दलितलाई केही न केही

हीरा विश्वकर्मा

कुरा आजभन्दा १९ वर्षअघिको हो, म दलितका लागि सञ्चालित एउटा राम्रै कार्यक्रमको प्रमुख थिएँ, जसलाई बेलायती सरकारले सहयोग गरेको थियो । त्यतिबेला मसँग एउटा जानकारी मागियो, जुन बेलायतकी उपविदेशमन्त्रीका लागि थियो ।

लन्डनमै क्रियाशील एउटा दलित संस्थाको कार्यक्रमलाई ती विदेश उपमन्त्रीले सम्बोधन गर्नुपर्ने भएछ । त्यसैले बेलायत सरकारले जातीय विभेद भएका देशहरूमा के गर्दै छ भन्ने जानकारी हामीबाट लिएकी रहिछन् । यसले के देखाउँछ भने त्यहाँ मन्त्रीहरूले आफ्ना विषयमा संसद्बाहिरका कार्यक्रममा पनि जिम्मेवारीपूर्वक सम्बोधन गर्ने रहेछन् । तर नेपाली नेताहरूको हकमा यो लागू हुँदैन, जसबारे चर्चा गर्नु यो आलेखको मुख्य उद्देश्य हो ।

यस वर्षको जातीय विभेद उन्मूलन दिवस २१ मार्चमा आयोजित कार्यक्रमका प्रमुख अतिथि थिए प्रधानमन्त्री प्रचण्ड । आफू जहाँ–जहाँ जान्छन्, त्यहाँ उपस्थित जनमानसको भावना क्यास गर्न उनी माहिर छन् । दलितको कार्यक्रममा पनि किन कम हुन्थे ! उनले उद्घोष गरे, ‘नेपालका दलितहरूले आगामी सय वर्षसम्म सम्झिरहने ठूलै कार्यक्रमको घोषणा गर्नेछु ।’ हुन त, उनले गर्ने भाषण र प्रतिबद्धता कति नै पूरा भएका छन् र ! तैपनि हामी सबै एउटा क्रान्तिकारी पृष्ठभूमिबाट आएको नेता तथा देशको प्रधानमन्त्रीले बोलेपछि साँच्चिकै पुर्‍याउँछ कि भन्ने झीनो आशा हामी सबैमा थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रमले हाम्रो टाउकामा चिसो पानी खन्याइदियो ।

गठबन्धन सरकारको नीति तथा कार्यक्रम बनाउँदा एउटा पार्टीले घोषणा गरेको कार्यक्रम पर्न नसक्नुमा आफ्नै बाध्यता होला, तर स्वयं प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा घोषणा गरेको कार्यक्रमलाई सम्बोधन गर्नु त परको कुरा, सामान्य रूपमा देशका सबैभन्दा पछाडि पारिएका तथा गरिब सीमान्तीकृत दलितलाई माथि ल्याउन अरू कुनै ठोस नीति तथा कार्यक्रम पनि ल्याइएको छैन ।

नीति तथा कार्यक्रममा दलितलाई जम्मा दुई ठाउँमा उल्लेख गरिएको छ । बुँदा नं ११८ मा ‘गरिब तथा विपन्न दलित, आदिवासी जनजाति, एकल तथा अपांगता भएका महिला, बादी, कमलरी, कमैया, चेपाङ, बोटे, हिंसापीडित तथा अन्य वञ्चितिमा परेका सबै समुदायका महिला तथा किशोरीको आय आर्जन, क्षमता विकास र सशक्तीकरण गर्ने गरी आर्थिक, सामाजिक विकास कार्यक्रम सञ्चालन गरिनेछ’ भनिएको छ । विगतमा पनि लामो समय चलाइएको यस्तो कार्यक्रमबाट ठोस उपलब्धि के भयो सरकारले कहीँ उल्लेख गरेको छैन ।

