३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

पहिचान र वास्तविकता

नेपालबाहिर कुनै पनि नेपाली नागरिकलाई कुन गोत्र र थरको भनी सोधपुछ गरिँदैन । किनकि नेपाली नागरिकको पहिचान नेपाली हो र यसमा प्रश्न गर्नुपर्ने आवश्यकतै पर्दैन ।
वामदेव गौतम

पहिचान मानवजातिका निम्ति अत्यन्त महत्त्वपूर्ण विषयका रूपमा स्थापित छ । पशुजगत्बाट विकसित भएर स्थापित भएको पहिचान हो— मानव । प्राणीजगत्मा मानवजाति अत्यन्त द्रुत गतिमा विकसित भइरहेको प्राणी हो । मानवजाति खुट्टाले हिँड्ने, हातले काम गर्ने, दिमागले सोच्ने, महिला र पुरुषबीच अत्यन्त सम्मानजनक सम्बन्ध विकसित भएको सामाजिक प्राणी हो । समाजबिना मानवजातिको एक जना सदस्य पनि बाँच्न सक्दैन ।

पहिचान र वास्तविकता

पृथ्वीमा अनेक किसिमका प्राणी र वनस्पतिसँगै मानवजातिको विकास भएको छ । अहिले मानवजाति सबै किसिमका प्राणी र वनस्पतिको मालिक भएको छ । तर मानवजातिको मालिक अर्को कोही छैन, आफैं हो । मानवजाति समाजमा विकसित भइरहेको अवस्थामा एउटा व्यक्तिले अर्को व्यक्तिलाई, एउटा समूहले अर्को समूहलाई, एउटा समाजले अर्को समाजलाई तथा महिलाले पुरुषलाई, पुरुषले महिलालाई जन्म दिने, हुर्काउने र पालनपोषण गर्नेहरूबीच पहिचानका निम्ति आवश्यकता जन्म्यो र तदनुरूप पहिचान विकसित पनि भयो । अहिले मानव अन्तर्राष्ट्रिय जातिमा विकसित भएको छ । सामाजिक प्राणी भएको नाताले एउटा व्यक्तिले अर्को व्यक्तिलाई चिन्न–जान्न कुनै न कुनै पहिचानको आवश्यकता पर्ने नै भयो । त्यस कालदेखि अहिलेसम्म मानवजातिले विकासका अनेकौं चरण पार गरिसकेको छ । मानवजातिको लाखौं वर्षको ऐतिहासिक विकासक्रममा पहिचानका अनेकौं रूप प्रकट भएका छन् । यस लेखमा यही विषयबारे छलफल गर्न खोजिएको छ ।

जनावरको अवस्थाबाट छुट्टिएपछिको मानवजातिको विकासको अवधि, रुसी वैज्ञानिक अलेक्सैवका अनुसार, २० लाखदेखि अधिकतम ३० लाख वर्षसम्म भएको छ । १० हजार वर्षपहिलेसम्म समाज मातृप्रधान अवस्थामा थियो । अहिले आर्य जाति भनेर चिनिनेहरूका पुर्खाहरूको पहिचान त्यस बेला महामाताहरूको नामबाट गरिन्थ्यो । महामाताहरू एकएक समूहका नायक हुने अवस्थाबाट विकसित भएका थिए । अहिले पनि जानिने अनेक नामका दुर्गा, भगवतीहरू त्यस बेलाका महामाताहरू थिए ।

