कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एक देशभक्तको बयान

नागरिकको हित, समृद्धि, विकास र सामाजिक न्यायलाई कुण्ठित गरेर शासकहरूले लगाउने देशप्रेमको नारा फगत तमासा हो । जनतालाई पृथक् राखेर गरिने देशप्रेम फगत सत्ताको जालसाजी हो ।
केशव दाहाल

काठमाडौंका मेयरले ‘ग्रेटर नेपाल’ को नक्सा कार्यकक्षमा राखेको दिन मेरो मन गदगद भयो । धेरै पछि लाग्यो, अब केही हुन्छ । त्यसो त, चुच्चे नक्सा संसद्बाट पारित भएको दिन पनि मलाई अपरिमित आनन्द लागेको थियो । उडूँउडूँजस्तो, नाचूँनाचूँजस्तो ।

एक देशभक्तको बयान

त्यो साँझ अबेरसम्म मैले मनोहरा किनारमा बिताएँ । मन गुनगुनाइरह्यो— ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली, जयजय हे नेपाल सुन्दर शान्त विशाल ।’ गीतले अगाडि भन्छ, ‘पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं ?’ मलाई लाग्यो, फेरि एक पटक पाखुरा सुर्केर विस्तारवादविरुद्ध चर्का नाराहरू लगाऔं । त्यो मेरो राष्ट्रवाद जागेको दिन थियो ।

लगत्तै अर्को दिन बिहान, एक जना अन्तर्राष्ट्रियतावादी मित्रले फोन गर्दै भन्यो, ‘भेटौं ।’ उसको स्वर निकै कडा थियो, सायद उसले मलाई सुनाउनुपर्ने कुराहरू पनि कडै थिए । ऊ विषयलाई फरक ढंगले अर्थ्याउँथ्यो र रोचक बनाउँथ्यो । हामीले साँझ भेट गर्‍यौं । त्यो भेटमा उसले मलाई जेजस्ता प्रश्न गर्‍यो, यो लेख तिनै प्रश्न र त्यसपछिका विमर्शहरूमा केन्द्रित छ ।

भेट हुनासाथ उसले भन्यो, ‘विचार गर त साथी, पृथ्वीलोकमा देशहरूको अस्तित्व नै नभएको भए मानव सभ्यता कस्तो हुन्थ्यो होला ?’ प्रश्न रोमाञ्चक थियो । अवश्य नै अमेरिका हुँदैनथ्यो । चीन हुँदैनथ्यो । भारत हुँदैनथ्यो । नेपाल हुँदैनथ्यो । न रुस हुन्थ्यो, न युक्रेन । न इजरायल हुन्थ्यो, न प्यालेस्टाइन । न हिरोसिमामा बम खसालिन्थ्यो, न बीच बर्लिनमा पर्खाल ठडिन्थ्यो । न कोही लुक्दै युरोप वा अमेरिका भासिन्थ्यो, न त भिसाका लागि कतै लाइन लाग्नुपर्थ्यो । न ग्रेटर नेपाल, न विशाल भारत । मान्छे चराजस्तो स्वतन्त्र उड्ने थियो । मान्छे देशको सिमानामा खुम्चिने थिएन । समुद्र साझा, मरुभूमि साझा । अमेजनको जंगल साझा, आकाश छुने हिमगिरि पनि साझा । ‘देश मानव सभ्यतालाई विभाजित गर्ने वास्तवमै खतरनाक अवधारणा हो,’ उसले मलाई बहसका लागि उत्प्रेरित गर्‍यो । थोरै असहमति जनाउँदै मैले भनें, ‘कल्पनामा अन्तर्राष्ट्रियतावादी हुनु एउटा कुरा, तर यथार्थमा देशहरू छन् । आजको शक्तिशाली यथार्थ हो— देश, भूराजनीति र राष्ट्रिय स्वार्थ । के तिमी देशको अवधारणालाई इन्कार गर्छौ ?’ उसले भन्यो, ‘म भयानक देशभक्त हुँ साथी । म देशको सार्वभौमिकता र स्वतन्त्रतालाई सम्मान गर्छु । तर सायद तिमीले भनेको देश र मैले भनेको देशमा फरक छ ।’