बुँदा नं १२६ मा आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न दलित, अल्पसंख्यक, लोपोन्मुख पिछडिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र, आर्थिक रूपले विपन्न तथा अपांगता भएका बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भनिएको छ, त्यस्तै सबै किसिमका छात्रवृत्तिलाई एकद्वार प्रणालीमार्फत वितरण गरिने भनिएको छ । मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सुरु ५० रुपैयाँको छात्रवृत्तिलाई पछि ४५० रुपैयाँ पुर्‍याएर कक्षा ५ सम्मका विद्यार्थीलाई दिइन्थ्यो, तर स्थानीय सरकारहरू गठन भएपछि यो सबै पालिकामा एकनास नभएको सुनिएको छ । अब एकद्वार प्रणाली भनेर यसलाई विपन्न तथा जेहनदार छात्रवृत्तिमा परिणत गर्दा दलित बालबालिकाले पाइआएको यो सुविधा खोसिने आशंका छ ।

बुँदा १७६ मा मानव अधिकार आयोग, बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको सिफारिस कार्यान्वयन गरिने भनिएको छ । तर दलितको मानव अधिकारको संवर्द्धन र प्रवर्द्धन गर्न बनेको राष्ट्रिय दलित आयोग लगायत अन्य विषयगत आयोगका बारेमा नीति तथा कार्यक्रम मौन छ । बुँदा नं १८० पनि निर्वाचन आयोगलाई मात्रै केन्द्रित भई अन्य आयोगप्रति मौन देखिन्छ । महिला आयोगलाई अपवाद मान्दा अहिले दलित तथा अन्य विषयगत आयोगलाई स्रोतसाधन तथा जनशक्तिविहीन र भूमिकाहीन तुल्याइएको छ । यसप्रति सरकारको नीति तथा कार्यक्रम मौन छ ।

आफूलाई क्रान्तिकारी भन्ने प्रचण्डको सरकारले कसरी संविधानको धारा ४२ को समानुपातिक समावेशितासहितको सामाजिक न्यायको हकलाई बेवास्ता गर्न सक्छ ? गत मंसिरमा भएको चुनावमा माओवादीले आफ्नो घोषणापत्रमा दलित सम्बन्धी धेरै चर्चा गरेको थियो । विशेष अधिकार प्रदान गर्नेदेखि ७५३ स्थानीय तहहरूमा छुवाछुत उन्मूलन गर्ने अभियान चलाइनेसम्म भनेको थियो । कांग्रेसले पनि पाँच ‘प’ को अवधारणासहित पहिचान, प्रतिनिधित्व, पहुँच लगायतका विषयहरू उल्लेख गर्नुका साथै सीमान्तीकृत समुदायलाई विशेष रूपमा समेट्ने बताएको थियो । अहिले मूल रूपमा सरकारको नेतृत्वमा यिनै पार्टी भए पनि उनीहरूले आफ्ना चुनावी वाचाहरूलाई पूरै बेवास्ता गरेका छन् ।

प्रधानमन्त्रीले आफ्नो पदबहाल पछि विभिन्न कार्यक्रममा त्यहाँको उपस्थिति अनुसार उनीहरूलाई प्रिय लाग्ने कुरा भन्दै हिँड्ने वा निर्देशन दिने गरेका छन्, उनको सचिवालयमा त्यत्रा विधि कर्मचारी छन्, राजनीतिक तथा अन्य सल्लाहकारहरूको ताँती नै छ । देशको कार्यकारी प्रमुखले भनेको कुरालाई उनको कर्मचारी तथा सल्लाहकारको समूहले नोट त गरेकै होला, जसलाई नीति तथा कार्यक्रममा समावेश गर्न कसले रोकेको होला ? यसै पनि अहिले देशमा सबैतिर निराशा छ, त्यसमा दलित समुदाय अझ बढी निराश छ । सरकारी तथ्यांकमै पनि सबैभन्दा तल दलित छन् । उनीहरूलाई धेरै केही गर्नु पर्दैन, पार्टीहरूले आफ्नो घोषणापत्रमा उल्लेख गरेका न्यूनतम कुरा तथा २०७२ को संविधानको धारा २४ र धारा ४० का ७ वटा उपधाराहरूलाई कार्यान्वयन गर्ने नीति कार्यक्रम र बजेट ल्याए पुग्छ । त्यति गरेमा यो राज्य हाम्रो पनि हो भन्ने भावना दलितहरूमा पनि जागृत हुन्छ ।

