शिक्षण पेसामा आबद्ध सर्वपल्ली राधाकृष्णन सन् १९६२ मा भारतका राष्ट्रपति भए । एउटा शिक्षक राष्ट्रपति हुँदा सारा भारतीय शिक्षा जगत् पुलकित भयो । शिक्षकहरूमा खुसीको सीमा रहेन । उनीहरूले हर्षविभोर हुँदै भनेका रहेछन्, ‘यो शिक्षण पेसाको गौरवको विषय हो । यसले सारा शिक्षकको इज्जत बढाएको छ ।’ यस सन्दर्भलाई लिएर ओसो रजनीशले एउटा रोचक कुरा भनेका थिए, ‘कुनै पनि शिक्षक राष्ट्रपति हुनु भनेको शिक्षण पेसाका लागि कुनै गौरवको विषय होइन । शिक्षण पेसाको गौरव त्यति बेला बढ्छ जति बेला एउटा राष्ट्रपति भइसकेको मानिस शिक्षण पेसामा फर्किन्छ ।’
स्टिभ जब्स नामी उद्योगपति थिए । एप्पलले संसारमा नयाँ तरङ्ग ल्याएको बेला राष्ट्रपति बाराक ओबामा स्टिभलाई भेटेर राष्ट्र सुधारका केही सुझाब लिन चाहन्थे । स्टिभ जब्सले भनेछन्, ‘शिक्षा सबै कुराको मेरुदण्ड हो । शिक्षा सुधार्यो भने अरू सबै कुरा सुधारिन्छन् । त्यसैले आउनुस् हाम्रो शिक्षा प्रणाली सुधार गरौँ ।’ अमेरिकीहरूले शिक्षा सुधारमा के कसर बाँकी राखेका थिए होलान् ? उनीहरूले गर्न बाँकी के थियो होला ? अध्ययन, अनुसन्धान, विश्लेषण, लगानी ? तर, सधैं सुधारको खाँचो देख्छन् । शिक्षामा नयाँ प्रयोग र परीक्षणलाई प्रोत्साहन गरिरहन्छन् । प्रचलित मानिएका राम्रा विषयको पनि उम्दा विकल्प खोजी गर्छन् । हाम्रो कुरा भने अलग छ ।
आज हामी शिक्षाका नाममा स्कुलमा जे गरिरहेका छौं, त्यसले केटाकेटीको आत्मा, तिनको चरित्र र अस्मितालाई नराम्ररी ध्वस्त पार्दै छ,’ अमेरिकी शिक्षाविद् जोन हल्टको यस भनाइले शिक्षाका नाममा हुने गरेका सजायलाई संकेत गर्छ । शिक्षार्थीको जीवनलाई ध्वस्त पार्ने विभिन्न तत्त्वमध्ये एक हो– सजाय ।