समाज विकासमा महिला–पुरुष समागम निरन्तर विकसित अवस्थामा देखिएको छ । कुनै बेला हरेक मानव समाजमा उमेर पुगेका सबै पुरुष र सबै महिला एकअर्काका निम्ति कामेच्छा पूरा गर्ने व्यक्तिका रूपमा स्थापित थिए । अर्थात्, सबै पुरुष पति र सबै महिला पत्नी । मानवजातिको विकाससँगै यो पद्धतिमा पनि परिवर्तन र विकास देखा पर्दै गयो । विवाह पद्धतिका धेरै चरण पार गर्दै मानवजाति अहिले एक पत्नी एक पतिको अवस्थामा आइपुगेको छ । यसका साथै परिवारभित्र पहिचानयुक्त अनेकौं सम्बन्ध विकसित भएका छन् । समाजमा अहिले तिनलाई नाता सम्बन्ध भनिन्छ । आदिम मातृप्रधान समाज पितृप्रधान हुँदै अहिले समानताको अवस्थामा विवाह पद्धति विकसित भएको हो । मानवजातिको सबभन्दा तल्लो एकाइका रूपमा परिवार विकसित भएको छ । अनेकौं अध्ययन र वैज्ञानिक अन्वेषणबाट बाबु र आमा दुवैपट्टिका सात पुस्ताभित्र विवाह सम्बन्ध मानव विकासका निम्ति घातक र तदनुरूप गैरकानुनी घोषणा भइसकेको छ । नाता सम्बन्धमा जाँदा आफूलाई जन्म दिने महिला र पुरुष आमा र बाबुको पहिचानमा स्थापित भएका छन् । उनीहरूका छोराछोरी हुँदै नाति–पनाति पहिचानहरू स्थापित भएका छन् । बाबु र आमा दुवैपट्टि हजुरबा र हजुरआमा, आमा र बाबुबाट जन्मेका महिलाहरू दिदी र बहिनी एवं पुरुषहरू दाजु र भाइजस्ता अनेकौं सम्बन्ध विकसित भएका छन् । यी परिवारभित्र विकसित भएका पहिचान हुन् ।

मानवजाति तुलनात्मक रूपमा सबैभन्दा छिटो विकसित भएको सामाजिक प्राणी हो । यसले समाज विकासका अनेकौं चरण पार गर्दै घुमन्ते अवस्थाबाट पशुपालन अवस्थासम्म आइपुग्दा आफ्ना वरिपरि विकसित भइरहेका अनेकौं प्राणीमाथि शक्तिशाली प्रभाव स्थापित गर्न सकेको हो । तर पशुपालन अवस्थादेखि मानवजातिले तीव्र गतिमा आफूलाई विकास गर्दै आइरहेको छ । सुरुदेखि अन्य प्राणीका साथै एउटा मानव समूह र अर्को मानव समूहबीच हुने घातक संघर्षहरूलाई पार गर्दै जित्ने समूहले आफुलाई अगाडि बढाएको छ । सुरुसुरुमा संघर्षमा हार्ने पक्षलाई पूर्ण रूपले समाप्त गरिन्थ्यो । पशुपालन अवस्थाबाट मानवजाति रैथाने बन्न थालेको हो । त्यसपछि मानवजाति कृषि उत्पादनमा प्रवेश गर्‍यो । त्यहीँदेखि मानव समूहहरूबीच हुने संघर्षमा हार्ने पक्षलाई दास बनाउने चलन सुरु भयो । यो मानवजातिमा उत्पादनका आधारमा वर्ग उत्पत्ति र वर्गसंघर्ष विकासको पहिलो अवस्था थियो । आन्तरिक द्वन्द्वलाई नियन्त्रण गर्न र आफ्नो संरक्षण गर्न राज्यको उत्पत्ति भयो । यसका साथै एउटा राज्य र अर्को राज्यबीच संघर्षपूर्ण सम्बन्धको सुरुआत पनि हुँदै गयो । त्यसपछि समाजमा अनेकौं प्रकारका पहिचान स्थापित हुन थाले ।

मातृप्रधान समाज हुँदा एक किसिमको, पितृप्रधान समाज हुँदा अर्को किसिमको र उत्पादन पद्धतिमा मानवजाति विकसित भएपछि समाजमा तदनुरूपका पहिचानहरू स्थापित भएका छन् । सबै किसिमका पहिचानहरू मानवजाति विकासका चरणहरूमा अपरिहार्य आवश्यकताका रूपमा विकसित भएका हुन् । मानवजाति जति विकसित हुँदै गएको छ, पुराना सम्बन्ध र पुराना पहिचान छोड्दै नयाँ सम्बन्ध र नयाँ पहिचान कायम गर्दै आएको छ । आदिम मातृप्रधान समाज छोडेर कृषि युगमा प्रवेश गरेपछिको मानव समाज हजारौं वर्षसम्म वर्गसंघर्षको अवस्थामा विकसित भएको छ । मानवजातिले मातृप्रधान समाज हुँदा महामाताको र पितृप्रधान हुँदा पितृहरूको नामबाट पहिचान पाएको छ । जब मानवजाति पशुपालन अवस्थामा विकसित भयो, उसको पहिचान गोत्र बन्यो । जब राज्यको उत्पत्ति भयो, स्थानबाट उसको पहिचान स्थापित भयो । जब मानवजाति राष्ट्रमा विकसित भयो, राष्ट्रको नामबाट आफ्नो पहिचान स्थापित गरेको छ ।

