कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनसुनी वर्षाको बदलिँदो ढाँचा

नेपालमा मनसुन प्रवेश गर्ने समय बिस्तारै ढिलो हुँदै गइरहेको छ । नेपालबाट मनसुन बाहिरिने समय पनि बिस्तारै पछाडि सरिरहेको छ ।
भोगेन्द्र मिश्र

जुन महिनाको दोस्रो हप्ता संसारभरिका समाचारहरू अधिकतम तापक्रमवरिपरि घुमिरहे । कैयौं ठाउँमा अधिकतम तापक्रमका रेकर्डहरू तोडिए । वैज्ञानिकहरूले तयार गरेका विभिन्न मोडलले यो क्रम जारी रहने देखाएका छन् । यस वर्ष जलवायु परिवर्तन वा भनौं ग्लोबल वार्मिङको रौद्र रूप देखिएको छ ।

मनसुनी वर्षाको बदलिँदो ढाँचा

जल तथा मौसम विज्ञान विभागको मौसम सेक्सनको ट्वीटर ह्यान्डलबाट जुन ८ मा भएको ट्वीटमा नेपालभित्र कुल ११३ स्थानमा गरिएको मापनमध्ये ४ स्थानमा तापक्रम हालसम्मको अधिकतम स्तरमा पुगेको उल्लेख गरिएको छ । मौसमविद्हरूले यसपालि अधिकतम तापक्रम वृद्धि हुनुमा लामो खडेरीलाई औंल्याएका छन् जुन जलवायु परिवर्तनको कारक हुन सक्छ । धेरै क्षेत्रमा यसको प्रत्यक्ष असर देखियो । कृषकहरूका खेतखेतमा झन्डै पाक्ने बेला भएका मकैका बोट र भर्खर उम्रेका धानका बीउहरू सुकेका छन्, नदीमा पानीको सतह घटेको छ जसको नकारात्मक प्रभाव पर्यावरणदेखि विद्युत् उत्पादनसम्म परेको छ । लामो खडेरीबाट आत्तिएका कृषकहरूले पानी पर्ने विश्वासका साथ देशका कतिपय ठाउँमा जलधाराको पूजाआजा र भ्यागुताको बिहेसमेत गरे ।

यस वर्ष जुन १२ देखि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, जुन १४ देखि यताको मनसुनी वर्षा हो तर यसलाई देशभरि फैलिन जुन २२ सम्म लाग्ने प्रक्षेपण गरिएको थियो । पछिल्लो समय नेपालमा प्रायः जुन १३ मा मनसुन प्रवेश गर्ने गर्छ भने अक्टोबर २ मा बाहिरिन्छ । यस पटक औसतभन्दा एक दिन ढिलो गरी मनसुन प्रवेश गरेको छ । अघिल्लो वर्ष, सन् २०२२ मा, जुन ५ मा मनसुन प्रवेश गरेको थियो भने २०२१ मा जुन ११ मा । यद्यपि ऐतिहासिक प्रवृत्ति हेर्दा, पछिल्ला वर्षहरूमा मनसुनको आगमन केही पछाडि सरेको देखिन्छ । हालसम्मको रेकड हेर्दा नेपालमा सबैभन्दा चाँडै १९९६ मा मे ३१ का दिन मनसुन भित्रिएको थियो भने १९८२ मा सबैभन्दा ढिलो, जुन २७ मा । मनसुन भित्रिने मिति कुनै वर्ष जुन १३ को एक–दुई दिनअगाडि वा पछाडि हुनुलाई सामान्य माने पनि यही प्रवृत्ति दोहोरिइरहे मनसुन सरेको मान्न सकिन्छ । अघिल्लो वर्ष मनसुन नेपालबाट अक्टोबर ११, औसतभन्दा नौ दिन ढिलो गरी बाहिरिएको थियो । ऐतिहासिक तथ्यांक केलाउँदा, सबैभन्दा छिटो १९९५ मा सेप्टेम्बर २ को दिन मनसुन बाहिरिएको थियो भने २०१३ मा अक्टोबर १९ मा, औसतभन्दा १७ दिन ढिलो ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार, नेपालमा मनसुन प्रवेश गर्ने समय बिस्तारै ढिलो हुँदै गइरहेको छ । नेपालबाट मनसुन बाहिरिने समय पनि बिस्तारै पछाडि सरिरहेको छ । मनसुन भित्रिने तथा बाहिरिने दुवै प्रवृत्ति (रेट) मा एउटै ढाँचा देखिए पनि बहिरिने प्रवृत्ति भित्रिनेभन्दा लामो भएकाले नेपालमा मनसुन सक्रिय रहने औसत अवधिमा भने वृद्धि भइरहेको छ । हालसम्मको रेकर्ड हेर्दा औसतमा ११२ दिन मनसुन सक्रिय रहने देखिन्छ । अहिलेसम्म गरिएको रेकर्डमा सन् १९७९ मा जम्मा ७३ दिन मात्रै मनसुन सक्रिय रह्यो भने २००८ मा १३० दिन ।