कुनै समय, पृथ्वीलोकमा एउटा पनि देश थिएन । मान्छे घुमन्ते थियो । बिस्तारै खेती र पशुपालनको युग सुरु भयो । मान्छे गृहस्थीमा लाग्यो । स्वभावतः बढ्दो परिवार, खेती र पशुपालनका लागि जमिनको आवश्यकता बढ्दै गयो । व्यक्तिगत सम्पत्तिको सुरुआतसँगै मान्छेका सपनाहरू चुलिए । ऐस, आराम, शक्ति र वैभवको महत्त्वाकांक्षा बढ्दै गयो । मान्छेभित्रको महत्त्वाकांक्षाले संगठित युद्ध निम्त्यायो । युद्धबाट जमिन, सम्पत्ति, स्त्री, दास र इज्जत आर्जन हुन थाले । त्यसपछि युद्ध नियमित कर्म बन्यो, जसले नायकहरू जन्माउँदै लग्यो । समयक्रममा तिनै युद्धनायकहरू शासक बने । यसरी देश, राज्य, राजा र धर्मको आविष्कार भयो । मान्छेका कुल, गोत्र, गण र सम्प्रदायहरू राजनीतिक प्रवर्गमा फेरिए । पृथ्वीमा सिमानाहरू कोरिए । देश बन्ने जटिल र रक्तरञ्जित प्रक्रिया संस्थागत हुँदै गयो ।

देश बन्ने प्रक्रियामा जनता कहाँ थिए ? किनारमा थियो । जनता केवल युद्धमा प्रयोग हुन्थे, आदेश मान्थे र रगत बगाउँथे । तर देशको स्वामित्व जनतासँग थिएन । कोसँग लड्ने, कहाँ सीमारेखा खिच्ने, कोसँग सुलह गर्ने ? सबै शासकले निर्णय गर्थे । किनभने देश शासकहरूको शक्ति र सामर्थ्यको स्वर्ग थियो । शासकहरू आफ्नो लहडमा देश अंश लगाउँथे, उपहार दिन्थे र आवश्यक पर्दा युद्धको घोषणा गर्थे ।

तर समयक्रममा दुई कुरा निर्णायक भएर आए । पहिलो, शासकलाई आफ्नो सत्ता जोगाउन प्रजाको सहयोग चाहियो । श्रमका लागि प्रजा । करका लागि प्रजा । युद्धका लागि प्रजा । आफ्नो जयजयकार गर्न प्रजा । प्रजालाई देशप्रति (शासक) वफादार बनाउन देशभक्तिका कथ्यहरू रचना भए । अनेकौं कथा, कविता र गीत लेखिए । राष्ट्रवाद संगठित भयो । मान्छे र माटोलाई मातृभूमि र पितृभूमिको साइनोले बाँधियो । वीरगाथाहरू बने । तर कुरा यति मात्र भएन । जब मानवचेतनाले अँध्यारो युगबाट उज्यालोतिर फड्को मार्‍यो, आम मान्छेले देश बन्ने प्रक्रियामा आफ्नो (पुर्खाको) रगत बगेको थाहा पाए । अर्थात्, जब बिसे नगर्चीको चेतना जागृत भयो, उसले देशका चार किल्लाभित्र आफ्नो रगतको योगदान खोज्यो । उसले देशमाथि आफ्नो स्वामित्व माग्न थाल्यो । त्यसैले भनिन्छ— लोकतन्त्र देशमाथि नागरिकको स्वामित्व सुनिश्चित गर्ने अग्रगामी चेतना हो । त्यसपछि देश शासकको मात्र रहेन, जनताको पनि भयो ।