मानवजातिको पहिलो अवस्था समूह हो । समूह क्रमशः परिवारमा विकसित भएको छ । समूह एउटा जातिका रूपमा विकसित भएको छ । समूहहरूबीच संघर्ष र एकता हुँदै जाति महाजातिमा विकसित भएको छ । त्यसपछि राज्यको उत्पत्ति भएको छ । जब राज्यको उदय भयो, बल प्रयोग गरेर अनेकौं महाजातिलाई एउटै राज्यमा समावेश गर्न कुनै राज्य सफल भएको छ । अनेकौं राज्यको सम्मिश्रण हुँदै राष्ट्रको विकास भएको छ । राष्ट्रको विकाससम्म पुग्न मानवजातिलाई अनेकौं युद्ध लड्नुपरेको छ । राज्यको मुख्य शक्ति पहिलेदेखि नै सशस्त्र सेनालाई मानिन्छ । उत्पादन व्यवस्थित हुँदै जाँदा सट्टीपट्टी गर्ने र वस्तु विनिमय प्रणाली विकसित भएको छ । यसका साथै मानवजातिले अनेकौं खोज–अनुसन्धान गर्दै अनेकौं प्रविधिको विकास गरेको छ । राज्यको विकासको प्रारम्भिक अवस्थामा एउटा जाति र अर्को जातिबीचको भिन्नताका आधारमा पहिचानहरू स्थापित भएका छन् । आज संसारका सबै राज्य राष्ट्रमा विकसित भइसकेका छन् । कतिपय राष्ट्र साझा सम्बन्ध विकास गर्दै महासंघमा विकसित भएका छन् । यस्तो संघीय संरचना मानव विकासक्रमको पछिल्लो नमुना हो ।

नेपालका सन्दर्भमा सबभन्दा पहिले राज्य–उन्मुख अवस्थामा गोपाल वंशले शासन चलायो । त्यसपछि किरात जातिको राज्य रह्यो । गोपाल वंश रहँदासम्मलाई राज्यपूर्वको र किरातकाल सुरु भएपछिको अवधिलाई विकसित पूर्ण राज्यको अवस्था मान्ने गरिन्छ । त्यसपछि लिच्छवि वंशको लामो शासन कायम भयो । अनि मल्ल वंशले शासन चलायो । किरात राज्य कुनै समय पूर्वमा ब्रह्मपुत्र नदी, दक्षिणमा बंगालको खाडीदेखि गंगाको मैदान हुँदै सिन्ध नदीसम्म र उत्तरमा हिमालय पर्वत र पश्चिममा शतलजसम्म फैलिएको थियो भन्ने किंवदन्तीहरू छन् । त्यही कालभित्र विदेह आदि राज्यहरूको अस्तित्व तराईमा देखिन्छ । त्यही कालमा कपिलवस्तुमा शाक्य गणराज्य र कोलीय गणराज्यहरूको अस्तित्व पनि देखिन्छ । यस कालमा विभिन्न राज्य अन्तर्गत रहेका मानव समुदायका पहिचानहरू विभिन्न रूपमा परिवर्तन भएका छन् । आजको नेपाल पछिल्ला गोर्खाली राजा पृथ्वीनारायण शाह र उनका सन्तानहरूले विकास गरेका हुन् ।