प्रकाशित : जेष्ठ १२, २०८० ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

लोकतन्त्रमा लोकतन्त्रकै लागि संघर्ष

लोकतन्त्र भनेकै लोकहितमा केन्द्रित शासन पद्धति हो तर नेपालमा लोकको भन्दा नेताकै हितका लागि लोकतन्त्र उपयोगी भइरहेको छ । 
उषा थपलिया

नामले प्रजातन्त्र या लोकतन्त्र जे भनौं, यो लोक (नागरिक) प्रधान हुने शासन व्यवस्था हो । प्राचीन ग्रीकको संयुक्त शब्दावली डेमोज (जनता), क्रेटस (शासन) बाट डेमोक्रेसी (जनताको शासन) को नामकरण भएको मानिन्छ ।

‘जनताको, जनताद्वारा र जनताका लागि अवलम्बन गरिएको शासन व्यवस्था प्रजातन्त्र हो’ भन्ने अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको परिभाषाले प्रजातन्त्रलाई अझ बढी प्रस्ट पार्ने काम गर्‍यो । विश्वको पहिलो प्रजातन्त्र, जसलाई प्रत्यक्ष प्रजातन्त्र भनिन्थ्यो, इसापूर्व ५०७ देखि ग्रीकको अथेन्समा प्रचलनमा रहेको मानिन्छ । हिजोआजको भन्दा फरक त्यो प्रजातन्त्रले वयस्क सबै नागरिक सरकार सञ्चालनमा प्रत्यक्ष सहभागी हुनुपर्छ भन्ने मान्यता राख्थ्यो । ‘प्रजातन्त्रका पिता’ भनेर चिनिने क्लिसथेनिसले स्वतःस्फूर्त रूपमा उक्त प्रजातन्त्रलाई अभ्यासमा ल्याएका थिए । तर देशका सबै वयस्कहरू सरकारमा प्रत्यक्ष सहभागी हुनेजस्तो झन्झटिलो प्रक्रियाका कारण विश्वका अन्य मुलुकहरूमा प्रत्यक्ष प्रजातन्त्र फैलन सकेन । हेरोडोटसको शासनले ‘सत्ता सञ्चालनमा सामूहिक संलग्नताभन्दा एउटा मानिसको शासन राम्रो’ भन्ने मान्यता अघि सारेसँगै अथेन्समै प्रत्यक्ष प्रजातन्त्र इसापूर्व ४६० मा अन्त्य हुन गयो । यद्यपि विश्व इतिहासमा अथेन्सको उक्त प्रत्यक्ष प्रजातान्त्रिक अभ्यासको बेग्लै मूल्यांकन हुने गरेको छ ।