यसरी देशलाई परिभाषित गर्ने दुइटा विपरीत अवधारणा बने । पहिलो, शासकीय अवधारणा । दोस्रो, नागरिक अवधारणा । शासकहरूले भने— देश उनका पुर्खाले आर्ज्याको सिमाना हो । देश नक्सा हो । देश हिमाल, पहाड, नदी हो । देश झन्डा हो, राष्ट्रिय गीत हो । देश शासकहरूको विधान हो । जस्तो, कुनै बेला पञ्चायतले हामीलाई सिकाउँथ्यो, देश भनेको राजा हो । देश भनेको दरबार र त्यसको गजुर हो । देश हुन राजा हुनुपर्छ । यो शाहवंशले आर्ज्याको भूगोल हो । यसको विरोध गर्नेहरू देशद्रोही हुन् । तर नागरिक अवधारणाले भन्यो, देश भनेको नक्सा, सिमाना, माटो, पानी, हिमाल मात्र होइन, देश भनेको जनतासमेत हो । देश भनेको जनताको समृृद्धि, विकास, सामाजिक न्याय र उन्नयनको आधार हो ।

‘२०६३ सालपछि देशमा गणतन्त्र आयो । संविधान बन्यो । नयाँ मान्छेहरू नेता बने । लाग्थ्यो, अब देशको परिभाषाभित्र जनता केन्द्रमा हुनेछन् । राज्यले भन्नेछ, ‘देश भनेको जनता हो ।’ दुर्भाग्य, फेरि पहिलेजस्तै दरबारको गजुरमा शासकीय अहंकारको झन्डा फहराउन थाल्यो । नयाँ शासकहरूले भने— देश भनेको संविधान हो । कुन संविधान ? त्यही जसलाई लेख्न र मेट्न उनीहरू स्वतन्त्र छन् । देश भनेको प्रदेश हो । कुन प्रदेश ? त्यही जसका सिमानाहरू फेर्न उनीहरू स्वतन्त्र छन् । त्यसपछि के भयो ? नयाँ शासकका लागि देश जंगल भयोÙ रूखहरू काटिए । देश खानी भयो, खजाना निकालियो । देश नदी भयो, बेचियो । र, अन्त्यमा शासकको छायाले आदेशको स्वरमा भन्यो, ‘देश भनेको स्वयं म हुँ ।’ त्यो छायाले सारा मान्छेलाई अर्ती दिँदै भन्न थाल्यो, ‘देशले के दियो नसोधÙ देशलाई के दियौ, त्यो विचार गर ।’ सुन्दा सानदार लाग्ने यो भनाइ बारम्बार उसैले दोहोर्‍याइरह्यो, जसले देशका नाममा लिनबाहेक दिन केही जानेन । उसले फेरि भन्यो, ‘देशका लागि रगत बगाउनु गर्वको कुरा हो ।’ अवश्य नै, कहिलेकाहीँ देशका लागि रगत बगाउनु आवश्यक हुन्छ । तर कुन देश ? शासकहरूको स्वार्थको देश कि जनताको जीवन आदर्शको देश ? अन्यथा, आफ्नो भाग र स्वामित्वमा नभएको देशका लागि मान्छेलाई रगत बगाउन उद्वेलित गर्नु स्वयं फासीवाद हो । यहाँ देशको स्वामित्व भनेको केही भावनात्मक र केही राजनीतिक कुरा हो । मुख्य कुरा हो, राज्यसत्ताको लोकतन्त्रीकरण । थप स्पष्टीकरण दिन्छु— नागरिकको हित, समृद्धि, विकास र सामाजिक न्यायलाई कुण्ठित गरेर शासकहरूले लगाउने देशप्रेमको नारा फगत तमासा हो ।’

