कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

बा भन्थे– भकारे नहुनू !

तपाईंको यादसँगै मुटु कोपर्दै परेला भिजाउन आउने यो आँसु कहिले सकिन्छ होला ?

आशाको किरण छरेर जान्छ
दुःखको बाढी तरेर जान्छ
गर्नेले केही गरेर जान्छ
नगर्ने त्यसै मरेर जान्छ
वि.सं. २०७९ को ११३ औं लक्ष्मीजयन्तीको उपलक्ष्यमा अनेसास न्यु साउथवेल्स च्याप्टर सिड्नीमा मैले यी हरफ वाचन गर्दै गर्दा मेरा बालाई फेसबुक लाइभमा कसैले देखाइदिएको रहेछ । साँझ मेसेन्जरमा भिडियो कल हुँदा भन्नुभएको थियो, ‘गजब कविता वाचन गर्‍यौ ।

बा भन्थे– भकारे नहुनू !

हो, यो जुनीमा मैले केही गर्न नसकी मर्ने भएँ । म राम्ररी पढ्न नपाएर भकारे भएँ, तिमीहरू भकारे नहुनू ।’ बा बेलाबेलामा यसो भनिरहनु हुन्थ्यो । बाको औपाचारिक शिक्षा खासै थिएन । वि.सं. २०१८ मा १० कक्षा पढ्दै गर्दा छोडेको भन्नुहुन्थ्यो । बालाई आफूले धेरै पढ्न नपाएकोमा जीवनप्रति ठूलो गुनासो थियो ।

सिड्नीको झरना फङ्सन सेन्टरमा उक्त कार्यक्रम हुँदै गर्दा म अस्ट्रेलिया झरेको २० दिन पुग्दै थियो । बाले भन्नुभयो, ‘तिमी फर्किने कहिले हो ? मलाई त यहाँ युगौं बिते जस्तो अत्यास भएको छ । तिमी नहुँदा यसपालिको दसैं पनि खल्लो भयो । तिहार पनि खल्लो हुने भयो । घर चन्द्रमाबिनाको आकाश जस्तो भएको छ ।’ बाका यस्तै शब्दले मलाई बेलाबेला भुतुक्कै पार्ने गर्छन् ।

दसैंको मुखमा बूढा बाआमालाई छोडेर विदेश जाने मन मलाई पनि थिएन । एकातिर दसैंकै टीकाको दिन छोरीको ग्राजुएसन, अर्कातिर आफ्ना केही साहित्यिक कार्यक्रम पनि तय भएका थिए । जाऊँ कि नजाऊँको दोधारमा थिएँ । बाले नै आत्मबल दिनुभएको थियो, ‘दसैंतिहार त हरेक वर्ष आउँछन् । छोरीको ग्राजुयसन फेरि आउँदैन नि ।’ बाहिरबाट हेर्दा बा झुत्रे, झाम्रे र अबोध देखिनुहुन्थ्यो तर उहाँभित्र ज्ञान, विचार र विवेकको गहिरो सागर थियो ।

बालाई मैले राम्ररी चिनेको ९ कक्षामा पढ्दा हो । एकदिन हाम्रो घरदेखि तलको दुलालगाउँबाट एकजना दुलाल मामा रूख माग्न आउनुभयो । हाम्रो खेतबारीको बाँझो जग्गावरिपरि धेरै रूख र बाँस थिए । अझै पनि छन् । घर बनाउन रूख वा बाँस चाहियो भने सबैले बालाई अनुरोध गर्थे, पैसा लिने चलन थिएन बाको । बारीको एउटा पाटोछेउ दुईवटा रूख थिए । एउटा अलि सानो थियो, अर्कोचाहिँ ठूलो । दुलाल मामालाई बाले सोध्नुभयो, ‘कुन रूख काट्छौ त ?’ सानो रूखतिर इंगित गर्दै दुलाल मामाले भने, ‘यही सानो भए नि हुन्छ ।’ बाले हौसला दिँदै भन्नुभयो, ‘किन लाज मान्छौ, यही ठूलो रूख काट ।’ मलाई भने बाको यो पारा देखेर उदेक लागेको थियो । लैजानेले सानो लैजान्छु भन्दाभन्दै किन जान्ने भएर ठूलो लैजाऊ भन्नुपरेको होला ?