जल तथा मौसम विज्ञान विभाग तथा थाइल्यान्डको एउटा गैरसरकारी संस्था रायम्स (रिजनल इन्टिग्रेटेड मल्टिह्याजर्ड अर्ली वार्निङ सिस्टम फर अफ्रिका एन्ड एसिया) को एउटा संयुक्त अध्ययन अनुसार, नेपालमा सन् १९९७ पछाडि मनसुनको ढाँचामा परिवर्तन देखिन थालेको छ । १९५१ देखि १९९७ सम्म प्रायः सेप्टेम्बर २४ मा मनसुन बाहिरिने गरेकामा १९९७ यता सामान्यतः अक्टोबर २ मा बाहिरिने गरेको अर्को अध्ययनमा उल्लेख छ । मनसुनको आगमन सरदर जुन १० मा हुन्थ्यो भने हाल सो समय जुन १३ मा सरेको छ । पछिल्लो वैज्ञानिक अनुसन्धानले भारतमा पनि मनसुन आगमन र बहिर्गमनको उस्तै ढाँचा रहेको देखाउँछ ।

नेचर जर्नलमा प्रकाशित एउटा अनुसन्धान अनुसार, हरित ग्यास र एरोसोल उत्सर्जनको हालको प्रवृत्ति जारी रहे भूमध्यरेखीय क्षेत्रमा मनसुन ५ दिनसम्म ढिलो हुने सम्भावना छ जसको मुख्य कारक मानवीय क्रियाकलापलाई नै मानिएको छ । नेपाल पनि भूमध्येरेखिय क्षेत्रको उत्तरमा पर्ने हुनाले यस अनुसन्धानको परिणाम नेपालका लागि समेत मान्य देखिएको छ र यो कुरा जल तथा मौसम विज्ञान विभागको पछिल्लो तथ्यांकले समेत पुष्टि गरेको छ ।

यसरी मनसुनको आगमन ढिलो हुँदा यस क्षेत्रमा दीर्घकालीन असर पर्छ । परिवर्तित मनसुनको ढाँचाले खाद्यान्न बालीको क्यालेन्डरलाई फरक पार्न सक्छ र यसका कारण उत्पादनमा नकारात्मक पर्न सक्छ जसले गर्दा देशको ठूलो जनसंख्याको जीविकोपार्जनलाई खतरामा पार्ने देखिन्छ । हाल यसको सबैभन्दा धेरै असर धान र मकै उत्पादनमा परेको छ । मनसुन ढिला भित्रिएका वर्षहरूमा धानको उत्पादन ११ प्रतिशतसम्म घटेको तथा मकैको ४ प्रतिशतसम्म कमी भएको देखिएको छ । मनसुन भित्रिने क्रममा भएको ढिलाइसँगै बहिर्गमन पनि ढिलो हुँदै जाँदा धान थन्क्याउने समयमा समेत हुने वर्षाका कारण ठूलो क्षति हुने गरेको छ । कतिपय वर्ष मनसुनको समयमा समेत खडेरी देखिएको छ, यसले गर्दा देशैभरको कृषि उत्पादन प्रभावित हुने गरेको छ । उदाहरणका लागि, सन् २००५ मा कम वर्षाका कारण देशभरि झन्डै १० प्रतिशत खेतीयोग्य जमिन बाँझो रह्यो जसले गर्दा कृषि उत्पादनमा १२ दशमलव ५ प्रतिशतले कमी आयो । समयमा मनसुनी वर्षा हुन नसक्दा खेतबारीमा घाँससमेत कम उम्रिने हुन्छ, पशुपालनका लागि आवश्यक घाँस उपलब्ध हुन नसक्दा दूध तथा मासु उत्पादनमा असर पर्छ ।