यही प्रसंगमा एक दिन मित्र प्रशान्त सिंहले एउटा गज्जबको प्रश्न गरे । उनको प्रश्न थियो, ‘देश चुच्चे (वा ग्रेटर) नक्साको चारकिल्लाभित्र हुन्छ कि हुन्छ मान्छेको जीवन स्पन्दनमा ?’ अवश्य नै, देश भनेको नक्सा हो, सिमाना हो, माटो हो । तर त्यो आधा देश हो । किनभने जनताबिनाको देश कहिल्यै पूर्ण हुँदैन । मानौं हामी ३ करोड नेपाली एक दिन सबै पृथ्वीको दक्षिणी गोलार्द्धमा बसाइँ सर्‍यौं ? अब देश कहाँ हुन्छ ? ३ करोड नेपाली जहाँ छन् त्यहाँ कि यतै जहाँ मात्र माटो र चारकिल्ला छ ? देशको नाम, ओज र गरिमा यसकारण अस्तित्वमा हुन्छ कि त्यहाँ मान्छे हुन्छन् । अन्यथा आफ्ना मान्छेको मौलिक अस्तित्वबिना देश रहँदैन । त्यसैले स्पष्ट छ, देश भूगोल मात्र होइन । अवश्य नै, देश नक्सा हो तर त्योभन्दा धेरै हो नक्साभित्रका मान्छेहरूको कथा, गाथा र सपना । देश निर्जीव हुँदैन, जीवित हुन्छ । र, त्यसको सास चल्छ आफ्ना नागरिकको साससँगै । भूगोललाई मात्र देश ठान्नु परम्परागत शासकीय अवधारणा हो । नागरिक चेतनाले भन्छ- देश भनेको मान्छे हो । जनतालाई पृथक् राखेर गरिने देशप्रेम फगत सत्ताको जालसाजी हो ।

मेयर बालेनले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेको एक हप्तापछि पुत्र मुगलले एउटा सरल जिज्ञासा राख्यो । सोध्यो, ‘ग्रेटर नेपालको बहस के हो ?’ मैले भनें, ‘त्यो हाम्रो इतिहासको गाथा हो । भारतले आफ्नो संसद्भवनमा विशाल भारतको मुरल राख्छ भने, हामीले पनि आफ्नो इतिहासलाई सम्झनुपर्छ ।’ उसले प्रतिप्रश्न गर्‍यो, ‘ग्रेटर नेपाल भनेको भूमि मात्र हो कि त्यो भूमिभित्रका मान्छेको पनि कुरा हो ? के हामी ती लगभग ५ करोड मान्छेलाई नागरिकता दिन तयार हौं ? के हामी ती नयाँ मान्छेलाई जागिर दिन तयार हौं ? के हामी तिनैमध्येबाट भोलि प्रधानमन्त्री वा राष्ट्रपति बनाउन तयार हौं ? ती ५ करोड मान्छेहरू के चाहन्छन्, हामीले सोधेका छौं ? मधेशका मान्छेलाई नागरिकता दिने बेला हामी अझै अनेक शंका गर्छौं । काठमाडौंमा बाहिरबाट मान्छे थुप्रिए भन्ने रैथाने गुनासाहरू अझै सुनिन्छन् । सडक व्यापारी देख्नासाथ महानगरको पारो चढ्छ । मानौं, देशमा ३ करोड जनसंख्या हुँदा राजधानीको जनसंख्या छ ३० लाख । भोलि मानौं ८ करोड जनसंख्या हुँदा राजधानी होला ८० लाखको । के हामी ती थप ५ करोड मान्छेलाई स्वागत गर्न तयार हौं ?’ मुगलले आफ्ना प्रश्नहरूको आफैं जवाफ दिँदै भन्यो, ‘अवश्य नै हामी भारतसँग झुक्न आवश्यक छैन । तर हामी जिम्मेवार राजनीति गर्न चाहन्छौं भने लोकरिझ्याइँ, घृणा र उन्मादले कतै पुगिँदैन । कम्तीमा नेपालले कूटनीतिक सामर्थ्यबाटै समस्याको समाधन खोज्नुपर्छ । कसैका अगाडि लम्पसार परेर वा उग्र भएर हाम्रो गन्तव्य भेटिँदैन । हाम्रो लागि प्रेम, सद्भाव र कूटनीतिक सुझबुझको बाटो नै उत्तम बाटो हो ।’