घर फर्किने बेला मनभित्रको उकुसमुकुस पोखियो, ‘उनले सानो लान्छु भन्दा भन्दै किन ठूलो रूख दिनुभएको बा ?’ बाले भन्नुभयो, ‘ता कुरो बुझ्दैनस् लाटा । सानो रूखलाई काटेपछि त्यसको बढ्ने म्याद सकिन्छ । सानो रूख केही समयपछि बढेर ठूलो भइहाल्छ । ठूलो रूख बढ्ने जति बढिसक्यो । अनि रूख पाउनेले पनि पाएजस्तो होस् । हामीले अलिकति विचार पुर्‍याउँदा कसैको घर बलियो बन्छ भने किन कञ्जुसी गर्ने ?’

२०७२ को भूकम्पमा हाम्रो घर पनि ध्वस्तियो । भूकम्प जाँदा म नेपाल पुलिस स्कुल साँगामा थिएँ । दुई दिनपछि घर गएर आँगनको डिलमा उभिएँ । आफू जन्मिएको घर भग्नावशेष भएको थियो । खेलेको आँगन, पिँढी सबै बमले छियाछिया भएको युद्धग्रस्त स्थल जस्तो देखियो । हिक्कहिक्क गर्दै मुटु बाहिर निस्केला जस्तो भयो । आँसु रोक्नै सकिनँ । बाले सम्झाउँदै भन्नुभयो, ‘किन रुन्छस् बाबु, घर मात्रै भत्किएको त हो नि । परिवारका सबै सारसौंदा छौं । हामी घरले थिचिएर मरेको भए पनि त सहनुपर्थ्यो नि । यसैमा सन्तोक गर्नुपर्छ । घर त बनाउँला नि ।’

वि.सं. २०७७ को दसैंपछिको कोजाग्रत पूर्णिमाको साँझ थियो । टुकुचा नालाको आकाशमाथि चिहाएको जून बिस्तारै ठूलो हुँदै भक्तपुरको सुडाल, वागेश्वरी र ताथली क्षेत्रमा सुनौलो किरण छरिरहेको थियो । हाम्रो घर भएको क्षेत्रबाट भक्तपुर, काठमाडौं र ललितपुरका तीनै सहर बिछट्टै झिलिमिली देखिन्छन् । यहाँबाट साँझको दृश्य हेर्न बहुत मजा आउँछ । आकाश र धर्तीको संयुक्त झिलिमिलीमा एकाकार हुँदै हामी आँगनको डिलमा बसेर गफ चुट्दै थियौँ । घरबाहिरको बत्तीमा भ्याटभ्याट गर्दै केही आएर ठोकियो र आँगनमा खस्यो । यसो हेरेको घ्वाँक्क परेको कालिज रहेछ । बत्तीमा पुतली ठोकिने गरेको थाहा थियो । कालिज ठाकिएको हाम्रा लागि पहिलो घटना थियो । कालिज त्यसै लट्पटियो । एउटा भाइले हत्तपत्त उठेर कालिज समायो र डोकाले छोप्यो ।

