीको अग्रभागमा पर्ने गरेका छन् । फिनल्यान्ड किन जहिल्यै प्रफुल्लताको सूचीको अग्रभागमा पर्छ भने त्यहाँ शिक्षकलाई धेरै सम्मान दिइन्छ ।

बीबीसीले केही वर्षअघि गरेको एउटा सर्वेक्षण अनुसार, शिक्षकलाई सम्मान गर्ने राष्ट्रमा हाम्रो उत्तरी छिमेकी चीन पहिलो स्थानमा पर्‍यो भने दक्षिणी छिमेकी भारत आठौं स्थानमा । नेपालको अवस्था भने दिउँसै बत्ती बालेर खोज्नुपर्ने खालको छ । चीनमा शिक्षण पेसालाई डाक्टर, इन्जिनियर, पाइलटभन्दा माथि राखिन्छ । चिनियाँ समाजले शिक्षकलाई अत्यन्तै सम्मान दिन्छ । सायद त्यसैले होला, अभिभावक पनि आफ्ना सन्नतिलाई शिक्षक बन्ने प्रेरणा दिन्छन् । भारतमा पनि शिक्षकको सम्मानको अवस्था हाम्रोभन्दा निकै उच्च छ । एउटा सानो उदाहरण हेरौं, २०७६ को फागुनमा यो पङ्क्तिकारले भारतको एउटा विश्वविद्यालयले आयोजना गरको ‘कनेक्टिङ द डट्स’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने मौका पाएको थियो । उक्त विश्वविद्यालयमा मेरा दुई चेली अध्ययन गर्दा रहेछन् । उनीहरूले ‘उहाँ नेपालबाट आउनुभएको हाम्रा गुरु हुनुहुन्छ’ भनेर आफ्ना साथीहरूलाई चिनाए । मैले केही गर्न, भन्न र रोक्न नभ्याउँदैमा तिनका सबै साथी तँछाड–मछाड गर्दै मेरा खुट्टा छुन घोप्टिए । तिनीहरूलाई न मैले कहिल्यै देखेको थिएँ, न कुनै पाठ पढाएको थिएँ । साथीको गुरु भएकै नाताले उनीहरूले मप्रति देखाएको सभ्यता र अदबले म चकित परेको थिएँ । नेपालमा चाहिँ गुरुको गौरवगाथालाई कुल्चेर तालाबन्दी, कुटपिट, आगजनी र कालोमोसोको शृङ्खलामा कहिलेसम्म उत्रिरहने हो नन्दीभृङ्गीगण ?

प्रकाशित : असार १८, २०८० ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?