मनसुनबाट विभिन्न जलचरका लागि आवश्यक पानी उपलब्ध हुने, मनसुनी वर्षाबाटै ताल वा पोखरीहरू भरिने, खोलामा पानीको सतह बढ्ने र जमिनमुनिको जल भण्डार रिचार्ज हुने गर्छ । काठमाडौं उपत्यका र तराईका अधिकांश स्थानमा पानी भूमिगत स्रोतबाट आपूर्ति गर्ने गरिन्छ, समयमै मनसुन सुरु नहुँदा वा मनसुनमा पर्याप्त वर्षा नहुँदा यी स्थानहरूमा जमिनमुनिको जलभण्डार रिचार्ज हुन नसकी लामो सुक्खा हुने हुन्छ र हिउँदको समयमा पानीको आपूर्तिमा कमी भएर पानीको चक्र खलबलिई समग्र इकोसिस्टम नै खतरामा पर्न सक्छ । लामो समयसम्म पानी नपर्दा गर्मी बढ्ने हुनाले लु (तातो हावा) को खतरा

बढ्नाले जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्न सक्छ । वनजंगलहरू सुक्खा हुनाले वनडढेलोका घटनामा बढोत्तरी हुन्छ । पछिल्लो तथ्यांकमा वन डढेलोको प्रवृत्ति बढिरहेको पाइएको छ । देशमा उत्पादन हुने ९५ प्रतिशतभन्दा धेरै विद्युत्को स्रोत नदी भएकाले मनसुन आगमनमा ढिलाइ हुँदै जाँदा खोलामा पानीको सतह घट्दै गई विद्युत् उत्पादन क्षमतामा ह्रास आउँछ । यसरी मनसुन आगमनमा ढिलाइले बिजुली आपूर्तिमा कमी हुने, कृषि उत्पादन घट्ने, जलचक्र बिथोलिने, जनस्वास्थ्यमा असर पर्ने हुनाले देशको अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पर्ने हुन्छ ।

सुक्खा मौसम वा ढिलो सुरु हुने मनसुनी वर्षासँग अनुकूलन हुनका लागि पानीका स्रोतहरूको संरक्षण गर्नुपर्छ । कृषकहरूले खेतबारीमा पोखरी खनी वर्षाको पानी संकलन गरी सुक्खा समयमा प्रयोग गर्न सक्छन् । बाह्रै महिना पानी उपलब्ध हुने ठूला नदीहरूबाट खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुर्‍याउने, पहाडी क्षेत्रमा बाँध बाँधी वर्षाको पानी संकलन गर्दै सुक्खा समयमा प्रयोग गर्ने, स्थानीय वातावरण हेरी पानीको मूल बढ्ने वा जमिन ओसिलो रहने प्रकृतिका रूखहरू हुर्काउने लगायतका काम गर्न सके मनसुन ढिला भई लम्बिने सुक्खा यामसँग जुझ्न सजिलो हुनेछ ।

मिश्र नीति अनुसन्धान प्रतिष्ठानमा आबद्ध छन् ।

प्रकाशित : असार १७, २०८० ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?