वाह कालिज ! केटाकेटी ज्यादै खुसी भए । एउटा भाइ बोल्यो, ‘दसै‌‌को मासु सकिएर मुख चिलाएको बेला कालिज आइपुग्यो । अब ढिँडो पकाएर यसैको झोलसित दन्काउनुपर्छ ।’ पसलतिर जानुभएका बा त्यतिखेरै आउनुभयो । भाइहरू कालिज काट्ने तरखर गर्दै थिए । बाले भन्नुभयो, ‘कहाँबाट आत्तिएर आयो, साँझमा किन मार्छौ ?’ सबै चुपचाप भए । भोलिपल्ट बिहान फेरि केटाहरू कालिज काट्न जमजमाए । बाले भन्नुभयो, ‘एकचोटि खाएर सधै‌लाई पुग्दैन । अस्ति भर्खर दसै‌मा हामीले तीस/बत्तीस किलोको खसी ल्याएर खायौ‌ । हामी कोही अघायौ‌ त ? विचरा यसको ज्यानै कत्रो छ र ? यसलाई मारेर हामी कति जना अघाउँछौं ? मैले भनेको मान्छौं भने यसलाई छोडिदेओ ।’ सबैको मुखमा बुझो लाग्यो । भाइले हातमा लिएको कालिजलाई उडाइदियो । बाको सम्झना आइरहने यस्ता हजार किस्सा छन् ।

बाका सयौं गुण थिए, तर दुईवटा ठूला बैगुन थिए । एउटा बैगुन के भने, चुरोट खाने मामलामा देवकोटा भन्दा पनि खराब । एक किसिमले बा ‘चेन स्मोकर’ । त्यसमाथि तमाखु भरेर हुक्का पनि तान्नुहुन्थ्यो । अहिले रेस्टुाराँतिर पाइने जस्तो हुक्का होइन– रैथाने, मौलिक हुक्का । गायक शिशिर योगी र हाम्रा बाको अचम्मको दोस्ताना थियो । मैले नै पहिलोचोटि शिशिरलाई घरमा लगेर बासित परिचय गराएको थिएँ, तर दुई जनाको मिल्ती यस्तो भयो कि शिशिर मेरा साथी हुन् कि बाका, छुट्याउन गाह्रो थियो । यो दोस्तीगिरीको एउटा कारण हुक्का पनि हुन सक्छ । बाको अर्को बैगुन के थियो भने मलाई बेहद माया गर्ने । बाले मलाई साह्रो बोलीले बोलाएको यो उमेरसम्म कुनै सम्झना छैन । कहिलेकाहीं बेहद मायाले बेहद पीडा दिँदो रहेछ । अचेल त मलाई यस्तो लाग्न थालेको छ कि कहिलेकाहीं बाउछोरामा झगडा हुनु पनि नराम्रो होइन रहेछ ।

मलाई डर थियो, यति धेरै चुरोट तान्ने बाको शरीरभित्र कति रोगले आक्रमण गर्ने होलान् ? बा कहिलेकाहीं घुँडा दुख्छ भन्नुहुन्थ्यो । अस्ट्रेलिया जानुअघि धुलिखेल अस्पतालमा लगेर बाको पूरा जाँच गराएँ । खासै कुनै रोग देखिएन । बा पनि खुसी, छोरा पनि । वि.सं. २०७९ को दसैं–तिहार र छठ सकिए । छठको भोलिपल्ट अस्ट्रेलियाबाट नेपाल फर्किने मेरो समयतालिका थियो । सिड्नीबाट हिँड्नुअघि बासित अनेक कुरा भए । हामी छठको भोलिपल्ट रातको १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल उत्रने भयौं । बाले म पनि एयरपोर्टमा लिन आउँछु भन्नुभयो । सतहत्तर वर्षे बा कहिलेकाहीं सत्र वर्षेको जस्तो जोस निकाल्नुहुन्थ्यो । भने, ‘बूढो मान्छे राति किन दुःख पाउनुहुन्छ ? अब केही घण्टामा म घर आइपुगिहाल्छु नि ।’

मलेसियन एयरलाइन्सको एम् एच् ०११४ प्लेन एक घण्टा डिले भयो । हामी रातको १ बजे मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भयौं । हामी दम्पती थाकेर लखतरान थियौं । चिराग छोरा र सन्तोष ज्वाइँ हामीलाई लिन विमानस्थल पुग्नुभएको रहेछ । हाम्रो गाउँ जाने भक्तपुर सुडाल, खावा खण्डको बाटो पिच हुँदै गरेको हुनाले गाउँसम्म गाडी नपुग्ने भएको रहेछ । लगेज, ह्यान्ड क्यारी र खित्रिकमित्रिक राति बोकेर घरसम्म पुर्‍याउन अप्ठेरो थियो । नेपाल पुलिस स्कुल साँगाले दिएको आवासमा गएर बस्ने र भोलि बिहान घर जाने निधो भयो । राति बालाई फोन गरेर निद्रा बिथोल्न मन पनि भएन । बिहान त घर पुग्नु नै थियो ।