राज्यपूर्वको अवस्थामा नेपालको काठमाडौंमा बसोबास गर्ने मुख्य जातिको पहिचान गोपाली थियो । त्यसपछि विकसित भएको नेपाल राज्यमा मुख्य जातिको पहिचान किरात थियो । तर यी जातिहरूभित्र अन्य जाति पनि मिसिएको हुनुपर्छ । ती सबै जातिलाई पहिले गोपालीमा र पछि किरात जातिमा समाहित गरिएको हुनुपर्छ । सबै अवस्थामा नेपाल राज्यको मुख्य भूमि काठमाडौं उपत्यकालाई मानिन्थ्यो । काठमाडौंपूर्व, काठमाडौंपश्चिम, काठमाडौंउत्तर र काठमाडौंदक्षिण पनि अनेक राज्य उदय हुने र विलीन हुने अनेक प्रक्रिया चलिरहे । यी सबैलाई सन् १७६९ देखि पृथ्वीनारायण र उनका सन्तानले एकीकृत गरे । पूर्वमा टिस्टा, पश्चिममा शतलज, दक्षिणमा गंगा र उत्तरमा हिमालपारिसम्म फैलिएको नेपाल राज्य सन् १८१६ देखि खुम्चिएर अहिले पूर्वमा मेची, पश्चिममा महाकाली, दक्षिणमा दशगजा र उत्तरमा हिमालय पर्वतको बीच भागसम्म रहन पुगेको छ ।

नेपाल राज्य विकसित भएर अहिले नेपाल राष्ट्रको अवस्थामा पुगेको छ । नेपालको संविधानमा नेपाल एक राज्य र नेपाली जनता एक राष्ट्रमा विकसित भएको उल्लेख छ । अहिले नेपाललाई संघीय संरचनामा समाहित गरिएको छ । संघीय संरचनामा प्रवेश गरेपछि जनतामा पहिचानका विषयहरूलाई उच्च महत्त्व दिनुपर्छ भनेर कतिपय राजनीतिक पार्टी र व्यक्तिहरू लागिपरेका छन् । नेपालमा जति जाति छन्, त्यति राज्य र त्यत्तिकै राष्ट्रहरू पनि छन् । त्यसो भएर नेपाल बहुराज्य र बहुराष्ट्रिय मुलुक हो भन्ने भ्रामक विचार अगाडि सार्ने गरिएको छ । पहिचानका मुद्दा लिएर हिँड्नेहरूले नै यस्तो विचारलाई मलजल गरिरहेका छन् । नेपालको ऐतिहासिकताका अध्येता र खोजकर्ताहरूले लेखेका ऐतिहासिक ग्रन्थहरूमा कतै पनि नेपाल नाम समाप्त गरेर कहिले गोपाल राज्य, कहिले विशाल राज्य भएको किरात राज्य, कहिले लिच्छवि राज्य, कहिले मल्ल राज्य, कहिले गोर्खाली राज्य भएको हो भनेर उल्लेख गरेको भेटिँदैन । सबै अवस्थामा नेपाल छÙ त्यहाँ राज्य गर्ने कहिले गोपाली, कहिले किराती, कहिले लिच्छवि, कहिले मल्ल र कहिले शाहहरू थिए । आज त्यही नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको एक राज्य र राष्ट्रमा विकसित भएको छ ।

नेपालमा कुनै बेला एउटा जातिको पहिचान गोपाली थियो, त्यसपछि त्यहाँको एउटा जातिको पहिचान किरात थियो, त्यसपछि एउटा जातिको पहिचान लिच्छवि थियो, त्यसपछि एउटा जातिको पहिचान मल्ल थियो । शाहकालमा कहीँ पनि एउटै जातिमा समाहित गर्ने/हुने काम भएन । तर माथि उल्लेख गरिएका जातिभित्रैका खास वर्गका राजाहरूले नेपाल राज्यको बागडोर सम्हालेका थिए । नेपाल राज्य राष्ट्रमा विकसित हुन सुरु गरेपछि सिंगो राष्ट्रमा बसोबास गर्ने जोकसैको पनि राष्ट्रिय पहिचान नेपाली रहन गएको हो । नेपाली भूमि राष्ट्रमा विकसित भएको होइन, नेपाली जनता राष्ट्रमा विकसित भएका हुन् । राष्ट्रमा विकसित भएका सबै जनताको एकमुस्ट पहिचान नेपाली हो । यद्यपि अहिले पनि पुराना गोत्र र थरलाई देशभित्र वंशगत पहिचान दिनुपर्‍यो भने अमुक गोत्र र थर उल्लेख हुन्छ । धेरै व्यक्तिले राज्यउदयका बेला विकसित थरहरूलाई आफ्नो नामसँगै उल्लेख गर्छन् । तर नेपालबाहिर कुनै पनि नेपालीले आफ्नो राष्ट्रिय पहिचान नेपाली भनेर नै दिने गर्छन् । नेपालबाहिर कुनै पनि नेपाली नागरिकलाई कुन गोत्र र थरको भनी सोधपुछ गरिँदैन । किनकि नेपाली नागरिकको पहिचान नेपाली हो र यसमा प्रश्न गर्नुपर्ने आवश्यकतै पर्दैन ।