मलाई लाग्छ, नेपालीहरूको राष्ट्रवाद अद्भुत छ । हामी कहिले चुच्चे नक्सा हेरेर मक्ख पर्छौं । कहिले ग्रेटर नेपालको तस्बिरमा रमाउँछौं । अवश्य नै, आफ्नो भूगोल, माटो, इतिहास र गाथाहरूमा रमाउनुपर्छ । तर मात्र नक्सामा रमाउने कि वस्तुगत परिस्थितिलाई बदल्ने ? किनभने, बितेका ७० वर्षदेखि हाम्रा नेताहरूले राष्ट्रवादको नारा लगाइरहेका छन् र उनीहरू नै निरन्तर प्रभुका पाउमा लम्पसार छन् । तर हामी भने उनैले बनाएको उग्रराष्ट्रवादको मोहजालमा मग्नमस्त भएर रमाउँदै छौं ।

अवश्य नै, हामी देशलाई माया गर्छौं । हामी देशलाई बलियो, स्वाधीन र समृद्ध बनाउन चाहन्छौं । तर के आफ्ना लाखौं नागरिक दरवान, कुल्ली र कान्छा भएको देश स्वाधीन हुन्छ ? जुन देशका नेताहरू बितेका सय वर्षदेखि विदेशमा उपचार गर्न जान्छन् र देशमा एउटा गतिलो अस्पताल बन्दैन, त्यो देश बलियो हुन्छ ? जुन देशमा एउटा गतिलो विश्वविद्यालय छैन र ज्ञानको सदैव हुर्मत काढिन्छ, त्यो देश बलियो हुन्छ ? भनिन्छ, आज लगभग ५० लाख नेपाली युवा विदेशमा पसिना बगाउँदै छन् । आफ्ना युवाहरूलाई विदेश निर्यात गरेर चामल किन्ने देश स्वाधीन र बलियो हुन्छ ? जुन देशमा स्वयं मन्त्रीहरू आफ्ना नागरिकलाई शरणार्थी बनाउन दलालीको फन्दा बनाउँछन्, जुन देशमा सर्वत्र ठगहरूको रजगज छ, जुन देशमा दलालहरूले राज गर्छन् र निष्ठा मर्छ पलपल, के त्यो देश स्वाधीन र बलियो हुन्छ ? भातको जोहो गर्न नसकेर विदेशी भूमिमा पसिना बेच्नेहरूको देश हो यो । विमानस्थलमा आफ्ना सन्तानको लास पर्खिएर बस्ने आमाबाहरूको आँसुले भिजेको देश हो यो । जसको संविधानमा चुच्चे नक्सा त छ, तर नक्साभित्रका मान्छेहरूको गणना गर्न पनि शासकहरूको कूटनीतिक सामर्थ्यले भ्याउँदैन, त्यो देश बलियो हुन्छ कसरी ? हाम्रो प्राथमिकता देश र जनताको मुहार फेर्नेतिर किञ्चित् केन्द्रित छैन । हाम्रो प्राथमिकता एक स्थिर, बलियो र सार्वभौम देश बन्नेतिर किमार्थ केन्द्रित छैन । नागरिकको दुःख, आँसु र असन्तोषले भरिएको देश स्वाधीन र बलियो हुन्छ कसरी ?

आजलाई अन्तिम कुरा के भने, गीत, कविता, कथा र नक्सामा देश हेरेर हामी भावुक हुन सक्छौं । तर आफ्नो सामर्थ्यलाई नबढाई हामीलाई कसैले पुछ्दैन । बहादुर नेपालीको देश भनेर हामी मनमनै गर्व त गरौंला, तर जनता एकीकृत, बलियो र सम्पन्न नभई देश बलियो हुँदैन । किनभने देश भनेको नागरिक अधिकारको सर्वोच्च अभिव्यक्ति हो । देश नक्सामा भन्दा धेरै नागरिकको मनमुटुमा खोज्नुपर्छ । देश भित्तामा होइन, आफ्ना मान्छेको मनमा अजर–अमर हुनुपर्छ । अन्यथा, लोकरिझ्याइँले हाम्रो भोक भरिँदैन र भोका मान्छेहरूको देश कहिल्यै स्वाधीन र बलियो हुँदैन । मान्यवरहरू, कृपया देशलाई माया गरौं, तर देश भनेको जनता हो, यो कुरा नभुलौं ।

प्रकाशित : असार ५, २०८० ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?