हामी राति २ बजे साँगा पुग्यौं । खाना पकाएर खाने समय नभएकाले चिया खाएर सुत्यौं । बाले बिहान उठ्नेबित्तिक्कै आमासित भन्नुभएछ, ‘हिजो छोरो कुन बेला आइपुग्यो कुन्नि । फोन पनि गरेन ।’ त्यस दिन घरमा श्राद्ध पनि भएको हुनाले बा हत्तपत्त उठेर गाई दुहुनु भएछ । अनि नुहाएर जनै फेर्नु भएछ । घरमा श्राद्ध गर्ने पण्डित आइपुगेछन् । बा घाममा बसेर चिया पिउँदै हुनुहुँदोरहेछ । चिया पिउँदापिउँदै बा अचानक ढल्नुभएछ । ढलेको पन्ध्र बीस मिनेटमै बाले प्राण छोड्नु भएछ ।

हामीलाई भने बिहान उठ्न अलि ढिला भयो । आठ बजे उठेर चिया पिउँदै थिएँ । अब बाआमालाई फोन गर्छु भनेर सोच्दै थिएँ । खसेर फुटेको अनि बाटामा चार्ज गर्न नपाएकाले पुरानो फोन डेड थियो । नयाँ फोनमा सिम राख्न लागेको थिएँ । बालाई सुनाउन केही सरप्राइज प्याकेज पनि थिए । गाउँबाट कसैले छोरा चिरागको मोबाइलमा कल गरेर भन्यो, ‘छिटो घर आउनुपर्‍यो, बा ढल्नुभयो ।’ साँगाबाट तुफानको गतिमा घर पुग्दा बालाई आँगनमा लडाइएको थियो । म कति अभागी, म कति बद्नसिब ⁄ मैले अन्तिम समयमा बालाई भेट्नसम्म पाइनँ ।

जिन्दगीले ममाथि यति क्रूर मजाक गर्ला भनेर चिताएकै थिइनँ । बासित म्यासेन्जरमा अन्तिम पटक कुरा हुँदा पनि बाको हातमा चुरोट थियो । छोरीले जिस्क्याएर भनेकी थिई, ‘चुरोट कहिले छोड्ने बा ?’ बाले पनि जिस्किएरै भन्नुभएको थियो, ‘तिम्रो बाबा फर्किएपछि छोड्छु ।’ यो कति ठूलो धोका हो ? यो कति ठूलो घात हो बा ? चुरोट छोड्छु भनेर तपाईंले यो धर्ती नै छोड्नुभयो ।

जब म दसैं बिदामा बच्चाबच्चीसहित घर पुग्थें, तपाईं भन्नुहुन्थ्यो, ‘बल्ल मेरो दसैं आयो ।’ मलाई असाध्यै खेद छ, असह्य पीडा छ । अब तपाईं सहितको दसैंतिहार यो जुनीमा कहिल्यै आउने छैनन् । तपाईंसित भेटेर एक वचन कुरा गर्न नपाउँदाको यो पीडा कहिले समाप्त हुन्छ बा ? संवत् २०८० को मंसिर ४ गतेको अष्टमी तिथिमा तपाईंको वार्षिकी सकियो, जुठो पनि सकियो । तर, तपाईंको याद आउनासाथ मुटु कोपर्दै परेला भिजाउन आउने यो आँसुचाहिीँ कहिले सकिन्छ होला बा ?

नियतिको खेल यस्तै रहेछ । जब मृत्युको जन्म हुन्छ, तब जीवनको हार हुने रहेछ ।

प्रकाशित : माघ ६, २०८० १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?