रोमन साम्राज्य इसापूर्व २७ देखि सुरु भएर इस्वी सन् ४७६ मा अन्त्य भएपछि युरोपको तत्कालीन राजनीति इतिहासले नयाँ मोड लिएको पाइन्छ तर त्यसपछि सुरु भएको मध्ययुग, राजनीतिक विचार र पद्धतिको हिसाबले शून्यप्रायः रहन पुग्यो न त त्यतिबेला राजाहरू नै शक्तिशाली थिए । केवल इसाई धर्मले व्यापकता पाएको उक्त अवधिलाई ‘अन्धकारको समय’ पनि भनिन्छ । मध्ययुगपछि युरोपियन मुलुकका राजाहरू अत्यन्तै शक्तिशाली हुँदै आए । अधिकांश मुलुकमा राजाहरूले दैवी शक्तिको आधारमा जनतामाथि निरंकुश शासन गर्थे । राजाले जे बोल्यो त्यही कानुन हुन्थ्यो । राजाहरूको तडकभडक र विलासी जीवनशैलीका लागि उनीहरूले मनलाग्दी कर बढाउने अधिकार राख्थे । जनताको तिर्ने हैसियत छ, छैन त्यो उनीहरूको सरोकारको विषय हुँदैनथ्यो । ‘म नै राज्य हुँ’ भन्ने फ्रान्सका राजा लुई चौधौं र ‘राजाहरू ईश्वरका प्रतिनिधि भएकाले ईश्वरप्रति मात्र जवाफदेह हुनुपर्छ, जनताप्रति हैन’ भन्ने मान्यताका राजाहरूको मुठीमा सम्पूर्ण जनअधिकार कैद थियो । समयक्रममा राजाहरूको अत्याचारविरुद्ध संघर्ष सुरु भयो । बेलायतमा तत्कालीन राजाको अधिकार जनतामा हस्तान्तरण गर्ने सन् १२१५ को म्याग्नाकार्टार्देखि फ्रान्सेली राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, बेलायतको गौरवमय क्रान्ति लगायत विश्वलाई तरंगित पार्ने महान् क्रान्तिहरू पूर्ण (परम्परागत) राजतन्त्रको अन्त्य र प्रजातन्त्रको सुरुआतसँग जोडिँदै आएका घटनाक्रम हुन् । ‘स्वतन्त्रताको महाअधिकारपत्र’ मानिने म्याग्नाकार्टा, जसलाई मानव अधिकार र व्यक्तिगत स्वतन्त्रताको पहिलो लिखित दस्तावेज मानिन्छ, त्यसमा हस्ताक्षर गर्न तत्कालीन राजा जोन बाध्य भए । लिखित कानुन राजाको अधिकारभन्दा उच्च शक्तिमा स्थापित भएको त्यही घटनादेखि हो ।

बेलायतमा संसद् र राजाबीचको द्वन्द्व सन् १६४२ देखि सुरु भएर सन् १६८८ को गौरवमय क्रान्तिसम्म कायम रह्यो । बिनारक्तपात सम्पन्न भएको उक्त गौरवमय क्रान्तिले राजतन्त्रको समूल अन्त्य नगरे पनि राजाको अधिकार खोसेर संसद्लाई सुम्पियो । यही क्रान्तिले स्थापित गरेको संसदीय सर्वोच्चता क्रमशः विश्वभर फैलियो । ‘मृत्यु देऊ या स्वतन्त्रता’ भन्ने नाराका साथ अमेरिकी मध्यमवर्गले सन् १७७५ देखि ८ वर्ष संघर्ष गरेर सफल बनाएको अमेरिकी स्वतन्त्रता संग्रामलाई प्रजातन्त्रको अर्को कोसेढुंगा मानिन्छ । त्यस्तै फ्रान्सका मध्यमवर्गीय जनताले १७८९ देखि ८० वर्षसम्म संघर्ष गरेर फ्रान्सेली राज्यक्रान्तिमार्फत अत्यन्तै विलासी र निरंकुश सामन्तवादी राजतन्त्रको अन्त्य गरे । यसरी हेर्दा जनतामाथि अत्याचारी शासन गर्ने राजतन्त्र हटाउने लहर यिनै क्रान्तिहरूको उपज थियो, जसले वंशानुगत राजतन्त्रको जरालाई व्यापक रूपमा खलबल्याइदिएको थियो । ‘भविष्यमा संसारमा ५ जना राजाहरू मात्र बाँकी रहनेछन्, चार जना खेल्ने तासका पत्तामा र एक जना बेलायतमा’ राजाबाट पदच्युत भएपछि राजगद्दी मात्र नभई देशै छोड्न बाध्य इजिप्टका राजा फारुखको यस अभिव्यक्तिले तत्कालीन समयमा राजतन्त्रले बेहोरेको ओरालो यात्रालाई दर्साउँछ ।