अहिले कतिपय राजनीतिक पार्टीका नेताहरूले नेपाल राष्ट्रको विकास प्रक्रियामा देखा परेका र अन्तरघुलनबाट अरू नै पहिचानबाट विकसित भएका नेपाली नागरिकहरूको हजारौं वर्षपहिलेको राज्य–उन्मुख विकासको अवस्थाको पहिचानलाई पुनःस्थापित गर्नुपर्ने विषयलाई अत्यन्त महत्त्वका साथ स्थापित गर्ने कोसिस गरिरहनुभएको छ । अन्तरघुलनको अवस्थाबाट विकसित भएका केही पहिचान छन्, जुन सबै नेपालीका निम्ति सम्मानित पनि छन् । जस्तै— ‘गण्डकी’ शब्द मगर भाषाको ‘गण्डी’ र गुरुङ भाषाको ‘क्यू’ अन्तरघुलन भएर विकसित भएको हो । मगर भाषामा ‘गण्डी’ को अर्थ धमिलो पानी र गुरुङ भाषामा ‘क्यू’ को अर्थ पानी हो । त्यस्तै, ‘कोशी’ गुरुङ र तामाङ भाषामा रहेको ‘खुशी’ शब्दको विकसित रूप हो । ‘खुशी’ को अर्थ चिसो हुन्छ । यसरी अन्तरघुलनबाट विकसित भएका अनेकौं नाम हुन सक्छन् । कुनै पनि भाषाका शब्दहरू आफैं घृणित हुँदैनन् र घृणित मान्न पनि सकिन्न । संघीय संरचनामा गएपछि नेपालको एउटा प्रदेशको नाम गण्डकी छ, अर्को प्रदेशको नाम कोशी छ । दुइटै नाम नेपालका आदिवासीका भाषासँग सम्बन्धित छन् । यी नामहरू नेपाल र बाँकी दुनियाँमा रहेको कसैले पनि घृणित छन् भन्न सक्दैन । यी सबै नाम सम्मानित छन् । नेपालमा बसोबास गर्ने जातीय भाषाको अन्तरघुलनबाट विकसित भएका नाम हुन् यी ।

नेपालका कतिपय राजनीतिक पार्टीले विगतमा जे भन्दा र जे गर्दा जनतालाई प्रभावित गर्न सकिन्छ, त्यो भन्ने र त्यसो गर्ने गरे । कतिपय व्यक्तिले बाहुन–क्षत्रीको विरोध गरेर दलित अवस्थामा रहेका जनतालाई आफ्नो पक्षमा ल्याउन सकिन्छ भनी तदनुरूप व्यवहार गर्ने गरेका छन् । कतिपय पुराना राज्यहरू, राज्य–उन्मुख समूहहरू राष्ट्रका रूपमा विकसित भएको उल्लेख गर्दै नेपाल बहुराज्य र बहुराष्ट्रिय मुलुक हो भनेर प्रचार गर्दै हिँडेको पनि पाइएको छ । त्यसै गरी गण्डकी र कोशी शब्द पनि बाहुन–क्षत्रीकै भाषाबाट विकसित भएका हुन् भनेर भड्काउने कोसिस गरिएको छ । कुनै बेलाका पहिचानहरू इतिहास अध्ययनका विषय बन्न सक्छन् तर आज विकसित भएका पहिचानलाई इन्कार गर्दै पुरानो पहिचानलाई स्थापित गर्ने कोसिस पश्चगामी हुन्छ, हानिकारक हुन्छ र पछि पछुताउनुबाहेक कुनै उपाय हुन्न ।

गौतम राष्ट्रिय सभा सदस्य हुन् ।

प्रकाशित : जेष्ठ ३०, २०८० ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?