वंशानुगत राजतन्त्रको विस्थापनसँगै विश्वमा प्रजातान्त्रिक लहरको सुरुआत भएको मानिन्छ । प्रजातान्त्रिक परिपाटीका लागि १९ औं शताब्दीमा धेरै देशहरूमा चुनावी गतिविधि फैलिए पनि चुनावी निरंकुशतासमेत सँगसँगै जन्मिन पुग्यो । राजनीतिक नेताहरू चुनावमार्फत निर्वाचित त हुन थाले तर ती निर्वाचनहरूलाई स्वतन्त्र र निष्पक्ष बनाउन नागरिकहरूलाई थप स्वतन्त्रताको अभाव थियो । २० औं शताब्दीमा आएपछि भने प्रजातन्त्रको विकास भिन्न रूपमा हुन गयो । प्रतिनिधिमूलक लोकतन्त्र यसको मूलभूत विशेषता थियो । आफ्ना लागि कानुन बनाउन र लागू गर्नका लागि प्रतिनिधिहरू मतदान गरेर पठाउने अविभारा प्रतिनिधिमूलक लोकतन्त्रले देशका नागरिकहरूमा सुम्पियो । नागरिकलाई सार्वभौम शक्ति मानियो । आफूमाथि शासन गर्न आफ्ना प्रतिनिधि चुनेर पठाउने हुनाले लोकतन्त्रमा असली शासक जनता नै रहेको मान्यता स्थापित भयो । स्वतन्त्र र निष्पक्ष चुनाव, स्वतन्त्रता, मानव अधिकारको प्रत्याभूति, जनमतको सम्मान, लोकहितमा समर्पित शासन व्यवस्था आदि प्रजातन्त्रका आधारभूत अवयव मानिए । प्रजातन्त्रलाई नागरिकहरूको व्यक्तिगत अधिकार सुनिश्चित भएको र राज्यबाट सुरक्षित हुन सक्ने शासन पद्धतिका रूपमा पनि बुझिन्छ तर जनअधिकार उपभोग गर्न बाधक ठानिएको राजतन्त्र हटाएर प्रजातन्त्र बहाली भएका मुलुकहरूमा विगतका महान् क्रान्तिहरूले अघि सारेका समानता, स्वतन्त्रता र भ्रातृत्वपूर्ण अवलम्बन अझै हुन सकेको छैन । एउटा राजा (राजवंश) हटाएर आजाद हुन खोजेका नागरिकहरूमाथि जनस्तरबाटै सत्तामा पुगेका सयौं व्यक्तिहरू ‘नयाँ राजा’ का रूपमा उदाउने र तिनैको दमन र निरंकुशता पुनः खेप्नुपर्ने अवस्थासमेत देखियो ।

चाहे फ्रान्सेली राज्यक्रान्तिको कुरा गरौं या नेपालकै राजनीतिक आन्दोलनहरूको । जनहितमा नभएको राजतन्त्र (नेपालको सन्दर्भमा राणातन्त्र पनि) फाल्न आन्दोलन भए, फालिए पनि तर प्रजातन्त्रका मसिहा मानिने दल र नेताहरू लोकतान्त्रिक पद्धति बमोजिम चल्न नसक्दा कुनै न कुनै रूपको राजतन्त्रले फँडा उठाएकाले पटकपटक आन्दोलन गर्न जनता बाध्य भए । नेपालको सन्दर्भमा २००७, २०४६ हुँदै ०६२/०६३ को आन्दोलनपछि नेपालमा सबै किसिमको सामन्तवादी शासन व्यवस्था अन्त्य भएको घोषणा भयो । लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणापछि राजनीतिक क्रान्ति सदाका लागि अन्त्य भएर सामाजिक, आर्थिक क्रान्तिद्वारा जनताको जीवनस्तर उकास्ने, मुलुकलाई समृद्ध बनाउने, समाजमा रहेका सबै समुदाय, वर्ग र तप्काका नागरिकलाई सामाजिक न्याय दिलाउने, भ्रष्टाचार, बेथिति, अनियमितताको समूल अन्त्य गरिने लगायतका प्रतिबद्धता नेताहरूबाट खुबै सुनियो तर सामन्ती राजलाई बिर्साउने भ्रष्टाचारका काण्ड यही लोकतान्त्रिक अवधिमा धेरै भए । कारबाही गर्ने ओठे प्रतिबद्धता सबै नेताहरूबाट सुनिए पनि शीर्ष नेतृत्व नै भ्रष्टाचारीको संरक्षक बनेको देखियो । ठूला भ्रष्टाचारी उम्किँदै जानुमा दण्डहीनताकै प्रमुख भूमिका छ, जसले भ्रष्टाचारलाई संस्थागत तवरले मौलाउन सहयोग पुर्‍यायो ।

लोकतन्त्र भनेकै लोकहितमा केन्द्रित शासन पद्धति हो तर नेपालको लोकतान्त्रिक अवधिलाई नियाल्ने हो भने लोकको भन्दा नेताकै हितका लागि लोकतन्त्र उपयोगी भइरहेको छ । टाठाबाठासहितको विलासी जीवनशैलीले प्रायः सबै नेताहरू ओतप्रोत छन् तर जनताको कष्टपूर्ण भोगाइ यथावत् छ । समयमा बीउ–मल नपाउने किसान होऊन् या मिटरब्याजपीडित जनता, हिंसा र अन्याय खेपेका महिलाहरू या मेडिकल माफियाको चक्र तोड्न लागिपर्ने गोविन्द केसी या वैज्ञानिक आविष्कार र उन्नयनका लागि झकझकाउने महावीर पुन, सबैले विरोध प्रदर्शन, धर्ना र अनशन नबसी सरकारले तिनका आवाज सुन्दैन । भारतीय विषादीयुक्त तरकारी र फलफूलको दबदबाबीच नेपाली किसानहरूले आफ्ना दुग्ध उत्पादन, तरकारी, फलफूल सडकमा फालेर बजारका लागि पटकपटक याचना गर्नुपर्दछ । धान र उखुजस्ता नगदेबालीको समर्थन मूल्यका साथै चिनी मिलका बक्यौता असुलीका लागि हरेक वर्ष किसानले काठमाडौंको सडकपेटीमा आँसु खसाल्नुपर्दछ । संविधानले सुनिश्चित गरेको समावेशिताको मुद्दालाई स्वस्फूर्त अवलम्बन गर्नेभन्दा पन्छाउने रवैया नै बढी देखिन्छ । लोकतन्त्रको आधारभूत तत्त्व सुशासन हो तर जनताले यसको आभास गर्न पाएका छैनन् । यी सबैका कारण लोकतन्त्रप्रति नै जनतामा वितृष्णा उब्जन पुगेको छ । तर लोकतन्त्र आफैंमा दोषपूर्ण शासन पद्धति हैन, यसलाई परिपालना गर्नेहरूको कमजोरीका कारण मात्र जनतामा यसखाले भ्रम उत्पन्न भएको हो । जनतामा लोकतन्त्रको लाभ बढीभन्दा बढी पुर्‍याउन समृद्ध मुलुकहरूले सामाजिक लोकतन्त्र, उदार लोकतन्त्र, आधुनिक लोकतन्त्रजस्ता ढाँचाहरू अवलम्बन गरिरहेका छन्, त्यसै अनुसार उल्लेखनीय सेवासुविधा जनस्तरमा प्रवाह पनि भैरहेको छ । तर हाम्रोजस्तो देशमा लोकतान्त्रिक मूल्यमान्यता संवर्द्धन हुन नसक्दा लोकतन्त्र जनहितका लागि उपयोग हुन नसकेको हो । त्यसैले लोकतन्त्रको विकल्प खोज्नेभन्दा पनि लोकतान्त्रिक विधि र प्रक्रिया अवलम्बनका लागि दल र सरकारलाई बाध्य बनाउने किसिमका संघर्ष नेपाली जनताले अझै लामो समय गर्नु जरुरी छ ।

प्रकाशित : जेष्ठ १२, २०८० ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×